इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
सारांश
- दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४ जनाको मृत्यु भएको छ।
- अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौता हिज्बुल्लाहले अस्वीकार गरेपछि सङ्कटमा परेको छ।
- इजरायली सेनाले लेबनानका केही गाउँका बासिन्दालाई घर खाली गर्न चेतावनी दिएको छ।
बेरुत । दक्षिणी लेबनानमा इजरायलले पुनः हवाई आक्रमण गर्दा कम्तीमा ४ जनाको मृत्यु भएको छ। लेबनानको सरकारी समाचार संस्था एनएनएका अनुसार शुक्रबार नबातिएह र बिन्त जबैल क्षेत्रहरूमा भएका आक्रमणमा परी यो क्षति भएको हो।
अमेरिकाको मध्यस्थतामा इजरायल र लेबनानबिच बुधबार मात्रै युद्धविराम सम्झौता भएको थियो। सम्झौता भएको केही दिनमै भएको यस आक्रमणले युद्ध रोक्ने अन्तर्राष्ट्रिय प्रयासलाई फेरि कमजोर बनाएको छ।
युद्धविराम सम्झौता अनुसार दक्षिणी लितानी नदीको क्षेत्रमा रहेका सबै हिज्बुल्लाह लडाकुहरू पूर्ण रूपमा फिर्ता हुनुपर्ने र आफ्ना गतिविधि रोक्नुपर्ने व्यवस्था छ। अमेरिकी विदेश मन्त्रालयको दस्ताबेज अनुसार यो युद्धविराम हिज्बुल्लाहको गोलीबारी पूर्ण रूपमा रोकिएको र लडाकुहरूले सो क्षेत्र खाली गरेको अवस्थामा मात्र लागू हुने सर्तमा आधारित छ।
तर हिज्बुल्लाहका महासचिव नाइम कासेमले यो सम्झौतालाई अपमानजनक भन्दै अस्वीकार गरेका छन्। उनले सम्पूर्ण इजरायली सेना लेबनानबाट फिर्ता हुनुपर्ने माग अघि सारेका छन्। यसैबिच इजरायली आक्रमण र हिज्बुल्लाहको रकेट प्रहार निरन्तर जारी रहेपछि इजरायली सेनाले लितानी नदीभन्दा उत्तरका केही गाउँका बासिन्दालाई घर खाली गर्न चेतावनी दिएको छ। साथै साराफान्ड र साक्साकियेह जस्ता तटीय सहरहरूमा पनि तत्काल क्षेत्र खाली गर्न आदेश दिइएको छ।
इजरायली रक्षा बल (आईडीएफ) का अरबी भाषाका प्रवक्ता अविचाइ अद्राइले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, ‘तपाईंहरूको सुरक्षाका लागि तुरुन्त घर छोड्नुहोस् र कम्तीमा एक हजार मिटर टाढा खुला क्षेत्रमा जानुहोस्।’ लेबनानको एनएनएले उक्त आदेशपछि ठुलो सङ्ख्यामा स्थानीय बासिन्दाहरू विस्थापित भएको जनाएको छ।
अन्तर्राष्ट्रिय उद्धार समितिका अनुसार यस वर्ष लेबनानभर करिब १२ लाख ४० हजार मानिसहरू गम्भीर खाद्य सङ्कटको जोखिममा रहेका छन्। यसमा पनि दक्षिणी क्षेत्र सबैभन्दा बढी प्रभावित हुने र युद्ध बढेसँगै अवस्था झनै खराब हुने चेतावनी दिइएको छ। युद्धविरामका सर्तहरूमा मतभेद देखिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा शान्ति स्थापना गर्ने कार्यमा प्रगति भएको बताएका छन्।
हिज्बुल्लाहले आफैँ फोन गरेर ‘युद्ध रोक्ने ?’ भनी प्रस्ताव गरेको ट्रम्पको दाबी छ। यस विषयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र हिज्बुल्लाहसँग कुरा भएको पनि उनले उल्लेख गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण