सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
श्रष्टा

डाक्टर बन्न हिँडेका दिवस कसरी बने चर्चित कवि ?

शनिबार, २० असोज २०८०, ११ : ०६
शनिबार, २० असोज २०८०

“ए, स्वर्ग जानबाट वञ्चित अपुता हो !
म तिम्रै छोरा हुँ– बाँच्न जन्मेको मान्छे ।
मलाई स्नेहको थाङ्नामा बेरेर
मेरो निराशाको सर्दी हुर्काइदेऊ !
मलाई आनन्दको छाया होइन
जीवनको माया देऊ ! 

माथिको कवितांश कवि तुलसी दिवसको हृदयको बालक कविता हो । यो कविता तत्कालीन समयमा टुकुचा खोलमा फालिएका नवजात शिशुहरूमा समर्पित छ । यो कविता शारदामा र पछि रचना पत्रिकामा प्रकाशित भएपछि धेरै चर्चित बने । यही कविताले उनलाई राष्ट्रिय स्तरमा कविताका रूपमा चिनाएको दिवस स्विकार्छन् । 

कवि तुलसी दिवस कवितालाई सरल भाषामा, राम्रो र मीठो शैलीमा हाउभाउसाथ अभिव्यक्त गर्न सक्ने खुबी भएका कवि हुन् । नेपाली साहित्यमा लोक भाषाको प्रयोगलाई स्थापित गराउन उनले विशेष योगदान दिएका छन् । लोकसंस्कृतिलाई आम जनजीवनसँग सम्बन्ध स्थापित गराउन निरन्तर लागिपर्ने कवि हुन् । 

उमेरले अहिले ८३ वर्ष पुगे पनि उनमा त्यस्तो बुढ्यौली देखिँदैनन् । फुर्सदमा साहित्य, संस्कृति, अध्ययन, अनुसन्धान र सिर्जनशील कार्यमा निरन्तर लागिरहन्छन् । 

कवि दिवसको लेखनको गति भने पहिला जस्तो नभएर केही कम भएको छ । “वास्तवमा कम गरेकै हो मैले । धेरै लेख्नुभन्दा थोरै लेखेर अलिकति स्तरीय ढङ्गले बाहिर ल्याउनु राम्रो हुन्छ,” उनी भन्छन्, “लेखेर मात्र हुँदैन, नवीनता केही दिन सक्नुपर्छ । त्यसको संरचनामा, त्यहाँ व्यक्त भएको सोचमा नयाँपन दिँदा केही समय लाग्छ ।” 

उनलाई साहित्यका कार्यक्रममा प्रायः देशविदेश हिँडिरहनु पर्छ । केही समय पहिले दुबईमा नेपाली साहित्यिक महोत्सव भयो । त्यहाँ ७ दिनको कार्यक्रम सकेर आए । त्योभन्दा पहिले अमेरिका उनी गएका थिए । “म प्रायः निम्तोमै जाने गरेको छु,” उनी भन्छन्, “अहिलेसम्म साहित्यिक, सांस्कृतिक, लोकवार्तागत कार्यक्रमहरूमा लगभग ९० देश घुमिसकेँ ।” 

भर्खरै पुगेको ठाउँ दुबईमा पनि ५, ६ लाख नेपालीहरू रहको सूचना पाएँ, उनी भन्छन् त्यहाँ पनि नेपाली संस्कृति, साहित्यय, कलाका क्षेत्रमा संलग्न भएका व्यक्तिहरूसँग पनि भेटघाट भयो । उनीहरूका सिर्जना र कृतिहरू सुन्दा म निकै आशावादी पनि भएको छु । जहाँ जहाँ नेपालीहरू पुगेका छन् त्यहाँ त्यहाँ नेपालको एक टुक्रा सग्लो नेपाल पनि पुगेको रहेछ । 

तुलसी रोप्ने दिन जन्मिए

दिवसको जन्म विसं १९९७ असारमा धनकुटामा भएको हो । उनको जन्म तुलसी रोप्ने दिन भएकाले बाजे कृष्णमान सिंह जोशीले तुलसीको प्रसाद भनेर राखिदिएका थिए । तर १४, १५ वर्षको भएपछि तुलसीबहादुर, तुलसीलाल, तुलसीप्रसाद, तुलसीमान, तुलसीमाया थुप्रै नाम सुनेपछि तुलसी नाम धेरैको रहेछ भन्ने उलाई लाग्यो । अनि उनले आफ्नो विशेष नाम बनाउन नाम फेरे । “मेरो बाजेले तुलसी रोप्ने दिनमा जन्मेको भएकाले तुलसी प्रसाद राखे भने मैले किन त्यसलाई विशेष नबनाउने भनेर तुलसी दिवस राखेँ,” उनी भन्छन्, “त्यो नाम चाहिँ अलग, भिन्न र फरक भएपछि सबैले एकैपल्ट याद हुने र नबिर्सने भयो ।” यही नाम कविका रूपमा, लेखकका रूपमा चर्चित भए । 

Tulsi_Diwasa_ktm09

सगोल परिवारमा महाप्रसाद जोशी र चण्डिका जोशीका जेठा सुपुत्रका रूपमा  जन्मिएका दिवसलाई हुर्काउने काम उनकी ठूलीआमाले गरेकी थिइन् । उनका चार भाइ दाजुभाइ र तीन दिदी बहिनी थिए । उनका बुवाले दोस्रो विवाह गरेका थिए । उनका कान्छा भाइले जापानमा हुँदा उतै विवाह गरेका थिए तर पछि डिभोर्स भएर धनकुटा आई विवाह गरेका थिए । 

दिवसकी एक बहिनी सानु (समीर) जोशी समाचार वाचकका रूपमा नेपाल टेलिभिजनमा काम गर्थिन् । तर उनका भाइबहिनी भाञ्जाको विवाहमा गएर फर्किंदा पूर्व–पश्चिम राजमार्गको धनसार खोलामा आएको बाढीले सबैलाई बगायो । यसमा उनकी ठूली बहिनी मात्र बाँचिन् । उनलाई पनि बगाएको तर ड्रइभरले उद्धार गरेको थियो भन्छन् दिवस ।  उनी निराश हुँदै आफन्तहरू धेरैलाई खोलाले बगायो भन्छन् । 

यस घटनाले जीवनको दृष्टिकोण नै फेरिएको बताउँछन् । “जीवनमा जे भएन त्यो भएन, त्यसलाई भएको बनाउन सकिँदो रहेनछ, घटनाक्रमअनुसार मान्छे त्यति लाचार र कमजोर रहेछ ,” दिवस भन्छन्, “किनभने मेरो एकदमै नजिकका पारिवारिक मानिस त्यो दुर्घटनामा परे ।” घटनाको चार पाँच वर्षअगाडि मात्र उनकी आमाको देहान्त भएको थियो । त्यही घटनाको एक दुई वर्षपछि उनका बुवाको पनि देहान्त भयो । यस दुःखद घटनाले उनी निकै विक्षिप्त भए । तर त्यसलाई सधैँ मनमा बोकेर हिँड्नु उचित लागेन, मुक्त हुने प्रयास गरे । “जन्दगीमा जे भयो त्यो भयो, त्यसलाई नभएको बनाउन सकिँदैन,” दुःखित हुँदै उनी भन्छन्, “जीवनमा जे भएन त्यो भएन, त्यसलाई भएको बनाउन पनि सकिँदैन ।” 

घर नहुँदाको पीडा

धनकुटाको सिरान बजारमा किरायामा बस्थ्यो दिवसको परिवार । उनका पिता अड्डाका जागिरे थिए । बिहानै घरबाट निस्किन्थे । तर दिवस चाहिँ केटाकेटीसँग पुतली खेल्ने, काँक्रा टिपेर ल्याएर देवतालाई चडाएर खाने गर्थे । तर सो कार्य घरबेटीलाई मन परेनछ र गाली गरिछन् । “त्यसपछि मलाई के रियलाइज भयो भने यो घर त मेरो होइन रहेछ, अनि बुवा अड्डाबाट फर्किएपछि हाम्रो घर त छैन रहेछ भनेर प्रश्न गरेँ,” उनी भन्छन्, “तर बुवाले केही जवाफ दिनु भएन तर २, ३ महिनापछि त्यही घरसँग जोडिएको जग्गा किन्नु भयो ।” त्यसको एक वर्षपछि घर बनाएर आफ्नो घरमा सरेको थियो जोशीको परिवार । 

त्यो घर बनेपछि सबैभन्दा बढी खुसी आफू नै भएको उनी बताउँछन् । “जसरी हरेक मानिसलाई आफ्नो ठाउँ, आफ्नो देश, आफू बसेको ठाउँको माया हुन्छ, त्यस्तै घर अनिवार्य आवश्यक हुँदो रहेछ,” दिवस भन्छन्, “त्योसँग सम्बन्ध एकदमै गहिरोसँग गासिएको हुँदो रहेछ ।” यता आएको धेरै भए पनि धनकुटैमा जन्मेहुर्केको तर त्यो सम्बन्ध जीवन्त भएर मभित्र जागृत हुन्छ, धनकुटासँग अत्यन्त नजिक हुन्छु । 

शिक्षादीक्षा

धनकुटाको सिरान बजारमा जन्मिएका दिवस गोकुण्डेश्वर हाई स्कुलबाट अध्ययन सुरु गरेका हुन् । उनका बुवा २००६ सालमा गौडा अड्डाको जागिरबाट ताप्लेजङको ओलाङ्चुङ गोलामा कस्टम अफिसर भएर सरुवा भएर गए । अनि दिवससहित सबै परिवार सँगै गए । उनको पढाइ केही समय टुट्यो । “मेरो मामा चैनपुरबाट ओलाङ्चुङगोला आउनुभएको थियो, अनि मलाई मामाघरमै बसेर पढ्न लैजानु भयो,” दिवस सुनाउँछन् । चैनपुरमा केही वर्ष बसेर उनले अध्ययन गरे । तर मामा घरमा पनि सधैँ एकनासको सम्मान नपाएको उनलाई अनुभव भयो । 

36578975_2461383563873583_6150829450649927680_nमामाघरबाट धनकुटा आएर दिवस पुनः अध्ययन गर्न थाले तर कक्षा ४ मा सबै विषयमा फेल भए । यसले उनलाई त्यसले धेरै बिझायो । तर वार्षिक परीक्षामा उनी कक्षामा दोस्रो भए । “हामी प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई एकै पटक सरहरुले डबल प्रोमोसन दिनुभयो,” उनी भन्छन्, “चारबाट पाँचमा नपढाईकन एकैबाजी छमा जम्प गराइदिनुभयो ।”  त्यसपछि उनी निरन्तर पढाइमा अब्बल हुँदै पढाइमा दिवस अगाडि बढे । उनका पिता जागिरे भएकाले विभिन्न ठाउँमा सरुवा भएर जाँदा भाइबहिनीहरू सँगै जानेगर्थे, उनीहरूको पढाइ खजमजियो । तर उनी फुपूसँग धनकुटा नै बसेर अध्ययनलाई निरन्तरता दिए । 

विद्यार्थी कालमा दिवस चित्र बनाउँथे, पेन्टिङ पनि गर्थे, विज्ञानमा चित्रसमेत बनाउँथे । यिनै कार्य गर्न पाइन्छ र पछि डक्टर हुन पाइन्छ भनेर उनले कक्षा ९ मा पुगेपछि बायलोजी लिएर पढे । “कक्षा ९ मा पुगेपछि बायलोजी लिने कि म्याथ लिने हो छान्न पाइन्थ्यो,” उनी भन्छन्, “म्याथ लिँदा इन्जिनियरिङ पढ्न पाइन्थ्यो, साइन्स पढ्दा डक्टर पढ्न पाइन्थ्यो, त्यहाँ पहिलो चोटि बायलोजी लिएर पढ्ने हाम्रो ग्रुप हो ।” डक्टर बन्ने इच्छाले उनले साइन्स विषय लिएर २०१३ सालमा एसएलसी उत्तीर्ण गरे । 

विसं २०१३ सालमा आईएससी अध्ययन गर्न भनेर दिवस काठमाडौँ आए । अध्ययन गर्नका लागि साइन्स क्याम्पसमा फर्म भरे । “अहिलेको ठाउँमा अमृत साइन्स क्याम्पस थिएन, पब्लिक साइन्स क्याम्पसले थियो तर त्रिचन्द्र क्याम्पसमा साइन्स पढाइ हुन्थ्यो । मेरो नाम त्रिचन्द्र र पब्लिक साइन्स क्याम्पसमा दुवैमा निक्ल्यो,” उनी भन्छन्, “पछि त्रिचन्द्र चाहिँ सरकारी भएकाले पब्लिक साइन्समै पढ्छु भनेर सुरु गरेँ ।” 

त्यतिबेला लालदरबारमा भर्खरै होस्टल खोलिएको थियो । उनी त्यहाँ बसेर अध्ययन गर्न थाले । त्यहाँ तारानाथ शर्मा, पासाङ डोल्माहरू पनि बस्थे । ६, ७ वर्ष कान्छा भए पनि दिवसको सङ्गत उनीहरूसँग भयो । बढी पढेलेखेका, उनीभन्दा बढी उमेरका व्यक्तित्वहरूसँग उनको उठबस चल्यो । 

साहित्यिक क्षेत्रमा मात्र होइन, हाइ जम्प, लङ जम्प, फुटबल, भलिबल जस्ता खेलकुदहरूमा पनि भाग लिन थाले । यस्ता अतिरिक्त क्रियाकलापले उनको साइन्सको अध्ययनमा अवरोध आउन थाल्यो । अनि उनले साइन्स छोडेर आईए अध्ययन गरे । उनले आईए र बीए त्रिचन्द्रबाट उत्तीर्ण गरे । दिवसले सन् १९७० मा त्रिभुवन विश्वविद्यालयबाट एमए गरे । १९७४–७८ मा लोकसंस्कृति विषयमा अमेरिकाको इस्ट वेस्ट सेन्टर, हवाई राज्यबाट र सन् १९७६–७७ र १९९६ मा जापानको टोकियो विश्वविद्यालयबाट लोकसाहित्य र संस्कृति सम्बन्धमा उच्च क्षिक्षा हासिल गरे । त्यसरी नै उनले गाकुसुमन विश्वविद्यालय टोकियो जापानबाट लोकवार्ता शास्त्रमा पोस्ट ग्राजुएट डिप्लोमाको शिक्षा पनि हासिल गरे ।

सिर्जनात्मक यात्रा

दिवस विद्यालय तहदेखि नै सिर्जनात्मक यात्रामा लागे थिए । “म लेख्न चाहिँ पहिलादेखि नै लेख्थेँ, धनकुटामा हुँदा नै लेख्थेँ,” उनी भन्छन्, “स्कुलमै हुँदा नाच्ने, गाउने, अथवा लोकगीतको प्रचलन हामीले नै सुरु गर्यौँ, गाउँगाउँमा गएर त्यतिबेला लोकगीतको सङ्कलन पनि गर्यौँ ।” 

अध्यनका लागि काठमाडौँ आएपछि पनि उनी काठमाडौँमा हुने कवि गोष्ठीहरूमा सहभागी थाले । “नेपाल भारत लाइब्रेरीमा कविगोष्ठीमा भाग लिन गएँ । त्यहाँ बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा पनि थिए, त्यहाँ पहिलो पल्ट म सहभागी हुन पुगेँ,” अग्रज कविहरुको नाम सम्मानका साथ लिँदै उनी भन्छन्, “सिनियर कविहरूको वाचनमा तालीका पर्रा छुटे तर मेरो कविता वाचनमा कसैले वा... वा.. पनि गरेनन्, ताली पिटेनन् । अनि म खिस्रिक्क परेँ ।” 

कार्यक्रम समापन भएपछि राम्रो कविता लेखिन कि जस्तो लाग्यो । तर बाहिर निस्कँदै गर्दा धाप मार्दै समले ‘बाबु तिम्रो कविता राम्रो थियो’ भनेको गर्व गर्दै सम्झन्छन् । ताली नआएका कविता पनि राम्रो हुँदो रहेछ भन्ने उनलाई लाग्यो । १५ सालतिरको त्यो कविता वाचन नै उनको पहिलो सार्वजनिक प्रस्तुति थियो । 

साइन्स पढ्दा पढ्दै साहित्यकारहरुसँग घुलमिल हुन र रमाउन थाले । कविता लेखनतिर आकर्षित हुन थाले । अनि उनलाई साइन्स आफ्नो क्षेत्र होइन, साहित्य सिर्जना चाहिँ आफ्नो क्षेत्र हो भन्ने लाग्यो । 

पहिलो सिर्जना कहिले, कुन विधामा गरियो भन्ने अहिले सम्झना छैन । “२०१४–१५ सालतिर धरानबाट विद्यार्थी सङ्गठनले निकालेको पत्रिकामा कथा छापिएको छ भने अर्को मेरो कथा ओइलिएको बाला २०१५, १६ सालमा शारदामा छापिएको छ,” उनी भन्छन्, “पछि शारदामै मेरो हृदयको बालक भन्ने कविता छापियो । पछि २०१७, १८ सालतिर रचना पत्रिकामा पनि छापियो ।” यो कविताले रचना पत्रिकाको मुखपृष्ठमै स्थान पाएको थियो । त्यसपछि रचनामा लगातार ३, ४ वटा कविता छापिएपछि उनी कविमा स्थापित हुन पुगे । 

निरन्तरको साधनापछि उनका ‘नेपाली लोक कथा’, ‘नेपाली लोककथा केही अध्ययन’, ‘धिमाल प्रदर्शनकारी लोक संस्कृति’, ‘धिमाल लोकधर्म र संस्कृति’, ‘तुलसी दिवसका कविता’ लगायत कृति प्रकाशित छन् । उनका संस्कृति र लोक सङ्गीत विषयमा एक दर्जन पुस्तक प्रकाशित छन् । 

कवितामा फरकपन नै मुख्य तत्त्व

अहिलेसम्मको उनको अनुभव र सिर्जनशील लेखनले लहैलहैमा कविता लेख्ने होइन भन्ने छ । “कविता लेख्नका लागि कुनै घटना, कुनै सन्तुष्टि अथवा चित्त नबुझेको वा धेरै चित्त बुझेको कुरा विषय हुन सक्छ,” उनी भन्छन्, “प्रायः अभाव, असन्तुष्टि, पीडाले नै मलाई बढ्ता लेखाएको छ ।” सुरुमा उनले धेरै कविता लेखे तर पछि पछि गएर कविता लेख्नु मात्रै महत्त्वपूर्ण होइन, विशेष लेखिनुपर्छ भन्ने उनलाई लाग्न थाल्यो । 

अरूको भन्दा केही भिन्न, केही अलग, केही फरक र आफ्नै पनि पहिला लेखेको भन्दा भिन्न र फरक हुनु पर्छ भन्ने उनलाई लाग्यो । त्यसैले कविता परम्पराभन्दा भिन्न हुनु पर्छ भन्छन् । “आलोचकहरू यो फलानाको शैलीको, फलानाको ढङ्गको भन्छन्, म चाहिँ के भन्छु भने त्यही व्यक्तिको कविता पनि पहिलोभन्दा पछिल्लो कविता अलग, फरक र भिन्न हुनुपर्छ,” कविताको गहनताबारे उनी भन्छन्, “सबै एकै प्रकारको साँचोमा ढालेर मेसिनबाट उत्पादन गरेको वस्तु जस्तो कविता होइन ।” एउटा बाबुआमाका हरेक छोराछोरी भिन्न भए जसरी नै कविले सिर्जना गरेका हर कविता भिन्न र अलग अस्तित्व कायम हुन्छ भन्ने पक्षमा उनी प्रस्ट छन् ।    

प्रभावित भएको होइन

सिर्जनाका क्षेत्रमा कसैबाट प्रभावित नभए पनि आफूलाई मन पर्ने कविता सुरुसुरुमा धेरै अध्ययन गरे । ती कसका कविता थिए भन्ने उनी सम्झन गाह्रो हुने बताउँछन् । “मैले नेपाली कविता, अङ्ग्रेजी कविता र हिन्दी कविता पनि अध्ययन गरेँ,” उनी भन्छन्, “कवितामा सबैभन्दा बढ्ता इज्जत कविको मौलिकता र अलग पहिचान हो ।” यस्तो खालको चेत उनमा पनि आयो । 

धेरै कविता लेख्नेहरूले लेख्दा हुन्छ तर कवितामा हुनुपर्ने यो गुण अनिवार्य समेटिनु पर्ने उनी बताउँछन् । कविता लेख्न सक्नेले धेरै लेख्छन् तर उनी भने धेरै लेखिनु पर्छ भन्ने पक्षमा छैनन् । तर कवितामा हुनुपर्ने आफ्नोपन, विशेषता, अलग पहिचान हुन जरुरी छ । उनी भन्छन्, “मेरो हृदयको बालक भन्ने कविता शारदामा पनि प्रकाशित भएको थियो तर त्यो बढी रचनामा लोकप्रिय र प्रसारित भयो,” उनी भन्छन्, “रचनाको पहिलो पेजमा छापिएको छ, यसमा भर्खर जन्मिएका टुकुचामा फलिएका बच्चाबारे लेखिएको छ ।” यसबाट धेरै मानिस प्रभावित भएका थिए । 

त्यसैगरी उनको बसकी बुढीलाई देखेर भन्ने कविता पनि निकै चर्चित भयो । २०१७, १८ सालतिर राष्ट्रव्यापी कविता महोत्सवमा प्रथम भएको थियो । 

tulasi diwas 2

लोकसाहित्य

धनकुटामा हुने जात्रा, मेला र पर्वहरूमा हिन्दी गीतहरूको नै प्रभाव थियो । त्यस्तै खालका गीतहरू यस्ता मेलापर्वमा बज्थे, गाउने पनि गर्थे । त्यसबारे दिवस सचेत थिए । उनले आफ्ना मौलिक र स्थानीय गीतहरूको खोजी गरे । “हाम्रा स्थानीय जातजातिका लोकगीतहरूलाई नै बढ्ता प्रयोग गरेर, गीत गाएर, नाचेर बढ्ता उपयोग गर्न थाल्यौँ । त्यसको सङ्कलन गर्नका निमित्त विद्यार्थी हुँदै गाउँघरमा गएर सङ्कलन गर्यौँ,” उनी सम्झन्छन्, “त्यसरी सङ्कलन गरिएका गीतहरूलाई पनि तारतम्य मिलाएर, सिलसिला मिलाएर सम्पादन गरी गाउने र प्रदर्शन गर्न थाल्यौँ ।” सुरुमा यसरी सङ्कलन गरेका गीतहरूलाई दिवसले विश्लेषण र व्याख्या पनि गर्न थाले ।  त्यसक्रमा गीत र समाजसँगको सम्बन्ध, सांस्कृति, आर्थिक, राजनीतिक सम्बन्धबारे विवेचना गर्न थाले । त्यसका लागि उनी आफैँ गाउँ गाउँमा गएर स्थानीयवासीलाई सचेत गराउन थाले । प्रज्ञामा रहँदा गरेका महत्त्वपूर्ण कार्य

प्रज्ञामा उनी सबैभन्दा कान्छो सदस्य थिए । त्यहाँ रहँदा उनले विशेषगरी नेपाली लोकसंस्कृतिको क्षेत्रमा पहिलो सेमिनार गरेका थिए । “त्यस क्रमा लोकसंस्कृतिका विविध कार्यपत्रहरू प्रस्तुत गराएर लोकगीत, लोक कथा, गाउँखाने कथा आदिमा देशभित्रका, देशबाहिरका विशेषज्ञलाई बोलाएर कार्यपत्र प्रस्तुत गराएँ,” उनी भन्छन्, “कार्यपत्र प्रस्तुत गराएर लोकसाहित्य र संस्कृतिको क्षेत्रमा परम्परा बसाएँ ।” 

त्यसरी प्रस्तुत गरिएका कार्यपत्रलाई सङ्कलन गरी उनकै सम्पादनमा कृतिसमेत प्रकाशित भएको हो । प्रज्ञाबाट जाति विशेषको अध्ययन परम्परालाई अगाडि बढाउने र त्यहाँबाट धिमाल जातिको चार पाँच जनालाई सोसियोलोजी, एन्थ्रोपोलोजी, फकलोर, लिङ्ग्विस्टिक, ह्युमन जोग्राफीका मानिसलाई समावेश गराएर फिल्डमा पठाएर त्यहीँ अध्ययन अनुसन्धान गराएर ‘धिमाल लोकधर्म र संस्कृति’ पुस्तक प्रकाशित पनि उनको भएको छ । 

यस्तै क्रममा लोकसाहित्य, लोकसंस्कृति, लोकवार्ताका  क्षेत्रमा विशेष गरेर लोकगीतमा बढ्ता केद्रित हुन पुगे । पछि उनले लोककथाको सङ्कलन नै प्रकाशन गरे । 

212829918_2572190269593860_9011918045995275555_n

लोकसंस्कृति परिवर्तनशील हुन्छ

लोकसंस्कृतिलाई एउटै पोखरीमा जमेको पानीका रूपमा नहेरीकन निरन्तर बगिरहने नदीको जलप्रवाहको रुपमा हेर्नुपर्ने उनको धारणा छ । आवश्यकताअनुसार संस्कृतिमा पनि परिवर्तन आउँछ । “संस्कृतिलाई हेर्ने अवधारणा र दृष्टिकोणमा पनि गतिशील अवधारणालाई पनि स्वीकार्नुपर्छ, परिवर्तन त्यहाँ पनि आउँछ,” उनी भन्छन्, “तर त्यसको गति भने केही धीमा हुन्छ । 

सामाजिक संस्थामा संलग्नता

दिवसले धनकुटा सांस्कृतिक प्रतिष्ठान स्थापना गरे । चौबिस वर्षको उमेरदेखि उनी प्राध्यापन पेसा अँगाले । त्यसक्रममा उनले धनकुटा कलेज, त्रिचन्द्र कलेज, पद्मकन्या कलेज र त्रिभुवन विश्वविद्यालयमा लोकसाहित्य पढाए । पछिल्लो समय उनी नेपाली लोकवार्ता तथा संस्कृति समाजको अध्यक्षसमेत भए । उनको साहित्यिक योगदानलाई कदर गर्दै विभिन्न पुरस्कार प्रदान गरिएको छ । उनले लीलध्वज थापा साहित्य सम्मान, सुप्रबल गोर्खाबाहु, इन्टरनेसनल इमिनेन्ट पोएट एवार्ड, एकेडेमी अवार्ड, दिनकर अन्तर्राष्ट्रिय साहित्य पुरस्कार लगायतका पुरस्कार पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप