मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्दै छन् स्क्रब टाइफसका बिरामी, कसरी सर्छ ?

समयमै स्क्रब टाइफस भएको पत्ता लागे सहजै उपचार
शुक्रबार, १९ असोज २०८०, १२ : ०१
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । गत वैशाखदेखि हालसम्म २५ सय जनालाई स्क्रब टाइफस भएको छ । यस तथ्याङ्कले पछिल्लो समय डेंगुसँगै स्क्रब टाइफसका बिरामीहरु पनि बढ्दै गएको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका किट्जन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताउँछन् ।

 ईडीसीडीका अनुसार गत्त वर्ष स्क्रब टाइफसका बिरामी ३५ सय पुगेको  थियो । स्क्रब टाइफस रोग महामारीको रूपमा रूपमा नफैलिए पनि कुनै पकेट क्षेत्रमा फैलिन सक्ने उच्च जोखिम रहेको प्रमुख डा. दाहालको भनाइ छ । 

‘स्क्रब टाइफस महामारी रूपमा फैलिने रोग होइन । यो रोग एकै पटक बढ्ने रोग  होइन विगतका तथ्याङ्कलाई केलाउँदा यस वर्ष पनि स्क्रब टाइफसका बिरामी बढ्ने देखिन्छ ।’ उनले भने । 

खास गरी असारदेखि असोज महिनासम्म स्क्रब टाइफसको संक्रमण देखिने गरेको सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन् । ‘ओरिन्तिया सुसुगामुशी’ नामक् ब्याक्टेरियाका कारण यो लाग्ने उनको भनाइ छ । यो ‘माइट’ परजीवी किर्नाको टोकाइबाट मानिसमा सर्ने गर्छ । 

समयमै पहिचान भई उपचार नभएको खण्डमा मस्तिष्क, कलेजो, फोक्सो, आदिको संक्रमण भई बिरामीको मृत्यु हुन सक्ने डा. पुनले बताए । 

कसरी सर्छ स्क्रब टाइफस ?

मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोक्दा मानिसमा यो रोग सर्छ । किर्ना मुसा प्रजातिहरूको कानमा यो टाँसिएर बस्छ । झारपात, घाँसे मैदानमा मुसा प्रजातिहरू हिँड्दा व्यक्टेरिया झरेर त्यस स्थानमा हिँड्ने मानिसमा स्क्रब टाइफस संक्रमण हुने सक्ने डा. दाहालले बताए ।

त्यसैले, यस रोगको संक्रमण जोखिममा बढी किसानहरू पर्छन् । झाडी, बनजङ्गलमा काम गर्नेहरूलाई बढी संक्रमण भएको पाइएको छ । 

२०७२ सालको भूकम्पपछि स्क्रब टाइफस धेरैमा संक्रमण पुष्टि भएको किट्जन्य शाखाका प्रमुख डा. दाहालले बताए । त्यसबेला धेरै मानिस घर छाडेर घाँसे मैदान, झाडी नजिक तथा घर बाहिर लामो समयसम्म बसेकाले धेरैमा स्क्रब टाइफस संक्रमण भएको प्रमाणले पुष्टि गरेको उनको भनाई छ । 

स्क्रब टाइफसका लक्षण

डा. पुनका अनुसार पाँच दिनभन्दा कम ज्वरो आई शरीरमा घाउको कालो पाप्रो देखिएमा स्क्रब टाइफस हुन सक्छ । 

स्क्रब टाइफस हुँदा उच्च ज्वरो आउने, आँखा रातो हुने, टोकेको ठाउँमा कहिलेकाहीँ धेरै दुख्ने, शरीरमा कालो दाग देखिने, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, खोकी लाग्ने, वान्ता आउने, पेट दुख्ने, श्वास प्रश्वासमा समस्या हुने, पखाला लाग्ने लगाएका लक्षणहरू देखिने डा. पुन बताउँछन् ।

समयमै स्क्रब टाइफस भएको पत्ता लागेमा सहजै उपचार  सम्भव हुने डा. पुनको भनाइ छ । 

कसरी जोगिने ?

स्क्रब टाइफस संक्रमण हुनबाट जोगिन मुख्यतः किर्नाको टोकाइबाट जोगिनु पर्छ । डा दाहालले किर्नाको टोकाइबाट जोगिनका लागि खेतबारी, बन, झाडीहरूमा काम गर्न जाँदा जुत्ता लगाउने, शरीरको खुल्ला भागमा मलम लगाउने, लामो बाहुला भएको कपडा लगाउन सुझाउँछन् । 

यस्तै, घर वरिपरिका खेतबारीमा घाँसहरू धेरै बढ्न नदिने र वातावरण सफा राख्नुपर्छ । यस्तै, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप