आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

हाम्रो कोमल आस्थामाथि ढोँगी–पाखण्डीको रजाइँ

शुक्रबार, ०५ असोज २०८०, १४ : ३३
शुक्रबार, ०५ असोज २०८०

देश परिवर्तन हुन समाजको सोच परिवर्तनको गतिमा निर्भर रहन्छ । परम्परागत सोचले नवीन आविष्कार गर्न कठिन हुन्छ । नेपाल विकास हुन नसकेको एउटा कारण परम्परागत सोच हो । हाम्रो समाज युगौँदेखि ढोँग र पाखण्डको थिचिएको छ । त्यसैले सही गतिमा समृद्धि र विकासको बाटो पर्गेल्न सकिरहेको छैन । समाजमा उही पछौटेपन, द्वन्द्व र वर्गहरूबिच ठूलो खाडल लिएर चलिरहेको छ । वैचारिक दरिद्रता, परम्परागत र रूढिवादी ढोँग आजसम्म कायमै छ । नेपाली समाज आफ्नो स्वभाव र चरित्रमा यस्तै कमी र दोषहरूलाई लिएर विकास र समृद्धिको सपना देखिरहेको छ । समाज तथा राजनीतिमा झुट ढोँग, पाखण्डलाई साथमा लिएर नेपाली समाजले प्रगति पथमा अघि बढ्न कति सम्भव छ ? 

समाजमा व्यापक धार्मिक, जातीय तथा राजनीतिक कुसंस्कार, विसङ्गति, द्वन्द्व र पछौटेपन छ । ढोँगी र पाखण्डी पण्डितकै कारणले राजनीति फोहोरी खेलमा परिणत भएको छ । राजनीतिमा भएको कुसंस्कार हट्न सकेको छैन । प्रगति र विकासको बाटो पहिल्याएर अघि बढ्न सकेको छैन । विडम्बना कस्तो छ भने नेपाली समाज यस्ता ढोँगी र पाखण्डीहरूलाई चिन्न सक्दैन, चिन्न पनि चाहँदैन । ढोँगीहरूको बोलीमा एउटा कुरा र व्यवहारमा अर्को रूप देख्न सकेको छैन । किनकि उनीहरूले ढोँगलाई वाककलाले सजाएर आफ्नो पक्षमा परिस्थितिलाई मोड्न सिपालु छन् । गलतलाई पनि सत्य जस्तोे भाष्य बनाएर मानिसलाई भ्रमित पार्न सक्छन् । 

ढोँग र पाखण्डका बहुआयामिक प्रभावबाट नेपाली समाज आक्रान्त छ । आमनागरिक चमत्कारमा विश्वास गर्दछन् र यस्तै ढोँगी पण्डितहरूका अघि झुक्छन् । यसरी नै समाजमा कुसंस्कारले जरा गाड्न पुग्छ । पण्डित भनिएकाहरू नै निरपेक्ष सत्यबाट विमुख भई जब व्यक्तिगत स्वार्थ र आग्रहका भरमा कल्पित व्याख्या दिन थाल्छन् तब ढोँग र पाखण्ड अझ मौलाएर पूरै देश र सामाजिक जीवन विकास र प्रगतिको अवरुद्ध हुन थाल्छ । यही प्रवृत्तिले नेपाली समाजमा विभेद र छुवाछूतको अवस्था अझै चलिरहेको छ । पश्चिमका जिल्लाहरूमा छाउपडी प्रथाका बारेमा तिनीहरू चुँइक्क बोल्दैनन् । अझै पनि विकटका गाउँहरूमा जातीय विभेदको समस्या उत्तिकै छ । धर्मका नाममा, भूत, भविष्य बताउने नाममा, धनधान्यको यन्त्र दिने नाममा, विभिन्न बहानामा जताततै मान्छे ठगिइरहेका छन् । ती पण्डितहरू असहाय र दुःखीहरूको सेवा गर्दैनन्, सकेसम्म आफैँ सोहोर्छन् । यस्ता स्वार्थीहरू समाजमा भएका धार्मिक कुसंस्कारहरूका बारेमा बोल्दैनन् ।

ढोँगी चरित्र र पाखण्डी व्यवहारको साम्राज्य निकै मजबुत रहेको हुनाले नेपाली जनताले अब यो चरित्र भत्काउन अध्ययन, ज्ञान र चेतनामा आफूलाई अब्बल साबित गर्नुपर्छ ।   

आकर्षक पहिरन र आवरणले शोभित जटावाल धार्मिक पण्डितहरू राजनीतिलाई धारेहात लगाएर भ्रष्ट र लुटेरा भएको आरोप लगाउँछन् । उल्लेखनीय कुरा त उनीहरूले समाजलाई जस्तो सिकाए समाज त्यस्तै चलिरहेको छ । उनीहरू नै पहिलाको राजनीतिक व्यवस्थामा कुन शास्त्र पढेर हो समाजमा छूत र अछूतको व्याख्या गर्दै कथित ‘शूद्र र नारी’ लाई अपवित्र घोषणा गरेर तिनलाई पढ्न, लेख्नबाट वञ्चित गर्थे । जब राजनीतिले कोल्टे फेर्‍यो, तिनै पण्डित अहिले कुन शास्त्र पढेर हो, त्यस्तो विभेदलाई ‘पाप’ भनिदिन थाले । कहाँ के भनिदिँदा खुसीसाथ दान–दक्षिणा पाइन्छ भन्ने मात्र तिनको चासो हो । मानिसका विभिन्न क्रियाकलाप बारेमा समेत तिनकोे मापदण्ड र व्याख्या विवादित छ । मांसाहारीका बीचमा पुगे उनीहरू बलि प्रथा र पौराणिक देवीको माहात्म्य र पूजा विधि व्याख्या गर्छन् भने शाकाहारी भएका ठाउँमा पुगेपछि अहिंसाको रटान दिन्छन्, श्रीमद्भागवत् र उपनिषद्का श्लोकहरू निकाल्छन् । धेरै विषयमा पण्डित पण्डितकै (शास्त्र शास्त्रकै) मत बाझिने गर्दछ । यही स्वार्थप्रेरित मत र व्याख्याले हिन्दु धर्मलाई ढोँगी चरित्र प्रदान गरेको छ । यो एउटा उदाहरण मात्र हो । यस्ता अनेकौँ उदाहरण छन्, जो यस लेखमा प्रस्तुत गर्न सम्भव छैन । 

यस्तै विकृति र ढोँगले नेपाली समाजमा शिक्षा र चेतनाको अङ्कुर फुट्ने अवसर नै नपाई तिनका हातको नियन्त्रणमा गयो र अझसम्म मुक्त हुन सकेको छैन । विगतमा सामाजिक रूपान्तरणका लागि राज्यतर्फबाट नै निषेध थियो । राजनीतिक परिवर्तनले केही स्वतन्त्रता प्राप्त भयो । त्यसपछि पनि विकृत राजनीतिले नेपाली आम नागरिकको चेतनास्तर र शिक्षामा खास प्रगति हुन नसकेको परिणाम स्वरूप अझै पनि नेपाली वैचारिक तथा चेतना स्तर तिनै ढोँगीहरूको नियन्त्रणमा नै रहेको छ । यो कुरा विचारणीय छ । भिन्न शास्त्रहरूले आपसमा बाझिएका तर्कबाट धर्मावलम्बीहरूलाई विभाजित गरेका छन् । यही कारणले आम जनता आफू आफूमा लडिरहेका छन् । उचित र अनुचित, सही र गलत छुट्याउन नसकेपछि नागरिकहरू यस्तैका पछि लागेर तिनका हरेक स्वार्थ पूरा गर्छन् र आफू शोषित भइरहेका छन् । यस्ता पण्डितहरू यौन अपराधदेखि लिएर ठगीका कार्यबाट अछुतो रहेका छैनन् । यी वर्गका मानिसको प्रवृत्ति भने एउटै हुन्छ । चाहे युवा होस् या वयस्क, पुरानो होस् वा नयाँ । विचारणीय कुरा के छ भने उनीहरू अरूलाई पाप र पुण्यको व्याख्या त गर्छन् तर लाग्छ तिनीहरूलाई पाप लाग्दैन । मानौँ तिनलाई पापबाट छुट छ । 

ढोँगको यो बहुरङ्गी अवस्थाले प्रगतिको उल्टो बाटोमा हिँडाउँछ । देशमा अराजकता फैलिन्छ । समाजमा अनावश्यक धार्मिक तथा वर्गीय द्वन्द्व सिर्जना हुन्छ । मानिसको आचरण र बोली सत्यबाट टाढा काल्पनिक र आदर्शवादी चरित्रमा चल्छ । यस्तो किसिमको अवस्था हामी देख्दै र भौग्दै आइरहेका छौँ । जब राजनीति कमाउने पेसा बन्छ तब राज्य नै अनैतिक र स्वेच्छाचारी बन्छ । राजनीतिक पण्डित ढोँगी भए प्राकृतिक र सार्वभौम विधि र पद्धतिको नाश हुन्छ । सुशासन र समृद्धिको बाटोतर्फ राज्य जान सक्दैन । राजनीतिमा इमानदारी रहँदैन, देश र जनताको अवस्थाले छुँदैन । आम नागरिकको दुरवस्था र परिस्थितिको पुकार सुनिँदैन, राजनीतिमा कलह, स्वेच्छाचारिता, स्वार्थ र भ्रष्टाचार मौलाउँछ । यसरी ढोँगी प्रवृत्तिले नेपाली समाज विभाजित, झुट र पाखण्डपूर्ण भई दुर्भाग्यको सिकार हुन पुगेको छ । श्रममा विश्वास गर्न छोडेर जब आम जनसाधारण चमत्कार र नायकत्वमाथि विश्वास गरेपछि आम नागरिकको जीवनयापन र जीविकाका सबै पक्ष अविश्वसनीय र भरोसालायक रहँदैनन् । जनतामा डरलाग्दो निराशा छाउँछ । 

नेपाली समाज तथा राजनीतिक वृत्तमा चलाइएका यस्ता विभिन्न खाले ढोँगका रूपहरू र पाखण्डको नालीबेली लगाएर साध्य नै छैन । विशेष गरी ढोँगीहरू कृत्रिम तर्क दिएर पन्छिने गर्दछन् । ढोँगले गाँजेको समाजमा सत्य, तर्क र मापदण्डको कुनै स्थान हुँदैन । राज्यको सुरक्षा, प्रगति र विकास जस्ता अहम् र निरपेक्ष सवालको समेत पर्वाह नगर्नु, सम्बद्ध सबै पक्षहरू एकमत नहुनु, राज्यका अङ्गहरूमाथि हस्तक्षेप गर्नु, शक्तिको दुरूपयोग गर्नुको दुष्परिणाम त हामीले देखिरहेका छाँै । यही कारण त्यहाँ कलह हुन्छ, सबैका आआफ्ना बनावटी सत्य हुन्छन् । यो सबै हामी जनताको सोझोपना, बुझाइमा कमी र दास मानसिकताले गर्दा हुन्छ । हाम्रो यही कमजोरीले गर्दा हामीलाई पल पल शोषण गरेर ढोँगीहरूले अकण्टक राज चलाउन सफल भएका हुन् । 

देशमा लोकतान्त्रिक भनिएका शक्तिहरू जब चरम अलोकतान्त्रिक व्यवहार गरेर समाजमा अराजकता फैलाइरन्छन् तब तिनीहरूले आफ्नो पतनको खाल्डो पनि सँगै खनिरहेका हुन्छन् । यसले जनतामा चरम नैराश्य पैदा भई नयाँ शक्तिको खोजी गर्न थाल्छन् । अर्कोतिर वामशक्तिहरू जो जनतामा केही रूपान्तरणको काम गरेर विश्वास पैदा गरेर राजनीतिमा रहन्छन् तिनीहरूको समेत सिद्धान्त र व्यवहारमा तालमेल हुन छोड्छ । अनि ढोँगको नमुना बन्छ, सिद्धान्तको धुलो उड्छ । तिनको भनाइ पनि बनावटी लाग्न थाल्छ । निर्लज्जताको सीमा नाघेर जब आफूलाई जनवादी विचारको नेता भनेर दाबी गर्नेहरू कमिसन, भ्रष्टाचार र तस्करीको जालो फैलाएर अकुत धन आर्जन गर्छन् तब धनवादमा फेरिएको जनवाद एक फगत ढोँग साबित हुन्छ । जनतालाई समृद्ध बनाउन गरेको प्रतिबद्धताको दुस्मन आफँै हुन थालेपछि जनतामाथि कुठाराघात हुन्छ, तब पाखण्डको चरम नमुना बनेर राजनीतिक नायकहरू जनताको नजरमा खलनायक बनेर देखा पर्दछन् । 

यस देशमा अरू पनि ढोँगी छन्, जो गलत व्याख्या गरेर जनतालाई गुमराहमा राख्छन् र विवाद पैदा गरिरहन्छन् । बुद्धिजीवी नामका ती पण्डितहरूको व्याख्या विभिन्न रङका हुन्छन् । ती पाखण्डीहरू समाजमा कु–पण्डित्याइँ गरेर राजनीतिक पण्डितको आग्रहअनुसार समाजलाई बिथोलिरहेका हुन्छन् । घटनाहरूलाई विभिन्न तरिकाले व्याख्या गरेर बङ्ग्याएर समाजमा अन्योल सिर्जना गर्दछन् । आमजनता यस्ता कुतर्कबाजका भिन्न भिन्न व्याख्यामा कुन झुठ र कुन सत्य पर्गेल्न सक्दैनन् । तिनले आफ्नो बुद्धिजीवीको अनुहार पछाडिबाट समाजमा झुटो भाष्य र व्याख्या फैलाउन व्यस्त हुन्छन् । जनताले तिनको भाष्यलाई ग्रहण गरेर विचार निर्माण गर्ने भएकाले तिनका व्याख्याले अन्ततः जनतालाई दिग्भ्रमित र विभाजित बनाई अन्योल अन्योलमा आपसमा भिड्नेसम्म बनाउँछ । यस्ता पाखण्डीले समाजमा जातीय, सांस्कृतिक तथा धार्मिक सद्भाव भड्काई अन्ततः द्वन्द्व फैलाई समाजमा विभाजनको रेखा कोर्छन् ।

यो ढोँगी चरित्र र पाखण्डी व्यवहारको साम्राज्य निकै मजबुत रहेको हुनाले नेपाली जनताले अब यो चरित्र भत्काउन अध्ययन, ज्ञान र चेतनामा आफूलाई अब्बल साबित गर्नुपर्छ ।  नेपाली समाजको परिदृश्य चरम निराशामा भुङ्रिएको अवस्थालाई ख्याल गरेर त्यसैलाई लक्ष्य राखेर यस्ता प्रवृत्तिको भण्डाफोर हाम्रो रूढ मानसिकताबाटै प्रारम्भ गर्नु पर्छ । हाम्रो कोमल आस्थामा रजाइँ गर्न पल्किएका ती पाखण्डी र धूर्तहरूको यो राज ध्वस्त पार्न आजैदेखि हाम्रो चेतनास्तर पुष्ट पार्नु पर्छ । हामीलाई स्वार्थको लोभ देखाएर राज गर्ने र दिग्भ्रमित पार्ने व्याख्याहरूको अन्तर्य खोतल्न अघिसर्नु पर्छ । विभिन्न शक्तिहरूको प्रभावविन्दुहरू चिन्न सक्नुपर्छ । सही र गलतको पहिचान गरेर सहीलाई साथ दिनुपर्छ । हामीले लडेर ल्याएको पद्धतिलाई सदुपयोग गर्नु पर्दछ । राज्यका नियम र पद्धतिहरूको ज्ञान प्राप्त गर्नुपर्छ । हामीसँग मीठो बोलेर आकर्षण गर्नेहरूको चरित्र र आचरणको विश्लेषण गर्नु पर्छ । जनताको मनबाट ढोँगीहरूले खडा गरेको कुचक्रलाई भत्काएर प्रगतिको राष्ट्रिय मूलधारमा आउन भूमिका खेल्नु अपरिहार्य देखिन्छ । 

सुन्दरहरैँचा, मोरङ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गाप्रसाद खरेल
दुर्गाप्रसाद खरेल
लेखकबाट थप