शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

साझा प्रस्ताव आए इलाम–२ बाट चुनाव लड्न तयार छु : झलनाथ खनाल

बुधबार, १० असोज २०८०, १२ : २६
बुधबार, १० असोज २०८०

काठमाडौँ । एमालेका उपाध्यक्ष एवं इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको भदौ २६ गने निधन भएपछि सो क्षेत्र रिक्त रहेको छ । इलाम–२ सहित संघ, प्रदेश र स्थानीय तहमा रिक्त स्थानमा वैशाखमा उपनिर्वाचन गर्ने तयारी निर्वाचन आयोगको छ ।

 यद्यपि निर्वाचनको मिति सरकारसँग परामर्श गरेर तोक्नुपर्ने भएकाले सरकारले यसबारे  अहिलेसम्म केही बोलेको छैन । यदि वैशाखमा निर्वाचन भएमा एमालेले कसलाई उम्मेदवार बनाउला भन्ने प्रश्न उठेको छ । धेरैले सुवासका कान्छा छोरा सुहाङलाई एमालेले टिकट दिन सक्ने अनुमान गरेको छ । यस विषयमा सुहाङले पनि पार्टीले सहयोग गरे बुवाको विरासत कायम राख्न आफू तयार रहेको प्रतिक्रिया दिइसकेका छन् । 

कतिपयले पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमालेबाट टिकट लिएर चुनावमा उठ्न लागेको प्रचार गरेका छन् । यी दुवै जना पात्रको विषयमा अहिलेसम्म एमालेले कुनै प्रतिक्रिया दिएको छैन । आफ्नो नाम जोडेर विभिन्न प्रचार भएपछि यसबारे खनालले मुख खोलेका छन् ।  रातोपाटीसँग कुराकानी गर्दै उनले चुनावमा उठ्नेबारे केही निर्णय नगरेको बताए  । तर चुनावमा उठ्न एमाले, समर्थक, शुभचिन्तक लगायत धेरैले अफर गरेको उनले जिकिर  गरे । 

‘मलाई विभिन्न च्यानलबाट धेरै मान्छेको अफर आएको छ । एमाले नेता तथा कार्यकर्ता, समर्थकबाट इलामा आइदिनु पर्‍यो भनेका छन् । सुवासजीको पनि त्यस्तो भयो । हामी टुहुरा जस्ता भयौँ । संरक्षक बन्दिनुपर्‍यो भनेका छन् । तपाईँ नआई भएन भनेका छन्’, खनालले भने, ‘म अहिले नेकपा एकीकृत  समाजवादीको नेता हुँ । पार्टी छोडेर जाने कुरा भएन । यदि कार्यगत एकताको माध्यमबाट साझा उम्मेदवार बनाउने प्रस्ताव आए त्यतिबेला म जान्छु । तर अहिले त्यो परिस्थिति आएको छैन । अहिले बाहिर जे प्रचार भइरहेको छ, त्यो हल्ला मात्र हो ।’

मङ्सिर ४ गते भएको निर्वाचनमा नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९०६ पाएका थिए । सो क्षेत्रबाट लगातार नेम्वाङले निर्वाचन जित्दै आएका थिए । उनको निधनपश्चात् एमालेलाई विरासत जोगाउन चुनौती थपिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप