मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

उपभोक्ता माग्छन् चिनी,ट्रेडिङ बेच्छ नुन

शुक्रबार, २६ असोज २०८०, १९ : २३
शुक्रबार, २६ असोज २०८०

पोखरा । पोखराको साल्ट ट्रेडिङमा दसैँ र तिहारलक्षित सुपथ मूल्यको पसल सञ्चालनमा आएको छ । उपभोक्ता बजारबाट चर्को मूल्यमा सामान खरिद गर्न बाध्य भएको भन्दै सरकारले नै निम्न तथा मध्यम वर्गीय नागरिकलक्षित सुपथ मूल्यको पसल सुरु गरेको छ । 

नुन, चिनी, चामल, मल, तेललगायत सामान बेच्नका लागि खुलेको पसलमा उपभोक्ताको सबैभन्दा बढी माग चिनीमा छ । 

बजारमा चिनीको मूल्य आकासिएपछि उपभोक्ताहरु पृथ्वीचोकस्थित ट्रेडिङमा पुग्छन् र सिधै चिनी किन्ने काउण्टर खोज्न थाल्छन् । अहिलेसम्म चिनीको व्यापार नगरेको ट्रेडिङलाई सरकारले यो वर्ष चिनी पनि बेच्न निर्देशन दियो तर चिनी पठाएन । 

‘हामीसँग चिनी छँदै छैन । सरकारले बेच्नू भनेर आदेश दिएको छ । तर कहाँबाट ल्याएर बेच्ने ?,’ ट्रेडिङ पोखराका सूचना अधिकारी सागर शेरचन भन्छन्, ‘चिनी किन्न आएका उपभोक्ता निकै मर्कामा परेका छन् ।’

अधिकांश उपभोक्ताहरु चिनीकै लागि ट्रेडिङ छिर्ने गरेका उनले सुनाए । चिनी किन्न आएका उपभोक्ताहरु नुनमात्रै बोकेर फर्किने गरेका छन् । ‘चिनी पाइन्छ भनेर आएको हो तर चिनी छैन, नुन लैजानुस् भन्छन्,’ लेखनाथबाट आएकी एक उपभोक्ता भन्छिन्, ‘चाडबाड आयो, बजारमा महँगो छ । यता पाइँदैन ।’

चिनीको मूल्य होलसेलमै ९७ रुपैयाँ भन्दा बढी पर्छ । उपभोक्ताले बजारबाट किन्दा १ सय ३० सम्म तिर्न बाध्य छन् । देशभर ट्रेडिङले २१ असोजदेखि ४३ जिल्लाका ९८ ठाउँमा सुपथ मूल्यको पसल चलाएको छ तर चिनी छैन ।

चिनी आयात नै नभएकोले ट्रेडिङसम्म नआउन शेरचनले आग्रह गरे । ‘दसैँअघि चिनी आउँदैन । तिहारलाई लक्षित गरेर जसरी पनि ल्याउने प्रयास गरेका छौँ,’ उनले भने, ‘उपभोक्ताले पाएको दुःखप्रति सहानुभूतिबाहेक हामीसँग दिने केही छैन ।’

ट्रेडिङले साविक गण्डकी अञ्चलका जिल्लाहरुमा नुन र मल सप्लाई गर्दै आएको छ । अघिल्लो वर्ष मात्रै ९० हजार ९ सय ८६ क्वीन्टल नुन ५ वटा जिल्लामा खपत भएको ट्रेडिङले जनाएको छ । मनाङ र मुस्ताङमा सरकारले आयोडिनयुक्त बाक्लो नुन (भानु नुन) पठाउँछ । मनाङमा ३ सय र मुस्ताङमा ५ सय क्वीन्टल नुन खपत हुन्छ । 

यसबाहेक यहाँबाट मल खपत बढी हुन्छ । डीएपी, पोटास र युरियासहित अघिल्लो वर्ष ५० किलो दरका ५४ हजार २ सय ५३ बोरा मल विक्री भएको शेरचनले जानकारी दिए । 

यो वर्ष उपभोक्तालाई सुविधा दिन चामल र तेल समेत विक्री गरिएको छ । तर तेल चामलमा उपभोक्ताको खासै चासो नरहेको कार्यालय प्रमुख बासुदेव उपाध्यायले जानकारी दिए ।

 ‘तेल बजारको भन्दा पनि महँगो छ । चामल यही रेटमा बजारमै पाउँछन्,’ उनले भने, ‘यहाँ आउने उपभोक्ता सस्तो खोज्छन् । जे सस्तो पाउँछन्, त्यही लैजान्छन् ।’

आगामी ३ मंसिरसम्म सञ्चालन हुने यी पसलमा खाद्यमा कम्तीमा प्रतिकिलो ७ देखि ५० रुपैयाँसम्म छुट छ । मसुरो, मुगी र मासको दाल खुला बजारमा भन्दा सहुलियतमा २० रुपैयाँसम्म सस्तो छ । गहुँ, आँटा, पिठो, मैदा, सबै प्रकारका खाने तेल पनि सहुलियत छ । नुन अन्यत्रभन्दा २ रुपैयाँ कम छ भने चिनी करिब ३५ रुपैयाँसम्म सस्तो छ । त्यसैले चिनीको खोजी बढेको हो । 

तर हुँदै नभएको चिनी जति सस्तो भनेपछि उपभोक्तालाई कुनै अर्थ छैन । बिरौटास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अहिले चामलमात्र बिक्री गरिरहेको छ । 

कम्पनीबाट केही समय अघिसम्म गहुँ, बासमती, जिरालगायत खाद्यान्न बेच्ने गरे पनि चाडपर्वको समयमा चामलबाहेक अन्य सामग्री बेच्न नपाएको कार्यालयका निमित्त प्रमुख भगवान भण्डारीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप