आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
बकपत्र

एक नर्सको बकपत्र : सेतो कोट, कालो धब्बा

शनिबार, २७ असोज २०८०, १५ : ४६
शनिबार, २७ असोज २०८०

दुःख दुई प्रकारका हुन्छन् रे ! एउटा, तृष्णाबाट उत्पन्न दुःख र अर्को आवश्यकता पूरा नहुँदा पाइएको दुःख । 

नभए पनि मजाले चल्छ जीवन । तैपनि पाउने चाहना छ भने एक खालको दुःख उत्पन्न हुन्छ, पीडा हुन्छ । यस्तो दुःख–पीडालाई आफ्नै कमजोरीका कारण उत्पन्न समस्या मान्न सकिन्छ । अर्थात्, तृष्णाबाट उत्पन्न दुःख ।  

म मान्थेँ, यदि नर्सको दुःख यस्तै प्रकारको हुन्थ्यो भने समस्या नर्सहरूकै हो । त्यसैले, समाधान पनि उनीहरूले नै गर्नुपर्छ । बाहिर बकबक गर्नुको कुनै अर्थ छैन । आफ्नो कमजोरी आफैँ हटाउनु पर्छ । 

तर, नर्सको दुःख यसभन्दा धेरै नै फरक छ । कसले बुझ्ने र कहिले आफ्नो आवश्यकता नै पूरा गर्न नसक्दाको दुःख हो यो भनेर । परिवार पाल्न नै गाह्रो भइरहँदाको दुःख हो यो । पैसाको अभावले बच्चाहरु पढाउन नसकिरहेको अवस्थाको दुःख हो यो । यस्तो दुःख निकै पीडादायी हुन्छ । 

तृष्णाबाट उत्पन्न भएको दुःख हुँदो हो त भ्रमण, अध्ययन, अध्यात्म या अन्य कुनै कुराको सहारा लिन सकिन्थ्यो होला । तर, आवश्यकता पूरा गर्न नसक्दाको दुःख हटाउन गाह्रो छ, धेरै नै गाह्रो । 

यो गाह्रोले परिवारमा लगातार अभावका रूपमा खेदो खनिरहेको हुन्छ । आफ्नै दैनिक जीवनशैलीमा असर पारिरहेको हुन्छ । मनमनै साह्रै पिरोलिरहेको हुन्छ यस दुःखले । यस्तो अवस्थामा मान्छे कसरी खुसी हुन सक्छ ! कसरी हाँस्न सक्छ !

तर, अस्पताल पुगेर सेतो कोट पहिरेपछि मुस्कुराउनु पर्छ । सेतो कोटभित्रको कालो धब्बालाई भित्रभित्रै लुकाउनुपर्छ र बाहिर बाध्यताले पनि सफा देखाउनुपर्छ !   

नर्सिङ पूरा गर्ने बेलासम्म धेरै नै अध्ययन गरेर आएका हुन्छन् नर्सहरू । त्यसैले, अपवादलाई छाडेर प्रायःलाई थाहा छ, “आवश्यकता पूरा गर्नै गाह्रो भएको कारण उत्पन्न दुःखलाई हटाउन सक्दो प्रयास गर्नुपर्छ । कर्म गर्नुपर्छ ।” 

नर्सहरूलाई मात्रै नभई यति कुरा त अलिकति विवेक भएको सबैलाई थाहा हुन्छ । 

तर, प्रयास गर्ने ठाउँ नै देखिँदैन र दुःख हटाउन गरिने कर्म नै बाँकी छैन भने ! अझै समय पनि छैन भने ! त्यसमाथि जीवनमा नर्सिङभन्दा अरू सोचिएको र जानिएको पनि छैन भने !  

अलिकति अध्ययन गरेर राम्रोसँग बुझ्ने उमेर नभई नर्सिङ–अध्ययनमा होमिएका हुन्छन् नेपाली छात्राहरू । तुलनात्मक हिसाबमा सानै उमेरमा नोकरीमा संलग्न हुन्छन् । 

यति बेलासम्ममा सेतो कोट शरीरमा भिरेको दिनमै उनीहरूले शपथ नै लिइसकेका हुन्छन्, “आफ्नो घर–परिवारभन्दा पनि धेरै बिरामीलाई प्राथमिकता दिन्छु ।” 

भावनात्मक रूपमा समर्पित भएर ‘सेवा–कर्ममा दिलोज्यानले खटिनेछु’ भन्दै उत्साहित भइरहँदा ‘सेतो कोटमा कालो धब्बा पनि लागेको छ र यो धब्बा हटाउने प्रविधि नेपालमा अहिलेसम्म भित्रिसकेको छैन’ भनेर अलिकति पनि देख्दैनन् । थोरै सुनेकाहरूले पनि उत्साहित अवस्थामा सायद आफूले जागिर पाउने बेला सम्ममा धब्बा हटिसक्छ भन्ने सम्झँदा हुन् । 

नर्सहरूबाट मन, वचन, कर्म सबै माग गरिन्छ । मनबाटै ‘अब जीवन यसमै समर्पित गर्ने हो’ भन्ने भाव उत्पन्न भइसक्छ नोकरी गर्ने बेलासम्ममा । 

दया, माया, विनम्रता, करुणा, हार्दिकता, आत्मीयता आदि सबै राम्रा भनिएका गुणको आस गर्छन् मान्छेहरूले नर्सबाट । अस्पतालमा आएपछि त बिरामी र बिरामी कुरुवाले समेत नर्सहरूबाट यही नै अपेक्षा राख्ने गर्छन् । संयम कति चाहिन्छ नर्समा, नर्सले बिरामीसँग अलिकति रुखो व्यवहार गर्नै हुन्न । ‘झर्केर बोली’, ‘नराम्रो व्यवहार गरी’ भन्न थाल्छन् बिरामी कुरुवाहरू । 

सायद यही कारणले गर्दा पुरुषहरु नर्स हुन सक्ने र नेपालमा पनि केही कोटा छुट्याइएको अवस्थामा पनि पुरुष–नर्स विरलै छन् । पुरुष नर्स भनेर सुन्दा पनि अलिकति अनौठो अनुभव हुन्छ ।  

पढुन्जेल भविष्यका नर्सहरूको मस्तिष्कमा आर्थिक–सोच कम नै आउने गर्छ । यो स्वाभाविक पनि हो । थोरैलाई अलिकति दबाब महसुस हुन्छ, जसले आफ्ना आमाबुबाले दबाबपूर्वक पैसाको व्यवस्था गरिदिएका देखेका हुन्छन् । तैपनि, उनीहरूलाई बढी आस हुन्छ भविष्यको । पैसा कमाइन्छ नै भन्ने लाग्छ । 

जब नर्सिङ पढिसक्छन्, उनीहरूले आफू २१ औँ शताब्दीमा जन्मिएर १९ औँ शताब्दीमा धकेलिई सकेको महसुस गर्छन् । अर्थात्, आफूमाथि ठुलो श्रमशोषण भइरहेको अनुभव गर्छन् । तर, यति बेलासम्म धेरै ढिला भइसकेको हुन्छ । अरू पेसा अपनाउन न केही सिकिएको र जानिएको छ, न अब फेरि खर्च गर्ने हैसियत छ र न समय । यो भन्दा ठुलो दुर्भाग्य के हुन सक्ला ! 

विश्वमा १९ औँ शताब्दीको औद्योगिकीकरणकै समयमा श्रमशोषणका विरुद्धमा मजदुरहरुले आन्दोलन गरेर काम, आराम र मनोरञ्जनका निम्ति आठ–आठ घण्टाको समय छुट्याइयोस् भनेर माग गरेका थिए । हप्तामा एक दिन पूरै आरामको व्यवस्था होस् भनेर माग गरेका थिए । र, ती आन्दोलनहरू उद्योगपतिहरूले दैनिक १५ घण्टा काममा लगाएर न्यून पारिश्रमिक दिएको विरुद्धमा थियो । मजदुरहरूको यस अवस्थालाई कहालीलाग्दो अवस्था भनिएको थियो । 

हो, त्यही कहालीलाग्दो अवस्था छ अहिलेको २१ औँ शताब्दीमा पनि हाम्रो । अचम्म त के छ भने अहिले सत्तामा राज गरिरहेका छन् वर्ग–विभाजन, श्रमशोषण आदिका विरुद्धमा आवाज उठाएर समाजवादको माग गर्दै आन्दोलनमा होमिएका विश्वचर्चित नेताहरु कार्ल मार्क्स, माओ आदिको आदर्शमा चल्ने मान्छेहरु ! अनि तिनै मान्छेका बीच हामी बाँचिरहेका छौँ कार्ल मार्क्सभन्दा पनि पहिलाको श्रमशोषणको समयमा । 

मैले बुझ्ने भाषामा श्रमशोषण हो– आफ्नो परिवारको पालनपोषणसमेत गर्न नसक्ने अत्यन्तै कम पैसा दिएर आठ घण्टाभन्दा बढी काममा लगाउने र त्यो काममा पनि हेपिनुपर्ने । 

यही त हो श्रमशोषण भनेको । हैन त ! 

आज छोटो अवधिमै विश्वका धेरै देशहरू कहाँबाट कहाँ पुगिसके ! 

...

मेरा एकजना छिमेकी दाइ भर्खरै दक्षिण कोरियाबाट फर्केका छन् । भेटघाटका निम्ति घरमै आएका उनीसँगको कुराकानीका क्रममा उनले जब यो कुरा सुनाए, म स्तब्ध बनेँ एकछिन । 

उनले भने, “कुनै पनि काम सानो र ठुलो भन्ने हुँदैन रहेछ त्यहाँ । किताबी ज्ञानभन्दा सीप र दक्षताको महत्त्व र मूल्य हुँदो रहेछ । मालिक र कामदार सबैलाई समान व्यवहार हुँदो रहेछ । यो देखेर मलाई साह्रै खुसी लाग्यो । एकै खाना, एकै टेबुल यस्तो व्यवहारले ममा ‘हामी सबै समान छौँ’ भन्ने कुरा गहिराइदेखि महसुस गरायो । योचाहिँ मैले ठुलो पाठ सिकेँ त्यहाँबाट ।” 

अब हाम्रो हेर्नुस्, कस्ता शिक्षित छौँ हामी ! समाजले शिक्षित व्यक्तिका रूपमा मान्ने डाक्टरहरुलाई नै लिऊँ न सर्वप्रथम । किनभने डाक्टर र नर्सहरूले मिलेर काम गर्नुपर्ने हुन्छ र पहिला पहिला त डाक्टरहरूको सहयोगीकै रूपमा लिइन्थ्यो नर्सलाई । पछि मात्रै नर्स एउटा छुट्टै पेसाको रूपमा परिणत भएको हो । 

तिनै डाक्टरहरूमध्ये धेरै आफूलाई महान् ठान्छन् र नर्सहरूलाई तुच्छ । विभेद यहीँबाट सुरु हुन्छ नर्सहरूमाथि । ‘हामी ठुला छौँ’ भन्ने उनीहरूको भावले नै ‘हामी सबै सबै समान छौँ’ भन्ने भावमा तगारो उत्पन्न गरिरहेको छ । र, यो तगारो रहुन्जेल नर्सहरूले जहाँतहीँ डाक्टरहरूबाट हेपाहा प्रवृत्ति भोग्नुपर्ने अवस्था छ । 

‘मालिक र कामदार सबै समान हुन्’ भनेर दिमागमा घुस्न अब कुन शताब्दी आउनुपर्ने हो थाहा छैन । डाक्टरहरूमा यो भाव पलाएका दिन नर्सहरूले ठुलो राहत पाउनेछन् भन्ने मलाई लाग्छ । 

दोस्रो राहत पाउनेछन्, प्रशासन–पक्षका शिक्षितहरूको दिमागबाट नर्सहरू माथिको विभेद हटेपछि । 

अब हाम्रो कमाइ हेर्नुस्, आफ्नो एक जना बच्चाको स्कुलको फी तिर्नसमेत पुग्दैन आजको समयमा नर्सको एक महिनाको तलबले । सबैभन्दा न्यून तलब भन्दा फरक नपर्ला । 

पाखोबारीमा खर काट्न गयो या अहिलेको सिजनमा धान काट्न गयो भने दिनको पाँच–छ सय रुपैयाँ कमाइन्छ, अहिलेको समयमा । नर्सले पाउने पैसाले मात्रै घर चलाउन थाल्ने हो भने बच्चाहरु कुपोषणले ग्रस्त हुन्छन्, पक्का हो । सम्भावनै छैन । 

श्रमको कुरा गर्ने हो भने यसको पहिलो अनुभव भोलेन्टियरका रूपमा बल्लतल्ल प्रवेश गरेपछि अनुभव गर्छन् प्रायः नर्सले । ‘समय आउला, सुखका दिन आउलान्’ भन्दाभन्दै महिनौँपछि भोलेन्टियरको अवधि त सकिन्छ । तर, सुखका दिन आउन त परै जाओस्, ‘म त निम्न आवश्यकतासमेत पूरा गर्न नसक्ने पेसामा पो रहेछु’ भन्ने लाग्छ । 

अनि तपाईंलाई थाहा छ, चौबीसै घण्टा तयारी अवस्थामा रहनुपर्छ नर्सले । यसमा पनि केही छैन । तर, दैनिक १४–१५ घण्टासम्म खट्नुपर्छ । धेरै नर्सको बाध्यता, डबल ड्युटी गर्छन् आफ्नो अलिकति आर्थिक हैसियत सुधार्न सकिन्छ कि भनेर । कामको ओभरलोड, न्यून तलब, स्वस्थ प्रतिस्पर्धाको साटो सोर्सफोर्समा दिइएको जागिर र अनावश्यक तालिमको कमीले त यसमा कति हो कति असर पारेको छ । 

मानौँ, तपाईं बिरामी बनेर अस्पताल जानुभयो । यस्तोमा पक्कै पनि तपाईंले नर्सले बिरामीप्रति सहृदयताको व्यवहार देखाउनुपर्छ भन्ने सोच्नुहुन्छ । 

तर, तपाईं कहिल्यै सोच्नुहुन्न, नर्सहरू अहिलेसम्म जति मुस्कानका साथ उपस्थित छन् तपाईंका अगाडि यो कुनै चमत्कारभन्दा कम होइन । र, यो चमत्कार प्रदर्शन गरिरहन धेरै नै ठुलो क्षमता चाहिन्छ । हिम्मत चाहिन्छ । हिम्मत चाहिन्छ किन भनिरहेको छु भने नर्सलाई परेको दुःखको सीमा नै छैन । 

आफ्नो खानाको तालिका हुँदैन, बिरामीको डाइट चार्ट बनाउनुपर्छ । एउटी नर्स बिरामी अस्पताल छिरेदेखि डस्चार्ज भएर आफ्नो घर नजाँदासम्म परिवारको सदस्यजसरी खटेकी हुन्छे । बिरामीलाई स्वस्थ बनाउन बसेका नर्सहरू आफैँ भने धेरै कुरामा असुरक्षित छन् । यस्तो अवस्थामा नर्सलाई नै सुरुमा प्रभावकारी सामाजिक र मनोवैज्ञानिक परामर्श दिन आवश्यक रहेको देखिन्छ । 

आजको समयमा माग त खास ठुलो होइन नर्सहरूको, “दुःख गरेअनुसार दुःखको फल मिलोस् । आस गरेर कति दिन बाँच्ने ?”

यो त खासमा माग नै गर्नु नपर्ने कुरा होइन र ! यति त मागबिनै पनि हुनुपर्ने होइन र !  

पहिला पहिला बोलाइ बोलाइ नर्सिङ पढाइन्थ्यो रे ! नेपाली समाजका लागि नर्सिङ पेसा ‘ग्ल्यामरलेस जब’ थियो रे । बिस्तारै नर्सहरूको माग पनि बढ्दै गयो र यस पेसा प्रतिको आकर्षण पनि । नर्सिङ पढ्नका निम्ति कडा प्रतिस्पर्धा पनि हुन थाल्यो । डाक्टरको सहयोगीका रूपमा हेरिने नर्सिङलाई एउटा स्वतन्त्र पेसाका रूपमा पनि हेरिन थालियो । 

तर, बाहिरी आकर्षण बढे पनि भित्रको गुदी भने वर्षौं बित्दा पनि बलियो हुन सकिरहेको छैन । 

मलाई लाग्छ, सबैभन्दा ठुलो समस्या कामप्रतिको विभेद नै हो । डाक्टर र नर्सबिचको विभेद । सिनियर र जुनियर नर्सबिचको विभेद । यही विभेदबाटै नर्सहरूलाई तुच्छझैँ व्यवहार गरिन्छ या हैसियत नै नभएको झैँ मानिन्छ । यो पनि त एउटा कारण हो, नर्सहरूको तलब कम हुनुको । किनभने जति बढी हैसियत, त्यति नै बढी तलब !  

स्पष्टसँग भन्न सकिन्छ, बाहिरबाट हेर्दा आकर्षित र सजिलो देखिन्छ यो पेसा । तर, जिम्मेवारी बहन गर्न एकदमै कठिन । 

एक हिसाबले हरेक दृष्टिबाट सबैको तारो बनेका छन् नर्स । अनि सिनियर र जुनियर नर्सका नाममा भएको असमान भावले त्यस तारोलाई अझै फराकिलो बनाउने काम गरिरहेको छ । 

त्यसैले आउनुस्, सबैभन्दा पहिला ‘हामी सबै समान हौँ’ भन्ने मानसिकता हामी नर्सहरूबाटै सुरु गरौँ र ‘आफ्नो समस्या आफैँले समाधान गर्नुपर्छ, बाहिरका कोही आएर गरिदिँदैन’ भन्ने सोचका साथ हाम्रा समस्याका बारेमा खुलेर प्रस्तुत भई आफ्ना अधिकारका लागि आफैँ एकजुट भएर लडौँ । सेतो कोटमा लागेको कालो धब्बा आफैँ सफा गर्ने प्रयत्नमा लागौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अन्जु न्यौपाने
अन्जु न्यौपाने
लेखकबाट थप