शनिबार, १२ जेठ २०८१
ताजा लोकप्रिय

नीतिकथा : आफू भला जगत् भला

मङ्गलबार, २३ असोज २०८०, १० : ४९
मङ्गलबार, २३ असोज २०८०

अरूलाई सहयोग गर्नेलाई भगवान्ले पनि सहयोग गर्छन् । त्यस्तै असहयोग गर्ने, पाएसम्म ठगठाग गर्नेले भने भगवान्को तर्फबाट ठगिनुपर्छ । यही नै सनातन वा दैवी नियम हो । भाइबहिनीहरूका जानकारीका लागि यहाँ यस्तै कथा प्रस्तुत गरिएको छ ।  

धेरै पहिलेको कुरा हो । कुनै गाउँमा एउटी गरिब महिला बस्थिन् । उनी प्रत्येक दिन गाउँमा फलफूल पु¥याउँथिन् र त्यसैबाट गुजारा चलाउने गर्थिन् । निमान्दारीपूर्वक गाउँको सेवा गरेकीले गाउँलेहरूले पनि परिवारकै सदस्य जस्तो ठानेर माया गर्दै आएका थिए ।  

यस्तैमा एक दिन गाउँमा कुनै सज्जन दम्पती परिवारसहित बस्न आएका थिए । फलवाली महिलाले ती नवागन्तुक परिवारको पनि अन्य परिवारलाई जस्तै सेवा गर्न थालिन् ।  

एक दिनको कुरा हो । ती नवागन्तुक सज्जन परिवारलाई केही पर छिमेकमा कुनै शुभ कार्यमा जानुपर्ने भयो । उनीहरू सपरिवार कार्यक्रममा भाग लिन त गए तर भैदियो के भने फर्कँदा निकै अबेला भयो । त्यसैले घर नजिक पुगेपछि छोराछोरीलाई घरमा चाहिने सामान किनेर ल्याउन लगाएर सज्जन दम्पती साँझको बत्ती बाल्न घरतिर दौडिए । छोराछोरी पनि बजारबाट सामान किनेर यथा समयमै घर पुगे । रात परिसकेको थियो खाना उतै खाएर आएका थिए । त्यसैले साँझको कृत्य पूरा गरी सबै जना सुते । 

भोलिपल्ट चिया खाना लाग्दा भाइले दिदीको गलामा सिक्री नदेखेर आश्चर्य मान्दै सोधे–

‘दिदी ! तपाईँको गलामा सिक्री त छैन नि, कता राख्नुभयो ? हिजो लगाउनु भएको थियो होइन र ?’

भाइको कुरा सुनेपछि दिदी झसङ्ग भइन् । छामछामा छुमछुम गरिन्, नभन्दै गला रित्तै रहेछ । त्यसपछि सबै जना मिलेर घरको चोटाकोठा सर्वत्र सिक्री खोज्ने काम भयो तर केही लागेन । किनकि सिक्री घरमा नभई फर्कँदा बाटामै कतै खसाएकी थिइन् । त्यसपछि उनी खानपीनसमेत छाडेर उदास रहन थालिन् । उनको उदासीले पूरा घर परिवारलाई नै उदास बनायो । 

यता फलवाली महिला जब कामबाट साँझ घर फर्कँदै थिइन् गोडामा केही अल्झे जस्तो लाग्यो । भुइँतिर हेरिन् सिक्री देखेर छक्क परिन् । यताउता हेरिन् कोही पनि देखिनन् । त्यसपछि उनलाई पिर प¥यो  सिक्री कसको हो र त्यसलाई कसरी उनीहरूसम्म पु¥याउने होला भन्ने कुराको । 

उनी सिक्री लिएर घर गइन् र सुरक्षित ठाउँमा राखेर सुतिन् तर निद्रा भने लागेन । रातभर सिक्री कसरी सम्बन्धित मानिसको जिम्मा लगाउने होला भन्ने नै सोचिरहिन् । भोलिपल्ट उज्यालो भयो उनी सदा झैँ गाउँमा फलफूल पु¥याउन गइन् । गाउँ घुम्दै जाँदा त्यो घरमा पनि पुगिन्, जुन घरको मानिसको सिक्री हराएको थियो तर त्यहाँ भने अघिपछिजस्तो चहलपहल नदेखेर आश्चर्य मानिन् । उनलाई लाग्यो पक्कै यहाँ केही गडबढी हुनुपर्छ । त्यसैले घरमूली महिलालाई बोलाएर सोधिन्–

‘बहिनी ! घरमा सदा झैँ चहलपहल देख्दिनँ नि, के भयो ?’

फलवाली महिलाको कुरा सुनेर घरवाली महिलाले घरको हालत बताइन् । त्यसपछि उनलाई सिक्री हराउने मानिस पत्ता लगाउन बेर लागेन र मुसुक्क हाँस्दै भनिन्–

‘एक छिन् पख्नुस् है ।’

यति भनेर उनी घरतिर लागिन् । घरवाली महिला उनैलाई हेरिरहिन् । नभन्दै एकैछिनमा फलवालीले आएर सिक्री देखाउँदै भनिन्–

‘यी हेर्नुस् । यही होइन तपाईँको सिक्री ? सत्यको कमाइ खेर जान्न किन चिन्ता गर्नुहुन्छ ?’

घरवाली महिलाले हेरिन् नभन्दै सिक्री उनकै थियो । त्यसपछि उनले फलवालीको प्रशंसा गर्दै केही पुरस्कार दिन खोजिन् तर सोझै अस्वीकार गर्दै भनिन्–

‘बहिनी ! मैले सिक्री केही पाउँला भनेर फिर्ता गरेकी होइन । यो त मेरो धर्म हो, जसको हो उसैलाई फिर्ता दिनु । हिजो साँझै बाटामा भेट्टाएकी थिएँ तर कसको हो थाहा थिएन । त्यसैले त्यति बेलादेखि नै सिक्री सम्बन्धित व्यक्तिसम्म पु¥याउन सक्दिन कि भन्ने चिन्ता थियो । भगवान्ले साथ दिएकाले फिर्ता गर्ने अवसर पाएँ ।  हो जरुर धनले गरिब छु तर मनले छैन । भगवान्ले जीवन दिएकै सेवाका लागि हो । मानव जीवन पाएर त्यति पनि गर्न सकिएन भने जीवन पाउनुको अर्थ नै के रह्यो र ।’

उनको कुरा सुनेर घरमूली महिला अवाक भइन् । एउटी गरिब महिलाको इमान्दारिता देखेर उनको आँखामा आँसु भरियो । त्यसपछि भगवान्ले सदा तपाईँको कल्याण गरुन् भन्ने आशीर्वाद दिएर विदा गरिन् । 

त्यसपछि घरमूली महिलाले आफ्ना श्रीमानलाई भनेर उनकै अफिसमा जागिर लगाइदिइन् । त्यस दिनदेखि उनी सुखपूर्वकले जीवन बिताउन लागिन् । आफू भला जगत् भला भन्ने उखान किन निरर्थक हुन्थ्यो र ।

धेरै पहिलेदेखि पढ्दै र सुन्दै आएको यस कथामा केकति सत्यता छ त्यो त थाहा छैन तर इमान्दारीको नतीजा जहाँ पनि यस्तै हुन्छ भन्ने कुरा भने सत्य हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप