सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
हिजोबाट

समय ओरालो लागेका बेला

मङ्गलबार, ३० असोज २०८०, १० : २८
मङ्गलबार, ३० असोज २०८०

(प्रेरक प्रसङ्ग : ५ पुस २०७१ को कान्तिपुरमा प्रकाशित डा. पाण्डेको अन्तर्वार्ता)

पत्रकार एक प्रकारको न्यायाधीश हो । प्रसङ्ग पीत पत्रकारको होइन, आलोचनाशील र सत्यनिष्ठ पत्रकारको हो । यस्तो पत्रकारले इजलास खडा गर्छ र कठघरामा उभ्याइएको पात्रलाई कुत्कुत्याउँदै र पगार्दै, फकाउँदै र फुक्र्याउँदै बकाइदा बकाउँछ । यो न्यायाधीश सिपालु हुनु मात्र पर्छ, यसले गर्नुसम्म तमास गर्छ । बकाइने पात्र आफ्नो चिन्तन, कर्म र चरित्रमा सद्दे भए उसको सज्जनता उजागर हुन्छ । बकाइने पात्र चोर भए उसको कुरूप रूप सतहमा उत्रिन्छ । कान्तिपुर दैनिकका पत्रकार वसन्त बस्नेतले एकल इजलास खडा गरे । र, सम्झनामा मात्र जीवित रहेको नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेलाई बकाए । कान्तिपुरमा पाण्डेजीको बकपत्र पढेर म पुलकित भएँ र साथसाथै मर्माहत पनि भएँ म । सोचेँ, बकाउने तन्नेरी आफ्नो पेसागत कर्ममा कति कुशल, बक्ने बूढा आफ्नो कथनमा कति इमानदार ! जसको लामो जीवनयात्रामा निहित स्वार्थका दागहरू छैनन्, लोकका मुखेन्जी उसले लुकाउनुपर्ने केही हुँदैन । यस्तो पात्र खुलस्त मुद्रामा जब बोल्छ, उसको बकपत्र सुन्दर हुन्छ । पढ्न थाल्यो कि नतुरी त्यसलाई छाड्नै मन नलाग्ने ।

समान आदर्श भएका एउटै यात्राका सहयात्री भूगोलमा जहाँ भए पनि र पुस्तामा जहाँ परे पनि तिनका अनुभव उस्तै हुन्छन् । बकपत्रको एउटा वाक्यमा पाण्डेजीका मुखबाट प्वाक्क मेरा चित्तको मर्म बोलिएछ । जब त्यो वाक्य पढेँ, मलाई हृदयको पीप गानिएको पीलो निचोर्दा हुने पीडामय आनन्दको बिछट्टको अनुभूति भयो । त्रासद् नाटकमा यसलाई क्याथार्सिस वा पीडा विरेचन वा पीडामोचन भनिन्छ । खासमा मलाई खसोखास भयो नै त्यस्तै ।

वार्ता गर्न लाग्दा डा. पाण्डेले भनेछन्, ‘पोहोरकै अन्तर्वार्ता फेरि छापिदिए हुन्न ? आखिर देशमा केही त बदलिएको छैन ।’ पाण्डेजीको यो भनाइमा लुकिबसेको कारुणिक व्यङ्ग्यले मलाई एकसाथ चकित र स्तब्ध तुल्यायो । बोल्ने मुख पाण्डेजीको थियो, बोलीमा प्रकट भएको असन्तुष्टि र पीडा मेरो पनि थियो । अथवा भनुँ, उही यात्राका दुई सहपथिकको साझा असन्तुष्टि र साझा पीडाको अभिव्यक्ति थियो त्यो । 

केवल पाठक र शुभचिन्तकछेउ इहलोकमा म अझै जीवित छु भन्ने सबुत पेस गर्न मात्र म यदाकदा केही खेस्रा खोस्टा लेखिटोपल्छु । मलाई आफ्ना यी लेखोट आफ्नै पुराना लेखका बासी टेपजस्ता लाग्छन् ।

मैले सार्वजनिक डबलीमा ठ्याक्कै यही वाक्य अनेक्पटक दोहोर्‍याएको छु । कुरा खास गरेर संविधानसभाको दोस्रो चुनावपछिको हो । चुनावको नतिजा जब आउन थाल्यो, म त्यसैत्यसै विलखबन्द परेँ । गणतन्त्रलाई संस्थागत गर्नु छ, चुनावको दुलोबाट फुत्त बाहिर निस्क्यो आफ्नो तुच्छ स्वार्थ पट्याउन राजाका पाउमा दाम चढाउने छट्टु चाकरीबाज । चिताइएको माछो थियो, प्रकट भयो बिखालु सर्प । संघीयतालाई संस्थागत गर्नु छ, चुनावको शंकास्पद बाकसबाट फुत्त बाहिर निस्क्यो राम्रैसँग चिनिएको संघीयताद्वेषी तोरीलाहुरे । अपेक्षा सुन्दर पुतलीको थियो, निक्लियो घीनलाग्दो झुसिल्किरो । धर्मनिरपेक्षतालाई वैधानिकता दिनु थियो, चुनावको ब्यालेटबाट जायजन्म भयो राजनीतिका नउँमा हिन्दु धर्मको व्यापार गरिखाने खग्रास मण्डलेको । आशा कस्तुरीधारी सुगन्धमय मृगको थियो, फुत्त निस्क्यो गन्दे र कुरूप हाइना । चुनावको रहस्यमय दुलोबाट यसरी इतिहासका खोटा टकहरू फुत्तफुत्त बाहिर निस्किए । समुन्नत सिद्धान्त र उदात्त आदर्शमा टाट पल्टिएकाहरू ! निधारभरि भ्रष्टाचारका कलङ्कका गाढा दाग लागेकाहरू ! सहिदका सपनालाई मचक्मचक् कुल्ची हिँड्नेहरू ! मधेसी नेपालीलाई विदेशी ठान्नेहरू ! पहिचानका आकांक्षीलाई सामाजिक सद्भावका विनाशक भन्नेहरू ! विचार र विवेक, करुणा र समभाव, मानवमङ्गल र परोपकारप्रति लेसमात्र अभिरुचि नभएका एकसेएक जडवत् जीवहरू ! राजनीतिका यी सब खोटा पात्रहरू जब मेरा नजरमा परे, म खिन्न भएँ । 

राजनीतिक डबलीमा विरक्तलाग्दो वातावरण छाएको यस घडीमा इतिहासका यिनै खोटा औतारहरूको बिगबिगी छ । जब यी जीवात् समाजको गति र प्रगति तथा सामाजिक न्याय र समताविरुद्ध हाकाहाकी बोल्छन्, मलाई इतिहासको चिहानघारीबाट मानवताविरोधीे वाक्कलाग्दो धुन बजेझैँ लाग्छ । आफ्नै बलिदानी आवेगको प्रभावले आन्दोलनको आँधीबेरीमाझ ब्युँझिएका उत्पीडितहरू अहिले फेरि किनारतिर धकेलिँदै छन् । विद्रोहको विस्फोटमाझ बक् फुटेकाहरू अहिले अवाक्तुल्य भएका छन् । र, जीवनको रङ्गमञ्च हिजो विद्रोहको हुङ्कारबाट भयभीत भई दुलामा मुन्टो लुकाएकाहरूले कब्जा गरेका छन् । जता सुन्यो, इतिहासका मिति गुज्रिएका कर्कश स्वरहरू सुनिन्छ । उज्यालोको गर्धनमाथि अँध्यारोको तरबार उठेको छ । सुन्दर वस्तुलाई निल्न कुरूप वस्तुले मुख बाएको छ । जीवनको अग्रगतिविरुद्ध अधोगतिको हुङ्कार व्याप्त छ । न्याय चेतनालाई अन्यायको भूतले तर्साइरहेको छ । सामाजिक यथार्थको दिनचर्यामा जब विचारका नयाँ तरङ्ग, आवेगका नयाँ उमङ्ग र द्वन्द्वका नयाँ घर्षणको उपस्थिति हुन्छ, तब न लेख्नलाई केही न केही नयाँ चीज हुन्छ । यथार्थको परिदृश्यमा जब नयाँ केही छैन, लेखकलाई लेख्न जाँगर लागोस् नै कसरी ? त्यसैले अचेल म ज्यादै कम लेखिरहेको छु । केवल पाठक र शुभचिन्तकछेउ इहलोकमा म अझै जीवित छु भन्ने सबुत पेस गर्न मात्र म यदाकदा केही खेस्रा खोस्टा लेखिटोपल्छु । मलाई आफ्ना यी लेखोट आफ्नै पुराना लेखका बासी टेपजस्ता लाग्छन् । आफ्ना लागि आफ्नै लेखनमा जब प्रेरक तत्त्व हुँदैनन् तब के लेखिन्छ ? केही लेखिहालियो भने पनि त्यो आफ्नै अतीतका बोलीहरूको धमिलो ध्वनि सिवाय अरु के नै हुन्छ र ?

देब्रे ढल्कुवा जर्मन लेखक बर्ताेल्त ब्रेख्त कतै शून्यबाट मेरो आँगनमा अवतरित हुन सक्ने भए मलाई भन्दा हुन् — अरे भाइ, समय ओरालो लागेका बेला ओरालोकै कथा लेख्नुपर्छ । मलाई क्षमा गर आदरणीय बे्रख्त, अचेल मेरो जाँगर मरिरहेको छ ।

दुर्भाग्यवश, यस घडीमा मुक्तिकामी सामाजिक परिवर्तनका अगुवा योद्धाहरू स्वयं निस्तेज, निरूपाय र निरीह बनेका छन् । तिनका अनुहारको आभा खुइलिएको छ । तिनका आँखाको चमक निम्जिएको छ । यत्रतत्र छिन्नभिन्न र त्यसैत्यसै रनभुल्ल छन् ती । तिनको गति सुस्त छ । विचार र विवेक तथा इमान र नैतिकताको तराजुमा तिनको तौल ह्वात्तै घटेको छ । तिनको सामथ्र्य र सौर्यको मुहान अगणित गरिखाने जन हुन् । यिनका र तिनका बीचका सम्बन्धका सूत्रहरू खुकुलिएका छन् वा चुँडिएका छन् । विचार र आवेगमा यी जो नयाँ थिए वा जो नयाँ मानिएका थिए, यी स्वयं उदेकलाग्दो गरी पुराना पात्रमा परिणत भइरहेका छन् । इतिहास दोहोरिएको छ । जीवनको रङ्गमञ्च खलनायकहरूको कब्जामा गइरहेछ । र, जीवनका नायकहरू स्वयंको खलनायकीकरण भइरहेछ ।

हिजोको प्रसङ्ग कोट्याउँछु । छयालीस सालपछिको अन्तरिम सरकारमा ऊबेलाको सबैभन्दा ठूलो लाल दलबाट एक कमरेड मन्त्री बने । मन्त्री बन्नु के थियो तिनका नैतिक अनुहारको रूप छिटछिटो फेरिन थालिहाल्यो । भ्रष्ट सत्ताले तिनलाई मादक मह चटाएर रातारात आफ्नो चरित्रमा ढाल्यो । र, सूचनाको सिकार गरिहिँड्ने छापाले लेख्यो — कमरेड मन्त्री महोदयले भकाभक घुस, कमिसन र सलामी ज्युनार गर्न थाले । हेर्दाहेर्दै लोकका दृष्टिमा तिनको रूप कुरूप भयो । र, हिजोको आजै तिनको सुनाम बद्नाम भयो । तर तिनको पेट भने फुल्दै गयो र तिनका गाला पुटुस्स भए । छापाहरू तिनको सोख र विलासका कुरूप कथाहरूले भरिए । र, मैले ‘ललितकान्तको डायरी’ भन्ने कथा लेखेँ । त्यो कथाका पात्रको प्रारूप तिनै स्खलित मन्त्री कमरेड हुन् ।

वार्ता गर्न लाग्दा डा. पाण्डेले भनेछन्, ‘पोहोरकै अन्तर्वार्ता फेरि छापिदिए हुन्न ? आखिर देशमा केही त बदलिएको छैन ।’ पाण्डेजीको यो भनाइमा लुकिबसेको कारुणिक व्यङ्ग्यले मलाई एकसाथ चकित र स्तब्ध तुल्यायो ।

समय क्रममा त्यो लाल दल वैचारिक स्खलन र नैतिक क्षयीकरणको बाटोमा लुखुरलुखुर ओरालो लाग्यो । र, मैले ‘बलिदानको भर्‍याङ मास्तिर’ भन्ने अर्को कथा लेखेँ । कथामा गरिब राजवंशी पात्र छन् — बाबु र छोरा । ती बाबुले भूमिगत कालमा लाल कमरेडलाई प्रेमपूर्वक सेल्टर दिएका छन्, आफ्ना लालाबालाका पेट काटेर तिनलाई खान्की दिएका छन् र आफ्नो ज्यान खुकुरीको धारमा राखेर तिनलाई सुरक्षा दिएका छन् । त्यो सब दुर्लभ सुविधा प्राप्त गर्ने मिस्टर कमरेड अहिले मन्त्री छन् । तिनको बास मन्त्री क्वार्टरमा छ । सोझा राजवंशी आफ्ना छोरालाई सानो जागिर माग्न आशाको झोली बोकेर मन्त्री निवास पुग्छन् । मन्त्री कमरेड तीसँग यति उपेक्षाभावले व्यवहार गर्छन् मानौँ ती तिनका कमरेड होइनन्, तिनको द्वारमा आएका भिखारी हुन् । आत्मसम्मानमा गहिरो ठेस लागेर बाबु राजवंशी आहत बन्छन् । र, मन्त्राणीले दिएको भीखतुल्य बाटाखर्चका नोट उनका नाकैअगाडि ध्वाध्र्वारी च्यातेर आफ्नो बाटो लाग्छन् । यो कथा मेरो कल्पनाको उपज थियो । तर पछि वास्तविक रूप धारण गर्दै यो कथा विद्रूप स्वरूपमा प्रकट भयो । सत्ताको गद्दामा उही लाल दलका केपी शर्मा ओली उपप्रधानमन्त्री थिए । झापावासी डेकेन्द्र राजवंशी परे ओलीका पुराना सहयोद्धा । ती धेरै वर्ष सँगै जेलमा बसेका थिए । पछि बाठा केपीले पटक–पटक लाभदायक मन्त्री पद पड्काए । सोझा डेकेन्द्र जो भएको थोरैतिनो जेथोधरी मासिएर कङ्गाल भए । ती कङ्गाल बाबु आफ्ना पुराना कमरेडलाई सम्झेर छोरालाई सानो जागिर माग्न राजधानी आए । पुराना स्मृतिहरू केपीको मानसपटलबाट निहित स्वार्थको वेदीमा विलुप्त भइसकेका थिए । जागिर मिलाइदिनु त परै जाओस्, केपी महोदयले आफ्ना सहयोद्धा कमरेडलाई दुई पैसाको भाउ नदिएर गर्नुसम्म अपमान गरे । डेकेन्द्रको ब्रह्माण्ड अन्धकार भयो । र, अचाक्ली अपमानको पीडा खप्न नसकेर लाल दलको मुख्यालय बल्खुमा तिनी झुन्डिएर मरे । तिनको आत्महत्याले बल्खु मुख्यालयका काजी कमरेडका पाषाण हृदयमा कहीँ कतै स्पर्श गरेन । मुख्यालयको कसैले न मुख खोल्यो न कलम चलायो, न त दुई थोपा आँसु बगायो । मानौँ आत्महत्या गरेको आफ्नो लाल दलको जगको मूल्यवान् ढुङ्गाले होइन कुनै भुस्याहा कुकुरले हो । त्यो त्रूmर घटनाको ऐनामा बल्खु मुख्यालयको अनुहार हेरिनसक्नु देखियो । लोकलाई त्यो कुरूप अनुहारको वास्तविक चिनारी दिन मैले हजारौँ शब्द लेखेँ । र, मैले त्यसको नाम ‘पुकपा’ अर्थात् पुरानो कम्युनिस्ट पार्टी राखिदिएँ । ‘पुकपा’ अर्थात् पतीत, पथभ्रष्ट र पत्रु पार्टी ।

‘पुकपा’को पतनको यात्रासँगै खाली हुँदै गएको ठाउँ भर्न संग्रामी यात्रा छिचोलेर ‘नकपा’ अर्थात् नयाँ कम्युनिस्ट पार्टीको जायजन्म भयो । यो पार्टी आफू हिँडिआएको यात्रापथमा नयाँ थियो, आफूले भेदन गर्न खोजेको लक्ष्यमा यो नयाँ थियो, यो विचारमा नयाँ थियो, यो आवेगमा नयाँ थियो, यो पददलित जनगणसित नङ–मासुको साइनो गाँस्ने कार्यमा नयाँ थियो, यो बलिदानको माध्यमले परिवर्तनका जाज्वल्यमान् मुद्दाहरू उठाउने पराक्रममा नयाँ थियो । ‘नकपा’को नाताले यसले वीरहरूको बलिदान भएको सुखानीको उत्तराधिकार दाबी गर्‍यो । त्यो सुखानी जहाँ वध गरिएका वीरहरूको रक्तबीज पैmलिँदै हालको ‘पुकपा’को उदय भएको थियो । दाबी सही थियो । त्यो दाबी सुनेर ‘पुकपा’का पतीत पात्रहरूले पराजयको मुद्रामा मुन्टा निहुराए । र ‘नकपा’का नायकहरूले विजयी मुद्रामा सुखानीमा हँसिया–हथौडाजडित झन्डा फहराए । तिनले मुठ्ठी कसेर वीर सहिदहरूलाई लाल सलाम टक्राए । र, तिनले ‘पुकपा’ले परित्याग गरेका तिनका सपनालाई साकार रूप दिइछाड्ने संकल्प गरे । समय बित्दै गयो, र विडम्बनावश ‘नकपा’ले जान–अन्जान उही ‘पुकपा’का ह्रासमुखी पाइला पछ्यायो । दुवैको आदि कथा उस्तै थियो । दुवैको नियति उस्तै हुने छाँट देखियो । ऊ पनि भ्रष्ट सत्ताको पेटमा पचेर पतीत भएको थियो, यसको पनि हबिगत उस्तै हुने लक्षण दृष्टिगोचर भयो । र, अहिले आफ्नो शान, गौरव र सामथ्र्य खुइलिँदै तीव्र गतिमा खलनायकमा परिणत हुन लागेको यो लाल दलका नायकहरू पेरिस डाँडामा निहुरिएर खलनायकी मुद्रामा बल्खु दरबार हेरिरहेका छन् । पेटमा बोसो लागेर मस्तिष्क रुग्ण हुँदै गएका अल्छीहरू यात्रामा पायक पर्ने गन्तव्य रोज्छन् । बल्खु दरबार नजिक छ, रोल्पा धेरै टाढा छ ।

यो ओरालो लागेको समयको कथा हो । खलनायकी अनुहार धारण गर्दै गएको ‘नकपा’को विचलनमुखी अनुहार मेरा माथि चर्चा गरिएका उनै दुईवटा कथाको ऐनामा हेरे छर्लङ्ग हुन्छ । पुरानै खलनायकको विम्बमा राजनीतिको खलनायकमुखी नयाँ पात्र यस्सै चिनिने भएपछि मैले अब लेखिरहनु किन ? देबे्र ढल्कुवा जर्मन लेखक बर्ताेल्त ब्रेख्त कतै शून्यबाट मेरो आँगनमा अवतरित हुन सक्ने भए मलाई भन्दा हुन् — अरे भाइ, समय ओरालो लागेका बेला ओरालोकै कथा लेख्नुपर्छ । मलाई क्षमा गर आदरणीय बे्रख्त, अचेल मेरो जाँगर मरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप