सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
दसैँ

कसरी बित्दैछ संसदीय समितिका सभापतिहरूको दसैँ ?

पूर्व राजाको हातबाट टीका थाप्ने योजनामा छन् दीपकबहादुर सिंह
आइतबार, ०५ कात्तिक २०८०, १४ : २५
आइतबार, ०५ कात्तिक २०८०

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गत रहेका विभिन्न संसदीय समितिका सभापतिहरूमध्ये केही दसैँ मनाउन आफ्नो जिल्लामा पुगेका छन् भने केही सभापति भने काठमाडौँमै रहनेछन् । 

शिक्षा, स्वास्थ्य समितिका सभापति भानुभक्त जोशी ९३ वर्षकी आमाको हातबाट काठमाडौँमा टीका लगाउँदैछन् । यता राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाका बुवा बिरामी भएर त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा छन् । उद्योग वाणिज्य समितिका सभापति अब्दुल खान मुस्लिम समुदायका भएपनि उनी दसैँमा भेटघाट तथा शुभकामना आदान प्रदानका लागि बर्दिया पुगेका छन् । 

कस्तो छ त संसदीय समितिका सभापतिहरूको दसैँ ?

निर्वाचन क्षेत्रका १३ वटै वडामा पुग्छु : सन्तोष चालिसे, सभापति, अर्थ समिति

म तास, जुवा खेल्दिन । दसैँको बिदामा निर्वाचन क्षेत्रका जनता तथा साथीभाइलाई भेट्ने, तिनका कुरा सुन्ने, शुभकामना आदान प्रदान गरेर समय बिताउने छु । यसका साथै आफन्तहरूसँगको भेटघाटका लागि पनि समय छुट्याएको छु । 

मेरो निर्वाचन क्षेत्रमा १३ वटा वडा पर्छ, ती सबै वडामा रहेका कार्यकर्ता तथा जनतासम्म पुग्नेछु । 

दसैँमा टीका लगाउनका लागि मेरा ज्येष्ठ सदस्यको रूपमा दाजु भाउजू, दिदी, भिनाजुहरू हुनुहुन्छ । आफूभन्दा तलका भाइ, छोरा, नातिनातिनाहरू धेरै छन् । दसैँको दुई तीन दिन त टीकामै बित्छ । 

दसैँ लगत्तै समितिको बैठक बोलाउने तयारी पनि गरेको छु । कार्तिक १२ गते प्रतिनिधि सभाको बैठक छ । कार्तिक १३ वा १४ गते अर्थ समितिको बैठक राख्ने तयारी गरेको छु । 

अध्ययन र भेटघाटमा समय बित्छ : विमला सुवेदी, सभापति, कानुन न्याय तथा मानवअधिकार समिति 

दसैँको शुभकामना आदानप्रदान कार्यक्रममा साथीभाइ, नेता, कार्यकर्ताहरूसँगको भेटघाटका क्रममा छु । नुवाकोटमा ३ वटा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा सहभागी भएँ । टीकाअघि अरुपनि धेरै शुभकामना आदान प्रदानका कार्यक्रम छन् । 

दसैँको टीका लगाउन म जहिलेपनि घर नुवाकोट जाने गरेको छु । नुवाकोट सूर्यगढी–३ स्थित घरमा सासू ससुरा हुनुहुन्छ । बेलकोटगढी–३ माइतीमा पनि भेटघाट गर्छु । घर, माइतीमा आफन्त, इष्टमित्र, साथीभाइसँग भेटघाट हुन्छ । 

जनयुद्धको बेलापनि परिवारसँग भेटेर टीका लगाउने गरेकी थिएँ । अहिले त झन् टीका लगाउन छुटाउनै भएन । माइतीमा बुवा आमा बितिसक्नुभयो, दाइ भाउजूहरूको हातबाट टीका लगाउने गर्छु । 

खाली समयमा अध्ययन पनि गर्छु । तर, भेटघाटको काममै धेरै व्यस्त भइन्छ । 

जनतालाई दसैँमा यात्रा सहज गराउन पहल गरिरहेको छु : रामहरि खतिवडा, सभापति, राज्य व्यवस्था तथा सुशासन समिति

दसैँ सुरु भएलगतै ओखलढुङ्गा गएँ, सदरमुकामस्थित जिल्ला कारागारको निरीक्षण पनि गरेँ । जिल्लामा २५ जना कैदी अट्ने ठाउँमा ८१ जनासम्म राखेको रहेछ । महिला कैदीलाई पनि साँघुरो ठाउँमा राखिएको छ । त्यहाँका कैदीबन्दीहरूलाई ४० किलो जतिको एउटा खसी दिएँ । 

ओखलढुङ्गाका प्रत्येक पालिकामा पुगेर शुभकामना आदान–प्रदान कार्यक्रममा सहभागी भएँ । भलिबल प्रतियोगिताका लागि भलिबल र नेट उपहार दिएँ । 

पार्टीले गरेको कार्यक्रम, उद्योग वाणिज्य महासंघले गरेको कार्यक्रम, पालिका पालिकामा भएका कार्यक्रमहरूमा सहभागी भएँ ।  

बुवा बिरामी भएकाले अहिले काठमाडौँ आएको छु । उहाँ गाउँ जान सक्नु भएन, टिचिङ अस्पतालमा उपचार गराइरहनु भएको छ । 

दसैँको बेलामा धेरै दुःखी गरिबहरूलाई घर जान समस्या हुँदोरहेछ, कतिपयलाई बसको व्यवस्था पनि गरेँ । प्रहरी प्रमुख, यातायात मन्त्री, यातायात विभागका महानिर्देशक लगायतलाई फोन गरेर दसैँको बेलामा जुनसुकै नम्बर प्लेटको सवारी सधानमा भएपनि मानिसलाई घर जाने व्यवस्था गर्न निर्देशन दिएको छु, कार्यान्वयन पनि भएको छ । 

काभ्रे, सिन्धुली जिल्लालगायतका एसपी तथा विभिन्न जिल्लाका प्रहरी प्रमुखहरूलाई फोन गरेर बाटोघाटोको अवस्था बुझ् भनेर फोन गरिरहेको छु । कहीँ कहीँ बिग्रिएको बाटो मर्मतको काम पनि गर्दैछन् ।

चिनी अभावको बारेमा बुधबार उद्योगमन्त्रीसँग समन्वय गरेँ । उपभोक्ताले सहज रूपमा पाउने गरी वाणिज्य विभागमार्फत् हाल चिनी बजारमा गएको छ । 

दसैँमा कोही घर जान पैसा छैन भन्छन्, कोही अस्पतालमा बिरामी भएको भनिरहेका छन्, उनीहरूलाई सहयोग गर्ने काम पनि गरिरहेको छु । बुवा बिरामी हुनुभएकोले जिल्ला छोडेर काठमाडौँ आए पनि आफूले सकेको समन्वय गर्ने कामहरू गरिरहेकै छु । 

९३ वर्षकी आमाको हातबाट टीका थाप्दैछु : भानुभक्त जोशी, सभापति शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समिति

दसैँमा धार्मिक परम्परा अनुसारका काम, आफन्त भेटघाट, राजनीतिक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा व्यस्त हुन्छु । म शिक्षा, स्वास्थ्य समितिको सभापतिको जिम्मेवारीमा रहेका कारण समितिको धेरै आन्तरिक कामहरू पनि बाँकी रहेका छन्, यसका लागि पनि केही व्यस्त छु । 

भूकम्पपछि म जिल्लाबाट काठमाडौँ आएको छु । धनगढीबाट ९३ वर्षकी आमा यहीँ काठमाडौँ आइपुग्नु भएको छ । आफन्तहरू पनि काठमाडौँमा छन् । आमाको हातबाट टीका लगाउने, आफूभन्दा सानालाई टीका लगाइदिने काम पनि हुनेछ । 

पूर्व राजाको हातबाट टीका थाप्न निर्मल निवास जान्छु : दीपकबहादुर सिंह, सभापति विकास पूर्वाधार समिति

घटस्थापनादेखि फूलपातीसम्म विकास तथा पूर्वाधार समितिमा गइरहेको छु । दसैँ मनाउन देशका विभिन्न भागमा गइरहेका जनताले दोब्बर गाडी भाडा तिर्नुपरेको गुनासो आएपछि त्यसलाई रोक्न सम्बन्धित निकायहरूलाई ध्यानाकर्षण गराइरहेको छु । 

फुलपातीको अघिल्लो दिनसम्म बजार अनुगमनको काममा पनि व्यस्त रहेँ । यो बिचमा जिल्लामा आयोजना भएका शुभकामना आदान–प्रदान कार्यक्रममा सहभागी भएँ । 

फूलपातीदेखि आफन्त परिवारसँग बसेर दसैँ मनाउँछु । मेरो अभिभावकमा दाइ हुनुहुन्छ, उहाँको हातबाट टीका थाप्छु । दसैँको पहिलो दिन पूर्वराजाको हातबाट टीका थाप्न निर्मल निवास पनि जान्छु । 

पूर्वराजा ज्ञानेन्द्रबाट अघिल्लो वर्षहरूमा पनि टीका थाप्दै आइरहेको छु । अघिल्ला वर्षहरूमा कोरोना सङ्क्रमण भएका कारण टीका भएन । यो वर्ष टीका लगाउन सबैलाई खुला गरेका कारण राजाको हातबाट टीका थाप्नेछु । 

जिल्लामा भेटघाट र शुभकामना आदानप्रदानमा व्यस्त हुन्छु : अब्दुल खान, सभापति, उद्योग तथा वाणिज्य समिति

दसैँको समयमा म जिल्लामा राजनीतिक तथा पारिवारिक भेटघाटमा व्यस्त हुन्छु । दसैँ खासमा समस्त नेपालीहरूकै पर्व हो । एउटा राजनीतिकर्मी भएकोले हरेक अवसरमा जनतालाई साथ दिनुपर्ने हुन्छ । 

जिल्लामा पुगेर खास गरी बर्दिया क्षेत्र नम्बर १ को गाउँ गाउँमा भेटघाट गर्ने, शुभकामना आदान प्रदान, दुर्गा पूजा कार्यक्रममा सहभागी हुने, दानदक्षिणा गर्ने काममा मेरो समय बित्छ । दसैँको बेला सबैको बिदा हुने भएकोले साथीहरू पनि गाउँमा आएका हुन्छन्, भेटघाटमा समय बिताउँछु । 

दसैँको बेला बालबालिकालाई कपडा किन्ने काम पनि गरिन्छ । दसैँको माहौलमा खुसीयालीमै समय बित्छ । 

पार्टीको काम र भेटघाटमा समय बित्छ : राजकिशोर यादव, सभापति अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

दसैँको बेलामा आफ्नै गृह जिल्ला सिराहामा व्यस्त हुन्छु । पार्टीका साथीहरूले राखेका शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुने, घुमघाम गर्ने, जनताको बिचमा जाने लगायतका काममा रहन्छु । 

तराई क्षेत्रमा पहाडी क्षेत्रमा जस्तो पिङ खेल्ने जस्ता काम हुँदैन । साथीभाइ भेटघाट हुने, पार्टीका कार्यक्रममा सहभागी हुने, आफूभन्दा ठुला व्यक्ति मान्यजनबाट आशीर्वाद लिने गरिन्छ । 

हाम्रोतिर काटमार भन्दा पनि शाकाहारी भएर दुर्गापूजा गर्ने काम हुन्छ । दसैँमा भेटघाट र पार्टीको काममै व्यस्त हुन्छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप