माउ पार्टीको ‘बेवास्ता’ले लथालिङ्ग कांग्रेसका भ्रातृ संस्था

काठमाडौँ । नेता तथा कार्यकर्ता उत्पादन गर्ने मुख्य थलो मानिँदै आएका नेपाली कांग्रेसका भ्रातृ संस्थाहरू लथालिङ्ग बनेका छन् । पार्टीले आधिकारिकता दिएका १३ वटामध्ये एउटा त तोकिएको मितिमा महाधिवेशन गर्न नसकेर विघटन नै भएको छ ।
७ वटा भ्रातृ संस्था वर्षौँदेखि तदर्थ समितिका भरमा चलेका छन् भने ५ वटाले मात्रै महाधिवेशन गरेर नेतृत्व चयन गर्न सकेका छन् । पार्टीले निश्चित समय तोकेर महाधिवेशन गर्न निर्देशन नै दिए पनि हुन सकेनन् । यस्तोमा ती तदर्थ समितिहरू पनि विघटन भए । न पार्टी नेतृत्वले म्याद नै थप्यो । जसका कारण भ्रातृ संस्थाहरू झनै शिथिल भए ।
- तदर्थको भरमा चलेका भ्रातृ संस्था
१) नेपाल महिला संघ :नेपाली कांग्रेसले संघको तदर्थ समिति अध्यक्षमा उषा कुमारी राउत मिश्रलाई २०७९ साउन २६ गते मनोनीत गरेको थियो । मिश्र नेतृत्वको समितिले पार्टीले दिएको समयमा महाधिवेशन गर्न नसकेपछि कांग्रेसको २०८० पुस १२ देखि १४ गतेसम्म बसेको बैठकले ६ महिनाभित्र महाधिवेशन गर्न समयावधि थप्यो ।
त्यो समयमा पनि महाधिवेशन गर्न नसकेपछि २०८१ असार १९ गते बसेको कार्यसम्पादन समिति बैठकले २०८१ चैत मसान्तभित्र अनिवार्य महाधिवेशन सम्पन्न गर्ने गरी कार्यवधि थप गरेको थियो । त्यो समयमा पनि मिश्र नेतृत्वको समितिले महाधिवेशन गर्न सकेन । त्यसपछि भने कांग्रेसले समितिको म्याद थपेको पनि छैन । भंग गरेको पनि छैन । मिश्रको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनकै समितिमा रहेका २० केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन् ।
२) नेपाल तरुण दल :कांग्रेसले दलको तदर्थ समितिको अध्यक्षमा विद्वान् गुरुङलाई २०७८ साल चैत ९ गते अध्यक्षमा मनोनीत गरेको थियो । गुरुङ नेतृत्वको समितिलाई २०७९ मा भएको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको तीन महिनाभित्र महाधिवेशन गरी निर्वाचित समितिलाई नेतृत्व हस्तान्तरण गर्न पार्टीले निर्देशन दिएको थियो ।
गुरुङ नेतृत्वको समितिले पार्टीको निर्देशनअनुरुप महाधिवेशन गर्न नसकेपछि कांग्रेसको २०८० पुस १२ देखि १४ गतेसम्म बसेको बैठकले ६ महिनाभित्र महाधिवेशन गर्न समयावधि थप गर्यो ।
त्यो समयमा पनि महाधिवेशन गर्न नसकेपछि गुरुङ नेतृत्वको समितिलाई २०८१ असार १९ गते बसेको कार्यसम्पादन समिति बैठकले २०८१ चैत मसान्तभित्र अनिवार्य महाधिवेशन सम्पन्न गर्ने गरी कार्यविधि थप गरेको थियो । त्यो निर्देशन पनि कार्यान्वयन नभएपछि समितिको पार्टीले म्याद थप पनि गरेको छैन । भंग पनि गरेको छैन ।
३) नेपाल विद्यार्थी संघ :कांग्रेसले संघको तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पा लाई २०७८ साल चैत ९ गते अध्यक्षमा मनोनीत गरेको थियो । शेर्पा नेतृत्वको समितिलाई २०७९ मा भएको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको तीन महिनाभित्र महाधिवेशन गरी निर्वाचित समितिलाई नेतृत्व हस्तान्तरण गर्न पार्टीले निर्देशन दिएको थियो । त्यो निर्देशन शेर्पा नेतृत्वको कार्यसमितिले पूरा गर्न नसकेपछि कांग्रेसको २०८० पुस १२ देखि १४ गतेसम्म बसेको बैठकले ६ महिनाभित्र महाधिवेशन गर्न समयावधि थप गर्यो । त्यो समयमा पनि शेर्पा महाधिवेशन गर्न असफल भए ।
त्यसपछि २०८१ असार १९ गते बसेको कार्यसम्पादन समिति बैठकले २०८१ चैत मसान्तभित्र अनिवार्य महाधिवेशन सम्पन्न गर्ने गरी कार्यविधि थप गर्यो । त्यो निर्देशन पनि कार्यान्वयन नभएपछि समितिको म्याद थप पनि भएको छैन । पार्टीले भंग गरेको छैन ।
४) नेपाल किसान महासंघ :महासंघको अध्यक्षमा गणेश तिमिल्सिना २०७९ असार १२ गते नियुक्त भएका थिए । उनले पार्टीले तोकेको समयावधिमा महासंघको महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्न नसकेपछि कांग्रेसको २०८० पुस १२ देखि १४ गतेसम्म बसेको बैठकले ६ महिनाभित्र महाधिवेशन गर्न समयावधि थपेको थियो । त्यो समयमा पनि महाधिवेशन गर्न नसकेपछि २०८१ असार १९ गते बसेको कार्यसम्पादन समिति बैठकले २०८१ चैत मसान्तभित्र अनिवार्य महाधिवेशन सम्पन्न गर्ने गरी कार्यविधि थप गर्यो । त्यो समयमा पनि महाधिवेशन गर्न नसकेपछि म्याद थप पनि भएको छैन । पार्टीले भंग पनि गरेको छैन ।
५) नेपाल दलित संघ :कांग्रेसले संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मालाई २०८० असोज १३ गते अध्यक्ष बनाएका थिए । तोकिएको समयमा महाधिवेशन सम्पन्न गरी निर्वाचित कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गर्न नसकेपछि २०८१ असार १९ गते बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले २०८१ चैत मसान्तभित्र अनिवार्य महाधिवेशन सम्पन्न गर्ने गरी कार्यविधि थप गर्यो । त्यो समयमा महाधिवेशन गर्न नसकेपछि म्याद थप पनि भएको छैन । पार्टीले भंग पनि गरेको छैन ।
६) नेपाल थारू संघ :२०७९ साउन २ गते भ्रातृसंस्थाको मान्यता माउ पार्टी कांग्रेसबाट पाएको संघको अध्यक्षमा शिवनारायण महतो गुरौ २०७९ चैत २० गते नियुक्त भएका थिए ।
उनले पार्टीले तोकेको समयमा महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्न सकेनन् । त्यसपछि २०८१ असार १९ गते बसेको कार्यसम्पादन समिति बैठकले २०८१ चैत मसान्तभित्र अनिवार्य महाधिवेशन सम्पन्न गर्ने गरी कार्यविधि थप गरेको थियो । त्यो समयमा पनि महाधिवेशन सम्पन्न गर्न नसकेपछि समितिको म्याद थप पनि भएको छैन । पार्टीले भंग पनि गरेको छैन ।
७) नेपाल लोकतान्त्रिक खेलकुद संघ :संघले २०७९ साउन २ गते भ्रातृसंस्थाको मान्यता पाएको थियो । त्यसपछि पहिलो अध्यक्षका रूपमा कांग्रेसले देवेन्द्र कुमार शेरचनलाई अध्यक्ष बनाएको थियो । उनले तोकेको समयमा महाधिवेशन गर्न सकेनन् ।
त्यसपछि कांग्रेसको २०८० पुस १२ देखि १४ गतेसम्म बसेको बैठकले ६ महिनाभित्र महाधिवेशन गर्न समयावधि थपेको थियो । त्यो समयमा पनि महाधिवेशन गर्न नसकेपछि २०८१ असार १९ गते बसेको कार्यसम्पादन समिति बैठकले २०८१ चैत मसान्तभित्र अनिवार्य महाधिवेशन सम्पन्न गर्ने गरी कार्यविधि थप गर्यो ।
तर महाधिवेशन गर्न नसकेपछि म्याद थप पनि भएको छैन । पार्टीले मंग पनि गरेको छैन ।
- ५ वटाको महाधिवेशन, एउटा विवादित
कांग्रेसका ५ भ्रातृ संस्थाले महाधिवेशनमार्फत नयाँ कार्यसमिति बनाएका छन् । नेपाल भूतपूर्व सैनिक संघले गत फागुन २२ देखि २४ गतेसम्म छैटौँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा गरेको थियो । महाधिवेशनबाट गर्जबहादुर गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ ।
त्यस्तै नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति संघले २०८१ असार ११ देखि १३ गतेसम्म काठमाडौँको प्रज्ञा भवनमा महाधिवेशन सम्पन्न गरेको थियो । महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका ओमबहादुर (थापा) घर्ती मगरको कार्यसमिति अहिले क्रियाशील छ ।
नेपाल मुस्लिम संघले २०८० असोज ७ र ८ गते राष्ट्रिय सभा गृहमा तेस्रो महाधिवेशन गरेको थियो । महाधिवेशनबाट अताबुल अन्सारीको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ ।
नेपाल प्रजातन्त्र सेनानी संघले गत फागुन ७ देखि १० गतेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दोस्रो महाधिवेशन सम्पन्न गर्यो । महाधिवेशनले बालकृष्ण दाहालको नेतृत्वमा नयाँ कार्यसमिति बनाएको छ ।
राष्ट्रिय लोकतान्त्रिक अपांग संघले चैत ८ र ९ गते काठमाडौँमा गरेको महाधिवेशन विवादित बनेको छ ।
महाधिवेशनबाट माधव चम्लागाईं अध्यक्षमा निर्वाचित भए । उनीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका विकास थापा र कल्पना खड्काले जबरजस्ती गरेको भन्दै समानान्तर समिति बनाएका छन् ।
- एक भ्रातृ संस्था विघठित
कांग्रेसको एक भ्रातृसंस्था विघठित अवस्थामा छ । २०६७ वैशाख ३१ गते भ्रातृ संस्थाको मान्यता पाएको नेपाल ठाकुर समाजको केन्द्रीय समितिलाई कांग्रेसले विघठन गरेको छ ।
कांग्रेस महामन्त्री गगन थापाले मौका मिलाएर केन्द्रीय समिति वा कार्यसम्पादन समिति बैठक बोलाई म्याद गुज्रिएका भ्रातृ संस्थाका तदर्थ समितिबारे निर्णय लिइने जानकारी दिए ।
‘गत चैत मसान्तबाट ७ भ्रातृ संस्थाको म्याद सकिएको छ । सकिएका भ्रातृ संस्थाबारे कसरी अगाडि बढ्ने भन्नेबारे अब बस्ने केन्द्रीय कार्यसमिति वा कार्यसम्पादन समितिबाट निर्णय हुन्छ,’ महामन्त्री थापाले रातोपाटीसँग भने, ‘के गर्न कसरी अगाडि बढ्ने त्यही बैठकबाटै निर्णय हुन्छ ।’
वर्षौँदेखि भ्रातृ संस्थाका महाधिवेशन नहुँदा कांग्रेसको नर्सरी कमजोर भयो भन्ने प्रश्न पार्टीभित्रै नेताहरूले उठाउँदै आएका छन् । उनीहरू नेतृत्वले राम्राभन्दा हाम्रा छान्दा भ्रातृ संस्थाहरूको महाधिवेशन हुन नसकेको पनि बताउँछन् ।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्णले भ्रातृसंस्थाको तदर्थ समिति गठनमै कांग्रेसको सिंगो केन्द्रीय समिति ‘फेलिएर’ भएको बताउँछन् । ‘भ्रातृ संस्थाको तदर्थ समिति गठनमा कांग्रेसको सिंगो केन्द्रीय समिति ‘फेलिएर’ भएको छ,’ कर्णले रातोपाटीसँग भने, ‘जसका कारण भ्रातृ संस्थाहरूको सन्दर्भमा जनताको माझमा हामी जसरी लोकप्रिय हुनुपर्ने हो, त्यसरी हुन सकिरहेका छैनौँ ।’
उनले पार्टीले संगठनमा जिम्मेवारी दिएकाले पनि जिम्मेवारीअनुरूप काम गर्न नसकेकाले समस्या भएको बताए । ‘संगठनको नेतृत्वमा रहेका र समितिमा रहेकाहरूले आफ्नो दायित्व के हो बुझेर संगठनका लागि काम गर्यो भने पहिलाजस्तै लोकप्रिय बन्न सक्छन्,’ कर्णले भने ।
त्रिभुवन विश्वविद्यालयमा राजनीतिशात्रमा अध्यापन गराइरहेका डा. भेषराज घिमिरे भ्रातृ संस्थामा राम्रालाई भन्दा हाम्रालाई ल्याउने मानसिकता पार्टी नेतृत्व र नेताहरूले राख्दा समस्या देखिएको बताउँछन् ।
‘अहिलेको राजनीति सबैभन्दा पहिला आफू, आफू हुन नसके परिवारको मान्छे । संगठन सबैभन्दा पहिले आफू, त्यसपछि एक कार्यकाल मात्रै होइन, सकभर दोस्रो कार्यकाल पनि लम्ब्याउने,’ उनले भने, ‘अधिवेशन नगर्ने नभए एस म्यानलाई खोजेर जसरी भए पनि जिताउने प्रवृत्ति बढिरहेको छ । यस्तो प्रवृत्ति बढ्नुमा केन्द्रीय नेतृत्व कारक तत्त्व हो ।’
पार्टीमा अनुशासनहीनता मौलाएकाले भ्रातृ संस्थाहरू लथालिङ्ग अवस्थामा पुगेको उनको भनाइ थियो । ‘नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसका भ्रातृ संस्थाहरू जति क्रियाशील हुनुपर्ने हो, त्यति भइरहेका छैनन्,’ उनले भने, ‘यो कांग्रेसभित्रको अनुशासनहीनताको बढोत्तरी हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप