सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
निबन्ध

जीवनको अर्को संस्करण

शनिबार, ०६ असोज २०८०, ११ : ५२
शनिबार, ०६ असोज २०८०

थाहा छैन जीवनको अर्को जन्म हुन्छ, हुँदैन । जीवनले पुनर्जन्म लिन्छ कि लिँदैन ? तर, यति चाहिँ ज्ञात हुनैपर्छ, जीवनमा हामीले के गर्नुपर्छ र के गर्नु हुँदैन ? 

ऐजनका यी कुराहरू हामीलाई कसैले भनिरहनु पर्दैन । उमेरसँगै हामीले आफैँ बुझ्छौँ यी कुरा । कतिपय बुझेर पनि अबुझ भइदिन्छन् । 

तथापि, जीवनको अर्को संस्करण प्रकाशित हुन्छ । जुन मृदुल स्नेह–तरङ्गले समाविष्ट । मायाको असीम अभिव्यक्तिले ओतप्रोत । ममताको छहारीमा सुरक्षित । जागिरे जीवनमा निष्ठा, नैतिकता र इमानदारिताले भरिभराउ । अवकाशको फुर्सदमा पनि झन् धेरै जिम्मेवारीको दौडाहा । 

ममतामय भावनाहरूले भरिभराउ । कुनै किसिमको दोष र खोट नभएको बेदाग । मनोरम प्रकृतिजस्तै शान्त र सुन्दर अवयव ।

सावधानीपूर्वक सोचविचारले प्रत्येक काम गर्नुपर्ने हुन्छ । काम गरिसकेपछि गल्ती हुन्छ । तर सच्याउन मिल्दैन । काम प्रतिको गम्भीर समर्पणले गल्ती गराउन कम गर्छ । 

हिजोको दिन र गते आज अर्कै दिन र गते भइसकेको छ । हिजोको क्षणलाई क्षणिक पनि भेट्न सकिँदैन । गल्ती सच्याउन, सुधार्न मिल्दैन । जसरी बगेको खोला पछाडि फर्किन सक्दैन, त्यसरी नै गएको समय, दिन र बोलेका कुरा फर्किन, फर्काउन सकिँदैन । 

जसरी प्रकाशित कुरा सच्याउन मिल्छ, भूल सुधार ‘फ्रुफ मिस्टेक’ भनिकन । तर व्यतीत दिनलाई कहाँ सच्याउन सक्नु, सकिँदैन । 

त्यसैले, सावधानीपूर्वक सोचविचारले प्रत्येक काम गर्नुपर्ने हुन्छ । काम गरिसकेपछि गल्ती हुन्छ । तर सच्याउन मिल्दैन । काम प्रतिको गम्भीर समर्पणले गल्ती गराउन कम गर्छ । 

मनन, महसुस गरौँ, गल्ती कम भएको काम आफ्नै लागि पनि गर्वको हुन्छ । 

त्यस्तो काम लाभदायक र आरामदायक पनि हुन्छ । किनभने जुन काममा पुनः अरू कसैको अनावश्यक गुनासो र गनगन सुन्नु पर्दैन । बरु तारिफ र ताली पाइन्छ भने त्यो काम अवश्यमेव सबैलाई मान्य भएको मानिन्छ ।

कुनै पनि काम अरूका लागि हुँदैन, सर्वप्रथम त्यो काम आफ्नो लागि हुन्छ । त्यसपछि त्यो काम अरूका लागि हस्तान्तरण गरिन्छ । आफ्नो लागि भनेर गरिएको काम निक्कै उपलब्धिमूलक हुन्छ । तर अरूका लागि भनेर गरिएको काम सधैँ अरूकै लागि हुन्छ, आफ्नो निम्ति हुँदैन । 

आफ्नो लागि भाग लाग्ने भनेको अपजसको भारी । दोष र खोटको पगरी मात्र हो ।

कामले जहिल्यै आफैँलाई खोजिरहेको हुन्छ । हामीले कामलाई खोजिरहेका हुन्छौँ । कामको खोजीमा हामी भौँतारिरहेका हुन्छौँ । समयले जस्तै कामले कसैलाई पर्खिँदैन । यसरी खोजी क्रम आदिम कालदेखि अविच्छिन्न छ । 

काम गर्नु त गर्नु सच्याउन मिल्नेसम्म काम गर्नु । हिँड्नु त हिँड्नु कुनै प्राप्ति विना के हिँड्नु । बोल्नु पनि कुनै तात्त्विक तर्क नराखी, नभई के बोल्नु । लेख्नु पनि कुनै नयाँ, नवीन सोचशैली र सामर्थ्य नभएको मनगढन्ते वाक्य विन्यास । शब्दहरूबीच नै लाजमर्दो अभिव्यक्ति के लेख्नु । 

शब्दलाई के गाली गर्नु, लेख्नेले लेखिसकेपछि । मरन्च्याँसे सतही सामान्य लेखाइ किन लेख्नु । कति लेख्नु ? लेखाइमा दम हुनुपर्छ । लेखाइ फिक्का, फुस्स, फोस्रो र फजुलको हुनु हुँदैन । 

वस्तुतः केही न केही ओज, अस्तित्व र आत्मीयताको लेखाइ हुनुपर्छ । 

अन्ततोगत्वा जसले सबैलाई बुझाउन सकोस् । जसलाई सबैले बुझ्न सकुन् ।

दुर्गमका सुस्केराहरू जहाँ अभिव्यञ्जित हुन् । निम्छरो, निर्धो ज्यानका जीवन जहाँ अभिव्यक्त हुन् । हाँसोमा रुवाइ होइन कि रुवाइमा पनि हाँसोको छचल्कन जहाँ प्रतिबिम्बित भइरहोस् । 

कुनै पनि सिर्जना प्रेरणादायी होस् । लेखेको कुराले कसै न कसैलाई प्रभावित गरोस् । लेखिएका शब्दहरूले कसैको मन छोएर त्यसबाट सकारात्मक प्रभाव परोस् । फलस्वरूप हेर्ने दृष्टिकोण र बुझ्ने मानसिकतामा परिवर्तन ल्याउन सकोस् । 

मङ्गल कामना यस्तो कि, व्यवहारमा परिष्कार होस् । बोलीमा नम्रताको अनुपस्थिति नहोस् । हिँडाइमा सुस्त मति होइन, गतिशीलता कायम होस् । सोचाइमा सङ्कीर्ण होइन, व्यापक भाव समेटिएको होस् ।

वस्तुतः लेख्नु सधैँ अमर भावनाहरू लेख्नु । सबैको मन छुने शब्द–संयोजन । मनले सम्झिने शब्द–संरचना । सबैले बुझ्ने भाषाशैलीमा शब्द–चयन । जीवनका अनेकौँ पात्र र पाटाहरूको सिलसिलाबद्ध बेलिबिस्तार । 

दुर्गमका सुस्केराहरू जहाँ अभिव्यञ्जित हुन् । निम्छरो, निर्धो ज्यानका जीवन जहाँ अभिव्यक्त हुन् । हाँसोमा रुवाइ होइन कि रुवाइमा पनि हाँसोको छचल्कन जहाँ प्रतिबिम्बित भइरहोस् । 

त्यो त्यस्तो लेखाई भइरहने छ, जहाँ जीवनको अर्को संस्करण प्रकाशित भएको हुनेछ । अप्रकाशित अँध्यारो अध्यायको पाटो प्रकाशित हुनेछ ।

कसैमाथि आरोप लगाइएका । कसैसँग आशा राखिएका । कसैमाथि दोष र खोट देखाइएका । कसैलाई गाली र तारिफ गरिएका । कसैलाई खुसी र दुःखी किन फरक कित्तामा बाँड्नु ? यस्ता शब्द किन खर्चिनु व्यर्थ आफैँलाई भार हुने गरी । 

खासमा कुनै लाभका लागि वा कसैको चित्त बुझाउनका निम्ति लेखकीय कर्म होइन, हुँदैन । हुनु उचित होइन । कसैलाई उचाल्नु र कसैलाई पछार्नु लेखन–धर्मको कर्म पनि होइन । 

बरु निर्धक्क मनकै मनमोहक अनुभूतिहरूको सम्प्रेषण नै प्रिय हुन्छ । निम्छरो ज्यानले ‘निमित्त नायक’ किन बन्नु र !

प्रथमतः जुन लेखनबाट आफैँलाई सर्वोत्तम सन्तुष्टि मिलोस् । आफ्नै लेखनबाट आफैँलाई आनन्द महसुस होस् । ‘मैले मेरो कुरा होइन, अरूका भावनाको प्रतिनिधित्व गरेको छु’ भन्ने प्रमाणित होस् । ‘मपाईँत्व’ होइन, ‘तपाईंत्व’ स्थापित गरौँ ।

यद्यपि, लेखेको कुरा अकाट्य होस् । आफ्नो लेखन अप्रत्यक्ष रूपमा नीति, सन्देश, सकारात्मक सोचको प्रस्थान बिन्दु बनोस् । जसलाई पाठकीय मनहरूले भित्रै मनदेखि मनन र महसुस गर्न सकुन् । त्यसमा फेरि ह्रस्व, दीर्घ वा भाषिक व्याकरणसमेत विशुद्ध बौद्धिक होस् ।

जे होस्, जीवनको अर्को संस्करणमा झन् नवीनतम अनुभूतिहरूका स्थानीय, क्षेत्रीयदेखि राष्ट्रिय र आञ्चालिक हुँदै ‘डायस्पोरिक’ सम्मका भूगोल समेट्न सकिएको होस् । तब पो भावनाको लेपन, अनुभूतिको प्रकाशन र ज्ञान–गरिमाको सोपान सहजै शिखरमा पुग्न साइत हेर्नु पर्दैन । 

कसैले कसैको मुख ताक्नु नपरोस् । कोही कसैको दयाको पात्र बन्नु नपरोस् । आत्मनिर्भर, स्वावलम्बी स्वभाव हाम्रो, हामी सबैको यस्तो होस् ।

जातजाति, धर्मकर्म र कुरीति, कुसंस्कारमा कुनै विभेद नभएको कति राम्रो । जहाँ कुनै मनमुटाब छैन । आपसी द्वेष हुँदैन । केवल मित्रवत् हार्दिकताको सुमधुर श्वास प्रश्वास अविरल चलिरहेको हुन्छ । जहाँ सनातन परम्पराको गौरव र गरिमा उच्च हुन्छ । जहिल्यै जहाँ हातेमालो, एकसाथ एकता, मुस्कान सहितको हाइहल्लो उपस्थित हुन्छ । 

सबैसँग, सधैँ भाइचारा, भातृत्वको भाव एउटा जीवन्त सौन्दर्य–संसार जस्तै प्रकाशित होस् । 

सच्याइएको परिमार्जित विशुद्ध चोखो चरित्र जीवनको अर्को संस्करणका रूपमा प्रकाशित हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप