बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै, शिक्षादेखि राजनीतिमा बहस हुने

सोमबार, १७ वैशाख २०८१, १२ : २०
सोमबार, १७ वैशाख २०८१

मकवानपुर । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले वैशाख २८ देखि ३० गतेसम्म युवा सम्मेलन गर्ने तयारी गरेको हो ।

सामाजिक विकास मन्त्रालय हेटौँडामा केही दिन अघि बसेको ११ औँ बोर्ड बैठकले गरेको निर्णय अनुसार ३ दिने युवा सम्मेलन आयोजना गर्न थालिएको हो । युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउने, नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिने प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए ।

उपाध्यक्ष चौलागाईका अनुसार परिषद्ले प्रदेश युवा नीति–२०७९ तयार पारेसँगै प्रदेशमा युवाका क्षेत्रमा काम गर्न सहजता मिलेको थियो । युवाहरूको आवश्यकता, माग, उद्यमशीलता लगायतका विषयमा काम गर्न नीतिगत रूपमा सहजता मिलेको उनले बताए ।

युवा सम्मेलनमा २०० भन्दा बढी युवाको सहभागिता रहने छ । विभिन्न क्षेत्रमा रहेर काम गरिरहेका १८ देखि ३० वर्षका युवाको सहभागिता रहने उपाध्यक्ष चौलागाईले बताए ।

सोही नीति अनुसार परिषद्ले युवा सम्मेलनको तयारी गरेको चौलागाईको भनाइ छ । युवा सम्मेलन क्षमता विकास तथा उद्यमशीलता र रोजगारीसँगै सीप विकासमा उपयोगी हुने उनले विश्वास व्यक्त गरे । युवा पुस्तामा चरम निराशाका बिच आशा जगाउन युवा सम्मेलन आवश्यक रहेको उनले बताए ।

सम्मेलनमा सहभागीहरूको आवास र खानाका लागि २० लाख रुपैयाँ खर्च हुने चौलागाई बताउँछन् । अन्य सम्पूर्ण काम स्वयंसेवक मार्फत गरिने उनले बताए । कार्यक्रममा सहभागी हुने वक्ता तथा सहजकर्ताको सेवा सुविधामा रकम खर्च नगरिने उनको भनाइ छ ।

  • को को सहभागी हुन पाउँछन् ?

युवा सम्मेलनमा २०० भन्दा बढी युवाको सहभागिता रहने छ । विभिन्न क्षेत्रमा रहेर काम गरिरहेका १८ देखि ३० वर्षका युवाको सहभागिता रहने उपाध्यक्ष चौलागाईले बताए ।

उनका अनुसार जिल्लाको सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सीमान्तकृत समुदायलाई प्राथमिकता दिएर महिलालाई सहभागी गराइने छ । जिल्लाहरूबाट युवा समितिमार्फत सहभागी सिफारिस गर्नेछ भने अनलाइनमार्फत युवा सहभागी गराइने उनले बताए । सरोकारवाला निकायको सिफारिसमा पनि केही युवालाई सहभागी गराइने उनको भनाइ छ ।

Bagmati Province Youth Council

  • के के हुन्छ कार्यक्रम ?

सम्मेलनमा विभिन्न कार्यशाला र प्रस्तुति रहने छ भने युवा सम्मेलनको अन्तिम दिन मुख्यमन्त्रीसँग युवा कार्यक्रम गरी समापन गरिने उपाध्यक्ष चौलागाईले बताए ।

सम्मेलनका विशेष गरी ५ वटा विषयमा छलफल तथा अन्तरक्रिया गरिने छ । विशेष गरी शिक्षा, सीप, नवप्रवर्तन, रोजगारी र नीतिगत सुधारका क्षेत्रमा सम्मेलन अवधिभर विभिन्न चरणमा छलफल गरिने छ ।

उपाध्यक्ष चौलागाईका अनुसार व्यावहारिकता र प्रयोगात्मक शिक्षा प्रणालीको विकासका लागि बहस गर्ने तयारी गरिएको छ । ‘शिक्षा ः कहाँ छ समस्या ?’ भन्ने विषयमा डा. विश्वनाथ कोइराला र सामाजिक विकास मन्त्रालयका सचिव डा. भीष्मकुमार भुसालले बहस तथा अन्तरक्रिया गर्नेछन् भने सोही सेसनका लागि बाल शिक्षामा पीएचडी गरेकी मिनाक्षी दाहाललाई प्यानलिष्ट बनाउने गरी छलफल भएको उनले बताए ।

विद्यालय शिक्षा, पाठ्यक्रम, व्यावहारिकता र जीवनोपयोगिताको सवालमा शिक्षा र सोको समस्याका विषयमा छलफल गरिने उनले बताए । शिक्षित बेरोजगार उत्पादन भइरहेको अवस्थामा सोको समाधानमा राज्यले खेल्नु पर्ने भूमिका र पहलहरूका विषयमा छलफल गरिने उनको भनाइ छ ।

नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा पनि विशेष प्रस्तुति रहने छ । उनका अनुसार नवप्रवर्तन र उद्यमशीलता नीति र निरन्तरता विषयमा सरकारले गरिरहेका पहल, निजी क्षेत्रको प्रयास र युवाहरूको भूमिका तथा उपयोगमा छलफल गरिने छ ।

कार्यक्रमका विशेष प्रस्तुतिका रूपमा डिजिटल साक्षरताका विषयमा पनि छलफल हुने छ । डिजिटल साक्षरता प्रविधि अवसर र सम्भावना विषयमा रहेर अवसर, सदुपयोग र चुनौती लगायतमा छफल हुने चौलागाईले बताए । डिजिटल साक्षरताको अभावका कारण प्रविधिको दुरुपयोग बढ्दो क्रममा रहेको र त्यसले समाजमा नकारात्मक असर थपिएको उनले बताए । बढ्दो प्रविधिको प्रयोगले रचनातमक क्रियाकलाप तथा कामलाई कमजोर बनाइरहेकाले त्यसको सकारात्मक प्रयोगमा छलफल हुने उनको भनाइ छ ।

नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा पनि विशेष प्रस्तुति रहने छ । उनका अनुसार नवप्रवर्तन र उद्यमशीलता नीति र निरन्तरता विषयमा सरकारले गरिरहेका पहल, निजी क्षेत्रको प्रयास र युवाहरूको भूमिका तथा उपयोगमा छलफल गरिने छ ।

राज्यका नीति नियम र राजनीतिप्रतिको चरम निराशालाई सम्बोधन गर्ने गरी सम्मेलनमा छलफल गरिने चौलागाईले बताए । यस अन्तर्गत सङ्घीय सांसदहरूलाई हेटौँडा ल्याएर युवामाझ छलफल गराउने कार्यक्रम रहेको उनको भनाइ छ । युवाहरूको राजनीतिक चेत, सहभागिता, नीतिगत सुधारका विषयमा रहेका समस्या समाधान गर्न प्याकेजमा निराकरणको उपाय खोजिने र नेपालको सम्भावनालाई बहसमा उतार्ने तयारी रहेको उनले प्रस्ट पारे ।

सो बहसमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सचेतक सुशीला थिङ, माओवादी केन्द्रका सांसद माधव सापकोटा र रास्वपाका मनिष झाले भाग लिनेछन् ।

सम्मेलनको अन्तिम दिन बागमतीको राजधानी चिनाउने र बागमतीलाई पहिचान गराउने कार्यक्रम रहने छ भने युवासँग मुख्यमन्त्री कार्यक्रम आयोजना गरी छलफलमा उठेका विषयहरू र राज्यको पहल बिचको दुरी तथा कमजोरीका बारेमा छलफल गरिने उपाध्यक्ष चौलागाईले बताए ।

सो पश्चात् हेटौँडा घोषणा पत्र जारी गरी सम्मेलनको समापन गरिने उनले बताए । गत वर्षदेखि आयोजना गरिएको युवा सम्मेलनले युवाहरूको समस्या र समाधानका विषयमा छलफल गरी राज्यलाई घोषणापत्र मार्फत सुझाव दिने गरेको उनको भनाइ छ ।

गत वर्षको सम्मेलनले तयार गरेको ११ बुँदे घोषणा पत्र मध्ये ७ वटा विषय प्रदेश सरकारले कार्यान्वयन गरेको चौलागाईले बताए ।

‘युवा सीप वर्ष २०८१’ घोषणा गरिने

युवा सम्मेलन पश्चात् २०८१ लाई सीप वर्ष घोषणा गर्ने तयारी गरिएको छ । ‘युवा सीप वर्ष २०८१’ घोषणा गरी प्रदेशका ५ हजार युवालाई सीपमूलक तालिम प्रदान गरी उद्यमशीलतातर्फ अग्रसर गराउने तयारी रहेको उपाध्यक्ष चौलागाईले बताए ।

कुल १२ करोड रुपैयाँ बजेटमध्ये ५ करोड रुपैयाँ तालिम र सीप परीक्षणमा खर्च गर्ने र बाँकी रकम उद्यमशीलताका लागि टेवा पुँजीमा प्रयोग गर्ने गरी अघि बढेको उनले बताए ।

१० वटा क्षेत्रमा १०० पेसाका सीप सिकाइ, सीप परीक्षण पश्चात् टेवा पुँजी प्रदान गर्ने गरी कार्यक्रम तयार गरिएको उनले बताए । निर्माण, कृषि, सेवा, होटल तथा पर्यटन, होजियारी तथा तयारी पोसाक र सूचना तथा सञ्चारको क्षेत्रमा तालिम दिई सीप परीक्षण सहितको व्यवस्था गरिएको उनले बताए ।

तालिम स्थानीय तह, सामुदायिक विद्यालय, कलेज, सामाजिक संस्थाहरूको समन्वयमा सञ्चालन गरिने र तालिम पश्चात् सामाजिक विकास मन्त्रालय, सीटीईभीटी र प्रदेश युवा परिषद्को त्रिपक्षीय सम्झौतामा सीप परीक्षण हुने उपाध्यक्ष चौलागाईले बताए । विगतका तुलनामा केही फरक शैलीका तालिम प्रदान गरिने उनको भनाइ छ ।

परिषद्मा १० हजार बढी युवाबाट तालिमका लागि प्रस्ताव आएको र सोमध्ये अधिकांशले ट्रेन्डिङ कै तालिम (सिलाई, बुनाइ, ब्युटीपार्लर) लगायतको माग गरेको उनले बताए । सीप परीक्षण नहुने र पाठ्यक्रम नभएकाले फरक र आवश्यकता अनुसारको तालिम सञ्चालन गर्न कठिन भएको उनले बताए । यद्यपि आइटी क्षेत्रका केही विषयमा तालिम सञ्चालन गर्ने तयारीमा रहेको उनको भनाइ छ । विशेष गरी ग्राफिक्स डिजाइन, फोटोसप, इम्ब्रोइडरी लगायतका नयाँ विधामा तालिम सञ्चालनको तयारी भइरहेको उनले प्रस्ट पारे ।

कुल १२ करोड रुपैयाँ बजेटमध्ये ५ करोड रुपैयाँ तालिम र सीप परीक्षणमा खर्च गर्ने र बाँकी रकम उद्यमशीलताका लागि टेवा पुँजीमा प्रयोग गर्ने गरी अघि बढेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप