शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
आईपीएलमा आज

दोस्रो स्थानको कोलकाता र तेस्रो स्थानको लखनउबिच रोमाञ्चक भिडन्त

आइतबार, २३ वैशाख २०८१, ११ : ४८
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ सिजनमा आइतबार दुई खेल हुनेछन् । प्रतियोगिताको पहिलो खेलमा पञ्जाब किङ्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ । उक्त खेल धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको स्टेडियममा दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

आइतबारको दोस्रो खेल लखनउ सुपर जाइन्ट्स र कोलकाता नाइट राइडर्सबिच हुनेछ । उक्त खेल राति ७ः४५ बजे लखनउस्थित अटल बिहारी वाजपेई (ईकाना) क्रिकेट स्टेडियममा सुरु हुनेछ । जारी सिजन यी दुबै टोलीले आफ्नो ११औँ खेल खेल्न लागेका हुन् । 

आईपीएलको १७औँ संस्करणमा कोलकाता र लखनउबिचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । हालसम्म यी दुबै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । कोलकाताले यसअघि खेलिएको १० मध्ये सात खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ ।

कोलकाता १४ अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । लखनउले भने यसअघि खेलिएको १० मध्ये ६ खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । लखनउ १२ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । 

जारी सिजनको आईपीएलमा कोलकाता र लखनउबिच भिडन्त हुन लागेको यो दोस्रो पटक हो । यसअघि खेलिएको खेलमा कोलकाताले लखनउलाई आठ विकेटले हराएको थियो । उक्त खेल कोलकाताको घरेलु मैदानमा खेलिएको थियो ।

००

हेड टु हेडमा लखनउ अगाडि

इन्डियन प्रिमियर लिगमा लखनउ सुपर जाइन्ट्स र कोलकाता नाइट राइडर्सबिच कुल चार खेल खेलिएको छ । त्यसमध्ये तीन खेलमा लखनउले कोलकातालाई हराएको छ । बाँकी एक खेलमा भने कोलकाता विजयी भएको छ । लखनउमा यी दुई टोली पहिलो पटक भिडन लागेका हुन् । 

००

लखनउको सर्वाधिक रन केएल राहुलको नाममा

जारी सिजनको इन्डियन प्रिमियर लिगमा लखनउका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान केएल राहुल हुन् । उनले टोलीका लागि हालसम्म १० खेल खेल्दै कुल चार सय ६ रन बनाइसकेका छन् । सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा मार्कुस स्टोइनिस दोस्रो स्थानमा छन् ।

स्टोइनिसले हालसम्म १० खेल खेल्दै तीन सय १६ रन बनाएका छन् । निकोलस पुरनले पनि टोलीको खातामा तीन सय पाँच रन थपेका छन् । टोलीका लागि सर्वाधिक विकेट लिने बलर भने यश ठाकुर हुन् । उनले आठ खेलमा १० विकेट लिएका छन् ।

००

कोलकाताका अलराउन्डर सुनिल नारिन लयमा

जारी सिजनको आईपीएलमा कोलकाता नाइट राइडर्सका अलराउन्डर सुनिल नारिन लयमा देखिएका छन् । कोलकाताका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने फिल साल्ट हुन् । उनले १० खेलमा कुल तीन सय ९७ रन बनाएका छन् ।

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा सुनिल नारिन दोस्रो स्थानमा छन् । उनले तीन सय ८० रन बनाइसकेका छन् । टोलीका लागि सर्वाधिक विकेट लिने बलर पनि सुनिल नारिन नै हुन् । उनले १० खेलमा १३ विकेट लिइसकेका छन् । 

००

स्पिनरलाई साथ दिने पिच

इन्डियन प्रिमियर लिगमा आइतबारको दोस्रो खेल हुने इकाना क्रिकेट स्टेडियमको पिच खासगरी स्पिन बलरलाई साथ दिने प्रकृतिको छ । यो स्टेडियममा हालसम्म आईपीएलको १३ खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । 

यसैगरी ६ खेलमा जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । यो स्टेडियममा खेलिएको एक खेल भने अनिर्णित रुपमा सकिएको छ । यो सिजनको आईपीएलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले फाइदा उठाएका छन् । 

००

चर्को गर्मीबिच खेल

इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्सबिच खेल हुने दिन आइतबार लखनउमा चर्को गर्मी हुने बताइएको छ । आइतबार लखनउको तापक्रम २६ देखि ४३ डिग्री सेल्सियसको बिचमा रहने छ । आइतबार लखनउमा वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

००

सम्भावित टोली 

लखनउ सुपर जाइन्ट्स : केएल राहुल (कप्तान तथा विकेटकिपर), मार्कुस स्टोइनिस, दीपक हुड्डा, निकोलस पुरन, एस्टन टर्नर, आयुष बडोनी, क्रुणाल पाण्ड्या, रवि बिस्नोई, नविन उल हक, यश ठाकुर र मोहसिन खान । इम्प्याक्ट प्लेयर : प्रेरक मांकड ।

कोलकाता नाइट राइडर्स : श्रेयस ऐयर (कप्तान), फिल साल्ट (विकेटकिपर), सुनिल नारिन, अंगकृष रघुवंशी, वेंकटेश ऐयर, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, वैभव अरोडा र वरुण चक्रवर्ती । इम्प्याक्ट प्लेयर : मनिष पाण्डे, हर्षित राणा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप