मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
सिनेमा

‘महानगर’मा चिसो रातको मन छुने कथा

सोमबार, ११ भदौ २०८०, १० : ०६
सोमबार, ११ भदौ २०८०

खुइलिएको अकासे रङको सर्ट, कुर्कुच्चामा फाटेको जिन्स प्यान्ट र हात्तीछाप चप्पल लगाएर म काठमाडौँ हिँडेको थिएँ । अस्ताउँदो सूर्यलाई नागढुङ्गामाथिको डाँडामा छाड्दै झमक्क साँझ पर्दा पहिलो पटक राजधानी ओर्लिएको थिएँ । 

गोर्खाको उत्तरी गाउँस्थित एक सरकारी स्कुलाबाट माध्यमिक शिक्षा पूरा गरी उच्च शिक्षाका लागि राजधानी ओर्लिंदा मनमा अनगन्ती प्रश्न र आँखामा हजारौँ सपन थिए । 

नयाँ बजारस्थित भाडाको एउटा सानो कोठा नै त्यतिबेला आफ्नो संसार थियो । गाउँको भ्यागुतोलाई कोठाबाहिरको यो महानगरलाई आँखामा समेट्न वर्षौं मलाई लाग्यो । स्वयम्भूको डाँडाबाट उभिएर हेर्दा पर गौशाला र एयपोर्ट देखिन्थे । सँगैका सहपाठीहरू त्यही एरपोर्ट हुँदै खाडी भासिएको तीतो यथार्थले बेला बेला मन अमिलो बनाउँथ्यो । घर छोडेर सहर पस्दा मनमा सकस त हुने नै भयो । त्यसमाथि बढ्दो उमेरमा थपिँदो जिम्मेवारी र बाँच्न गरेको सङ्घर्ष त बिर्सि नसक्नुको छ । मनमा अस्तित्वको सङ्कट आइपरेको थियो । ‘म यो सहरमा किन छु ? यो सहरले मेरो अस्तित्व कसरी स्विकारेको छ ? के यो सहरमा म हुनु वा नहुनुले यसलाई केही फरक पर्छ ?’ जस्ता प्रश्नले घोचिरहन्थ्यो । यी प्रश्नका उत्तरको खोजी कार्य आजसम्म जारी नै छ । सहरका एकान्त गल्लीहरूमा, कोलाहल फुटपाथहरूमा, खण्डहर मन्दिर, चैत्य गुम्बामा भौँतारिरहेको छु । 

यही शुक्रबारबाट रलिज भएर देशैभर लागेको चलचित्र ‘महानगर’ हेरिरहँदा मेरै कथा हेरिरहे जस्तो लाग्यो । एउटा सानो दुर्घटनामा एक अपरिचितलाई सहयोग गर्दा भेटिएका दुई अपरिचित पात्र आशीष र खुसी, जो एक रात महानगरका गल्ली, चोक, पटाङ्गिनी अनि चौतारीमा सँगै रात बिताउँछन् । दुवैको न जाने ठाउँ छ न कुनै परिचित ठेगना नै । एकआर्काको अधुरो अपूरो परिचयबाहेक विश्वासिलो आधार पनि त केही छैन । समय बित्दै जान्छ, रात छिपिँदै जान्छ, दुवै सहरभन्दा माथि डाँडामा पुग्छन् । बियरको तितो घुट्कीसँगै मनका कुण्ठा पोख्छन् अनि आफू अगाडिको निर्दयी सहरलाई ‘माझी औँला’ ठड्याउँछन् । जसै रातको अन्तिम प्रहर बाँकी रहन्छ । समस्याका चाङलाई सिरानी बनाएर ‘खुसी’ मस्त निदाउँछे । अनि बिहानको घामको पहिलो झुल्कोसँगै नयाँ आशाका किरणहरू बोकेर सहर फर्कन्छे ।

चलचित्र ‘महानगर’ को कथा सार यही हो । तर यतिमा कथा सीमित भने हुन्न । यस कथाको सेरोफेरोमा अन्य थुप्रै कथा उपकथा जोडिएर आउँछन् । सार्वजनिक यातायातमा, होटलमा हुने बाल श्रम शोषण होस् अथवा कतारमा लाखौँ नेपालीको रगत पसिनाले ढड्याएको फुट्बल स्टेडियमको विषय होस्, चलचित्रले यो सामाजिक विषयलाई छुन पुगेको छ । त्योभन्दा मुख्य कुरा त आफ्नो कला र गलाको झिनो त्यान्द्रोमा तानिएर ‘महानगर’ पसेका चेलीहरू कसरी डान्सबारको डान्सरदेखि यौन पेसामा लाग्न विवश छन् भन्ने देखाइएको छ । 

दर्शकलाई लाग्न सक्छ ‘कहाँ यस्तो छ र ? सबै कुरा ठिकै त छ नि ।’ तर वास्तविकता भने अर्कै छ । नत्र प्रकाश सपूतको ‘सकम्बरी’ ‘पीर’ जस्ता गीत बन्ने नै थिएनन् । उनकै भाषामा भन्ने हो भने जसले भोगेको छ, उही भोक्तभोगी छ, अरूलाई त त्यसको अन्दाज पनि छैन । यही संवेदनशील तर मानिसले छलफल गर्न नरुचाएको विषयमा ‘खुसी’ पात्रलाई सूत्रधार बनाएर बुनिएको कथा हो– ‘महानगर वान नाइट इन काठमाडौँ । 

चलचित्र बन्न या कथा भन्नैको लागि त्यो ‘लार्जर देन लाइफ’ हुनुपर्छ भन्ने छैन । एक रातमा के कथा हुन्छ र ? भन्ने लाग्न सक्छ । तर एउटा साघुँरो घेरामा रहेर पात्रहरूका विभिन्न मनोदशाबाट कथालाई बुन्न सकिन्छ भन्ने प्रमाण हो ‘महानगर’ । 

केही चलचित्रका कुराः

चलचित्रको पहिलो फ्रेममै प्रमुख पात्र ‘खुसी’ एउटा टेम्पोको अन्तिम सिटमा गहिरो सोचमा हुन्छिन् । उनको मन मस्तिष्कमा जसरी विचारहरू छचलकिएका छन् त्यसैगरी फ्रेम पनि ढुलमुलिएको छ । यो ओपनिङ सिन ज्यादै मन पर्ने खालको छ । त्यसपछि जब जब पात्रहरू गहिरो सोचमा डुब्छन्, तनावमा हुन्छन्, फ्रेम पनि अलमलिएको पाउँछौँ । अनि मैले यस्तै साना साना डिटेलिङमा ध्यान दिन थालेँ ।

दुई अपरिचित पात्रहरू एउटा घटनाका कारण भेटिएका छन् । उनीहरूबाट चलचित्र अगाडि बढाउनुपर्ने छ, त्यो पनि एक रातमा । यस्तो परिस्थितिमा अधिकांश दर्शकहरूले निर्देशकीय खुबी जाँच्ने गर्छन् । त्यो खुबीलाई मोहन राईले च्याप्प समात्न सफल भएका छन् । 

दुई पात्रहरू आपसमा नजिक हुँदै गर्दा बीचमा एउटा सीधा रेखा वा बार खिचिएको छ । सुरुमा यो रेखा प्रस्ट र सपाट देखिन्छ । तर बिस्तारै एक अर्कालाई बुझ्दै जाँदा त्यो रेखा धुमिल हुन पुग्छ । 

बसपार्कको त्यो अन्तिम दृश्य जहाँ ‘खुसी’ अध्यारो छायामा हुन्छिन् भने ‘आशीष’ उज्यालो प्रकाशमा । यो बेलासम्म उनीहरूले मोटामोटी एकअर्काका बारेमा थाहा पाएका त हुन्छन् तर प्रस्ट भने भइसकेका हुँदैनन् । यो बेला पनि उनीहरूबीचमा एउटा रेखा तानिएको छ । उज्यालो र अध्याँरोको बीचको रेखा, जुन छड्के परेको छ । यही एउटा दृश्यबाट प्रस्ट के बुझिन्छ भने अब उनीहरूबीचमा अपरिचित हुनुको सीमा बिस्तारै भत्किँदै छ । एकअर्कालाई थप जान्न र बुझ्न चाहन्छन् । त्यसपछि मात्र कथामा नयाँ रहस्य थपिँदै जान्छन् ।

आशीष दार्जलिङमा जन्मिएर हुर्किएर टुरिस्ट गाइडको काम गर्दै हुन्छ । ऊ चुलबुले छ । देश विदेशका कथा, किस्सा सुनेको, अङ्ग्रेजी फरर बोल्न सक्छ । सहयोगी पनि उत्तिकै छ । त्यस्तै खुसी पनि उस्तै सहयोगी, दयालु तर अन्तर्मुखी छिन् । जो आफ्नो कविताको दममा यो सहरमा स्थापित हुन चाहन्छिन् । तर आर्थिक अभाव र अस्तित्वको सङ्कटले उसलाई आफू पनि साथी जस्तै यौन व्यवसायमा लाग्न बाध्य हुनु पर्छ कि भन्ने डरले लखेटेको छ । आशीषको भूमिकामा कर्मा छन्, जो आँखाको चालमै पात्रको भूमिका र अवस्थाको सजीव चित्रण गर्न सक्छन् । खुसीको भूमिकामा मेनुका प्रधानले धेरै कुरा नबोलेरै, आँखा झुकाएरै आफ्नो पात्रलाई न्याय दिलाएकी छिन् । 

सहर जत्तिको बिरानो र निष्ठुरी कोही हुँदैन । बाहिरबाट हेर्दा सहरमा के छैन ? सबथोक छ । तर खोजी हेर्याे भने यहाँ आफ्नोपन केही छैन । आफ्ना लागि कोही छैनन् । यो आजको समयको यथार्थ हो । भनिन्छ नि जति अग्लो घर त्यति नै धेरै दुःखी आत्मा । यो सहर यस्तै मृत आत्माको चिहानमाथि निदाएको छ ।

‘खुसी’ त्यस्तो प्रतिनिधि पात्र हो जो आफ्नो बलबुतामा केही गर्न महानगरमा आएकी हुन्छे । हर रात भोलिको उज्ज्वल भविष्यको मृगतृष्णामा कोल्टो फेर्दै निदाउन ऊ विवश छे । आफूसँगै आफ्ना सपना रहरलाई जीवित राख्नु छ उसलाई । एक मनले भन्छ ‘गाउँ फर्की जाऊँ, उतै ढुङ्गामाटो कोपरेर जीविका चलाऊँ, अर्काे मनले भन्छ ‘यो सहर तेरो पनि त हो, यति सजिलै कसरी हार मान्न सकिन्छ ? कायर जसरी पिठ फर्काएर भाग्न कसरी सकिन्छ ?’ 

त्यो रात खुसीको जीवनमा ‘मिराकल’ बन्न पुग्छ । वास्तवमा आशीषसँग भेट हुनु नै ‘मिराकल’ मान्नु पर्छ । किनभने आशीषबाटै उसले आफूलाई जान्ने मौका पाउँछे । आफ्ना कमजोरीको हिसाब लागउँछे । डाँडाको टुप्पोमा बसेर पहिलो पटक बियरको घुट्की लगाउँछे अनि चुरोटको पहिलो कस तान्छे । सदियौँदेखि मनमा गुम्सिएर गाँठा परेका कुण्ठालाई छताछुल्ल पार्छे । यो निर्दयी सहरलाई माझी औँला ठड्याउँदै आफूले हार नमानेको बरु उल्टै एक दिन यो सहरलाई आफ्नो मुट्ठीमा कैद गर्ने घोषणा गर्छे । 

जीवन सङ्घर्षहरूको जोड घटाउ हो । यो सहरमा को दुःखी छैन र ? रेसम किराको कोकुन जसरी जिन्दगी आशाको तान्द्रोमा जिलिएको छ । त्यसलाई च्यातेर जोकोही पुतली बन्न चाहन्छ । मेटामोर्फाेसिस हुन चाहन्छ । त्यसका लागि आवश्यक छ ‘ड्रिकिङ थेरापी’ अर्थात् समस्यालाई रक्सीको घुट जसरी पिइदिन सक्नुपर्छ । आखिर यो समस्या पनि त एक दिन टरेर जाने नै छ । 

अन्त्यमा सहरमा अचेल कमर्सियल सिनेमाको बिगबिगी छ । यहाँ कलाकार, निर्माता निर्देशकहरू टिम बनाएर काम गरिरहेका छन् । सफल मानिएका चलचित्रहरूको सिक्वेल निर्माणमा धमाधम लागिपरेका छन् । त्यसमाथि भारतीय तथा दक्षिण भारतीय सिनेमाले त नेपाली चलचित्रको बजारलाई झन खुम्चाइदिएको छ । यस्तो परिस्थितिमा ‘महानगर’ जस्तो सिनेमा बन्नु र चलाउनु कठिनै कुरा हो । त्यसमा न अनावश्यक गीत, आइटम सङ छ, न गुण्डासँग हिरोको घमसान फाइटका दृश्य छन् । न कथालाई अस्वाभाविक लाग्ने टर्न र ट्विस्ट छन् । यसमा वास्तविक जीवनमा घट्ने शाश्वत घटना मात्र छन् ।

९० मिनेट मात्र लामो चलचित्र हेरिरहँदा यो चलचित्र नै होइन जस्तो लाग्छ  । पात्रहरू आफ्नो वास्तविक दुनियामा बाँचिरहेका छन् । त्यसलाई मोहन राईले चुपचाप क्यामेरामा कैद गरेर यसलाई चलचित्रको उपमा दिएका छन् । ‘महानगर’ वान नाइट इन काठमाडौँमा तपाईं आफूलाई पाउनुहुने छ । त्यसमा देखाइएको दृश्य वा संवाद तपाईंकै जीवनबाट टपक्क टिपेको जस्तो लाग्छ । यसलाई तपाईं आर्ट सिनेमा पनि भन्न सक्नु हुन्छ वा कुनै सुन्दर उपन्यासको सजीव चित्रण । किनभने यो चलचित्र अलिक भावनात्मक छ । थोरै काव्यात्मक छ अनि अलि धेरै दार्शनिक पनि । यस चलचित्रमा केही कमीकमजोरी पनि छन् । तर पनि यसबाट भरपुर मनोरञ्जन लिन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रदीप देवकोटा
प्रदीप देवकोटा
लेखकबाट थप