बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
चन्द्रमाको दौड

अमेरिकाले सबैभन्दा पहिले चन्द्रमामा मानिस पठाएको साँचो हो कि झुटो ?

बिहीबार, १४ भदौ २०८०, १० : ३७
बिहीबार, १४ भदौ २०८०

नासाको ‘अपोलो ११’ मिसनअन्तर्गत सन् १९६९ जुलाई २० मा मानव इतिहासमै पहिलोपटक दुई अन्तरिक्ष यात्रीले चन्द्रमामा पाइला राखेका थिए । ‘इगल’ नामक अपोलो लुनार मोड्युलबाट मिसन कमान्डर निल आर्मस्ट्रङ पहिले चन्द्रमाको सतहमा ओर्लिए । त्यसको १९ मिनेटपछि लुनार मोड्युलका पाइलट बज एल्ड्रिन ओर्लेका थिए । चन्द्रमाको सतहमा पहिलो पाइला राख्दै गर्दा निल आर्मस्ट्रङले भनेको वाक्य ‘मानिसका लागि सानो कदम, मानव जातिका लागि ठुलो छलाङ’ अहिले पनि उत्तिकै चर्चाको विषय बनिरहन्छ । 

यी दुई अन्तरिक्ष यात्रीले करिब सवा दुई घन्टा चन्द्रमाको सतहमा विभिन्न प्रयोगसँगै उपकरण जडान तथा फोटो–भिडियो खिचेर बिताए । अपोलो मिसनमा अर्का अन्तरिक्ष यात्री माइकल कोलिन्स पनि थिए, उनको चर्चा खासै हुँदैन, किनकि उनले चन्द्रमाको सतहमा पाइला टेकेका थिएनन् तर उनले यस मिसनमा महत्त्वपूर्ण भूमिका निभाएका थिए । उनी चन्द्रमाको कक्षमा कोलम्बिया नामक ‘कमान्ड मोड्युल’मा परिक्रमा गरिरहेका थिए । यी तीन अन्तरिक्ष यात्रीलाई पृथ्वीबाट चन्द्रमामा र चन्द्रमाबाट पुनः पृथ्वीमा ल्याउने जिम्मा कोलम्बिया नामक कमान्ड मोड्युलले पाएको थियो । 

अपोलो ११ को सफलतापश्चात् अमेरिकाले तत्कालीन सोभियत संघलाई अन्तरिक्ष दौडमा पराजित गरेको थियो । अझ भनौँ, सन् १९६१ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको बहुचर्चित भाषण पूरा भएको थियो । उनको भाषण थियो — यो दशकको अन्त्यमा हामी चन्द्रमाको सतहमा मानिसलाई पुर्‍याएर सकुशल पृथ्वीमा अवतरण गराउनेछौँ । 

त्यसपछि विभिन्न मिसनमा सन् १९७२ सम्म ६ पटक अमेरिकाले १२ अन्तरिक्ष यात्रीलाई सकुशल चन्द्रमाको सतहमा पुर्‍याएको थियो र यो सफलता प्राप्त गर्ने अमेरिका केवल एक मात्र राष्ट्र बन्न पुगेको छ, तर आजसम्म रुस, चीन तथा अन्य देश किन आफ्नो नागरिकलाई अन्तरिक्षमा पुर्‍याउन सकेनन् त ? यो कार्य असम्भव थियो भने अमेरिकाले मात्र कसरी सफलता पायो ? कतै अमेरिकाले चन्द्रमामा मानिस पुर्‍याएको खबर झुटो थिएन ? आफूलाई विश्वसामु शक्तिशाली प्रमाणित गर्न उसको प्रपोगान्डा वा चलाखी मात्रै त थिएन ?

इन्टरनेटको पहुँच बढेसँगै नासाले सावर्जनिक गरेको तस्बिर र भिडियो फुटेजलाई लिएर संसारका थुप्रै मानिसले अध्ययन र विश्लेषण गर्न थाले । केही मानिसले गम्भीर प्रश्न समेत गरे । 

_107959747_mediaitem107959746.jpg

प्रश्न १ : चन्द्रमाको सतहमा खिचिएका तस्बिरमा देखिएका विभिन्न आकृतिका छाया किन समानान्तर छैनन् ? फोटोमा देखिएको निल आर्मस्ट्रङ र एक लामो वस्तुको छाया समानान्तर छैनन्, यसो हुनुमा चन्द्रमाको सतहमा केवल सूर्य मात्र प्रकाशको स्रोत नभएर दुई वा दुईभन्दा धेरै प्रकाशको स्रोतको प्रयोग भएको हुन सक्छ, जुन स्टुडियोमा चलचित्र छायांकन गर्दा प्रयोग गरिन्छ । हुन सक्छ, हामीले त्यसबेला टीभीमा हेरेको लाइभ, हलिउडको कुनै स्टुडियोमा छायांकन पो गरिएको थियो कि ? 

यी दुई छाया समानान्तर नहुनुको कारण छ । थ्रीडीमा भएको घटनालाई टुडी देख्दा हाम्रो हेराइको परिप्रेक्ष्य अर्थात् कोणले गर्दा यसो हुन गएको हो । चन्द्रमाको सतह एक त समतल छैन, यसमा धेरै खाल्डाखुल्डी छन्, अनि सूर्यको प्रकाश सीधा माथिबाट नभई तल लो–एंगलबाट आउँदा यस्तो असमान्तर छाया बन्ने गर्छ, जुन टेक्निक फोटोग्राफीमा पनि धेरै पहिलेदेखि अपनाउँदै आएको पाउन सकिन्छ । 

प्रश्न २ : नासाले सावर्जनिक गरेको तस्बिरमा पृष्ठभूमि अर्थात् ब्याकग्राउन्डमा किन कुनै तारा देखिँदैनन् ? उक्त तस्बिर चन्द्रमाको सतहकै भए त अन्तरिक्षमा लाखौँ तारा थिए, तिनीहरू फोटोमा किन देखिएनन् ?

यसको सजिलो जवाफ तपाईंको फोनमै छ । आफ्नो फोनको क्यामेरा अन गरेर त्यसलाई कुनै उज्यालो वस्तु वा प्रकाशको स्रोतमा फोकस गराउनुहोस् र फोटो लिनुहोस् । उक्त फोटोमा चम्किलो वस्तुको मात्र फोटो देखिन्छ, तर त्यसको वरपरको अलि कम प्रकाश भएका वस्तुलाई क्यामेराले फोकस गर्न सक्दैन र ब्याकग्राउड कालो देखिन्छ । त्यसैगरी चन्द्रमाको उक्त फोटो दिनको समयमा लिइएको हो, जहाँ सूर्यको प्रकाश प्रचुर मात्रामा थियो र अर्को कुरा चन्द्रमाको सतह आफैँले पनि सूर्यको प्रकाशलाई परावर्तन गरिरहेको थियो । यस्तो बेला चम्किलो सुट लगाएका अन्तरिक्ष यात्रीको तस्बिर खिच्दा क्यामेराले स्वाभाविक रूपमा बढी चहकिलो वस्तुलाई फोकस गर्‍या र पृष्ठभूमिमा भएको कम चहकिला तारा तस्बिरमा फोकस हुन सकेनन् र ती देखिएनन् ।

प्रश्न ३ : चन्द्रमाको सतहमा हल्लिरहेको अमेरिकी झन्डाको रहस्य के हो ? जबकि चन्द्रमामा कुनै वायुमण्ड वा हावा छैन ? हावा नभएको ठाउँमा झन्डा कसरी फहराउन सक्छ ? हो, यही समस्यालाई बुझेर नासाका वैज्ञानिकले झन्डाको माथिल्लो भागमा तेर्सो पारेर एक आल्मुनियमको डन्डी राखेका थिए र धेरै दिनदेखि पट्टाएर राखेको झन्डालाई गुरुत्व बल र हावा नभएको ठाउँमा खोल्दा मुजा परेको थियो, जसलाई अन्तरिक्ष यात्रीले झट्कारेर खोल्न खोज्दा फर्फराए जस्तो देखिएको थियो, केही समयपछिको भिडियोमा हेर्ने हो भने सोही झन्डालाई स्थिर देख्न सकिन्छ ।

Neil-Armstrong-Apollo-11-Michael-Collins-Edwin

प्रश्न ४ : चन्द्रमाको सतहमा निल आर्मस्ट्रङ ओर्लंदै गरेको भिडियो कसले खिच्यो ? जबकि उनी पहिलोपटक पाइला राख्दै थिए । यसो हुनमा नासाले चन्द्रमाको सतहमा अवतरण हुने लुनार मोड्युल ‘इगल’मा पहिले नै क्यामेरा जडान गरेको थियो र त्यही क्यामेराले खिचेको भिडियो हामीले देखेका थियौँ ।

प्रश्न ५ : एउटा फोटोमा बज एल्ड्रिनको स्पेस सुटको सिसामा निल आर्मस्ट्रङ देखिन्छन् तर उनको हातमा कुनै क्यामेरा हँुदैन । यसो हुँदा त्यो फोटो कसले खिच्यो ? वास्तवमा अपोलो मिसनमा फोटो खिच्न प्रयोग भएको क्यामेराको बटम यति सानो थियो कि त्यसलाई स्पेस सुटको बाक्लो पन्जाबाट नर्मल क्यामेरा जसरी खिच्न वा मिलाउन सकिँदैनथ्यो, त्यसका लागि अन्तरिक्ष यात्रीको छातीमै क्यामेरा जडान गरिएको थियो र सबै तस्बिर छातीमा जडान गरिएको क्यामेराबाट खिचिएकाले उनको हातमा कुनै क्यामेरा नदेखिएको हो ।

प्रश्न ६ : पृथ्वीको बाहिर दुई तहको ‘भान एलेन बेल्ट’ रहेको छ, जुन पृथ्वीको चुम्बकीय क्षेत्रमा पर्ने गर्छ र यस चुम्बकीय क्षेत्रले सूर्यबाट आउने हानिकारक विकिरण (रेडियसन)लाई पृथ्वीसम्म आउनदेखि रोक्छ । केही वैज्ञानिकको के धारणा थियो भने यो ‘भान एलेन बेल्ट’ एकदमै हानिकारक छ र यसलाई पार गरेर कुनै पनि सजीव वस्तु अन्तरिक्षमा जीवित जान सक्दैन । यही कुरालाई आधार मानेर अपोलो मिसनलाई शंका गर्नेहरू भेटिन्छन् । 

यो कुरा साँचो हो कि ‘भान एलन बेल्ट’ हानिकारक अवश्य छ, तर यसको मात्रा सूर्यको सतहमा हुने हलचलले निर्धारण गर्ने गर्छ र यसलाई वैज्ञानिकले लामो समयसम्म अध्ययन गरिरहेका थिए । जुन बेला अपोलो ११ मिसन हँुदै थियो, त्यसबेला यो रेडियसन एकदमै न्यून थियो र यसमा प्रयोग भएको रकेट तथा स्पेस सुटमा यस विकिरणको असरलाई कम गर्ने गरी बनाइएको थियो । 

प्रश्न ७ : मानिसहरू त्यो बेलाको प्रविधि प्रयोग गरेर सन् १९६९ मै चन्द्रमामा जान सक्थे भने सन् १९७२ पछि किन गएनन् ? वा अन्य देशहरू किन जान चाहेनन् ? जब कि अमेरिका एक्लै ६ पटकसम्म सकुशल गएर फर्किएको थियो ! यसको मतलब यो त होइन, मानिस कहिल्यै चन्द्रमामा पुगेकै थिएनन् ?

यसको उत्तर त्यति सजिलो र सिधा छैन । पृथ्वीबाट चन्द्रमा पुग्नु र सकुशल पृथ्वीमा फर्किनु चानचुने कुरा होइन । यसका लागि धेरै प्रयोग, अनुभव, उन्नत प्रविधि र धेरै विधाका उत्कृष्ट जनशक्ति आवश्यक पर्छ । यही अपोलो मिसनका लागि मात्र करिब चार लाख मानिस र चार बिलियन अमेरिकी डलर खर्च भएको थियो । शीतयुद्धमा सोभियत संघलाई पछि पार्दै विश्वमा अमेरिकाले आफूलाई नम्बर वान साबित गर्नु थियो नै, त्यहीबेला अमेरिकाले अलोकप्रिय भियतनाम युद्धमा सामेल हुन पुगेको थियो । सन् १९७२ सम्म आउँदा नासाको वार्षिक बजेटमा पनि ठुलो गिरावट आउन थालेको थियो र जनताले सरकारमाथि प्रश्न उठाउन थालिसकेका थिए । यस्तो बेला ठुलो धनराशि र जोखिम मोलेर बारम्बार चन्द्रमामा जानुको सट्टा नासाले मंगलग्रहमा जाने र ‘इन्टरनेसनल स्पेस स्टेसन’ बनाउने महत्त्वाकांक्षी प्रोजेक्टमा आफ्नो ध्यान केन्द्रित गर्‍यो । 

_107959787_mediaitem107959786.jpg

अर्को प्रश्न छ : चन्द्रमाबाट कसरी पृथ्वीमा फर्कन्छन् अन्तरिक्ष यात्रीहरू ? 

अपोलो ११ मिसनमा स्याट्रन भी रकेटलाई केनेडी स्पेस सेन्टर फ्लोरिडाबाट प्रक्षेपण गरिएको थियो, जसमा मुख्यतः तीन भाग थिए । एक कमान्ड मोड्युल, जसले अन्तरिक्ष यात्रीलाई पृथ्वीबाट अन्तरिक्ष र अन्तरिक्षबाट पृथ्वीमा ल्याउने काम गरेको थियो । यससँगै जोडिएको थियो, सर्भिस मोड्युल, जसमा यात्राका क्रममा आवश्यक खाना, पानी, अक्सिजन, इन्धन तथा अन्य आवश्यक सामग्री राखिएको थियो । तेस्रो भाग हो लुनार मोड्युल, जसले कमान्ड मोड्युलबाट छुट्टिएर चन्द्रमाको सतहमा अन्तरिक्ष यात्रीलाई पुर्‍याउने काम गरेको थियो । यसपछि यो चन्द्रमाको सतहबाट प्रक्षेपण भएर पुनः कमान्ड मोड्युलमा गएर जोडिएको थियो । यो प्रक्रियामा एकदमै कम मात्रामा इन्धनको खपत भएको थियो । कमान्ड मोड्युलमा लुनार मोड्युल जोडिएपछि कमान्ड मोड्युल आफ्नो इन्जिनको सहायताले पुनः पृथ्वीको कक्ष नजिक आयो । जब यो पृथ्वीको गुरुत्वाकर्षण क्षेत्रभित्र आयो, तब यसले सर्भिस मोड्युलबाट छुट्टिएर प्यारासुटको सहायताले प्रशान्त महासागरमा सकुशल अवतरण गरेको थियो ।

चन्द्रमामा पुग्न रकेटमा प्रयोग गरिएको ९५ प्रतिशत जति इन्धन खपत हुन्छ, फर्कनलाई पाँच प्रतिशत जति मात्र भए पुग्छ, जाँदा जसरी विस्फोट हुने गरी इन्धनको खपत फर्कंदा भने गर्नुपर्दैन । कहिलेकाहीँ भने पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा हावा तथा धुलाका कणमा ज्यादै धेरै घर्षण हँुदा दुर्घटना हुने खतरा रहन्छ ।

६ पटकसम्म अमेरिका चन्द्रमा पुगेर फर्किसक्दा चन्द्रमाका बारेमा धेरै कुरा बाहिर आइसकेका थिए । फेरि त्यही कुरा दोहोर्‍याउन अरु देश उत्साहित भएनन्, बरू अन्य मिसनमा जुट्न थाले । यसरी एक तबरले ‘मुन रेस’को समाप्त भयो, तर आधा दशकपछि फरक उद्देश्य र प्रयोगका लागि ‘मुन रेस’ पुनः सुरुवात भएको छ ।

यसबाहेक अरू पनि थुप्रै प्रश्न, शंका–उपशंका आजपर्यन्त जीवितै छन् र रहिरहनेछन् । चन्द्रमाको सतहबाट ल्याइएका विभिन्न चट्टानलाई संसारभरिको ल्याबमा पठाएर त्यसको मिहीन अध्ययनबाट उक्त चट्टान चन्द्रमाको सतहकै भएको पुष्टि भइसकेको छ भने विभिन्न समयमा चन्द्रमाको सतहमा अवतरण हुँदा, प्रयोगहरू गर्दा र हिँड्दा बनेका पाइलाका डोब, चन्द्रमाको सतहमा छोडिएका उपकरण आज पनि उस्तै र उही हालतमै छन्, जुन फरक–फरक समयमा खिचिएका स्याटलाइट फोटोहरूमा देख्न सकिन्छ । 

हुन त अहिले पनि पृथ्वी गोलो होइन, समतल छ भन्ने मानिस भेटिन्छन्, जसलाई ‘फ्लाट अर्थ सोसाइटी’ भनिन्छ, जुन कुरा असाधारण लाग्ने खालको छ वा मानिसको क्षमताभन्दा फरक छ, त्यसलाई विश्वास गर्न नसक्नु वा विश्वास गर्दिनँ भन्नु मूर्खता हुन आउँछ । सत्य जे हो त्यो शाश्वत छ, जुन कहिलै मर्दैन र मेटिँदैन पनि ।

(लेखक देवकोटा भूगर्भशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरमा स्नातकोत्तर गर्दै छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रदीप देवकोटा
प्रदीप देवकोटा
लेखकबाट थप