शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘पावर ट्रेड एग्रिमेन्ट’का डकुमेन्टहरु जनतासमक्ष ल्याउन झलनाथको माग

बुधबार, २० भदौ २०८०, १५ : ५२
बुधबार, २० भदौ २०८०

काठमाडौँ । एकीकृत नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनालले छिमेकी देशसँग गर्ने ‘पावर ट्रेड एग्रिमेन्ट’ का डकुमेन्टहरू जनतासमक्ष ल्याउन सरकारसँग माग गरेका छन् । उनले त्यस्ता डकुमेन्ट जनता र संसदबाट अनुमोदन गराएर मात्रै गर्नुपर्ने पनि बताए । 

बुधवार काठमाडौँमा आयोजित पार्टी निकट आदिवासी जनजातिको भेलालाई सम्बोधन गर्दै नेता खनालले नेपालमा उत्पादन हुने बिजुली किन्न छिमेकी देश चीन समेत तयार रहे पनि त्यसबारे सरकारले कुनै चासो नदिएको बताए । खनालले नेपालले कति बिजुली उत्पादन गर्न सक्छ भन्नेमा समेत सरकारले कुनै अनुसन्धान नगरी अहिले उत्पादन भइरहेको बिजुली भारतलाई बेच्न लागेको सुनिएको भन्दै त्यसरी बिजुली बेच्न गरिने सम्झौता जनतामाझ सार्वजनिक गर्न माग गरे ।

‘म यो सरकारसँग के आग्रह गर्छु भने छिमेकी देशसँग जुन प्रकारका पावर ट्रेड एग्रिमेन्ट गरिँदैछ । त्यसका डकुमेन्टहरू जनतासमक्ष ल्याइयोस्’, खनालले भने, ‘जनताबाट अनुमोदन गराएर र संसदमा छलफल गरेर मात्रै यी कुराहरू गरियोस् ।’ उनले नेपालमा उत्पादन हुने बिजुली खपत हुन नसकेपछि कुनै न कुनै देशमा बेच्नु स्वाभाविक हुने भए पनि कस्तो बजार निर्माण गरेर बेच्ने भन्नेमा प्रस्ट हुनुपर्ने बताए । 

‘भारत मात्रै हाम्रो बजार हो कि ? अथवा अरू पनि बजार छन् ? हामीले क्याल्कुलेसन गरेका छैनौ’, उनले चीनको उदाहरण दिँदै भने, ‘चीन पनि हाम्रो छिमेकी देश हो । भारत पनि हाम्रो छिमेकी हो । हामीलाई बढी हुने बिजुली चीन वा भारत दुवैमा बेच्न सक्छौ ।’

उनले चीनलाई समेत बिजुली बेच्न सकिने बताए । ‘चिनियाँहरूसँग कुरा गर्दा के भन्छन् भने तपाईँहरू कति बिजुली निकाल्नुहुन्छ हामी जम्मै बिजुली किन्छौ । र अरूले जति मूल्य दिन्छन् त्यो भन्दा राम्रो मूल्य दिन्छौँ भनिरहेका छन् तर हाम्रो प्राथमिकता कता छ ?’, प्रश्न गर्दै खनालले भने, ‘२५ वर्षका निम्ति भारतलाई बिजुली दिने सम्झौता गर्ने भनेको सुनिँदैछ ।

यो त प्राकृतिक स्रोतसाधन हो । प्राकृतिक साधन स्रोतका बारेमा कुनै पनि देशसँग सम्झौता गर्दा हाम्रो संविधानको धारा १२६ मा दुई तिहाइबाट अनुमोदन गर्नुपर्ने भन्ने छ । त्यो आकर्षित हुन्छ कि हुँदैन ? यो बारेमा कुनै पनि सम्झौताका डकुमेन्ट जनतासामु आएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप