बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सूचना आदान–प्रदानको शैली फेरियो

बुधबार, २९ कात्तिक २०८०, ०७ : ४५
बुधबार, २९ कात्तिक २०८०

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ वादुकका गोपाल खड्काथोकीले विदेशमा रहेका आफन्तदेखि छिमेकीलाई भिडियो कलबाट सूचना आदान–प्रदान र कुराकानी गर्न थालेका छन् । सोही गाउँका ६० वर्षीय चुकबहादुर शेरपुञ्जाले पनि एनड्रोइड फोन र इन्टरनेटको सुविधा भएपछि सूचना आदान–प्रदानको परम्परागत शैली परिवर्तन गरेका छन् । 

“गाउँमा सूचना प्रवाह गर्नुपर्दा पहिले कटुवाललाई घोक हाल्न (चिच्याउन) लगाउने चलन थियो”, वादुकको श्रीकृष्ण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका शेरपुञ्जाले भने, “अहिले फेसबुकको ग्रुप र पेजमा सूचना राख्ने गरिएको छ ।”

इन्टरनेट भएपछि सस्तो र सजिलोरूपमा देश–विदेशमा रहेका आफन्त, साथीभाइसँग कुराकानी र सूचना आदान–प्रदान गर्न पाएको खड्काथोकीले बताए । “हामी सानो हुँदा विदेशबाट म घर आउँदैछु भनेर चिठ्ठी पठाउने व्यक्ति एक महिनामा चिठ्ठीभन्दा पहिले घर आइपुग्ने अवस्था थियो”, उनले भने, “अहिले विश्वको जुनकुनै ठाउँमा भएकालाई पनि भिडियो कलमा अनुहार हेरेर कुराकानी गर्न पाइएको छ ।”

वादुकका बासिन्दाले सामूहिकरूपमा सबै घरमा इन्टरनेट जडान गरी प्रविधिमैत्री गाउँ बनाउने अभियान चलाएपछि सूचना आदान–प्रदानको शैली फेरिएको हो । स्वदेश तथा विदेशमा रहेका वादुकवासीले करिब रु आठ लाख जुटाएर इच्छुक ५० वटा घरमा इन्टरनेट जडान गरिएको स्थानीय लोकेन्द्र गर्बुजाले बताए । 

“वादुकका दुई–तीनवटा बाहेक सबै घरमा सामूहिकरूपमा इन्टरनेट जडान भएको छ”, उनले भने, “अर्मपर्म, भेला, बैठकदेखि विवाह, छेवारको निम्ता गर्न पनि फेसबुक च्याट ग्रुप र पेजलाई प्रयोग गरेका छौँ ।” वादुकमा जन्मिएर हाल बेलायतमा बसोबास गर्नुहुने अर्जुन तिलिजाको अगुवाइमा ‘बेगखोला न्यूज’ नामको फेसबुक पेज सञ्चालन भएको छ । 

सो पेजमा बेगखोलामा हुने हरेक गतिविधिको सूचना राखिन्छ । कुनै विषयमा बहस र छलफल हुन्छ । विकास निर्माण र सामाजिक कामका लागि सुझाव सङ्कलन गर्न तथा भएका गतिविधिको प्रचार–प्रसार गर्न सोही फेसबुक पेजको प्रयोग गरिएको वडाध्यक्ष बिलबहादुर फगामीले बताए । 

वादुकमा इन्टरनेट जडानका लागि सङ्कलित रकममध्ये तार, राउटर र जडान खर्चबाट बचेको रु एक लाख ५० हजार कोषमा राखिएको छ । प्रतिघर रु दुई हजार आठ सय शुल्क तिरेर इन्टरनेट जडान गरेका थिए । मासिक रु सात सय ५० शुल्क उठाउने गरिएको वादुक इन्टरनेट अभियानका नगेन्द्र गर्बुजाले बताए । 

समाचारका लागि सञ्चारमाध्यमको अनलाइन, फेज र युट्युव च्यानलबाट समाचार सुन्ने, हेर्ने र पढ्ने गर्दछन् । युट्युवमा आफूलाई मन पर्ने गीत, चलचित्र हेरेर ज्येष्ठ नागरिकले रमाइलो गर्दछन् ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप