बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘सुपर फोर’ चरणको पहिलो खेलमा पाकिस्तानले बंगलादेशलाई हरायो

बुधबार, २० भदौ २०८०, २२ : १३
बुधबार, २० भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको ‘सुपर फोर’ चरणमा घरेलु टोली पाकिस्तानले सुखद सुरुआत गरेको छ । पाकिस्तानले ‘सुपर फोर’ चरणको पहिलो खेलमा बुधबार बंगलादेशलाई सात विकेटले पराजित गरेको छ । उक्त खेल पाकिस्तानको लाहोरमा खेलिएको थियो ।

टस जिती पहिलो ब्याटिङको निणर्य लिएको बंगलादेशले ३८.४ ओभरमा अलआउट हुनुअघि एक सय ९३ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली पाकिस्तानले ३९.३ ओभरमा केवल तीन विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो ।

पाकिस्तानको जितमा ओपनर ब्याट्सम्यान इमाम उल हकले ७८ रनको योगदान गरे । उनले केवल ८४ बलको सामना गरी चार छक्का र पाँच चौका पनि हिर्काए । उनले नै पाकिस्तानी टोलीको जितको आधार तयार पारेका थिए । उनको विकेट हसन मिराजले लिएका थिए ।

चौथो नम्बरका ब्याट्सम्यान मोहम्मद रिजवानले पनि अर्धशतकीय पाली खेले । उनले अवजित ६३ रन बनाए । उनले ७९ बलको सामना गरी एक छक्का र सात चौका पनि हिर्काए । अघा सलमान १२ रनमा अविजित रहे । 

अर्का ओपनर ब्याट्सम्यान फाखर जामन २० रन बनाउँदै आउट भए । उनले ३१ बलको सामना गरी तीन चौका पनि हिर्काए । उनलाई बंगलादेशी बलर असोरिफुल इस्लामले एलबीडब्लूको धरापमा पारेका थिए । उनी आउट हुँदा पाकिस्तानले केवल ३५ रन बनाएको थियो ।

कप्तान बाबर आजम पनि १७ रन बनाउँदै आउट भए । उनले २२ बलको सामना गरी एक चौका हिर्काएका थिए । उनलाई तास्किन अहमदले बोल्ड गरेका थिए । दोस्रो विकेट गुमाउँदै पाकिस्तानले ७४ रन बनाएको थियो ।

त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशका लागि दुई ब्याट्सम्यानले अर्धशतक बनाएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान सकिब अल हसनले ५३ रन बनाए । उनले ५७ बलको सामना गरी सात चौका पनि प्रहार गरेका थिए ।

छैटौं नम्बरका ब्याट्सम्यान मुसफिकर रहिमले पनि टोलीको खातामा ६४ रन थपे । विकेटकिपर ब्याट्सम्यान रहिमले लामो समय क्रिजमा टिकेर ८७ बलको सामना गरी पाँच चौका पनि प्रहार गरे । ओपनर ब्याट्सम्यान मोहम्मद नइम २० रन बनाउँदै पेभेलियन फर्किए । 

अर्का ओपनर मेहिदी हसन मिराजले त खातासम्म खोल्न पाएनन् । लिटन दासले १६ रन बनाए भने समिम होसैनले पनि १६ रन नै बटुलेका थिए । आफिफ होसैन १२ रन बनाउँदै पेभेलियन फर्किए । बंगलादेशले अतिरिक्त रुपमा आठ रन पाएको थियो ।

पाकिस्तानी बलर ह्यारिस रउफ एक्लैले चार विकेट लिए । उनले ६ ओभरमा केवल १९ रन खर्चिए । अर्का तिब्रगतिका बलर नसिम शाहले पनि तीन विकेट हात पारे । साहिन शाह अफ्रिदी, फाहिम असरफ र इफ्तिखार अहमदले एक—एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप