शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

शेखर कोइरालाको प्रश्न : सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिएपछि पार्टी कसरी चल्छ ?

बुधबार, २७ भदौ २०८०, १३ : ०६
बुधबार, २७ भदौ २०८०

काभ्रे । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिदा पार्टी नचल्ने बताएका छन् । बीपी स्टडी यूथ सर्कलको कार्यक्रममा उनले सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिँदा पार्टी चल्न कठिन हुने बताए ।   

‘सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिएका छन् । पार्टी कसरी चल्छ ?,’ उनको प्रश्न छ, ‘यसमा हामीले सोच्नुपर्ने भएको छ । बीपी कोइरालाका पालामा सभापति प्रणालीमा पार्टी चलेको थियो । अहिले बहुपदीय प्रणाली छ । यो खराब हो म भन्दिनँ । तर, पार्टी चल्नुपर्छ  ।’ 

कांग्रेसमा अहिले सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच मतभेद बढ्दो छ । १४ औँ महाधिवेशनमा सभापतिका प्रत्याशी कोइरालाले सभापति र महामन्त्रीको ध्रुवीकरणा पार्टीका लागि राम्रो नभएको बताए । 

‘यसमा हामीले सोच्नुपर्ने भएको छ । बीपी कोइरालाका पालामा सभापति प्रणालीमा पार्टी चलेको थियो । अहिले बहुपदीय प्रणाली छ । यो खराब हो म भन्दिनँ । तर, पार्टी चल्नुपर्छ,’ उनी भन्छन् ।

पार्टीका सदस्यबाट नेतृत्व छान्ने कुराले राम्रो भएपनि यसमा पार्टीभित्र गम्भीर बहस गर्नुपर्ने कोइरालाले बताए ।  यस्तै नेता कोइरालाले बीपी कोइराला जनतासँग जोडिएपछि पूर्वमा कांग्रेसको आधार बनेको बताए  । ‘जनतासँग जोडिएपछि मात्र कांग्रेस बढ्छ । युवा साथीहरू जनतासँग जोडिनु भएको छैन भने नेपाली कांग्रेसमा नलागे हुन्छ’, उनले भने । अहिलेको निर्वाचन प्रणालीले स्थानी सरकार दिन नसक्ने उनको भनाई छ । 

‘स्थायी सरकार किन भइरहेको छैन । ९० सिट भएको कांग्रेसले ३२ सिट भएको माओवादीलाई नेतृत्व दिनु परेको छ । हाम्रो निर्वाचन प्रणालीमा एक्लै कसैको बहुमत आउँदैन,’ कोइरालाले भने, ‘कुनै पनि दले बहुमत प्राप्त गर्ने गरी निर्वाचन प्रणालीलाई समावेश बनाउन सक्छौँ कि सक्दैन ? यसमा हामीले ध्यान दिनुपर्छ ।’ 

अहिले संघीय नचलेको भन्दै संविधानले दिएको अधिकार तल दिनुपर्नेमा उनले जोड दिए । यस्तै कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले विदा दिनहुँ विमानस्थलमा रोदनबारे कांग्रेस गम्भीर हुनुपर्ने बताए । ‘रहरले मान्छे बिदेसिएको छैन । यसलाई हाम्रो पार्टीले गम्भीर रूपमा लिनुपर्छ’ उनले भने । यस्तै आचार्यले पार्टीको सार्वभौमसत्ता पार्टी सदस्यको हुने भन्दै पार्टीको सदस्यले चाहनालाई छाडेर नेतृत्वले अर्कोलाई टिकट दिएको बताए ।

‘त्यसले पार्टीको  रगतसंचार रोक्छ ।  पार्टीको सदस्यलाई सम्मानित बनाउनुपर्छ । पार्टी सदस्यले नेतृत्व चुन्न पाउनुपर्छ  । पार्टी सदस्यता खुला गर्नुपर्छ ।  पार्टी सदस्यले छानेको मान्छेलाई उम्मेदवार बनाउनुपर्छ । यसका लागि युवा साथीहरू धक नमानी हस्तक्षेप गर्नुपर्छ,’ उनले भने ।

नेता गुरुराज घिमिरेले पनि विदेशिने अवस्थाबारे टिप्पणी गरेका थिए । ‘बाबु– आमालाई छोरोले कुरेर बसेन । तर, बाबुको मृत्युपछि पनि छोरालाई कुरिरहेको अवस्था छ । हाम्रो देशको यो वर्तमान चित्र हो ।  १९ महिनामा २४ लाख नेपाली बिदेसिएको आँकडा छ । २०(३० वर्षपछि नेपाल युवाविहीन हुन्छ,’ उनले भने, ‘नेपालको सुरक्षा खतरा पर्छ । यस्तै अवस्था रह्यो भने लोक सेवा, प्रहरी र सेनामा भर्ना हुने मान्छे हुँदैन ।’ 

सरकारले जनतामा आशा जगाउनुपर्नेमा सरकार देखेर जनता निराश भइरहेको उनको भनाइ छ । ‘उद्योगशील विनाको राजनीति नैतिक हुँदैन ।  प्रश्न उठ्छ  ।  त्यसैले युवा साथीहरू उद्योगशील बन्नुपर्छ,’  उनले भने ।

यस्तै नेता रञ्जित कर्ण नेपाली जनता नेपाली कांग्रेसको काम कारबाहीबाट सन्तुष्ट नरहेका बताए । ‘बीपीसँग सङ्गत गरेका नेता पार्टीको नेतृत्वमा छन् । के उनीहरूले बीपीको दृष्टिकोणमा काम गर्न सके ? हाम्रा नेताका गतिविधिले जनता पार्टीबाट टाढिँदै हुनुहुन्छ । हामी उद्योगशील हुन सक्यौँ भने हाम्रो जीवन शैलीमाथि प्रश्न उठ्दैन । नेताबाट जनताको बुझाइ पनि फेरिन्छ,’ उनले भने ।

कार्यक्रममा नेता भुपेन्द्रजंग शाहीले जनताको समयमा भन्दा मन्त्री र प्रधानमन्त्रीको चिन्ता बढी देखिएको बताए । ‘बीपीको फोटो राखेर भोट कहिलेसम्म माग्ने ? बीपीलाई मृत्यु प्रयत्न कति दुःख दिने हो ?,’ उनको प्रश्न छ,’ हाम्रो पार्टी पदाधिकारीको नाम लिएर भोट माग्न अवस्था कहिले आउँछ । हाम्रा नेताहरूप्रति जनताको आकर्षण बढिरहेको छैन । यसमा हामीले सोच्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप