शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मैले सर्प पालन गरेको छैनः झलनाथ खनाल

बुधबार, १० असोज २०८०, १७ : २९
बुधबार, १० असोज २०८०

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्प प्रकरणमा आफ्नो नाम मुछेर आलोचना गर्ने गरेको भन्दै आपत्ति जनाएका छन् । 

बुधवार काठमाडौंमा आयोजित नेपाल सर्ट फिल्म अवार्ड २०२३ लाई सम्बोधन गर्दै उनले आफू सर्लाही जाँदा सर्पको टोकाइका कारण मृत्युवरण गर्नुपरेको घटना देखेकाले सर्पदंशका बिरामीलाई देशमै उपचार हुनुपर्ने र औषधि बन्नुपर्ने माग सम्बोधन गर्नका लागि आवाज उठाएको बताए । 

उनले आफ्नो नाममा आफूले नचाहँदा नचाहँदै पनि नाम राखेको र त्यसबाट के–के गरे भन्नेबारे आफू अनविज्ञ रहेको बताए । उनले सर्प पाल्ने काममा आफ्नो कुनै लगानी नरहेको पनि स्पष्ट पारे । पछिल्लो समय त्यसलाई विवादमा तान्ने काम भएको भन्दै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता समेत रहेका उनले अख्तियारमा समेत उजुरी परेर छानबिनको विषय बनेको कुरा आफूले जानकारी पाएको बताए । उनले नाम अर्कैले राखेको तर आफूलाई ७३ करोड भन्ने गरिएको बताए । उनले सर्प पालनमा आफ्नो कुनै लगानी र पेशा व्यवसाय नभएको स्पष्ट पारे । 

उनले भने, ‘मलाई शंका लाग्दा लाग्दै पनि ल ठिक छ राख्नुस् भनेर मेरो नाममा राख्नुभयो नाम । त्यो नाम राखेर उहाँहरुले के के गर्नुभयो ? म त राजनीतिक मान्छे, म राजनीतिलाई पेशा, व्यवसाय, कमाउ, धमाउ मान्दिनँ । कतिपयले त्यसो गर्ने गर्छन्, ति अपराधी हुन् । राजनीति भनेको जनसेवाको कदम हो । जनसेवाको लागि कसैले पनि राजनीति गर्छ भने जनता र देशको सेवाका लागि गर्नुपर्छ । त्यो राजनतिलाई अरु कुनै बनाउने हो भने त व्यापार गरे भइगयो नि । उद्योग खोलेर बसे हुन्छ । त्यो क्षेत्रमा मैले जो नाम दिएँ, ठिक गरेँ की गरिनँ भन्ने थियो । पछि त विवाद शुरु भयो । यहाँ त ७३ करोड पैसा ल्याइयो । ७३ करोड पैसा ल्याएर झलनाथले सर्प पाल्दैछ भन्छन्, एक खाले मान्छेहरु कमेन्टमा सर्प लेखेर बस्छन्, तिनीहरुको पेशा नै त्यही जस्तो लाग्छ । त्यसमा मेरो न कुनै लगानी छ, न कुनै अरु पेशा व्यवसाय छ । मेरो विशुद्ध यो देशमै औषधि बनोस् भन्ने इच्छा हो, अहिले विवादग्रस्त भएछ । अख्तियारमा समेत पुगेछ । म सर्प पाल्दिन । भैँसी, बाख्रा पाल्न छोडेँ ।’

पूर्वप्रधानमन्त्री खनालले साहित्य, कला र संस्कृति समाजको शक्ति भएको बताउँदै कला,साहित्य र संस्कृतिको विकास नहुने देश बलियो र समृद्ध नहुने जिकिर गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप