मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

‘डब्लूएचओ’ क्षेत्रीय निर्देशकमा उम्मेदवार डा. आचार्यको पक्षमा सरकारले प्रभावकारी लबिङ नगरेको गुनासो

सोमबार, २२ असोज २०८०, ०६ : ४८
सोमबार, २२ असोज २०८०

काठमाडौँ । नेपाल सरकारले २३ जुनमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा नेपालका डा. शम्भु आचार्यको उम्मेदवारी मनोनयन दर्ता गरेको थियो । सोही पदमा बंगलादेशकी डा. सायमा वाजिदले पनि उम्मेदवारी दिएकी छन् ।

क्षेत्रीय निर्देशकको चुनाव अक्टोबर ३० मा दक्षिणपूर्वी एसिया कार्यालय, भारतमा हुनेछ । यसअघि सो पदमा सर्वसम्मत रूपमा नेतृत्व चयन हुँदै आए पनि यस पटक नेपाल र बंगलादेशबिच प्रतिस्पर्धा हुँदैछ ।

उम्मेदवार आचार्यलाई नेपाल सरकारले उम्मेदवार बनाए पनि दक्षिणपूर्वी राष्ट्र नेपालसहित भारत, भुटान, श्रीलङ्का, माल्दिभ्स, म्यानमार, थाइल्यान्ड, बंगलादेश, इन्डोनेसिया र टिमोर लिस्टे देशहरूसँग भोटका लागि लबिङ नगरेको स्वास्थ्यविद् तथा चिकित्सकहरू बताउँछन् ।

युनिसेफ उपकार्यकारी निर्देशक तथा प्राडा रीता थापाले निर्देशक पदमा बहुआयामिक व्यक्ति आवश्यक पर्ने भएकाले डाक्टर आचार्यलाई समर्थन गरिएको बताइन् ।

उम्मेदवार डा. आचार्यलाई समर्थन जुटाउन सरकारको उच्च तहले कूटनीतिक रूपमा सक्रियता देखाउनुपर्ने उनले बताइन् । दक्ष र अनुभवी व्यक्ति डब्लूएचओको दक्षिणपूर्वी एसियाको क्षेत्रीय निर्देशक पदमा पुग्नु नेपालका लागिमात्र नभएर यो क्षेत्रकै लागि फलदायी हुने डा.थापाको विश्वास छ ।

उनले भनिन्, ‘डब्ल्यूएचओमा लामो समयको अनुभव, स्वास्थ्य संरक्षण, महामारीसँग जुधेको अनुभव र जनस्वास्थ्यका चुनौतीलाई सामना गर्न सक्ने व्यक्ति त्यस्तो पदका लागि आवश्यक पर्ने भएकाले आचार्यको पक्षमा अन्य राष्ट्रले पनि भोट दिनुपर्छ ।’

उनले दक्षिणपूर्वी एसियाका मुलुकले ‘हाम्रालाई  भन्दा राम्रा र दक्ष व्यक्ति’लाई जिताउनुपर्ने उनको भनाइ छ ।

मुटु रोग विशेषज्ञ डा भगवान् कोइरालाले डा आचार्यको समर्थन गर्दै नेपालको नभएर दक्षिण एसियाकै स्वास्थ्यका विषयमा काम गर्ने भएकाले चुनाव जित्ने माहौल बनाउनुपर्ने सुनाए ।

उता परिवार नियोजन संघका कार्यवाहक अध्यक्ष डा नरेश प्रताप केसीले आचार्यलाई राजनीतिक पहुँचका आधारमा भन्दा क्षमताका आधारमा छनोट गर्नुपर्ने बताए ।

‘राम्रो दक्ष मान्छे आवश्यक हो, डा आचार्यलाई समर्थन गर्नुपर्छ । हाम्रो मान्छे चाहिने कि राम्रो मान्छे चाहिने भन्ने कुरा विवेक पुर्‍याउनुपर्छ,’ उनले भने ।

नेपालको तुलनामा डा वाजिदका लागि बंगलादेशले छिमेकी राष्ट्रसँग तीब्र लबिङ गरिरहेको छ । वाजिद बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी भएकाले ठुला अन्तर्राष्ट्रिय फोरमहरूमा हसिनाले लबिङ गरिरहेकी छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा, आसियान समिटमा, उच्चस्तरीय कूटनीतिक भ्रमणमा सहभागी भई बंगलादेशकी प्रधानमन्त्री हसिनाले आफ्नी छोरीको पक्षमा लबिङ गरिरहेको सामाजिक अभियन्ता तथा पत्रकार कनकमणि दीक्षितले सुनाए ।

उनका अनुसार मन्त्रिपरिषद्ले डा. आचार्यलाई उम्मेदवार बनाए पनि उनको पक्षमा परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्रीस्तरबाट व्यापक रूपमा छलफल र समर्थन हुन सकेको छैन ।

को हुन् डाक्टर आचार्य ?

डब्ल्यूएचओको उच्च ओहोदामा काम गर्ने नेपालीमा डा.आचार्य पर्छन् । सन् १९९९ देखि डब्ल्यूएचओको उच्च ओहोदामा रही उनले काम गरिसकेका छन् ।

डब्ल्यूएचओका महानिर्देशकको रणनीतिक सल्लाहकारसमेत रहेका डा. आचार्यले १५३ वटा सदस्य देशका मुख्यालयको व्यवस्थापनलाई रणनीतिक सुझाव दिने काम गर्छन् ।

उनी अधिकांश मुलुकका राष्ट्रका प्रमुख तथा प्रतिनिधिहरूसँग वार्ता र छलफलमा सहभागी हुने भएकाले सदस्य राष्ट्रका अधिकारीसँग व्यक्तिगत तहमा राम्रो सम्बन्ध छ । त्यसैले नेपाल सरकारले उनको पक्षमा कूटनीतिक रूपमा प्रभावकारी भूमिका निर्वाह गरेमा जित निश्चित रहेको डा विश्व पराजुलीको भनाइ छ ।

अहिले डब्लूएचओ दक्षिणपूर्वी एशियाको क्षेत्रीय निर्देशक पदमा भारतकी पुनम क्षेत्रपाल सिंह छिन् । सिंह सन् २०१४ र २०१८ मा निर्विरोध निर्वाचित भएकी हुन् ।

दुई छिमेकी राष्ट्रका उम्मेदवारबिचको प्रतिस्पर्धाका कारण यतिबेला भारत पनि कसलाई सघाउने भन्ने संकटपूर्ण अवस्थामा छ ।

एशियाको क्षेत्रीय निर्देशक पदमा उम्मेदवार डा वाजिद मानसिक स्वास्थ्य र अटिजमको क्षेत्रमा काम गर्दै आएकी छन् । उनी मानसिक स्वास्थ्य सम्बन्धमा डब्ल्यूएचओको सल्लाहकारसमेत छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप