आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
बालेनको अभिव्यक्ति

गुनासो पोख्न बालेनको घर पुगिन् ट्राफिक प्रहरीकी आमा

मेरो नाम लिएरै चरित्रहत्या भएपछि आमालाई तनाव भएछ : सई न्यौपाने
सोमबार, १८ भदौ २०८०, १३ : ०७
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । शनिबार काठमाडौँ महानगरपालिकाका मेयर चढ्ने सरकारी नम्बर प्लेटको गाडी चेकजाँचमा परेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अब आइन्दा फेरि पनि महानगरको गाडी रोकेमा सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिए । सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेख्नुको कारण थियो मेयर बालेन नभएर उनकी पत्नी सविना काफ्ले चढेको गाडी ट्राफिक प्रहरीले चेकजाँच गर्नु । 

शनिवार साँझ ८ः४९ बजे कोटेश्वर चोकमा ट्राफिक प्रहरीले नियमित चेकजाँचका क्रममा बालेन शाह चढ्ने गरेको सरकारी नम्बर प्लेटको गाडीको विषयमा ट्राफिक प्रहरीले सोधपुछ गरेका थिए । सोही विषयलाई लिएर बालेनको गैरजिम्मेवार अभिव्यक्तिपछि सञ्चारमाध्यममा घटनाबारे समाचार प्रकाशन भएको थियो । 

पहिले शनिवार साँझ भएको के थियो, त्यो बुझौँ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी सविना काफ्ले चढेको सरकारी नम्बर प्लेटको कार शनिबार साँझ ८ बजेर ४९ मिनेट जाँदा ललितपुरको बालकुमारी क्षेत्रबाट कोटेश्वरमा आइपुगेको थियो । त्यहाँ ट्राफिक चेकिङ चलिरहेको थियो भने सवारी साधनहरू लाइनमा रहेका कारण उक्त गाडी केही पछाडि थियो । 

जब उक्त गाडी ट्राफिक चेकिङ भइरहेको स्थानमा आइपुग्यो, त्यसपछि ट्राफिक प्रहरीले सेतो नम्बर प्लेट देखेपछि गाडीलाई रोकेर कागजात र शनिबार चलाउनका लागि स्थानीय प्रशासनबाट लिइएको पास माग गरे ।

तर चालकले शनिबार उक्त सवारीसाधन चलाए पनि पास नबनाएको र उक्त गाडी काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको भएको बताए । तर गाडीमा बालेन शाह नदेखेपछि ट्राफिक प्रहरीले उहाँ को हो भनी प्रश्न गरेपछि चालकले उहाँ बालेनकी पत्नी भएको र अस्पतालबाट फर्किँदै गरेको जवाफ दिएका थिए ।

त्यसलगत्तै ट्राफिक प्रहरीले चालकलाई शनिबार सरकारी सवारीसाधन नचलाउन र चलाउन परे अनिवार्यरुपमा पास लिएर मात्रै चलाउनका लागि सुझाव दिँदै सवारीसाधनलाई छाडिदिएको थियो । उक्त सवारीसाधन शनिबार साँझ ८ बजेर ५१ मिनेट २ सेकेन्ड जाँदा त्यहाँबाट गएको सिसिटिभी फुटेजमा देखिन्छ । अर्थात्, ट्राफिक लाइट, कोटेश्वर चोकको सवारी जाम र ट्राफिक चेकिङ गरी मात्रै २ मिनेट २ सेकेन्ड उक्त गाडी रोकिएको छ । ट्राफिक चेकिङका लागि उक्त सवारीसाधन करिब ४० सेकेन्ड रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र प्रसाद भट्टका अनुसार कोटेश्वरमा नियमित चेकजाँचका क्रममा उक्त सवारीसाधन पनि चेकजाँच गरिएको हो । सेतो नम्बर प्लेटको सरकारी गाडी भएको र शनिबार चलेको हुनाले ट्राफिक प्रहरीले सोधपुछ गरेको उनको भनाई छ ।

भट्टका अनुसार बिदाको दिन भएकाले पास छ कि छैन भनेर सोधेको र चालकको लाइसेन्स हेरेर पास बोकेर हिँड्नु भनी सम्झाएर पठाइएको हो । त्यसबाहेक अरू केही भएकै थिएन ।

चेकजाँचमा खटिएका थिए सई सुशील न्यौपाने

शनिबार साँझ कोटेश्वर चोकको ट्राफिक प्रहरी चेकिङमा खटिएका थिए, ट्राफिक प्रहरीका नायब निरीक्षक अर्थात् सई सुशील न्यौपाने । सुरुमा प्रहरी जवानसँगै चेकजाँचमा खटिएका न्यौपानेले सरकारी नम्बर प्लेट देखेपछि सोधखोज गरेका थिए । त्यसपछि अस्पतालबाट आएको सुत्केरी भनेपछि चालकलाई सम्झाएर छाडिदिएका थिए । 

शनिबार साँझको घटनाक्रम र बालेनको अभिव्यक्तिबारे सञ्चारमाध्यममा समाचार आएपछि बालेनको सचिवालयले आइतबार साँझ विज्ञप्ति निकालेर ट्राफिक प्रहरीले ७ मिनेट रोकेर केरकार गरेको, चेकजाँच गर्ने प्रहरीले मादक पदार्थ र गुट्खा सेवन गरेको लगायतको आरोप लगायो । आरोप त्यतिमै सीमित रहेन, गृह प्रशासनले सुनियोजित तवरले भ्रामक सूचना दिई समाचार सम्प्रेषण गर्न लगाएको आरोपसमेत लगायो । 

के भन्छन् सई न्यौपाने ?

ट्राफिक प्रहरी कार्यालय कोटेश्वरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) सुशील न्यौपाने सोमबार बिहान ९ बजे बानेश्वरको एभरेष्ट होटल अगाडिको ट्राफिक व्यवस्थापनमा व्यस्त देखिए । प्रधानमन्त्री उपस्थित भएको कार्यक्रम होटलमा भएको कारण न्यौपाने होटल बाहिरको ट्राफिक व्यवस्थापनमा सक्रिय थिए । रातोपाटीले उनको फोटो खिच्न लाग्दा उनले फोटो नखिचिदिन आग्रह गरे । 

आइतबार तपाईं बालेनको घरमा पुग्नुभएको हो भन्ने प्रश्नमा उनले आफूभन्दा पनि आफ्नो आमा बालेनको घरमा पुग्नुभएको कारण आफू आमालाई लिन गएको बताए । आमाचाहिँ किन जानुभएको हो भन्ने प्रश्नमा न्यौपानेले आमालाई छोराको विषयमा अनर्गल प्रचार भएको कारण चरित्रहत्या नगरिदिन आग्रह गर्दै पुगेको न्यौपानेले बताए । 

न्यौपानेले भने ‘मभन्दा पनि खासमा मेरो आमा जानुभएको रहेछ । मेरो नाम लिएरै चरित्रहत्या भएपछि आमालाई तनाव भएछ । मादक पदार्थ र गुट्खा खाएर ड्युटीमा बसेकोजस्तो अनर्गल प्रचार गरेपछि आमा त्यस्तो गलत प्रचार नगरिदिन आग्रह गर्नुहुँदै उहाँको घरमा पुग्नुभएको रहेछ । त्यहीँबाट फोन आएपछि म पनि पुगेको हुँ ।’

त्यहाँ भनाभन भएको हो भन्ने प्रश्नमा न्यौपानेले भने ‘कहाँ भनाभन हुनु नि । त्यहाँ बालेनको दाइ हुनुहुँदो रहेछ । आमाले गलत कुरा नगरिदिनुहुन आग्रह गर्नुभएको रहेछ । पछि म पनि पुगेर त्यहाँ के भएको हो, त्यही भने । बालेनका दाजुले पनि पर्सनल्ली नलिन आग्रह गरेपछि हामी फर्किएका हौँ ।’

तर तपाईंलाई त पक्राउ गरेको भन्ने समाचार आयो नि त भन्ने प्रश्नमा उनले भने, ‘खै अब किन त्यस्तो समाचार आउँछ, त्यो त थाहा भएन । अब कसले के के प्रचार गर्छन् भने प्रतिरक्षा गरिरहने कुरा पनि भएन । बालेन र हामी छिमेकी पनि हौँ । उहाँहरूको घर र हाम्रो घर नजिकै छ । त्यही भएर मेरो आमा जानुभएको हो । अब उहाँहरूले प्रहरी बोलाएर पक्राउ गराएको भनेर प्रचार गरेको भए थाहा छैन । त्यस्तो केही भएकै छैन ।’

सो विषयमा प्रहरी वृत्त बानेश्वरका प्रमुख डीएसपी निशान्त श्रीवास्तवसँग कुरा गर्दा कुनै पनि विवाद नभएको र पक्राउ गर्नुपर्ने कारण पनि नभएको कारण त्यस्तो समाचारमा कुनै सत्यता नरहेको बताए ।

फेरि ढाँट्यो बालेनको सचिवालयले

बालेनको आपत्तिजनक स्ट्याटसपछि भोलिपल्ट बिहानै बालेननिकट मानिने फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ले सुरुमा बालेनलाई पुत्री लाभ भएको भन्दै बधाई दिएको थियो । तर त्यसको केही समयमा नै रातोपाटीले बालेनलाई एक साता अगाडि नै पुत्रीलाभ भएको भनेर समाचार लेखेपछि रुटिन अफ नेपाल बन्दले पनि आफ्नो पोष्ट इडिट गरी केही दिन अगाडि नै पुत्रीलाभ भएको सूचना दिएको थियो । रुटिन अफ नेपाल बन्दले त्यस्तो पोष्ट गर्नुको उद्देश्य बालेनविरुद्धको अभिव्यक्ति रोक्ने अस्त्रका रूपमा प्रयोग गरिएको र सुत्केरी हुन अस्पताल जाँदै गरेको भाष्य तयार गर्न खोजिएको थियो । 

तर एक साता अगाडि नै बालेन र उनकी पत्नी सविना काफ्लेलाई पुत्री लाभ भएको र सविना पहिले नै अस्पतालबाट डिस्चार्ज भइसकेको समाचार बाहिरिएपछि सामाजिक सञ्जालमा बालेनको आलोचना र ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी पूरा गरेको बचाउ गरिएको थियो । 

सञ्चार माध्यम र सामाजिक सञ्जालमा बालेनको आलोचना भएपछि सुरुमा बालेनको सचिवालयले सविना बालेनपत्नी सविना सवार सरकारी नम्बर प्लेटको सवारीलाई आधा घण्टा रोकेर चेकजाँच गरेको भन्दै बचाऊ गर्ने कोसिस गरेको थियो । 

तर आधा घण्टा नभएर २ मिनेट मात्रै सवारीसाधन रोकिएको समाचार बाहिरिएपछि आइतबार साँझ बालेनको सचिवालयको तर्फबाट विज्ञप्ति जारी गर्दै सविनाप्रति अमानवीय व्यवहार गरिएको, ७ मिनेट गाडी रोकिएको र काठमाडौँ महानगरपालिकाका मेयर बालेन तथा उनकी पत्नीलाई प्रयोग गर्न गृह मन्त्रालयबाट सहमति प्रदान गरिएको दाबी गर्‍यो । 

तर ट्राफिक प्रहरीले भने सरकारी नम्बर प्लेटको उक्त सवारीसाधन ट्राफिक लाइट, सवारी जाम र चेकजाँचका क्रममा गरी करिब २ मिनेट मात्रै रोकिएको जवाफ दिएको छ । 

गृह मन्त्रालय भन्छ, ‘मेयरपत्नीले प्रयोग गर्ने कुनै सहमति दिएको छैन’

बालेनको सचिवालयले विज्ञप्ति नै निकालेर ‘सुरक्षाका दृष्टिकोणले समेत नगरप्रमुख र उहाँकी धर्मपत्नीलाई प्रयोग गर्न गृह मन्त्रालयले सहमति दिएको’ दाबी गरेको थियो । तर गृह मन्त्रालयको प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले भने मेयर पत्नीले समेत प्रयोग गर्न सक्ने गरी त्यस्तो कुनै सहमति नदिएको बताएका छन् । 

प्रवक्ता भट्टराईले भने, ‘मेयरले प्रयोग गर्न पाउने कुरा कानुनी अधिकार नै भयो । तर सार्वजनिक बिदाका दिनमा प्रयोग गर्नुपर्दा उहाँले पनि पास लिनुपर्ने हुन्छ । मेयरले त अधिकारले नै पाउने भए, तर मेयरको पत्नी वा परिवारका सदस्यले पनि प्रयोग गर्न पाउने वा सक्नेगरी सहमति दिएको मेरो जानकारीमा छैन । गृह मन्त्रालयले त्यस्तो सहमति दिन सक्ने अवस्था पनि होइन । अब मेरो जानकारीमै नभएर अन्य कुनै विधिबाट सहमति लिएको भए थाहा भएन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप