सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा वार्षिक १ लाख ३७ हजार नागरिकको नसर्ने रोगको कारण मृत्यु

वीरगन्ज महानगरद्वारा नसर्ने रोगको पहिचानका लागि चालु आर्थिक वर्षमा २ लाख बजेट विनियोजन
मङ्गलबार, २३ असोज २०८०, ०७ : ३९
मङ्गलबार, २३ असोज २०८०

पर्सा । नसर्ने रोगको कारण नेपालमा वार्षिक १ लाख ३७ हजारको मृत्यु हुने गरेको तथ्य खुलेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको तथ्याकंमा वार्षिक कुल मृत्युदरको ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगको कारण हुने गरेको जनाइएको छ । 

स्वास्थ्य सेवा विभाग  नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख एम.डी. डा. फडिन्द्र प्रसाद बरालले प्रत्येक ५ जनामा ४ जनाको मृत्यु नसर्ने रोगका कारण हुने गरेको बताएका छन् । क्यान्सर, उच्च रक्तचाप, मुटु रोग, मधुमेह लगायतका रोगहरूको कारण नेपालमा बर्सेनि ७१ प्रतिशत मानिसको मृत्यु हुने गरेको बरालले जनाएका छन् । सुर्तीजन्य पदार्थ, मादक पदार्थ तथा लागु औषधको सेवन, अस्वस्थ खानपान मुटु रोग, मधुमेह,उच्च रक्तचापको मुख्य कारण रहेका छन् । 

नसर्ने रोगको कारण पछिल्लो समय युवाहरू बढी जोखिम देखिएको  अध्ययनले देखाएको छ । नेपालीको औसत आयु ७२ वर्ष  मानिन्छ ।  नेपालमा कुल वार्षिक मृत्युदरको २२  प्रतिशत मृत्यु अल्पायुमा मृत्यु हुने गरेको जनाइएको छ ।  

सरकारले अल्पायुमा हुने २२ प्रतिशत मृत्युलाई सन् २०३० सम्म ४ देखि ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । नेपालका ४७ लाख नागरिक उच्च रक्तचापबाट प्रभावित भएको जसमा ४ लाखले औषधी सेवन गरेको र २ लाखको मात्रै उच्च रक्तचाप नियन्त्रणमा रहेको  स्वास्थ्य सेवा विभागका नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा. बरालले जनाएका छन् ।

उनले नसर्ने रोगहरूको क्षेत्रमा सङ्घीय सरकारको बजेट ५ वर्ष अघिसम्म खासै नभए पनि पछिल्लो ५ वर्ष यता क्रमशः बजेट वृद्धि हुँदै गएको बताएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले आयोजना गरेको नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी अन्तरक्रिया तथा नीतिगत छलफल कार्यक्रममा पर्सा जिल्लाका १४ वटा पालिका  प्रमुख, उपप्रमुख, स्थानीय प्रशासन प्रमुख, जिल्ला जनस्वास्थ्यका कर्मचारी, पालिकाका स्वास्थ्य शाखाका कर्मचारी लगायतको उपस्थित रहेका थियो । नसर्ने रोगको क्षेत्रमा स्थानीय तहहरूले बजेटलाई प्राथमिकतामा राखेर काम  गर्न डा. बरालले पालिकाहरूलाई सुझाव दिएका छन् । 

कार्यक्रममा मधेस प्रदेशकै एक मात्र महानगरपालिका वीरगन्ज महानगरले  नसर्ने रोगको क्षेत्रमा चालु आर्थिक वर्षमा २ लाख मात्रै बजेट विनियोजन गरेको स्वास्थ्य महाशाखा प्रमुख अरविन्दलाल कर्णले जनाएका छन् । वीरगन्ज महानगरले चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा ६ करोड ८७ लाख ३५ हजार बजेट विनियोजन गरेको छ । जसमा सबैभन्दा धेरै पोषणमा ४० लाख बजेट  छुट्टाइएको छ । 

वीरगन्ज महानगर स्वास्थ्य महाशाखा प्रमुख अरविन्दलाल कर्णले महानगर भित्र नसर्ने रोग र मानसिक स्वास्थ्यको अवस्था भयावह किसिमको रहेको बताएका छन् । ‘नसर्ने रोगको क्षेत्रमा हाम्रो ध्यान नगएकै हो, तर अहिले हामीले छुट्टै शाखा नै तयार पारेका छौ, त्यो शाखाले अनुमानित कार्यक्रम र बजेट तयार गरेर ३२  वटै वडामा गएर रोग पहिचानको काम गरिरहेका छौ’ स्वास्थ्य महाशाखा प्रमुख कर्णले भने ‘ चालु आर्थिक वर्षमा हामीले नसर्ने रोगको उपचार र औषधीको व्यवस्था र मानसिक रोगको क्षेत्रमा जनचेतनामूलक कार्यक्रम गर्ने भन्ने तय भएको छ’  महानगरभित्र नसर्ने रोगहरूमा उच्च रक्तचाप, मधुमेह, मुटु रोग,मानसिक तनाव, युवाहरूमा बढी रिसाउने, झगडा गर्ने खालका व्यवहारहरू बढी देखिएको महानगरले जनाएको छ । 

h3

वीरगन्ज महानगरभित्र ९० वटा सामुदायिक विद्यालयहरू छन् । जसमा माध्यमिक तहको अध्ययन हुने २० वटा विद्यालय मध्ये ६ वटा विद्यालयमा नर्सको व्यवस्था छ । ती विद्यालयहरूमा साप्ताहिक रूपमा विद्यार्थीहरूको स्वास्थ्य परीक्षण हुने गरेको महानगर स्वास्थ्य महाशाखा प्रमुख कर्णले जनाएका छन् । महानगरले उच्च रक्तचाप र मधुमेह परीक्षण गरेर पहिचान गर्न ३२ वटा वडाहरुको लागि २ लाख बजेट विनियोजन गरेपनि अन्य शीर्षकबाट बजेट रकमान्तर गरेर काम गर्न सकिने स्वास्थ्य महाशाखा प्रमुख कर्णले जनाएका छन् । 

सरकारले नसर्ने रोग लागेका विपन्न परिवारलाई मासिक ५ हजार रुपैयाँ प्रदान गर्दै आएको छ । 

त्यसैगरी पर्सागढी गाउँपालिकाका प्रमुख गोकर्ण पाठकले पनि नसर्ने रोगहरूको क्षेत्रमा बजेट व्यवस्था गर्ने परिपाटी आफ्नो पालिकामा पनि सुरु नभएको बताएका छन्  । विश्व स्वास्थ्य सङ्गठनको सहकार्यमा स्वास्थ्य मन्त्रालयले अहिले देशभरका ७० जिल्लाका नसर्ने क्षेत्रमा काम सुरु गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ । 

अबका  कार्यक्रमहरूमा तिनै तहका सरकारले आफ्नो कार्यक्रममा स्वास्थ्यको बजेटलाई फोकस गर्नुपर्ने र  कुल बजेटको आधा हिस्सा नसर्ने रोग र मानसिक स्वास्थ्यको क्षेत्रमा लगानी गर्न पालिकाहरूलाई स्वास्थ्य सेवा विभागका नसर्ने रोग शाखा प्रमुख डा. बरालले आग्रह गरेका छन् । ‘त्यो लगानी सबैभन्दा तल्लो तहमा बस्ने जनतालाई सचेत गराउने, महिला स्वास्थ्य स्वयम् सेविकाको परिचालन स्वास्थ्यकर्मीलाई तालिम, औषधीको उपलब्धतामा खर्च गर्न सक्यौ भने मात्रै हामीले लक्ष्य हासिल गर्न सक्छौ ।’ बरालले भने । 

h1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप