सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कथा

कान्छाको सपनाको घर र तिम्रो चम्किलो आँखा

सोमबार, १३ कात्तिक २०८०, १० : २५
सोमबार, १३ कात्तिक २०८०

उसले निकै ठूलो घर बनायो । काठमाडौँ सहरमा पाँचतले घर बनाउनु चानचुने कुरा होइन । पहाडको केटो, त्यो पनि आमाबुबा नभएको टुहुरो । धेरै मेहनत गरेर सरकारी अधिकृतमा नाम निकाल्यो । किसान परिवारबाट आएको एउटा टुहुरो केटो । बाबुबाजेले खान नसकेको सरकारी जागिर । उसले भेटायो । गाउँभरि उसको ठुलो नाम भयो । 

हिजोसम्म ऊसँग बोल्न, हिँड्न, मेलापात पर्वमा जान हिच्किचाउनेहरू आज गाउँमा उदाहरण दिनुप¥यो भने उसकै नाम लिन्छन्् । अधिकृतमा लोकसेवाको जाँचमा पास हुनु भनेको गाउँभरि गर्वको विषय थियो । केही वर्षको अन्तरालमै सरसापटी र ऋणधन गरेर काठमाडौँमा जग्गा किनी पाँचतले घर बनाउनुलाई उसले गौरवको रूपमा लिन्थ्यो । 

निकै टाढाको देवर नाता पर्ने हो ऊ मेरो । उसको उन्नति–प्रगति देखेर मलाई पनि खुसी लाग्नु स्वाभाविकै हो । उसलाई गाउँमा हामी कान्छा भनेर बोलाउँछौँ तर उसको सहरको नाम उमेश हो । उमेश भन्यो भने उसलाई गाउँमा कसैले पनि चिन्दैनन् । कान्छा भनेर उसको कठमाडौँको घरमा जाँदा उसलाई मन पर्दैन । किनकि ऊ कान्छाबाट उमेश भइसकेको छ । 

घर सर्ने दिन उसले टाढा नजिकका सबै नातेदारलाई बोलायो । टाढाको नाता भए पनि देवर त हुन् नि । मलाई पनि बोलाउन नबिर्सेकामा खुसी लाग्यो । उसले दिएको ठेगानामा घर खोज्दै खोज्दै पुगेँ । महँगा फर्निचरले सजिएको बैठक कोठा, कुकुर राख्ने कोठा, खरायो राख्ने ठाउँ, गाडी र मोटर साइकल राख्ने अन्डरग्राउन्ड — खै के के हो के के हो सबै देखायो । कति छिटो उन्नति गरेछ केटाले भन्ठानेर केही क्षण त अचम्भित भएँ । सोचेँ, सबैलाई भगवान्ले यस्तै सन्तान दिऊन् । 

उसको घरबाट फर्केपछि निकैबेर सोच्न बाध्य भएँ । घर आइपुग्छु । लुगा खोल्दै घरभित्र पस्छु र उही पुरानो खाटमा पल्टिन्छु । मक्किएको पुरानो दलिनमा आँखा पर्छ । भाँचिएर खस्न लागेको दलिन, ठाउँ–ठाउँमा चर्किएको भित्ता । कान्छाको घर सम्झिन्छु । मनै त हो । अमिलो हुन्छ । सुख–सयलको लालचा कसलाई हुँदैन र ? राम्रो नाना, मिठो खाना कसलाई मन पर्दैन र ? त्यसमाथि म स्वास्नी मान्छे । भनिन्छ, स्वास्नी मान्छेमा बढी ईष्र्याको भावना हुन्छ । हो, म सजिलै स्विकार्छु — ईष्र्या, आकांक्षा, चाहना, लोभ–मोह सबै मभित्र पनि छन् । त्यसैले त कान्छाको घरबाट आएपछि म दुःखी भएकी छु । अरुको उन्नति देख्न न सक्नु सायद मानवीय स्वभाव हो ।

कोठामा एक्लै छु । धेरैबेरसम्म कान्छाको घरको रमझम ऐश्वर्य मनमा गढिरहन्छ । आफैँभित्र प्रश्न गर्छु — किन मलाई यस्तो हुँदै छ ? सबैको भाग्य एउटै हुन्छ र ? उसले मेहनत ग¥यो, कमायो । यसमा मलाई किन दुःख भयो ? किन म यो मनलाई बुझाउन सक्दिनँ ? दिक्क लाग्छ । आफ्नो जीवन आफैँदेखि भागौँझैँ लाग्छ । तर, जीवन जीवनबाट कसरी भाग्न सक्छ र ? म आफैँभित्र प्रश्न गर्छु । मेरो मन, मेरो तन मसँग छ नि । मकहाँ भागँु ? अरूको रिस गर्ने ईष्र्या गर्ने प्रवृत्ति किन ईश्वरले दियो ? ईश्वरलाई पनि सम्झन्छु ।

मलाई बेचैन हुन्छ । नजिकै रहेको अम्खोरा तान्छु । एक श्वासले अम्खोराभरिको पानी पिएर सिध्याउँछु । केही राहत महसुस हुन्छ । लामो श्वास लिन्छु, आफूले आफैँलाई प्रश्न गर्छु ? होइन के भयो मलाई ? किन ममा लालचको भाव आयो ? किन ममा भौतिक सुखको चाहना जाग्यो ? किन म संसारतिर भाग्न चाहे ?

बिस्तारै आँखा भित्तामा झुन्ड्याइएको ओशोको मुस्कुराई रहेको तस्बिरमा पर्छ । उहाँ मलाई हेरेर मुस्कुराइरहनु भएझैँ लाग्छ । मेरो र उहाँको आँखा जुधिरहन्छ । म एकोहोरो ओशोलाई हेरिरहन्छु । आँसु टपटप हुँदै झर्न थाल्छन् तर पनि उहाँ मलाई हेरेर हाँसिरहनुहुन्छ । मलाई उहाँसँग पनि रिस उठछ । म रोइरहेकी छु । उहाँ भने हाँसिरहनुभएको छ । 

बिस्तारै उहाँका आँखा चलमलाउन थाल्छन् । म अचम्भित हुन्छु । हेर्दाहेर्दै आँखाहरू बोल्न थाल्छन् । ओशोलाई सुन्नु मेरो सधैँको नियति बनिसकेको सायद उहाँलाई पनि पक्कै थाहा हुनुपर्छ । नत्र किन झुन्ड्याइएको फोटोबाट पनि बोल्नु हुन्थ्यो र ? 

म उहाँको आँखामा आँखा जुधाइरहन सक्दिनँ तर पनि उहाँ एकोहोरो मलार्ई हेरेर बोलिरहनुहुन्छ । मलाई उकुस मुकुस हुन्छ । म आँखा चिम्म गर्छु । उहाँका शब्दहरू शब्दका भावहरू मभित्र तरंगित भई बग्न थाल्छन् । म बगिरहन्छु

‘किन तिम्रो मन उद्विग्न भइरहेको छ आनन्द कृपा !’ 

उहाँले नै दिनुभएको नाम हो मेरो, आनन्द कृपा ! परमात्माको कृपाले आफूभित्र आनन्द हुनु नै मेरो नामको सार्थकता हो, उद्देश्य हो तर पनि म आनन्दित छैन खुसी छैन, दुःखी छु । 

‘आनन्द कृपा ! तिमीलाई थाहा हुनुपर्ने हो — हरेक घटनाको पछाडि त्यसको विपरीत क्षण आउँछ । किनकि यो जगतमा बिनाविपरीत केही छैन । यसैले प्रतीक्षा गर । जब दुःख आउँछ, दुःखले उद्विग्न नहोऊ । दुःखी होऊ तर उद्विग्न नहोऊ । उद्विग्नताको अर्थ बुझ ।

हामी दुःखले त दुःखी हुन्छौ नै, फेरि दुःखको कारण दुःखी हुन्छौ । यी दुर्ई भिन्न कुरा हुन् । दुःखबाट दुःखी हुनुपर्छ । दुःखबाट हामी किन दुःखी हुन्छौ त ? संसारमा दुःख छ यसैले हामी दुःखी हुन्छौँ । दुःख हुनु हँुदैन, यसैले दुःखी हुन्छौँ । यो दोस्रो दुःख दार्शनिक हो र खतरनाक छ । किनकि यो दोस्रो दुःखको पछाडि जुन सुखको किरण देखिन्छ, त्यसले डुबाइदिन्छ ।

तिमी दुःखी छौ, म तिमीलार्ई दुःखी नहोऊ भन्दिनँ तर पनि आफ्नै सोचबाट चिन्ताबाट दुःखी छौ, म भन्छु किन चिन्ता लिन्छौ । तिमी अशान्त छौ, यो नराम्रो होइन, तिमीभित्रको दम्भित भाव हो । तिमी अशान्तिले अशान्त छौ भने तिमी खतरामा पर्न सक्छौ । तिमी एक यस्तो भुमरीमा छौ कि जसको कुनै अन्त नै छैन आनन्द कृपा ! भन त तिमी किन अशान्त छौ ? यदि तिमीले म अशान्त छु भनेर सोच्यौ भने झन् अशान्त हुन्छौ । अनि तिम्रो यो अशान्तपन अन्तहीन र शान्तिको क्षणमा फर्कन सक्दैन । अन्तहीन भुमरीमा तिमी घुमिरहेकी छौ । किनकि अशान्तिले शान्तिको अनुभव कहिले पनि गर्न सक्दैन । 

तर तिमीले यो पनि बुझ कि वास्तविक अशान्तिको पछाडि शान्ति हुन्छ । काल्पनिक अशान्तिको पछाडि शान्ती हँुदैन । किनकि कल्पना तथ्य होइन । कल्पनामा जगत्को नियम लागू हँुदैन । त्यो तिम्रो मनको खेल हो । यसैले ध्यान राख, वास्तविक दुःख नराम्रो होइन । काल्पनिक सुख नराम्रो हो किनकि तिमी सपनामा घुमिरहेकी छौ । कल्पनामा तैरिरहेकी छौ । वास्तविक दुःख त एक अवसर हो किनकि त्यसको पछाडि वास्तविक सुख आउँछ नै, आउनुपर्छ जुन अनिवार्य छ ।

आनन्द कृपा ! रातपछि जहिले पनि दिन आउँछ तर रातसँग यदि तिमी डराएर आँखा बन्द गरेर बस्यौ भने बिहानीको लालीमा पनि तिमीले देख्न सक्दिनौ किनकि रात बितेपछि नै बिहानीको आगमन हुन्छ । 

आँखा खोल बाहिरको अनि भित्रको पनि । शान्त भावले सोच । किन तिमी अशान्त छौ । संसारतिर तिमी किन दृष्टि दौडाउँछौ ? भित्र पस । सबै तिमीभित्र छ । बिउँझ  ! उठ ! चिन्ता छोड । चित्त जोड । 

म झल्याँस्स हुन्छु । भित्ताको घडीमा आँखा पर्छ । बिहानको ७ बजिसकेको हुन्छ । होइन, मैले के सपना देखेँ ? कान्छाले बिहानै आउनु है काकी भनेर भनेको सम्झेँ । आज उसको घरको वास्तु गर्ने दिन । रातभरि उसको घरको सपना देख्नु अनि हत्तरपत्तर उठेर जाने तर्खर गर्छु । 

बाटोभरि एकातिर कान्छाको सपनाको घर आँखामा आइरहन्छ भने अर्कोतिर ओशोको चम्किलो आँखाले पिछा गरिरहन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा दुलाल
रमा दुलाल
लेखकबाट थप