सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सहर रित्तिँदा पनि गाउँमा खुसियाली भर्न सकेन दसैँले

शनिबार, ११ कात्तिक २०८०, ११ : २६
शनिबार, ११ कात्तिक २०८०

बडा दसैँ नेपालीको महान् चाड । मेलमिलाप, सद्भाव र एकताको चाड । यो वर्षको दसैँले गत वर्षको दसैँले जति पनि खुसियाली र रमाइलोपन ल्याउन सकेको जस्तो लागेन । दसैँलाई राम्रो लगाउने, मिठो खाने, परिवार तथा आफन्तजन भेटघाट गर्ने सुवर्ण अवसरका रूपमा लिने गरिन्थ्यो तर अहिलेको दसैँमा धेरै परिवर्तन आयो ।

परिवारका कम्तीमा एकजना सदस्य विदेशमा रहनुपर्ने बाध्यता प्रतियोगिताझैँ बन्न पुगेको देखियो । कृषि उत्पादनको कमी र मिलको प्रयोगले गर्दा ढिकीजाँतो हराउँदै आयो । चाडबाडका समयमा गाउँगाउँमा दाजुभाइ जम्मा हुने कतिपय चौतारा अहिले बस स्टेसन बनेछन् । ती चौतारामा बाबियाको डोरीको पिङ देख्न पाइने कुरै भएन ।

समाचारमा सुनियो, पत्रिकामा पढियो । दसैँमा घर फर्कनेको घुइँचोले काठमाडौँ लगायत सहर रित्तिए, सुनसान भए तर सहर रित्तिएसँगै दसैँले गाउँ भर्न सकेन । फरक यति देखियो, भाइ दाइको घरमा सहजै पुग्न सक्ने देखियो तर दाइलाई भेट्ने अनि आशीर्वाद लिन पाउने अवस्था देखिएन । भाइले दाइ अझै जवान नै रहेछन् भनी फोटोसपबाट मिलाइएका फोटो हेरेरै मात्र अड्कल गर्न सक्ने भए ।

अर्कोतिर हजुरबुबा र नातिको कहानी पनि उस्तै देखियो । सहरमा जन्मे–हुर्केका नाति बल्लबल्ल दसैँ बिदामा घर पुगेका । ती पनि मोबाइलमा यति व्यस्त बरु बिल गेट्स त्यत्ति व्यस्त हुन्नन् होला ! खानै भुल्छन्, आफन्त नै चिन्दैनन् । सानै उमेरमा धेरै अंग्रेजी पढेकाले होला नातिको भाषा संस्कृत पढेका हजुरबाले बुझ्नै सक्दैनन् ।

दसैँका बेला रेडियो र टेलिभिजनमा गुन्जिने मंगल धुन समेत बज्न छाडेछन् । घरमा भएका बुढाबुढी बाआमाले जसोतसो दसैँ मनाइरहेका थिए । सहायक सवारी चालकले पनि यतिसम्म गर्दारहेछन् कि वृद्धभत्ताले बजारसम्म किनमेल गर्न गएका हजुरबाले पाउने छुट समेत नदिने रहेछन् ।

दसैँले आफन्तहरूबीचको बढेको दूरी घटाउनुपर्ने हो तर अहिलेको दसैँले दूरी घटाएको वा बढाएको हो आकलन गर्नै सकिँदैन । दूरी घटाएको भन्ने हो भने बाआमाका छोराहरू साथमा छैनन् । दूरी बढाएको हो भन्ने हो भने मुख अगाडि नै मोबाइल, ल्यापटप र ट्याबलेटको स्क्रिनबाटै साइतमै छोराको निधारमा रातो टीका लगाइदिन सकिने अवस्था छ । गाउँमा धोती र चोली लगाउने महिला देखिनै छाडेछन् ।

ओखलमा कुटिने घैयाका चिउरा र कलमा पेलिने तोरीका तेललाई बजारको झुरुमझुरुम चिउरा र सनफ्लावर तेलले विस्थापित गरिसकेछन् । यतिबेला कोदोका लहलह बाला देखिनुपर्ने करेसाबारीमा अहिले त बनमारा फुलेर ढकमक्क हुन पो थालेका रहेछन् । चराहरूका आवाज हराइसकेछन् ।

दसैँका बेला दुर्गामाताको भजनकीर्तन गरिने मन्दिरहरूमा अहिले तितेपाती र जंगली घाँसले ढाकिसकेका रहेछन् । कलकल बग्ने नदीहरू त अहिले डम्पिङसाइड भइसकेका रहेछन् । ढल पनि त्यही नदीमा मिसाइएर पानी नै कालो पो भइसकेका रहेछन् । चिसो पानीको मूल भएका कुवाहरूमा अहिले कमिलाको लाइन लाग्ने रहेछ ।

विकास र परिवर्तनले दसैँ मनाउने तरिकामा नै फरकपन आइसक्दा पनि ती बाआमाहरूमा दसैँको उमङ्ग देख्न सकिएन । दिनचर्या उस्तै, बस् फरकपन देखियो त केवल दसैँ टार्नुपर्ने थप जिम्मेवारी मात्र । बुढाबुढी बाआमा नै खुसी बनाउन नसकेको दसैँले गाउँमा के खुसियाली ल्यायो भन्नु र ?

(लेखक नापित नेपाल सरकारको शाखा अधिकृत हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

उदयराम नापित
उदयराम नापित
लेखकबाट थप