मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
खेलाडी

देश चिनाइरहेकी धावक सुनमाया !

शनिबार, ०४ कात्तिक २०८०, १२ : ०७
शनिबार, ०४ कात्तिक २०८०

सुर्खेत । जुम्लाको विकट पातारासी गाउँपालिकाको पेरे गाउँमा जन्मिएकी सुनमाया बुढा अल्ट्रा धावक हुन् । सानै भए पनि छोरीले सरकारी जागिर गर्नुपर्छ भन्ने उनका बुबाआमाको चाहना थियो रे । सामान्य परिवारमा जन्मिएकी सुनमायाका बाबुआमाले कक्षा १० को परीक्षा दिइसकेपछि गाउँभन्दा बाहिर गएर पढाउन नसक्ने बताइसकेका थिए ।

बरु पढाइको साटो उनलाई बुबाआमाले बिहे गर्ने सुझाव दिएका थिए रे । बुबाआमाको भनाइ थियो, ‘बिहे गरेर पनि पढ्दा हुन्छ, हामीसँग आर्थिक अवस्था पनि राम्रो छैन ।’ यद्यपि इच्छा र चाहना भएपछि कसैको केही लाग्दो रहेनछ । उनी बिहे गर्ने प्रस्ताव अस्वीकार गरेर सदरमुकाम खलङ्गा लागिन् ।

पढ्छु भनेर सदरमुकाम आएकी उनको ध्यान कलेजभन्दा खेलतिर केन्द्रित हुन थाल्यो । जहाँ इच्छा हुन्छ, त्यहाँ उपाय पनि हुन्छ भनेझैँ सुनमायाको जीवनमा पनि इच्छा अनुसारको बाटो खुल्यो ।

७ बर्षअघि ‘अल्ट्रा ट्रेल’ रनिङमार्फत डेब्यु गरेकी उनी अहिले विश्वसँग प्रतिस्पर्धा गरिरहेकी छन् । अल्ट्रा धावक भएर उनले कर्णालीको मात्र होइन, सिङ्गो देश चिनाइरहेकी छन् ।

‘सुरुमा मलाई गेम नेखेल, पैसा आउँदैन भन्थे सबैले तर, मैले खेलप्रतिको चाहनालाई त्याग्न सकिनँ । जसका कारण आज यहाँसम्म आइपुगेको छु ।’

सुनमायाले ०७८ मा थाइल्याण्डमा आयोजित ‘अल्ट्रा ट्रेल’ रनिङ प्रतियोगितामा महिलातर्फ प्रथम भएर कीर्तिमान बनाएकी थिइन् । ११० किलोमिटरको दूरी १४ घण्टा ५४ मिनेट एक सेकेण्डमा पूरा गरेकी थिइन् । नेपालकी चर्चित अल्ट्रा म्याराथन धावक मिरा राईले १७ घण्टा १२ मिनट ४८ सेकेण्डको समय लगाएकी थिइन् ।

सुनमाया उक्त कीर्तिमानसँगै विश्वभर छाइन् । पुरुष–महिलातर्फको समग्र खेलमा तेस्रो स्थान हासिल गरेकी सुनमायाले राईभन्दा निर्धारित दूरी दुई घण्टा अगावै पूरा गरेकी थिइन् । जुम्लामा जन्मिएर पनि सुनमायाको उक्त कीर्तिमानले राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरमा चर्चा भयो । उमेरले २४ नाघेकी उनी अहिले पनि निरन्तर आफ्नो खेल कर्ममा अग्रसर भइरहेकी छन् ।

स्वीटजरल्याण्ड, हङकङ, चीन, फ्रान्स, इटाली, ओमान, मलेसिया, अस्ट्रिेलिया लगायतका देशमा आयोजित दौड प्रतियोगितामा उनी सहभागी भइसकेकी छन् । थाइल्याण्डपछि ०२२ मा फ्रान्समा भएको युटीएमबी सीसीसीमा उनले दोस्रो स्थान हासिल गरिन् भने ०२३ मा हङकङमा आयोजित नर्थ फेस हङकङ १०० रेसमा उनले पहिलो स्थान हासिल गरिन् । सेकेण्ड रेसमा पनि उनी पहिलो भइन् ।

अहिले फ्रान्समा वल्र्ड च्याम्पियनसीप गेम थियो । ९० किलोमिटर दुरीको उक्त दौड सुनमायाले आधाआधीमै छाडिदिइन् । शारीरिक अवस्थाका कारण आफू ‘ब्याक’ भएको उनले बताइन् ।

सुनमायाले विद्यालयस्तरदेखि अन्तर्राष्ट्रिय पुरस्कारहरु जितेकी छन् । उनले यसअघिका विभिन्न दौडमा धरान म्याराथन, जुम्ला म्याराधन, व्रेथलेस रनिङ, एसएसआइजी, तेन्जिङ हिलारी, जुम्ला रारा अल्ट्रा, गोल्डेन वल्ड ट्रेल सिरिजमा सहभागी भएर पदक जितेकी छन् । हङकङमा प्रशिद्ध धावक मीरा राईको नेतृत्वमा एक सय किलोमिटरको ‘अक्सफाम हङकङ अल्ट्रा ट्रेल’ रनमा समेत सहभागिता जनाएकी छन् उनले ।

उनी भन्छिन्, ‘जुम्लाका ती उच्च पहाडी भेगमा उकाली–ओराली गरेकी मलाई जसरी पनि प्रतियोगिता जितेर गाउँठाउँ, जिल्लामा मात्र होइन, देशको नाम चिनाउनुपर्छ भन्ने उद्देश्य हुन्छ । थाइल्याण्डमा भएको खेलमा ११० किलोमिटरको दुरी बिहान ८ बजेदेखि सुरु गरेर राति ११ बज्नै लाग्दामा पूरा गरेकी थिएँ । जुन दौड मेरो जिन्दगीको एउटा ठुलो उपलब्धि बन्यो ।’

सुनमायालाई यसरी अन्तर्राष्ट्रिय स्तरमा आफ्नो नाम आउला भन्ने कहिल्यै लागेको थिएन । उनी भन्दा पहिला जुम्लाकै हरि रोकायाले पनि विश्व कीर्तिमान कायम गरेका थिए । जो सुनमायाका गुरु हुन् ।

कम छैन संघर्ष

गेम खेल्दा गाह्रो हुन्छ नै । जुनसुकै रेसमा पनि सजिलो भन्ने हुँदैन । यद्यपि तालिम लिइरहेको छ भने सहन सक्ने क्षमताको विकास भइरहेको हुन्छ । जसले प्रतियोगितामा सहजता हुन्छ ।

‘अहिलेसम्मको यात्रामा भुल्न नसक्ने क्षण कति छन् कति, गाउँबाट काठमाडौँसम्मको यात्रा नै हाम्रा लागि निकै ठुलो संघर्ष हो,’ उनी भन्छिन्, ‘खानादेखि लगाउने जुत्तासम्मको कुरामा सबै मिलाउन गाह्रो हुन्थ्यो । तालिम गर्दा डाइट खान पाउँदैनथ्यौँ, पैसा हुँदैनथ्यो । राम्रो जुत्ता हुन्थेन । भए पनि साइज नमिल्ने । ठुल्ठुलो साइजको जुत्ता लगाएर पनि दौडनुपरेको छ ।’

सुनमायाका लागि यी कुरा भुल्नै नसकिने क्षणका रुपमा मानसपटलमा बसेका छन् । अहिले सुनमायालाई नर्थ फेस हङकङबाट सहयोग प्राप्त भइरहेको छ । ‘सुरुवातको अवस्थामा गाह्रो थियो, अहिले त सहज छ,’ उनी भन्छिन् ।

खेल करिअरको सुरुवात

सानैदेखि खेलतर्फ रुचि । आर्थिक अभाव र परिवारको असहयोग । तर, पनि चाहनाले उनलाई डो¥याइरह्यो । ७ कक्षामा पढ्दै गर्दादेखि गेम खेल्न सुरु गरिन् ।

विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डबाट उनको खेल करिअरको सुरुवात भयो । खेलप्रतिको रुचि, लगाव र निरन्तर संघर्षले आज एक सफल धावक बनिन् उनी ।

गुरु हरि रोकायालाई श्रेय दिन भुल्दिनन् सुनमाया । ‘गुरुजस्तै बन्न सक्नु पर्छ भन्ने सोचिरहन्थेँ, गुरुकै प्रेरणाले आँट आउँथ्यो,’ उनी भन्छिन् ।

सुनमायाले सन् २०१६ देखि रनिङ गर्न थालेकी हुन् । उनले पहिलो पटक ‘ट्रेल रेस’मा सहभागी भएको काठमाडौंको गोदावरीमा हो । जहाँ १२ किलोमिटरको ‘ट्रेल रेस’ जितेकी थिइन् ।

उनी भन्छिन्, ‘खेल खेल्न सुरु गर्दाको चार बर्षसम्म पनि परिवारबाट मलाई गेम नखेल्न आग्रह आइरहन्थ्यो । तर अहिले परिवारको सपोर्ट निकै छ । तर आमाले अब घरबार सम्हाल्नुपर्छ भन्नुहुन्छ ।’

अझै खेलहरु खेल्ने र देशलाई नै चिनाउने सपना सुनमायाको छ । अझै यात्राका माइलहरु बाँकी नै रहेको उनी बताउँछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप