सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले कर्मचारीलाई योगाभ्यास गराउन सक्ला ?

मङ्गलबार, २३ असोज २०८०, १० : ५६
मङ्गलबार, २३ असोज २०८०

भर्खरै गृह मन्त्रालयले मातहतका कार्यालयलाई परिपत्र ग¥यो — प्रत्येक कार्यालयमा काम गर्ने कर्मचारीले बिहान १० बजेपछि १०ः१५ बजेसम्म कम्तीमा १५ मिनेट भए पनि योग–ध्यान गर्ने र तत्पश्चात् काममा लाग्नुपर्ने । सरकारको यस्तो परिपत्रपछि खुसी, आश्चर्य, हाँसो र व्यङ्ग्य एकै साथ देखापरेका छन् । सरकारको यो कदम कार्यान्वयन हुनुपर्छ भन्ने जमात बढी नै छ । 

नेपालमा मनाइने राष्ट्रिय योग दिवस, अन्तर्राष्ट्रिय रूपमा मनाइने विश्व योग दिवस, राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस र आयुर्वेद दिवस लगायत कार्यक्रममा गरिने योगसम्बन्धी अन्तर्क्रियाका माध्यमबाट ध्यान–योगतर्फ पनि सरकारको ध्यानाकर्षण भइरहेको हुनुपर्छ । योगलाई अझै पनि मुख्य प्राथमिकताभित्र राख्न नसकिरहेको अवस्थामा भर्खरै गृह मन्त्रालयबाट जारी परिपत्रले योगसम्बन्धी चर्चालाई पुनः उजागर गरेको छ । यसबाट सरकारका तर्फबाटै ध्यान–योगलाई विशेष महत्त्व दिन थालिएको हो कि भनेर योग अनुरागीमा थोरै आशा पलाएको छ । 

२८ साउन २०७२ को मन्त्रिपरिषद् बैठकको निर्णयले सरकारीतर्फबाट नेपालमा राष्ट्रिय योग दिवसको सुरुवात मनाउन थालिएको हो । तथापि योग दिवसलाई सरकारीतर्फबाट तामझामका साथ मनाएर अन्य अवसरमा योगलाई त्यति महत्त्व नदिइनु दुःखको विषय हो । 

योग र योगदर्शन

योगको अर्थ जोड्नु भन्ने लाग्छ । अनात्माबाट आत्मालाई छुट्ट्याएर परमात्मासँग जोड्नुलाई नै योग भनिन्छ । पतञ्जलिको योग दर्शनमा उल्लेख भए अनुसार योग त्यो प्रयत्न, त्यो साधना वा अभ्यास हो, जसको माध्यमले चित्त र इन्द्रियलाई वशमा गरिन्छ । यसरी चित्तमा आउने विकार रोक्नु नै योग हो भनिन्छ, (योगश्चित्तवृत्तिनिरोधः) । 

शरीर, इन्द्रिय, मन, बुद्धि र अहङ्कारमाथि विजय प्राप्त गरेपछि आत्माको शुद्ध स्वरूप पाउन सकिन्छ र त्यही शुद्ध स्वरूप प्राप्त गर्ने माध्यम नै योग हो । 

योग दर्शनका प्रतिपादक ऋषि पतञ्जलि हुन् । योगदर्शन भारतीय दर्शनशास्त्रको एउटा अत्यन्त पुरानो शाखा हो, जसलाई व्यवस्थित रूप दिने काम ऋषि पतञ्जलिले गरेका हुन् । 

नेपालमा विभिन्न योगसम्बन्धी संघ–संस्थामार्फत औपचारिक र अनौपचारिक योग कक्षा सञ्चालन भइरहेका छन् । राष्ट्रिय शिक्षाका पाठ्यक्रममा पनि योगलाई राखिएको अवस्था छ । जति जति समाजको विकासको गति बढ्दै गइरहेको छ, त्यति त्यति नै योगको आवश्यकता पनि महसुस हुँदै गइरहेको पाइन्छ । योग दर्शनमा आसन, यौगिक क्रिया, प्राणायाम तथा अन्य व्यायामका माध्यमबाट आध्यात्मिक, मानसिक, संवेगात्मक तथा शारीरिक उपलब्धि पाउन सकिन्छ भन्ने कुरा दर्शाइएको छ ।

शरीर, इन्द्रिय, मन, बुद्धि र अहङ्कारमाथि विजय प्राप्त गरेपछि आत्माको शुद्ध स्वरूप पाउन सकिन्छ र त्यही शुद्ध स्वरूप प्राप्त गर्ने माध्यम नै योग हो । 

पसिना आउने गरी बिहान–बिहान गरिने कडा खालको शारीरिक परिश्रम नै योग हो भन्ने आमबुझाइ पाइन्छ, वास्तवमा त्यो योग नभई योगको एउटा भाग अर्थात् अभ्यास वा व्यायाम हो । योगमा व्यायामबाहेक अन्य सातवटा भाग छन् । ती सातवटा भागलाई लुप्त राखी योग भन्नाले व्यायाम मात्र हो भन्ने आम मानिसमा रहेको बुझाइका कारण पनि नेपालमा योग शिक्षा राम्रोसँग अघि बढ्न नसकेको अनुमान गर्न सकिन्छ । 

हामीले बुझ्नुपर्ने र अरुलाई पनि बुझाउनुपर्ने महत्त्वपूर्ण कुरा के हो भने योग भनेको शरीर र मनलाई जोड्ने, मन प्रशन्न बनाउने, तनाव हटाउने, स्फूर्ति ल्याउने र मस्तिस्कलाई ऊर्जा भर्ने महत्त्वपूर्ण प्रक्रिया हो । योगमा आसन, ध्यान र प्राणायाम निकै महत्त्वपूर्ण हुन्छन्, जुन व्यायाम मात्रै होइन भन्ने बुझ्नु आवश्यक छ । यसरी बुझ्न सकियो भने योग जोसुकैले, जतिबेला पनि र जहाँ पनि गर्न सक्नेछन् र योगबाट पाउने मनग्गे फाइदा लिन सकिने छ ।

नेपालमा योग

नेपालका राष्ट्रयोगी मानसाग्नि अर्थात् डा. हरिप्रसाद पोखरेलले १ माघ २०३६  अर्थात् मकर संक्रान्तिका दिन नेपालमा योग संवत् घोषणा गरी विश्व योग दिवस मनाउनुपर्छ भनी उद्घोष गरेका थिए । उनैले नेपालमा योगका क्षेत्रमा पुनर्जागरण प्रारम्भ गरेको इतिहास भेटिन्छ । २०३६ सालदेखि हालसम्मको निरन्तर उनको प्रयास, अथक परिश्रम र अविरल यात्राले पाँच दशक पूरा गर्दै गर्दा नेपालले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालेको छ । यसैगरी मानसाग्निकै अथक परिश्रम र निरन्तरको लगावका कारण योगको महत्त्वलाई मध्यनजर गर्दै नेपालमा कक्षा ४ देखि १२ सम्म, स्नातक तथा स्नातकोत्तर र विद्यावारिधि तहसम्मै योग विज्ञानलाई औपचारिक रूपमा पाठ्यक्रममा समावेश गरी पठनपाठन तथा अध्ययन अनुसन्धान हुन थालेको छ । यसरी नेपालमा राष्ट्रिय योग दिवस र मानसाग्नि एक अर्काका परिपूरक हुन् भन्ने पुष्टि गर्न सकिन्छ । नेपालमा योगको महत्त्वलाई असाध्यै नजिकबाट बुझेर दैनिक योग अभ्यास गर्ने राजनीतिज्ञ कति छन् भन्ने अनुसन्धानको विषय बन्ला तर थाहा पाएसम्म पूर्वस्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेल योग अभियन्ता हुन् । उनले नै नेपालमा योगको औपचारिक प्रवेश सरकारी संयन्त्रमा गराएका हुन् भन्न सकिन्छ । यसै गरी वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि योग अनुरागी व्यक्तित्व हुन् र उनले पनि योगको महत्त्व बुझेका छन् । 

प्राचीन कालमा ऋषिमुनि योगाभ्यासका कारण जीवनभर निरोगी रही दीर्घायु समेत पाएको कुरा सुन्न पाइन्छ । आधुनिक समयमा अस्तव्यस्त जीवनशैलीका कारण मानिसमा आएका विभिन्न शारीरिक तथा मानसिक समस्याको समाधानको उपाय भनेकै दैनिकको योगाभ्यास  हो । योग ध्यान एउटा त्यस्तो योग अभ्यास हो, जसले व्यक्तिलाई शारीरिक तन्दुरुस्ती प्रदान गर्ने, मानसिक स्फूर्ति प्रदान गर्ने र आध्यात्मिक दृष्टिकोणले पनि जोड्ने भएकाले यसलाई पूर्ण योगको चामत्कारिक विधि पनि भन्न सकिन्छ । निरन्तर योगाभ्यास गर्न सकियो भने मानसिक तथा शारीरिक रुपले स्वस्थ रहन सकिनेमा कुनै शंका छैन । त्यसैको महत्त्व बुझेरै सरकारले योग ध्यानलाई विशेष सम्बोधन गरेको देखिन्छ ।

कर्मचारीलाई योगाभ्यास 

मस्तिष्कलाई तरोताजा बनाउन र सकारात्मक सोचको विकास गराउन ध्यान अझ बढी महत्त्वपूर्ण हुने हुँदा सरकारले योग र ध्यान गर्ने भनेको छ । सरकारको यो कदम कार्यान्वयन गर्न भने चुनौतीपूर्ण छ, किनकि प्रत्येक दिन कार्यालय समय सुरु हुनु १५ मिनेटअघि योग ध्यान गर्ने भनिएको छ, यसमा व्यावहारिक कठिनाइ छन्, किनकि कर्मचारी खाना खाएर पोसाकमा आएका हुन्छन् । त्यस अवस्थामा योगाभ्यासअन्तर्गत व्यायाम गर्नुहुँदैन । किनकि सकभर खालि पेटमा र हल्का पोसाकमा व्यायाम गर्नु उपयुक्त हुन्छ, तर कर्मचारीले कार्यालयमा आएपछि गर्न सकिने योग ध्यानअन्तर्गत निम्न आसन र योग गर्न सकिन्छ ।

क) सुरुमा तीन मिनेटजति बज्रासनमा बस्ने  । किनकि यो आसन खाना खाएपछि बसिने आसन हो । बज्रासनमा बसिसकेपछि आँखा बन्द गरी लामो–लामो श्वास प्रश्वास गर्ने ।

ख) त्यसपछि करिब २ मिनेट ताडासन र तिर्यक ताडासन गर्ने । किनकि खाना खाएर यो आसन गर्दा फरक पर्दैन ।

ग) यसपछि पुनः केही समय बज्रासन वा सजिलो आसनमा बसेर प्राणायाम गर्ने  । सामान्य खालका अनुलोम विलोम, कपालभाँती, बाह्य प्राणायाम वा भ्रामरी खाना खाएपछि पनि गर्न सकिन्छ । प्राणायाम दिनहुँ एकै किसिमको नगरी अलग अलग पनि गर्न सकिन्छ । यसका लागि पाँच मिनेट समय दिने ।

सुरुमा केही योग प्रशिक्षकको सहयोगले कर्मचारीलाई ध्यान–योग सिकाउन सकिन्छ । बिस्तारै बानी पर्दै गएपछि कर्मचारी आफैँ गर्न सक्छन् ।

घ) अन्तमा ध्यानमा बस्ने । अन्य आसन र प्राणायाम सकेपछि सुखासनमा बसेर मनलाई एकाग्र बनाई केही समय ध्यानमा बस्न सकिन्छ ।

यसरी कम्तीमा १५ मिनेट नै सही, तर दैनिक रूपमा योग ध्यानमा बस्दा कर्मचारीमा केही ऊर्जा थपिन्छ । त्यसपछि गरिने काम राम्रोसँग सम्पादन गर्न सकिन्छ । केही दिनपछि योग ध्यानले दिने फाइदा प्राप्त गर्न थालेपछि बिहानै उठेर घरमै पनि योगाभ्यास गर्ने जाँगर चल्न थाल्छ । योग ध्यानप्रति चासो बढ्छ र क्रमशः योग अनुरागी बन्न सकिन्छ । यसबाट स्वस्थ कर्मचारी तयार गर्न पनि सकिन्छ । 

त्यसकारण अहिले सुरु गरिने योग ध्यानलाई बरु कसरी कार्यान्वयन गर्ने भन्नेमा सरकारको ध्यान जान आवश्यक छ । सुरुमा केही योग प्रशिक्षकको सहयोगले कर्मचारीलाई माथि उल्लिखित योग ध्यान सिकाउन सकिन्छ । बिस्तारै बानी पर्दै गएपछि कर्मचारीले आफैँले ध्यान योग गर्न सक्छन् । १५ मिनेटको समय योग ध्यानलाई कति पनि पर्याप्त समय होइन, तथापि यो काम सुरु गर्नु राम्रो हुनेछ । योग ध्यानबाट पाइने प्रतिफल प्राप्त हुन थालेपछि बिस्तारै कर्मचारीको कार्यालय आउने समय पनि केही छिटो हुन सक्छ र समय मिल्नासाथ आफैँ योग ध्यानमा जुट्ने अभ्यास बढ्नेछ । 

योगाभ्यास गर्दै जाँदा यसको महत्त्व बुझेर कर्मचारीले खानपानमा सुधार गर्नेछन् । जसकारण उनीहरुमा शारीरिक तथा मानसिक सन्तुष्टि र उपलब्धि प्राप्त हुनेछ, काममा जाँगर चल्नेछ र सम्पादित कार्य गुणस्तरीय हुनेछन् । सेवाग्राही र आफ्नो कामप्रति सकारात्मक हुने, सेवाग्राहीलाई दुःख दिने प्रचलन कम हुने, भ्रष्टाचार र कुविचार कम हुने, कार्यशैलीमा सुधार आउने र समग्र रूपमा व्यक्ति स्वयंको र कार्यालयको काममा प्रगति हुनेछ । त्यसकारण योग ध्यान सबैलाई अति आवश्यक छ र विशेष आवश्यक दिनभर मानसिक श्रम गर्नेहरूलाई छ । 

सरकारले नै ध्यान योगलाई जोड दिनु सराहनीय छ तर कार्यान्वयनमा चुनौती रहेकाले केही समय सरकारले प्रत्येक कार्यालयमा स्वयंसेवक योग प्रशिक्षकको व्यवस्थापन गरिदिन आवश्यक छ । त्यस्तै कर्मचारीलाई योगसम्बन्धी प्रशिक्षण दिन पनि सकिन्छ । 

(लेखक प्राध्यापक, पतञ्जति योग समिति नवलपुरका जिल्ला अध्यक्ष, स्वास्थ्यकर्मी तथा योग शिक्षक पनि हुन्)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरनाथ पाण्डे
नरनाथ पाण्डे
लेखकबाट थप