शम्मी कपूर : दुई विवाह, नूतन– मुमताजसँग प्रेम सम्बन्ध र रोमान्सको नयाँ शैली प्रस्तुत गर्ने स्टार
सन् १९५७ को साललाई भारतीय फिल्म इतिहासको सबैभन्दा सुनौलो वर्ष मानिन्छ । विश्वास लाग्दैन भने यस वर्षका फिल्मलाई हेर्नुहोस् ।
त्यही वर्ष ‘मदर इंडिया’ आएको थियो, यसलाई आजसम्मको ब्लकबस्टर फिल्म मानिन्छ । यसै वर्ष दिलीप कुमारको ‘नया दौर’ को जादु देख्न पाइएको थियो र गुरुदत्तको क्लासिक ‘प्यासा’ पनि यसै वर्ष प्रदर्शनमा आएको थियो ।
तीन सदाबहार हिट फिल्मबीच भारतीय सिनेमाले एक कलाकार पनि यसै वर्ष पाएको थियो । शम्मी कपुरको चार वर्षको सङ्घर्ष र १९ वटा फिल्मका असफलताको सिलसिला यसै वर्ष रोकिएको थियो । आमिर खानका काका नासिर हुसैनको निर्देशनमा बनेको फिल्म ‘तुमसा नहीं देखा’ बाट शम्मी कपुरले हङ्गामा मच्चाएको थियो ।
यो कोलाहल कसरी र किन मच्चियो भन्ने विषयमा अगाडि बढ्नुअघि यहाँ एउटा रोचक किस्साबारे जानकारी लिऔँ । शम्मी कपूर यो फिल्मभन्दा अघि असफलताको यस्तो मरुभूमिमा थिए कि उनले फिल्मलाई अलबिदा भनेर आसामको चिया बगानमा व्यवस्थापन गर्ने मन बनाएका थिए ।
यसका कारण पनि थिए । भनिन्छ वट वृक्ष मुनि अरू रुख हुँदैन । शम्मी कपूरले तीन ठुला वट वृक्षको सामना गर्नुपरेको थियो । परिवार भित्र पनि परिवार बाहिर पनि ।
परिवारभित्र पृथ्वीराज कपूरजस्ता व्यक्तित्व थिए, जो पिता हुनुका साथै उत्कृष्ट अभिनेता पनि थिए । यद्यपि उनको पहिलो लगाव थिएटर नै थियो । पृथ्वीराज कपूरका छोरा राज कपूरका लागि पनि पितासामु आफूलाई प्रमाणित गर्ने चुनौती थियो तर आफ्नो कलात्मकता र रचनात्मकताले राज कपूरले सानै उमेरमा आफूलाई स्थापित गरेका थिए ।
शम्मी कपूरले सन् १९५१ मा जीवन ज्योति फिल्म पाए, उनी आफ्नो करियरको सुरुवात गर्दै थिए, त्यही वर्ष राज कपूरको आवाराले उनलाई देश र विश्वमा सफलताको शिखरमा पुर्यायो । शम्मी कपूरको पहिलो फिल्म सन् १९५३ मा रिलिज भएको थियो र त्यसपछिका चार वर्षसम्म शम्मी कपूर असफलताको बीचमा रुमल्लिइरहे । यद्यपि यो असफलताको बीचमा उनले सन् १९५५ मा उमेर र सफलता दुवैमा सिनियर, स्टार अभिनेत्री गीता बालीसँग विवाह गरे ।
शम्मी कपूरले ब्रिटिस च्यानल ४ को सिरिज मुभी महलमा ‘शम्मी कपुर अलवेज इन टाइम’ का लागि नसरिन मुन्नी कबिरसँग भनेका थिए, ‘मानिसहरूले मलाई राज जीसँग तुलना गर्न थाले । स्टेजमा यसरी नै काम चल्यो तर फिल्ममा यो मुस्किल थियो । मेरो समस्या त्यति बेला झनै बढ्यो जब गीता बालीसँग विवाह भयो । म पृथ्वीराज कपूरका छोरा र राज कपूरका भाइ मात्रै नभई अब गीता बालीको श्रीमान् पनि भएको थिएँ ।’
स्थान बनाउन सहज थिएन
यो त्यो समय थियो जब भारतीय फिल्म जगतमा राज कपूर, दिलीप कुमार र देव आनन्दका फिल्महरू चलिरहेका थिए । साँच्चै भन्नुपर्दा यी तीन जनालाई ध्यानमा राखेर फिल्म र उनीहरूको भूमिका लेखिन्थ्यो । यही कारणले गर्दा शम्मी कपुरले राम्रो भूमिका पाउन सकेका थिएनन् ।
शम्मी कपूरले यी दिनहरूमा ‘तुमसा नहीं देखा’ पाए जसमा उनलाई लिन नासिर हुसैन तयार थिएनन् । जे होस्, यो फिल्म पहिले देव आनन्दलाई अफर गरिएको थियो । उनीसँग समय थिएन । त्यसपछि नासिर हुसैनले सुनिल दत्तलाई यसमा लिन चाहन्थे तर उनीसँग पनि सुटिङका लागि समय थिएन ।
बलिउड टप २० सुपरस्टार्स अफ इन्डियन सिनेमामा शम्मी कपुरमाथि लेखिएको लेख द सर लाइक नो अदरमा नसरिन मुन्नी कबिरले लेखेका छन्, ‘शशधर मुखर्जीले नासिर हुसैनलाई भनेका थिए, ‘तिमी शम्मी कपुरलाई ट्राई गर, मैले उनीमा सम्भावना देखिरहेको छु ।’’
यो फिल्ममा काम गर्ने बेलामा नै शम्मी कपूरले फिल्म उद्योगलाई अलबिदा भन्ने सोच बनाएका थिए । आफूमाथि बनेको एक डकुमेन्ट्री फिल्ममा शम्मी कपूरले भनेका छन्, ‘मैले फिल्म इन्डस्ट्री बाहेक अरू केही गर्ने सोच्न थालेँ । कुनै दिन गीता बालीले मलाई ‘शम्मी कपुर, तिमी एक दिन ठुला स्टार बन्ने छौ’ भनेकी थिइन् । मेरी श्रीमतीले कुरा साँचो भयो । ’
‘तुमसा नहीं देखा’ले आखिर त्यस्तो के गर्यो, जुन शम्मी कपुरको करियरमा यसअघि हुन सकेको थिएन । वास्तवमा यो फिल्मसँगै शम्मी कपुरको स्टाइल र अन्दाजको त्यो चरण सुरु भयो जसले उनलाई त्यसको एक दशकसम्म सफलताको शिखरमा राख्यो ।
वास्तवमा ‘तुम्सा नही देखा’ रिलिज हुनुअघि भारतीय सिनेमाका नायकहरू प्रायः गाइरहेको मात्रै देखिन्थे, नाचेको देख्न पाइँदैनथ्यो । उभिएर नाच्नु वा हिँड्दा हात खुट्टा हल्लाउने संसारलाई शम्मी कपुरले आफ्नो शैलीले उथलपुथल पारिदिए ।
‘तुम सा नही देखा’ मा पहिलो पटक यस्तो हिरो देखिए जसलाई साँच्चै कसैले देखेका थिएनन् । जसको हात(खुट्टा बिजुली जस्तै चलिरहेको देखिन्थ्यो, जसको चालमा सेलिब्रिटीको अन्दाज देखिएको थियो, जो नाचिरहेका थिए, जसले अनुहारका सबै किसिमका भाव व्यक्त गरिरहेका थियो, जसको डायलग डिलिवरीमा लयबद्ध शैली देखिएको थियो । यसबाहेक कपालको स्टाइलदेखि कपडाको स्टाइलसम्म शम्मी कपूरले निकै मेहनत गरेका थिए ।
यस फिल्मबारे कपुर्स : द फर्स्ट फेमिली अफ इन्डियन सिनेमाकी लेखिका मधु जैनसँग मुम्बईका मनोवैज्ञानिक उदयन पटेलले भनेका छन्, ‘उनी पहिलो अभिनेता थिए जसले भारतीय सिनेमाको पर्दामा युवा हृदयको चाहनालाई खुलेर व्यक्त गरे ।’
तुम्सा नही देखाको गीत ‘जवानियाँ ये मस्त मस्त बिन पिए, जलाती जा रही हैं राह मे दिए’ ले युवा पुस्ताको चाहनालाई नयाँ आयाम दियो र फिल्मले बक्स अफिसमा जादु चलायो र शम्मी कपूर यहाँबाट स्टार बने ।
द स्टार लाइक नो अदर
नसरीन मुन्नी कबीरले आफ्नो आलेख ‘द स्टार लाइक नो अदर’ मा लेखेकी छिन्, ‘शम्मी कपूरभन्दा पहिले भारतीय नायकहरू पर्दामा पुरुषजस्तै देखिन्थे । जसले या त परिवारको जिम्मेवारी वहन गरिरहेको हुन्थे वा कर्मकाण्डले बाँधिएका हुन्थे । शम्मी कपूरले यो ब्यारियर तोडेका थिए, उनलाई पर्दामा देख्नु भनेको युवा वा जवान केटा देख्नु थियो । उनले एउटा फिल्मबाट यो भिन्नता सिर्जना गरेका थिए ।’
यो फिल्मको सफलतापछि उनको घरबाहिर फिल्मकर्मीहरूको लाइन लाग्यो । शम्मी कपूरको जीवनी शम्मी कपूर: द गेम चेन्जरमा रउफ अहमद लेख्छन्, ‘‘तुमसा नही देखा’ को सफलताको फाइदा उठाउन उनलाई साइन गर्न मानिसहरूको भीड थियो, तर गीता बालीले उनलाई बुद्धिमानी तरिकाले फिल्म साइन गर्न सल्लाह दिइन् । यसका लागि उनले सजिलो उपाय पनि सुझाइन् । ‘एक लाखभन्दा कम मूल्यको कुनै पनि फिल्मलाई अस्वीकार गर’ भनेर उनले सल्लाह दिइन् ।’
त्यस बेला एक लाख भारतीय रुपैयाँको महत्त्व के थियो भनेर यसबाट अन्दाज लगाउन सकिन्थ्यो । राज कपूरले आवाराका लागि आफ्नो बुवालाई ५० हजार रुपैयाँ दिएका थिए जबकी के. आसिफले मुगले आजमका लागि पृथ्वीराज कपुरलाई ७५ हजार भारु दिएका थिए ।
तर, शम्मी कपुरले एक लाख रुपैयाँमा यसरी गाँठो बाँधे कि उनका आफ्नै साथी बप्पी सोनीले उनलाई ९० हजार रुपैयाँ अफर गर्दा पनि उनले फिल्म गर्न अस्वीकार गरे । निर्माता शम्मी कपूरलाई एक लाख रुपैयाँ दिन पनि तयार थिए । तर, शम्मी कपूरले अर्को ६ महिनासम्म कुनै पनि फिल्म साइन गरेनन् । नासिर हुसैन निर्देशित दोस्रो फिल्म ‘दिल देके देखो’ ले उनको स्टारडमलाई बलियो बनाउने काम गर्यो । सन् १९५९ को यो फिल्मले प्रमाणित गर्यो कि तुम्सा नही देखा, त्यो सफलता कुनै संयोग थिएन र शम्मी कपूरको आफ्नै स्वाग स्थापित भयो ।
यो स्वाग कस्तो थियो भन्ने बारे ऋषि कपूरले आफ्नो आत्मकथा खुल्लम खुल्लामा लेखेका छन्, ‘शम्मी अंकल हामी सबैलाई मनपर्दथ्यो । बुवा त बुवाजस्तै हुनुहुन्थ्यो । हामीले उनलाई स्टारको रूपमा देख्दैनथ्यौँ । तर शम्मी अंकल त पूरा स्टार जस्तै हुनुहुन्थ्यो । उनको शैली असाध्यै फेसनेबल । मलाई राम्रोसँग याद छ, उहाँले एक पटक दुई वटा बाघ पाल्नुभएको थियो । तिनीहरू ठुलो भएपछि चिडियाखानामा सुम्पिनु परेको थियो । उहाँ हामी नजिकैको घरमा बस्नुहुन्थ्यो । उहाँको घरमा जाँदा कतै पिकनिक गएको जस्तो महसुस हुन्थ्यो । उहाँले एउटा ठुलो प्रोजेक्टरमा हामी सबैलाई फिल्म देखाउनु हुन्थ्यो ।’
ऋषि कपूरले शम्मी कपूरको स्टाइलमा लेखेका छन्, ‘उहाँ सिकारमा जानु हुन्थ्याे र हामी पनि उहाँसँग धेरै पटक गएका छौँ । दुवै हातमा बियरको बोतल बोकेर जिप चलाउने गर्नुहुन्थ्यो । शम्मी कपूर खान र पेय पदार्थको धेरै सौखिन थिए र केही समयपछि उहाँ धेरै मोटाउनुभयो । चालीस वर्षको उमेरमा शम्मी अंकलले मुख्य भूमिका निभाउन छोड्नुभयो । त्यसो गर्ने उहाँ एक मात्र स्टार हुनुहुन्थ्यो ।’
तर, त्यसअघि नै उनले फिल्मका कुलीन र अभिजात वर्ग ठानिने नायकको संसार नै बदलिदिएका थिए । मधु जैनले आफ्नो परिवारका सदस्यलाई उद्धृत गर्दै शम्मी कपूर अमेरिकी अभिनेता अर्ल फ्लिनबाट धेरै प्रभावित भएको र उनको आत्मकथा माई विकेड, विकेड थिंगबाट प्रभावित भएको बताए । त्यसैले उनी चर्चित हुने कुनै मौका हातबाट जान दिँदैनथे ।
दुई विवाह, दुई प्रेम
उनले आफ्नो फिल्मको सफलता अघि नै आफ्नो व्यक्तिगत जीवनमा आँधी ल्याएका थिए । नूतन र उनको प्रेम सम्बन्धका कारण नूतनकी आमा शोभना समर्थले नूतनलाई युरोप पढ्न पठाएकी थिइन् । शम्मी कपुरले नूतनलाई आफ्नो बाल्यकालकी प्रेमिका भनेका थिए । यसपछि उनले मधुबालालाई प्रेम गर्न थाले र उनीसँग बिहे गर्ने सोच बनाउन थाले । मधुबाला त्यति बेला दिलीप कुमारसँग प्रेममा थिइन् ।
उनले गीता बालीसँग एक्कासि विवाह गरेका थिए, त्यो पनि मन्दिरमा । परिवारका सदस्यले उनको विवाहको तयारी गर्ने मौका पाएनन् । त्यस बेलासम्म कपूर परिवारमा महिलाहरूलाई फिल्ममा काम गर्ने स्वतन्त्रता थिएन, त्यसैले राज कपूर यो विवाहलाई लिएर धेरै उत्साहित थिएनन् ।
राज कपूरले मागी विवाह गरेका थिए । शम्मी कपूरः द गेम चेन्जरमा राज कपूरका सहायक लेख टण्डनलाई उद्धृत गर्दै रउफ अहमद लेख्छन्, ‘राज कपूर सायद सबैभन्दा रूढिवादी कपूर थिए । म उनीसँगै आरके कटेजमा थिएँ जब उनलाई शम्मी कपुर दुलही लिएर आउँदै छन् भनेर घरबाट फोन आएको थियो । उनलाई चाँडै घर आउन भनिएको थियो । त्यसपछि उनले आफू व्यस्त भएकोले आउन नसक्ने बताए । तर पछि उनको मन फेरियो, त्यसैले पार्टीमा गए । उनले सायद सोचे होलान् – आमाबुवाको आशीर्वाद पाए भने यसलाई किन मुद्दा बनाउने ?’
तर, यस पुस्तकमा शम्मी कपूर र गीता बालीको विवाहपछि राज कपूर आफ्नो परिवारसँग अर्को घरमा बस्न थालेको उल्लेख छ । तर मधु जैनले कपूर परिवार बारे लेखेका किताबमा पृथ्वीराज कपूरले छोराहरू बुवा बनेपछि आ–आफ्ना घरमा बस्न जाने नियम बनाएका थिए भनेर लेखिएको छ ।
चाखलाग्दो कुरा के छ भने, शम्मी कपूर शिखरमा रहँदा राज कपूरले उनीसँग कहिल्यै काम गरेनन् । तर शम्मी कपूरकी जेठी पत्नीको मृत्युपछि उनी राज कपूरको परिवारसँग बसे र दोस्रो बिहे नहुँदासम्म राज कपूरकी श्रीमतीले उनका छोराछोरीको हेरचाह गरिन् र उनको दोस्रो विवाह पनि गराइन् । शम्मी कपुरले आफ्नो करियरको दोस्रो इनिङमा भने राज कपूरसँग काम गरे ।
सन् १९६१ मा शम्मी कपूरको जीवनमा आएको ‘जंगली’ पनि सुपरहिट फिल्म साबित भयो । ‘याहू.... कोई मुझे जंगली कहे, कहता रहे...’ भन्ने शम्मी कपुरसँग लन्डनबाट पढेर फर्किएकी सायरा बानोको यो पहिलो फिल्म थियो ।
यो एउटा रोचक संयोग हो कि शम्मी कपुरले आफ्नो करियरको दोस्रो इनिङ्स सुरु गर्दा सन् १९७५ मा रिलिज भएको फिल्म जमिरमा उनी सायरा बानोका पिता बनेका थिए । यस बीचमा उनले प्रोफेसर, ब्लफ मास्टर, कश्मीर की काली, राजकुमार, जानवर, तीसरी मंजिल, एन इभनिङ इन पेरिस, ब्रह्मचारी, प्रिन्स, तुमसे अच्छा कौन है र अन्दाज जस्ता सफल फिल्महरू सहित सन् १९६१ देखि १९७१ सम्म उनले हिट फिल्महरू दिन जारी राखे ।
दोस्रो विवाहको कहानी
गीता बालीको मृत्युपछि मुमताजसँगको उनको अफेयर पनि चर्चामा रह्यो । वर्षौँपछि मुमताजले एक अन्तर्वार्तामा शम्मीले उनीसँग विवाह गर्न चाहेका कारण राजकपूरले ‘मेरो नाम जोकर’ फिल्ममा उनलाई मौका नदिएको बताइन् । राज कपूर घरका महिलाले फिल्ममा काम गर्नु हुँदैन भन्ने पक्षमा थिए । मुमताज आफ्नो करियर छोड्न चाहँदैन थिन् किनभने उनले निकै मेहनतले यो हासिल गरेकी थिइन् र अर्कोतर्फ शम्मी कपूरलाई आफ्ना दुई सन्तानको हेरविचार गर्नका लागि श्रीमती चाहिएको थियो ।
त्यसपछि बीना रमानीसँग शम्मी कपूरको अफेयर पनि चल्यो । बीना रमानी त्यति बेला लन्डनमा पढ्दै थिइन् र शम्मी कपूरले उनलाई स्पोर्ट्स कार उपहार दिएका थिए । तर यो साथ धेरै दिन टिक्न सकेन किनभने बिना रमानी कम उमेरकी थिइन् । यतिबेला राज कपूरकी श्रीमती कृष्णा कपूरले भावनगरका राज परिवारकी निला देवीसँग शम्मी कपूरको विवाहको कुरा चलाइन् ।
भावनगरको राज परिवार, राज कपूरको मित्र परिवार थियो र थिएटर मालिक भएका कारण शम्मी कपूरको पनि उक्त परिवारमा आउजाउ थियो । तर जब विवाहको कुरा आयो, शम्मी कपूर आफैँले निला देवीसँग कुरा गरे । निला देवीले एक अन्तर्वार्तामा यस घटनालाई स्मरण गर्दै भनिन्, ‘उहाँले अबेर राती फोन गर्नुभएको थियो, ल्याण्डलाइनको समय थियो । मेरो परिवारले शम्मी कपूरलाई रात परिसकेको बताए तर उनले फेरि फोन गरे । आफ्नो बारे सबै कुरा बताए, अफेयरको बारेमा पनि बताए । त्यसपछि मलाई आफ्नो परिवारसँग यसबारे कुरा गर्न भने । त्यसपछि उहाँले मलाई बिहानको नास्ता गर्न घरमा नै आउन र सधैँका लागि आफ्नै घरमा बस्ने गरी आउन पनि आग्रह गरे । यो कुरा बिहान पाँच ६ बजेसम्म चल्यो । हामीहरू उहाँको घरमा ब्रेकफास्टका लागि गयौँ र त्यहाँ नै विवाह गर्यौँ ।’
सन् १९६९ मा दोस्रो विवाहपछि शम्मी कपुरले आफ्नो करियरमा केही ध्यान दिन कोसिस गर्नुअघि नै फिल्म राजकुमारको सुटिङको क्रममा एउटा अनौठो दुर्घटना भयो । शम्मी कपुरले हात्तीमा बसेर ‘यहाँ के हम राजकुमार’ गाउनु पर्ने थियो । उनी नलडुन् भनेर उनको खुट्टालाई साङ्लोलाई हात्तीको घाँटीमा बाँधियो । अनि हिँड्दै गर्दा अचानक हात्तीले पछाडि फर्केर हेर्न थाल्यो । साङ्लोले बाँधिए पनि शम्मी कपूरको घुँडाको हड्डी भाँच्चियो तर गीत गाउने क्रममा उनको अनुहारमा कुनै पीडा थिएन ।
उनी पहिले नै धेरै पटक घाइते भइसकेका शम्मी कपुरका लागि यो निकै पीडादायी भयो र उनले महिनौँ अस्पतालमा बिताउनु पर्यो । यतिबेला उनी मोटाउँदै गए । खुट्टा पहिलेको जस्तो नभएपछि नाच्न असम्भव थियो । त्यसैले उनले सन् १९७१ मा फिल्मबाट ब्रेक लिए । अन्दाज उनको अन्तिम सोलो हिट फिल्म थियो ।
शम्मी कपूर यो ब्रेकमा पनि निकै व्यस्त भए । किनभने उनका आमाबुवा दुवै क्यान्सरको सामना गरिरहेका थिए । मेरा नाम जोकर फ्लप भएपछि राज कपूर गम्भीर आर्थिक सङ्कटमा परेका थिए र यसबाट बाहिर निस्कने बाटो खोजिरहेका थिए जबकि शशि कपुर चार–पाँच सिफ्टमा काम गरिरहेका थिए । दुई जनासँग समय थिएन । यस्तोमा शम्मी कपुरले आफ्ना आमाबुवाको लगातार सेवा गरे । पृथ्वीराज कपूरको निधन भएको १६ दिनपछि उनकी आमाको निधन भयो ।
यसपछि शम्मी कपुरले आफ्नो अर्को चरण सुरु गरे । उनले सन् १९७५ मा बीआर फिल्म्सको जमीरसँगै चलचित्रमा चरित्र भूमिका निभाएका थिए । उनले प्रेम रोग, परवरिश, हिरो, विधाता जस्ता चलचित्रमा उत्कृष्ट काम गरे ।
चाखलाग्दो कुरा के छ भने, शम्मी कपूरले नायकको रूपमा आफ्नो सफल दिनहरूमा बीआर चोपडासँग कहिल्यै काम गरेका थिएनन् । रउफ अहमदले यसबारे एउटा रोतक किस्सा बताएका छन् जुन शम्मी कपूरले उनीसँग सेयर गरेका थिए ।
रउफ अहमद लेख्छन्, ‘बीआर चोपडाले उनलाई बहकाउन चाहन्थे । यस फिल्मको कथा अनुसार शम्मी कपुरकी पत्नी माला सिन्हा सुनिल दत्तसँग प्रेममा पर्छिन् । कथा सुनेपछि शम्मी कपूरले बीआर चोपडालाई भनेका थिए, ‘तिमीलाई के भयो, जसको म जस्तो पति हुन्छ, के उनी अरू कसैसँग प्रेम गर्छिन् । बीआर चोपडाको शब्दले उनको मनमा लाग्यो । ’
भारतमा इन्टरनेट ल्याउने पहिलो व्यक्ति
पछि शम्मी कपूरले पनि अध्यात्मको बाटो लिए र उत्तराखण्डमा धार्मिक गुरुसँग लामो समय बिताए तर उनको जीवनमा ठुलो परिवर्तन सन् १९८८ मा इन्टरनेटको आगमनसँगै भयो । उनी भारतमा एप्पल कम्प्युटर र इन्टरनेट प्रयोग गर्ने पहिलो व्यक्ति थिए ।
तर त्यतिन्जेल उनलाई गम्भीर रोगले गाँजिसकेको थियो । आफ्नो नृत्य र अभिनयले भारतीय सिनेमालाई सदाको लागि बदल्ने अभिनेताले आफ्नो जीवनको अन्तिम आठ वर्ष ह्वीलचेयरमा बिताए । हप्तामा तीन दिन डायलिसिसका लागि ब्रीच क्यान्डी अस्पताल जानुपर्थ्यो । तर उनको जिउने साहस सधैँ कायम रह्यो। यस क्रममा उनले काम पनि गरिरहे । आफ्नो मृत्यु हुनुभन्दा केही दिन अघि उनी इम्तियाज अलीको रकस्टारमा रणवीर कपूरलाई गुरु मन्त्र दिइरहेको देखिएका थिए ।
रक्सी र चुरोट बाहेक शम्मी कपूरलाई तेज गाडी चलाउन मन पर्थ्यो । नीला देवीले आफ्नो एक अन्तर्वार्तामा भनिन्, ‘शम्मी बिरामी हुँदा गाडी चलाउन नसक्दा बाँच्नुको अर्थ के हुन्छ भन्ने गर्थे ।’
शम्मी कपूरको निधन १४ अगस्ट २०११ मा भयो ।
शम्मी कपूर आफ्नो करियरमा डान्सिङ स्टार, रिबेल एक्टर, भारतीय सिनेमाका एल्विस प्रेस्ली, याहू स्टार र द गेम चेन्जर जस्ता उपनामले परिचित थिए । यद्यपि शम्मी कपूरले अभिनेताका रूपमा त्यति सम्मान पाएनन् । उनी पहिलो पटक प्रोफेसरको लागि १९६३ मा फिल्मफेयर अवार्डका लागि मनोनीत भएका थिए तर १९६८ मा ब्रह्मचारीका लागि उनले यो सम्मान प्राप्त गरे।
उनले विधातामा सहायक अभिनेताको रूपमा दोस्रो फिल्मफेयर पुरस्कार जिते । पगला कहीं का र ब्रह्मचारीमा उनको भूमिका गम्भीरताले भरिपूर्ण रहे पनि उनको अभिनयलाई गम्भीर अभिनेताको रूपमा हेरिएको थिएन । उनी सधैँ एक लाउड एक्टरको रूपमा मात्रै हेरिए ।
आफ्नो आत्मकथा बाहेक, ऋषि कपुरले धेरै अन्तर्वार्ताहरूमा शम्मी कपूर पनि दादासाहेब फाल्के पुरस्कारको हकदार थिए भनेर भन्ने गर्थे । शम्मी कपुरले कहिल्यै यो पुरस्कार पाएनन् । तर शम्मी कपूरको फिल्ममा एउटा गीत रहेको छ, ‘तुम मुझे युँ भुला ना पाओगे, सुनोगे जब भी गीत मेरे संग संग तुम भी गुनगुनाओगे’ । भारतीय सिन प्रेमीहरूले उनलाई कहिल्यै बिर्सने छैनन् ।
प्रदीप कुमार/बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिन्स र रशिलालाई ललितपुर मेयर कपमा उपाधि
-
वामपन्थीहरू एक भए देश विकास हुन्छ : महासचिव गुरुङ
-
महिला ह्विलचेयर बास्केटबलमा डब्ल्यूएसए पहिलो
-
‘सिंहदरबार र बालुवाटारमा नेपाली सोफाको प्रयोग हुनुपर्छ’
-
गढीमाई मेलाका भक्तजनका लागि आधारभूत सेवा पुर्याउन मन्त्री यादवको निर्देशन
-
दोस्रो इलाम गोल्डकप सुरू, सङ्कटालाई ‘ट्राइबेकर’ मा हराउँदै आयोजक विजयी