शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

६ पटकको विजेता श्रीलंकाले बल्लतल्ल हरायो बंगलादेशलाई

बिहीबार, १४ भदौ २०८०, २२ : ११
बिहीबार, १४ भदौ २०८०

काठमाडौँ । दुई टेस्ट राष्ट्रबीच बिहीबार खेलिएको एसिया कप क्रिकेटमा श्रीलंकाले बंगलादेशलाई पाँच विकेटले हराएको छ । जितसँगै समूह ‘बी’ तालिकामा श्रीलंका पहिलो स्थानमा छ । 

यसअघि बुधबार खेलिएको समूह ‘ए’ अन्तर्गतको खेलमा आईसीसी एकदिवसीय वरीयताको पहिलो स्थानमा आसिन पाकिस्तानले पहिलो पटक एसिया कप खेलिरहेको नेपाललाई हराएको थियो ।

श्रीलंकाको पालेकेलमा खेलिएको एसिया कपको दोस्रो खेलमा टस जिती पहिलो ब्याटिङको निणर्य लिएको बंगलादेश ४२.४ ओभरमा अलआउट हुनुअघि एक सय ६४ रनमात्र बनाउन सक्यो । 

जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली श्रीलंकाले ३९ ओभरमा पाँच विकेट गुमाएर विजय लक्ष्य पुरा गर्‍यो । श्रीलंकाको प्रतिस्पर्धात्मक जितमा सधिरा सामराविक्रमाले महत्वपूर्ण योगदान गरे । 

माथिल्ला तीन ब्याट्सम्यानलाई सस्तैमा गुमाएको श्रीलंकाका लागि उनले ५४ रनको योगदान गरे । टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले ७७ बलको सामना गरी ६ चौका पनि हिर्काए । एकदिवसीय विश्वकपको पूर्वविजेता समेत रहेको श्रीलंकाका लागि चरिथा असालङ्काले अविजित ६२ रनको योगदान गरे ।

उनी पाँचौं नम्बरमा क्रिज समाल्न आएका थिए । उनले ९२ बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काए । कप्तान दुसान सानकाले पनि अविजित १४ रन बनाए । ३५ हजार दर्शक क्षमताको यो रंगशालामा एकदिवसीय क्रिकेटमा बनेको सबैभन्दा कम रनको खराब कीर्तिमान भने जिम्बाबेको नाममा छ । तर, त्यसमा पनि श्रीलंका जोडिएको छ । 

सन् २०२२ को जनवरी २१ मा खेलिएको श्रीलंकाविरुद्दको खेलमा जिम्बाबे २४.४ ओभरमा ७० रनमा अलआउट भएको थियो । उक्त खेलमा श्रीलंका एक सय ८४ रनले विजयी भएको थियो ।

एसिया कपअन्तर्गत बिहीबार खेलिएको खेलमा बंगलादेशका लागि तेस्रो नम्बरका ब्याट्सम्यान नजमुल होसैन सान्तोले सर्वाधिक ८९ रनको योगदान गरे । लामो समय क्रिजमा टिकेका उनले एक सय २२ बलको सामना गरी सात चौका पनि हिर्काएका थिए । 

यसदेखि बाहेक बंगलादेशका लागि अन्य तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बटुल्न सके । ओपनर मोहम्मद नइमले १६, तोहिद हृदोयले २० र विकेटकिपर ब्याट्सम्यान मुसफिकर रहिमले १३ रनको योगदान गरे ।

बंगलादेशका तीन ब्याट्सम्यान त शून्य रनमै पेभेलियन फर्किए । घरेलु टोली श्रीलंकाका बलर माथिसा पाथिराना एक्लैले चार विकेट लिए । उनले ७.४ ओभरमा केवल ३२ रन खर्चिए । महिस थिक्सनाले दुई विकेट लिए । 

पाकिस्तान र श्रीलंकामा आयोजित एसिया कपको १६औं संस्करणमा ६ टोली सहभागी छन् । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । सबैभन्दा बढी एसिया कपको उपाधि जित्ने राष्ट्र भारत हो । भारतले हालसम्म सात पटक उपाधि जितेको छ । श्रीलंका भने ६ पटकको विजेता हो । पाकिस्तानले पनि दुई पटक उपाधि चुमेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप