शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

शंखरापुर नगरपालिकाले अनुदानमा किसानलाई दियो झन्डै ५ हजार किलो गहुँको बिउ

शुक्रबार, १७ कात्तिक २०८०, १७ : २८
शुक्रबार, १७ कात्तिक २०८०

काठमाडौँ ।  काठमाडौँको शंखरापुर नगरपालिकाले कृषकहरूलाई अनुदानमा ४ हजार ७ सय ९२ किलो गहुँको बिउ वितरण गरेको छ । गहुँ छर्ने सिजन सुरु हुन लागेकोले कृषकहरूको मागका आधारमा उनीहरूलाई आवश्यक पर्ने मात्रामा अनुदानमा बिउ वितरण गरिएको हो । 

नुवाकोटको दुप्चेश्वरबाट नगरपालिकाको करिब ४ लाख रुपैयाँबाट ‘डब्ल्यु के बाह्र सय चार’ जातको गहुँको बिउ खरिद गरेर ल्याइएको नगरपालिकाका कृषि अधिकृत अर्जुनप्रसाद चौलागाईले जानकारी दिए । 

नगरपालिकाको वडा नम्बर ३ र वडा नम्बर ७ ले गहुँको बिउ माग नगरेको र वडा नम्बर १ र ८ ले माग गरेको बिउ नपाइएको उनले बताए । अन्य वडाले भने मागे जति बिउ पाएको अधिकृत चौलागाईले बताए ।

यसअगाडि नै सूचना जारी गरेर किसानसँग प्रतिकिलो ३५ रुपैयाँ पैसा उठाइएको र त्यसमा नगरपालिकाको बजेट थपेर माग अनुसार गहुँको बिउ खरिद गरिएको उनले बताए । 

किसानहरूलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरिएको उनले बताए । 

अधिकृत चौलागाईले भने– ‘किसानले मागे जति बिउ दिएका छौँ । खेतको लालपुर्जाका आधारमा जमिनको क्षेत्रफल हेरेर आवश्यकता अनुसार बिउ दिएका छौँ । बाहिर बजारमा प्रतिकिलो १५० रुपैयाँसम्म पर्ने गहुँको बिउ किसानले प्रतिकेजी ३५ रुपैयाँ अनुदानमा पाएका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप