शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

विदेशी छोरालाई नेपाली बुबाको पत्र

बिहीबार, २८ भदौ २०८०, १२ : ३२
बिहीबार, २८ भदौ २०८०

प्यारो छोरा, हृदयभरिको माया तिमीलाई ।

आज कुशेऔँसी अर्थात् बाबुको मुख हर्ने दिन । वरपर सडकमा अरुका छोराछोरी बाबुआमा भेट्न गएको देख्दा कतै तिमी पनि टुप्लुक्क आइपुगी हाल्छौ कि भन्ने मनमा लाग्ने रहेछ । ‘बा’ भनी गुञ्जने आवाज कताकता अन्तरङ्गमा गुञ्जायमान हुँदा रहेछन् । अझै पनि तिमीले तातेताते गरी बामे सरेका ती हिँडाइ आँखामै देखिने रहेछन् । गल्ती गर्दा तिम्री आमाले गाली गर्ने डरले तिमी मेरो काखमा बस्ने गथ्र्यौ । अहिले पनि काखैमा छौ जस्तो लाग्ने रहेछ । मेरा काँधमाथि हट् घोडा हट् गथ्र्यौ, अहिले पनि गरिरहेका छौ जस्तो लाग्ने रहेछ, तर यी केवल मेरा स्वप्न र कल्पना हुन् ।

छोरा, लाग्थ्यो तिमी ठुलो भएपछि हाम्रा सहारा बन्नेछौ, देशमै केही गर्नेछौ । विडम्बना, कक्षा १२ पास नहुँदै बिदेसिने सपना देख्यौ र बिदेसियौ । तिम्री आमा र मलाई लाग्ने गथ्र्यो कि पढाइ सकेर तिमी फर्कन्छौ, तर कदापि त्यस्तो हुन सकेन । तिमी झन् उतै सेटल हुने कुरा गर्न थाल्यौ । 

बिचमा एकपटक घरमा आएका थियौ, हामीलाई पनि सँगै लैजाने सपना देखाई पुख्र्यौली तथा हामीले खाइनखाइ गरी जोडेका सम्पूर्ण सम्पत्ति बेची रकम बोकी उतै फर्कियौ, तर के ग¥यौ थाहा भएन । त्यस दिनदेखि हामीलाई शत्रुझैँ गरी चटक्क माया मारी तिमी सम्पर्कविहीन नै भयौ । पल्लाघरे धनेको छोराले भन्थ्यो, तिमी त उतैको नागरिक भयौ रे, उतैको केटीसँग विवाह गरेका छौ रे । उतै घर गृहस्थी बसाएका छौ रे । के गर्नु बाबु, तिम्रो विवाहमा सहभागी भई तिमीलाई आशीर्वाद दिने र बुहारीलाई कुलको संस्कार सिकाउने सौभाग्य हामीमा रहेनछ ।

तिमीले महँगो चिल्लो कार किनेका छौ रे । सेठझैँ देखिन्छौ होला है छोरा त्यो गाडीमा बस्दा त ? तिमी त बस्यौ छोरा कारमा, महँगा घरमा । सयौँ डलर तिरेर विदेशी रेस्टुरेन्टमा बसी मिठामिठा खान्छौ होला, तर हामी यहाँ ! तिमीले सबै सम्पत्ति बेची पैसा दिनु भन्यौ, हामीले सुम्पियौँ । यहाँ हामी घरबारविहीन भयौँ । कति दिन त तिमी लिन आउँछौ कि, फर्की पो हाल्छौ कि भन्ने आशामा भोकभोकै पनि दिनहरू बितायौँ, तर वर्षौं बित्यो तिम्रो एक कल फोनसम्म आएन, न तिमीले हाम्रो हाल खबर बुझ्ने प्रयास नै ग¥यौ । सकुन्जेल अरुका घरमा काम गरेरै खायौँ । 

बल र बैँस सकिँदै गएपछि मालिकले पनि नपत्याउने रहेछन् छोरा । हुन त हामीलाई मालिकहरूले किन पत्याऊन्, आफ्नै सन्तानले त पत्याएनन् । काम गर्न नसेकपछि कति दिन त मागेरै खायौँ । तर के गर्नु छोरा थोत्रो गाडीको इन्जिन जस्तो हाम्रो स्वास्थ्य, पार्किङविना घामपानीले रङ उडाएको गाडी जस्तो हाम्रो शरीर झन्डै झन्डै थन्किने अवस्थामा पुग्नै लाग्दा हामीलाई हेर्न कोही आयो, जसलाई हामीले तिमीलाई जसरी जन्माएका होइनौँ, तिमीलाई जसरी माया पनि गरेका थिएनौँ, हामीलाई उनैले उपचार गरिदिए, उनले तिम्रा बा–आमाजस्ता धेरै बा–आमाको सेवा गर्छन् ।

आजको दिन धेरैका छोराछोरीले त्यो फेसबुक कि के जातिमा बाबुको फोटाहरू हाल्छन् रे ! तिमी चाहिँ कदापि त्यसो नगर्नू है छोरा । हामी चाहँदैनौँ, तिम्रा बाबुआमा दुःखी–गरिब भएका कारण तिमी लज्जित हुनु परोस् । हामी चाहँदैनौ, माग्नेका छोरा हो भनी तिमी परिचित हुनु परोस् । 

हाम्रो शुभकामना छ, अहिले हाम्रो सेवा गर्ने छोराहरूमा जस्तै सकारात्मक भावनाको विकास तिमीमा होस् । पृथ्वीनारायण शाह, कालु पाण्डे जस्ता छोरा बन्न नसके पनि आजैका दिन करौडौँ नेपालीको मुटुमा बसी पशुपति आर्यघाटमा जल्दै गरेका सुवास नेम्वाङ जतिको भए पनि बन्ने प्रयास गर्नु छोरा तिमी । शुभकामना छ तिमीलाई ।

तिम्रो अभागी बुवा

(लेखक नापित नेपाल सरकारको शाखा अधिकृतका रूपमा कार्यरत छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

उदयराम नापित
उदयराम नापित
लेखकबाट थप