जसले १६ रूपैयाँ तिरेर महाकविसँग एक महिना ट्युसन पढे
जीवन नै संस्कृति हो, त्यस कारण जीवन जोगाउनका निम्ति हरेक व्यक्तिले आफ्नो संस्कृति जोगाउनुपर्छ । हरेक समुदायको संस्कार फरक फरक हुन्छ । त्यस्तो संस्कार घरबाटै निर्माण हुन्छ । ज्येष्ठ सदस्यबाट छोराछोरीमा र परिवारमा, परिवारबाट समाजमा र समाजबाट राष्ट्रको संस्कार बन्छ । त्यसैले असल संस्कार र संस्कृतिको संरक्षण हरेक व्यक्तिबाट हुनुपर्ने बताउँछन् तेजेश्वरबाबु ग्वंगः । तर यस्तो संस्कृति कसैले परिवर्तन गर्ने नभई आफैँ परिवर्तन हुने अनुभव उनको छ । हामी जन्मिँदा अहिलेको रूपमा थिएनौँ, रुन्चे बालकका रूपमा थियौँ, ठूलो भएपछि हाँस्न, बोल्न सिक्यौँ, उमेर अनुसार व्यवहार पनि फरक हुँदै गयो । त्यस्तै गरी नजानिदो तरिकाले हाम्रा संस्कृति परिवर्तन हुने उनी बताउँछन् ।
तेजेश्वरबाबु ग्वंगः उमेरले ८९ पुगे । मङ्गलबार दिउँसो (कात्तिक २१ गते) साहित्यिक वार्ताका लागि म र फोटो पत्रकार कृष्ण खड्का उनको निवास भक्तपुर, सूर्यविनायक–१, सिपाडोलस्थित ‘निष्ठा छेँ’ पुग्दा बैठक कोठामा उनी थिएनन् । चकमन्न भए पनि वरिपरि पुस्तकका दराज, विभिन्न पुरस्कार र सम्मानपत्रहरूले बैठककोठा सजिएको थियो । केही समय कुरेपछि उनी निहुरिँदै लौरोको सहारामा पाइला सार्दै बैठककोठामा प्रवेश गरे । हामीले आआफ्नो परिचय दियौँ ।
“एक वर्ष भयो, म घरबाट बाहिर निस्किएको छैन,” उनले आफ्नो अवस्थाबारे जानकारी दिँदै भने, “पोहोर जाडोको समयमा घरमै लडेँ, ढाडमा चोट लागेको छ, होसियारीपूर्वक उठ्ने बस्ने गर्छु ।” सोफामा बस्नका लागि हामीले सहयोग गर्न खोज्यौँ तर उनले अस्वीकार गरे । अनि कोठाका बिचमा रहेको कुर्सीमा ढल्किएर बसे ।
स्वस्थ हुँदामा आफूलाई बोलाएका सबै साहित्यिक कार्यक्रम पुग्ने गरेको बताउँदै अब त्यो सम्भव नभएको उनले बताए । मङ्सिर २ गते उनले नै स्थापना गरेको पुरस्कार वितरण गर्ने कार्यक्रममा पनि धेरै बस्न सक्दिनँ कि भन्ने चिन्ता व्यक्त गरे ।
घरबाहिर निस्कन सक्नु हुन्न दिनहरू कसरी बिताउनु हुन्छ भन्ने हाम्रो जिज्ञासामा उनले भने, “बिहान ५ बजे उठ्छु, ब्रस गर्छु, मुख धुन्छु र अनि बाहिर बसेर घाम ताप्दै कफी र केही बिस्कुट खान्छु । दिउँसो आफूलाई मनपरेका पुस्तक, पत्रपत्रिका अध्ययन गर्छु, लेख्छु ।” बिहानै विभिन्न पत्रिकाहरू उनका घरमै आइपुग्दा रहेछन्, तिनै पढ्छन् । पत्रिका पढ्ने मात्र होइन उनी विभिन्न विषयका लेखहरू तयार गरेर पत्रपत्रिकामा पठाउँछन् पनि । ग्वंगः भन्छन्, “छोटा छोटा कविता लेख्दा पनि कतिपय पत्रिकाले हस्ताक्षरसहित छापिदिन्छन्,” भर्खरै मधुपर्कमा छापिएको निबन्ध देखाउँदै ‘पढ्नु भएको छ ?’ भन्दै गौरवका साथ देखाए ।
तिथि अनुसार जन्ममिति गणना
शारदादेवी र निरञ्जनलाल ग्वंगःका सुपुत्रका रूपमा विसं १९९२ कात्तिक कृष्णद्वादशीका दिन वज्रखाल, खौमाटोल, भक्तपुरमा उनी जम्मिएका हुन् । “हाम्रो त तिथि अनुसार वर्ष गणना हुन्छ, तिथिले जुन दिन द्वादशीपर्छ, त्यही दिनलाई गणना गर्छौं हामी,” उनले प्रस्ट पार्दै भने, “कार्तिक कृष्णपक्षको द्वादशी मेरो जन्म दिन हो ।” यो ग्वंग थरको अर्थ के होला भन्दा उनी भन्छन्, “नेपालभाषामा बिहानीलाई डाकोमार्फत स्वागत गर्ने, उज्यालोलाई आमन्त्रण गर्ने भाले नै ग्वंगको अर्थ हो ।’'
शिक्षाको त्यो परिवेश
पहिले र अहिलेको शिक्षा पद्धतिमा आकाश जमिनको अन्तर छ । “त्यतिबेला काठेपाटीमा खरानी दलेर अलिकति माडासाड हालेर खरीको लामो चुच्चोले श्रीपञ्चमीका दिन अक्षर शुभारम्भ गरेको थिएँ,” आफ्नो बाल्यकालको परिवेश सम्झँदै उनी भन्छन्, “यो १९९७ सालको कुरा हो ।” आफ्नो जमानामा पौराणिक धारणामा शिक्षा दिइन्थ्यो, गुरु पुरोहितकहाँ गएर अध्ययन गरेको उनी बताउँछन् ।
सुरुमा उनले पनि गुरुकुलमै गएर अध्ययन गरे तर औपचारिक शिक्षा भने अहिलेको पद्मोदयबाट सुरु गरे । शिक्षा प्रारम्भ गर्दा सो विद्यालय पद्म हाई स्कुल पनि भएको थिएन भन्छन् । भक्तपुरको त्यो इङ्लिस स्कुललाई २००३ सालमा पद्म शमशेर श्री ३ महाराज भएको उपलक्ष्यमा श्री पद्म हाइस्कुल भनेर नामकरण गरेका थिए । “त्यति बेला म पद्म हाई स्कुलमा कक्षा ३ मा पढ्थेँ,” ग्वंगः भन्छन्, “त्यो समय राणाले नागरिकलाई असाध्यै कन्ट्रोल गरेको अवस्था थियो, कसैले केही गर्न सक्दैन थिए ।” कक्षा ७ सम्म पढाइ हुने सो विद्यालयमा शैक्षिक सामग्री सबै हिन्दीमा पढ्नु पर्ने अवस्था थियो, त्यतिबेला नेपाली साहित्य एकदमै कम थियो भन्छन् उनी ।
कक्षा ७ उत्तीर्ण भएपछि उनी २००५ सालमा जुद्धोदय पब्लिक हाई स्कुल (न्युरोड अहिले क्षेत्रपाटी) मा गई पढ्न थाले ।
त्यतिबेला भक्तपुरबाट करिब २ घण्टा हिँडेर काठमाडौँको जुद्धोदय पब्लिक हाई स्कुल स्कुल पढ्न जान्थे उनी किनभने उपत्यकाका तीन सहर भक्तपुर, काठमाडौँ, ललितपुर प्राकृतिक अवस्थामै थिए, कङ्क्रिटले घेरिएको थिएन । अहिलेको जस्तो यातायातका साधन केही थिएनन् भन्दै आफ्नो विगत उनी सम्झन्छन्– “काठमाडौँ जाँदा हिँडेर जान्थ्यौँ, खोला तर्नुपथ्र्यो, त्यतिबेला पुलहरू पनि थिएनन्, वर्षात्मा तर्नै नसकिने, खर्पनमा बोकिएर काठमाडौँ गएको छु तर पनि त्यति धेरै पीर मर्का केही थिएन ।” उहिले दस कोस पनि एक दिनमा हिँड्नु पथ्र्यो अहिलेको मानिसले कल्पना नै गर्न सक्दैन भन्छन् उनी ।
दैनिक विद्यालय आउजाउ गर्न अफ्ठ्यारो भयो र उनी काठमाडौँमा डेरा लिएर अध्ययन गर्न थले । दुई वर्ष अध्ययन गरेपछि एसएलसीको तयारीमा लागे । तर आमा र बहिनी टाइफाइडले बिरामी परेकाले उनले २००९ सालमा एसएलसी दिन पाएनन् । “त्यतिबेला पनि हाम्रो ठूलो परिवार थिएन, आमा र बहिनीले घर हेर्थे, बुवा रकम बन्दोबस्त अड्डामा हाकिम हुनुहुन्थ्यो, म पढ्न जान्थेँ,” पारिवारिक अवस्थाबारे उनी भन्छन्, “आमा बिरामी भएपछि हेर्नुपर्ने भयो र म घर आएँ, असारमा घर आएको मान्छे, फेरि पढ्न भनेर जानै सकिनँ ।” उनको पढाइ केही समय रोकियो ।
केही समय पढाइ छुटे पनि उनले भक्तपुरकै शारदा रात्रि माध्यमिक विद्यालयमा एसएलसी दिनका लागि पुनः अध्ययन सुरु गरे । शारदा माविमा त्यतिबेला अखण्डप्रसाद धौभडेल प्रधानाध्यापक थिए, त्यही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको उनी बताउँछन् । त्यतिबेला चारवर्षे एसएलसी कोर्स रहेको सम्झँदै भन्छन्, “जेबीमा पढेर आएको, त्यहाँको पढाइ त मलाई सजिलो लाग्यो, केही गाह्रो भएन ।”
एसएलसी त्यतिबेला निकै ठूलो स्तर थियो, निकै मेहनत गर्नुपर्ने, पास गर्न निकै कठिन । त्यस क्रममा उनले एक महिना महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरमै गएर ट्युसन पढे । “एक महिनाका लागि मैले १६ रुपियाँ तिरेर महाकवि लक्ष्मीप्रसाद देवकोटाज्यूकहाँ गएर ट्युसन पढ्थेँ,” उनी सम्झन्छन्, “म्याथम्याटिक्सबाहेक बाँकी सबै विषय उहाँले पढाउनुहुन्थ्यो ।” उनलाई देवकोटाले साइन्ससमेत साह्रै मजाले पढाएको सम्झना छ । पढाउँदासमेत काव्य भाषा बोल्थे भन्छन् उनी ।
उनले शारदा माविबाट एसएलसी उत्तीर्ण गरेपछि उनले त्रिचन्द्र क्याम्पस घण्टाघरमा आईए अध्ययन सुरु गरे । सांस्कृतिक नृतत्त्वशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।
जीवनको अधिकांश समय सरकारी सेवामा
सबैभन्दा पहिले उनले भक्तपुरकै शान्तिभक्त मिडिल स्कुलमा २०१० सालदेखि पढाउन सुरु गरे । २०१३ सालमा एसएलसी उत्तीर्ण गरेपछि सिन्धुपाल्चोकको ऐंसेलु खर्कमा उनी पढाउन गए । “२०१३ देखि २०१७ सालसम्म त्यहाँ हेडमास्टर भएर काम गरेँ, स्कुलको भवन केही थिएन, त्यहाँ पनि धेरै काम गरेँ,” त्यति बेलाको परिवेश सम्झँदै उनी भन्छन्, “भीमसेन थापालाई जेलमा हालेर हत्या गरियो नि, ऊ फ्रेन्च सरकारको सपोर्टर थिए, अङ्ग्रेज सरकारले त्यो सहँदैन थियो, अङ्ग्रेजका सपोर्टरले भीमसेनलाई मारे ।”
थापाको हत्या भएपछि त्यतिबेला भीमसेनको परिवार सरकारको चेपुवामा परेको थियो । ऐंसेलुखर्कमा प्रधानाध्यापक भएर अध्यापन गराउन जाँदा उनले एउटा ऐतिहासिक सम्पदा फेला पारेका थिए । “भीमसेन थापाको हत्यापछि उनका भाइ रणवीर सिंह थापा छद्म भेषमा भागेर त्यहाँ गएका रहेछन् । त्यहाँको घना जङ्गलभित्रको गुफामा स्वामी महाराज भनेर बसेछन्,” रहस्य खुलाउँदै ग्वंगः भन्छन्, “त्यहाँ उनले रणमुक्तेश्वर महादेवको मन्दिर बनाएछन् ।” त्यसका छेउमा पूजारीहरू बस्ने सतल पनि बनाइएको रहेछ, ग्वंगःले त्यहीँ विद्यार्थीहरूलाई पढाए ।
विसं २०१७ मा ऐंसेलुखर्कको प्रधानाध्यापक छोडेर उनी भक्तपुरकै त्रिभुवन ग्राम तथा जिल्ला विकास समितिमा जागिर सुरु गरे । प्रोमोसन भएपछि उनी विभागमा सरुवा भएर काठमाडौँ गए । अधिकांश जीवन निजामती सेवामा समर्पित भएर २०४९ सालमा अवकाश पाए ।
साहित्य जीवन, जीवन नै साहित्य
साहित्यलाई जीवन र जीवनलाई नै साहित्य ठान्छन् ग्वंगः । “हामीले जीवनमा जे जे भोग्छौँ, जे हुन सक्छ, त्यो कुराको भविष्यवाणी गर्न सक्नु, जीवन होइन र ?” प्रतिप्रश्न गर्दै उनी भन्छन्, “हामीले भोगेका कुरा भविष्यका पुस्तालाई हस्तान्तरणका निम्ति सिर्जना गर्नु पर्छ ।”
विद्यालय अध्ययनकै समयदेखि उनीको सिर्जनामा लागेका थिए । “सानो सानो कक्षामा हामीले कवि शिरोमणि लेखनाथ पौड्यालको ‘बालक बबुरो द्विज सुकनामा, हुँ म परेको छु पिँजरामा’ कविता पढ्थ्यौँ, दसैँको शरद महिमा भन्ने किताब पढ्थ्यौँ ।” ग्वंगः सम्झन्छन्, “माथिल्लो कक्षामा गएपछि अरू अरूका सिर्जना पनि पढ्नु पथ्र्यो, त्यसपछि धरणीधर कोइरालाको कविता पढ्न थाल्यौँ, अरू निबन्ध, कथाहरू पढ्न थाल्यौँ ।” अग्रज पुस्तका नेपाली साहित्यिक रचना अध्ययनका क्रममा नै सिर्जनातर्फ मोडिएका उनी बताउँछन् ।
“लक्ष्मीप्रसाद देवकोटा मेरो गुरु हो, एसएलसी दिनेबेलामा उहाँको घरमा ट्युसन पढ्न जान्थेँ । उहाँको निबन्ध अध्ययन गर्नुपथ्र्यो, निद्रा निबन्ध उहाँको एकदमै उच्च कोटीको निबन्ध थियो, पढाउने सिलसिलामा त्यसको गहिराइ बताउनुभएपछि ममा अझ बोधितत्त्व प्रवेश गर्यो”, उनी भन्छन्, “त्यो निबन्ध पढेर म अनुप्रणित भएर सपना निबन्ध लेखेँ भनेर ट्युसन पढाउँदै गर्दा देवकोटालाई नै सुनाएँ ।” देवकोटाले ग्वंगःलाई हेरेर तपाईंले त्यो सपना निबन्ध ल्याएको छ भने सुनाउन आग्रह गरे । अनि उनले आफ्नो सिर्जना देवकोटालाई सुनाएका थिए ।
देवकोटाले उनलाई प्रखर साहित्यकारसमेत भनेको सुनाउँछन् । विद्यार्थी जीवनमै यस्तो लेख्नुभयो, तपाईंको साहित्यिक भविष्य उज्ज्वल छ भनेर धाप दिएको अहिले जस्तो लाग्छ उनलाई । यो नै उनको पहिलो सिर्जना थियो । तर उनको पहिलो प्रकाशित रचना भने परोपकार मासिकमा २०१० सालमा ‘प्रेम’ शीर्षको निबन्ध हो भन्छन् उनी ।
अध्ययनका क्रममा काठमाडौँमा डेरा लिएर बस्दा सिद्धिचरण श्रेष्ठसँग उनको सङ्गत भयो । उनको घर दत्तात्रय भक्तपुरमा साहित्यिक सिद्धिचरणको आउजाउ बढ्यो । ग्वंगःले घरमै कवि गोष्ठीसमेत गरे । “कवि गोष्ठीमा सबै साहित्यकारहरूलाई आमान्त्रण गर्यौँ, कृष्णचन्द्र दाइलगायत थुप्रै आउनु हुन्थ्यो,” उनी सम्झन्छन् । सिद्धिचरणको सङ्गतबाट उनले थुप्रै कविता लेखे । तर उनको मनपर्ने विधा भने निबन्ध नै भएको स्विकार्छन् ।
उनले सुरुमा प्रशस्त हास्यव्यङ्ग्य लेखे । ती व्यङ्ग्यहरू धेरैले रुचाएर पढे । तर हास्यव्यङ्ग्यले धेरैलाई घोच्दो पनि रहेछ भनेर उनी पूर्वीय सभ्यताका बारेमा अध्ययन, अनुसन्धान र सिर्जनामा लागे । “अध्ययन गर्दागर्दै संस्कृति संरक्षणमा लाग्नु पर्छ भनेर संस्कृतिका पक्षमा लेख्न थालेँ,” उनी भन्छन्, “त्यसरी लेख्दा लामा लामा वाक्यहरू विन्यास गर्थें, त्यो मन परेनँ, लामो लामो तमसुके भाषा एक प्याराको एउटा वाक्य सिर्जनामा ठिक लागेन, ४, ५ शब्दका वाक्य लेख्न थालेँ, त्यो सबैले मन पराए ।” उनको त्यो शैली अहिले धेरैले प्रयोग गर्छन् । यसमा उनी सन्तुष्ट छन् ।
सरकारी पदमा रहेर हास्यव्यङ्ग्य लेख्दा धेरै अफ्ठ्याराहरू पनि आएको उनी सम्झन्छन् । आफूले लेखेका हास्यव्यङ्ग्य प्रकाशन गरेकै कारण सम्पादकलाई कारबाहीसमेत भएको उनी बताउँछन् ।
यस्ता अफ्ठ्याराबीच उनले धेरै हास्यव्यङ्ग्य लेखे । त्यसको सँगालो प्रकाशन गर्नु पथ्र्यो, अब म बुढो भएँ, कहाँ राखेको छु, कुन कुन पत्रिकामा प्रकाशित भए, अहिले थाहै छैन भन्छन् उनी ।
निबन्धबाटै सार्वजनिक साहित्यिक यात्रा सुरु गरेका उनका ‘सृजना ः संस्कृतिका आयाम’ (२०५२), ‘संस्कृतिया पल (२०५६), अवकाशपछिको अवकाश (२०६७) लगायत उनका ७ वटा निबन्ध सङ्ग्रह र एउटा कविता सङ्ग्रह प्रकाशित छन् । त्यसका अतिरिक्त नेपाली, नेपालभाषा, अङ्ग्रेजीमा लेखरचना, साहित्यिक सिर्जना विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् ।
नेपाली साहित्यजगतमा उनले पुर्याएका योगदानको कदार सरकारी तथा गैरसरकारी सङ्घसस्थाहरूले गरेका छन् । त्यस क्रममा उनले गोरखा दक्षिणबाहु चौथो, राष्ट्रिय प्रतिभा पुरस्कार, ठाकुरलाल सिरपा, योगी नरहरिनाथ सम्मान, सिन्धु प्रतिमा सम्मान आदिबाट पुरस्कृत भए ।
पछिल्लो पुस्तामा नैतिक आचरण हरायो
भक्तपुरका स्थायी बासिन्दा ग्वंगः त्यहाँका जन्मजात नेवार हुन् । त्यतिबेला भक्तपुरमा भक्तपुर इङ्लिस स्कुल र अर्को संस्कृत पाठशाला थियो । भक्तपुर इङ्लिस स्कुलमा उनका मामा शिक्षक थिए । मामाबाट उनले धेरै कुरा सिकेको बताउँछन् ।
उनले अध्ययन गर्दाको समयमा संस्कृतको बाहुल्य थियो । संस्कृतको त्यो बाहुल्यले शिक्षामा नैतिकता र आचरणका कुरा सिकाइन्थ्यो । हाम्रा धर्मशास्त्रहरूलाई अहिलेका मान्छेहरूले तुच्छ दृष्टिकोणले हेर्ने गरेको उनी बताउँछन् । “पहिले पहिले पण्डितहरूले टोलटोलमा पुराण लगाउँथे । यहीँ काठमाडौँको वसन्तपुरमा, असनमा पुराण लगाउँदा टनाटन मानिस हुन्थे,” ग्वंगः सम्झन्छन्, “त्यस्ता कार्यक्रममा नैतिकता र आचरणका कुरा प्रभावकारी रूपमा भनिन्थ्यो, सिकिन्थ्यो ।”
काठमाडौँमा मात्र होइन, भक्तपुरमा पनि यस्ता कार्यक्रम हुने गर्दथे । त्यस्ता पुराण कथाहरूबाट स्कुल जान नपाएका धेरैले नैतिक आचरणका शिक्षा प्रचुर मात्रामा पाउँथे भन्छन् उनी । यस्ता आचरणका कुराले मन, मस्तिष्क हुँदै विवेकमा गएर बस्ने उनको विश्वास छ । अनि समाजमा सकारात्मक परिवर्तन आउने उनी बताउँछन् । यस्ता शिक्षाले ज्ञानको दायरा फराकिलो बनाउँछ ।
तर अहिले यस्ता कार्यक्रमप्रति अहिले कसैको चासो छैन । त्यति मात्र होइन अहिलेका पाठ्यपुस्तकमा पनि नैतिक आचरणको शिक्षा कहीँ कतै पाइँदैन भन्छन् । त्यसैले नेपाली समाजमा पारिवारिक विशृङ्खलता र व्यभिचारका कार्य दिनप्रतिदिन बढिरहेको छ । यसको मूल कारण उनी शिक्षा पद्धतिलाई नै मान्छन् । हाम्रो भाषा, संस्कृति, जीवन पद्धति, विज्ञान, दर्शन, समाज र अर्थनीतिहरू सबै नैतिक आचरणबाटै निर्देशित हुन्छ ।
संस्कृति मानव जीवनको अभिन्न अङ्ग
उमेर हुँदा र सक्दा हरेक कार्यक्रममा दौरासुरुवाल, ढाका टोपी र जुत्ता लगाएर औपचारिक पोसाकमा जाने ग्वंगः जीवन संस्कृति संस्कृति नै जीवन हो भन्छन् । यो सबै जीवनले भोग्छ, जीवनले नै भोगाइको इन्टरप्रिटेसन गर्छ, यो सुर पनि जीवन हो, चिन्तन पनि जीवन हो । “चिन्तनभित्र संस्कृति छ, जीवनभित्रका भोगाइहरू संस्कृति बनेर आउँछ, त्यो संस्कार बन्छ, संस्कारबाट संस्कृतिको निर्माण हुन्छ,” संस्कृति मानव जीवनको अभिन्न अङ्ग हो भन्दै ग्वंगः भन्छन्, “संस्कृतिका दुईवटा पाटा हुन्छन्, ट्रेडिसनल बाउन्ड अर्थात् त्यसको अर्थ थाहा नपाई आँखा चिम्लेर पालना गर्ने र अर्को चाहिँ कल्चरल डाइनामिजम् अर्थात् आफ्नो समय अनुसार, आफ्नो विवेक चिन्तनले जे जे बताउँछ, त्यो अनुसार संस्कृति परिवर्तन हुन्छ ।” उनी चिन्तनको विकास गर्न सकेमा नयाँ पिढीलाई पूर्वीय शास्त्र, पूर्वीय दर्शन अध्ययन गराउन सकिने बताउँछन् ।
नेपालमा जन्मेर कर्मथलो जहाँ बनाए पनि नेपाली संस्कृतिको सम्मान गर्नुपर्छ भन्छन् उनी । यहाँका कला, संस्कृति र पूर्वीय दर्शनको सम्मान गर्न सके नेपलको सम्मान हुने उनको विचार छ ।
सबै तस्बिर : कृष्ण खड्का
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
-
बालिकाको हत्या गरेको अभियोगमा पक्राउ
-
केपी ओलीलाई वर्षमानको चेतावनी: सिसाको घरमा बसेर अरूलाई ढुङ्गा नहान्नुस्
-
हेटौँडामा ‘दर्ज्यु संलाप’ वार्ता
-
विद्यार्थी मृदुभाषी, नम्र र मानवतावादी हुनुपर्छ : प्रधानमन्त्री
-
नारी चेतनाको आलोकमा अम्बिकाको ‘भावदीप’ मुक्तकसङ्ग्रह