सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भातृसंस्थामार्फत पौडेल र सिटौलाको देउवामाथि दबाब

बुधबार, २१ चैत २०७४, १३ : २८
बुधबार, २१ चैत २०७४

प्रदेश र प्रतिनिधि सभामा चुनाव हार काँग्रेस सभापति शेरबहादुर देउवाका लागि उनको पार्टीभित्र ठूलो आलोचनाको विषय बन्यो ।

एकातिर चुनावमा पार्टीलाई कमजोर बनाएको आरोप देउवामाथि छ भने अर्कोतिर भातृसंस्थामा देउवा कमजोर बन्दै जान थालेका छन् ।

चुनावपछि भएका भातृसंस्थाका अधिवेशनमा देउवापक्षले पराजयको सामना गर्नुपरेको छ ।

देउवापक्षलाई कमजोर बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला एक ठाउँमा उभिएका छन् । यसले भातृ सङ्गठनमा देउवाको पकड कमजोर बन्दै गएको छ ।

प्रदेश र प्रतिनिधिसभाको पराजयपछि दुई समूह देउवाप्रति आक्रामक भएका थिए । उनीहरू सभापति देउवाको पकड कमजोर बनाउने रणनीतिमा लागे ।

भातृसंस्थामा देउवाको शक्ति गुम्न थालेको निर्माण मजदुर सङ्घको अधिवेशनबाट हो ।

एक महिनामा भएका चार भातृ सङ्गठनका अधिवेशनमा देउवा पक्षले जित निकाल्न सकेन । ती संस्थाहरूमा देउवा पक्षका पदाधिकारीको सङ्ख्या अत्यन्तै न्यून आयो ।

निर्माण मजदुर सङ्घबाट देउवाको शक्तिमा क्षयीकरण सुरु

निर्माण मजदुर सङ्घको फागुन २० र २१ मा पोखरामा भएको अधिवेशनमा ४३ सदस्यीय समिति निर्वाचन मार्फत चयन गरिएको थियो ।

अधिवेशनले अध्यक्षमा जेबी गुरुङ, वरिष्ठ उपाध्यक्षद्वयमा ओमप्रकाश चौधरी र सञ्जय श्रेष्ठ, महासचिव प्रदीप आचार्य, कोषाध्यक्ष दीपेन्द्र बस्नेत, महिला उपाध्यक्ष सपना तामाङलाई चयन गरेको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर एक भएपछि देउवा पक्षको उपस्थिति निरिह भएको थियो ।

४३ सदस्यीय समितिमा देउवा पक्षका दुुई जना मात्रै निर्वाचित भएका थिए । देउवा निकट रहेका दलित सङ्घका महासचिव हरिशरण नेपाली निर्माण मजदुर सङ्घको अध्यक्षमा पराजित भएका थिए ।

विजयी गुरुङले १८८ मत प्राप्त गर्दा नेपालीले १२३ मत ल्याएका थिए ।

निर्माण मजदुर सङ्घको पदाधिकारीमा अधिकांश पौडेल पक्षका आएका छन् भने केही सिटौला पक्षधर भएको बताइएको छ ।

अधिवेशनमा देउवा पक्षका विरुद्धमा दुई समूहले गठजोड गरेका थिए । देउवाको गलत कार्यले गर्दा पार्टीलाई नोक्सान पुगेको गुरुङले बताए ।

प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको पराजयको जिम्मेवारी पनि देउवाले लिनुपर्ने उनले बताए ।

नेपाल शिक्षक सङ्घमा देउवा पक्ष शून्यप्राय

चैत २ र ३ मा काठमाडौंमा भएको शिक्षक सङ्घको अधिवेशनमा देउवा पक्ष ‘बढारिएको’ थियो । पुनः अध्यक्षका लागि भिडेका देउवा निकटका केशव निरौलाले हारमा चित्त बुझाए ।  

वरिष्ठ नेता पौडेल समूहका राजेन्द्रराज पौडेलको प्यानलले निरौलाको प्यानललाई हराएको हो । शिक्षक सङ्घको पदाधिकारीमा देउवा पक्षबाट एक उम्मेदवारले मात्रै जित निकालेकी थिइन् ।

महिला कोटाबाट सहमहामन्त्रीमा धनकला भण्डारी विजयी भएकी थिइन् । भण्डारी देउवा निकट शिक्षक हुन् ।

पौडेल र सिटौला पक्षको गठबन्धन बनेपछि अध्यक्षमा पौडेल, वरिष्ठ उपाध्यक्षमा यम भुसाल, महासचिवमा सोमनाथ गिरीलगायत सबै पद पौडेल समूहले जितेको थियो ।

विजयी भएका पौडेलले ३२४ मत ल्याएका थिए भने पराजित केशव निरौलाले २५६ मत प्राप्त गरेका थिए । पौडेल समूहका एमपी भुसालले वरिष्ठ उपाध्यक्षमा ३१५ मत ल्याउँदा देउवा निकट विष्णुदवी पाण्डेले २१५ मत ल्याएकी थिइन् ।

शिक्षक सङ्घको निर्वाचनमा आफ्नो पक्षको आन्तरिक तयारी नपुगेको पराजित भएको देउवा निकट नेता मीन विश्वकर्माले बताए ।

निजामती कर्मचारीमा देउवा पक्ष निरीह

भातृसंस्थामा पकड गुमाउँदै गएका सभापति देउवा निजामती कर्मचारी सङ्घमा आइपुग्दा अझ कमजोर भए ।

चैत ४ देखि ७ सम्म चितवनमा चलेको कर्मचारी सङ्घको अधिवेशनको उद्घाटन देउवाले गरेका थिए । पौडेल र सिटौला पक्ष निजामती कर्मचारीको युनियनमा अधिवेशनमा पनि एक भएका थिए ।

शीर्ष नेताहरू सहभागी भएको उद्घाटन सत्र पछि सिटौलाले कसरत बढाएका थिए । सिटौलाको सक्रियताले पौडेल र उनको पक्षका उम्मेदवार हाबी भएका थिए । देउवा पक्षका राजेन्द्र बुढाथोकीलाई हराउन मतदानको अघिल्लो रात सिटौलाको पहलले काम गरेको बताइएको छ ।

सिटौला पक्षको समर्थनमा वरिष्ठ नेता पौडेल नजिकका गोपालप्रसाद पोखरेल नेतृत्वमा आएका थिए । विजयी पोखरेलले २८४ मत ल्याएका थिए भने बुढाथोकीले २५४ मत ल्याई पराजित भए ।

वरिष्ठ उपाध्यक्षमा सुरेन्द्रप्रसाद अधिकारीले सुजितकुमार केसीलाई फराकिलो मतले पछिपारेका थिए । ८० सदस्यीय निजामती कर्मचारी सङ्घका अधिकांश पदमा पौडेल पक्षले जितेको थियो ।

कर्मचारी सङ्घको अधिवेशनमा अर्को रोचक पक्ष देउवा निकटका अध्यक्षका उम्मेदवार बुढाथोकीको विपक्षमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा रहेको बताइएको थियो । देउवाले आफ्नो पक्षका उम्मेदवारलाई जिताउन नेता एनपी साउदलाई खटाएका थिए ।

निजामती कर्मचारीमा गुट बनाउन नचाहेकाले पोखरेल विजयी भएको नेता  विश्वकर्माले बताए ।

यातायात मजदुर सङ्घमा ‘क्लिन स्विप’

चैत १६ र १७ (गत शुक्रबार र शनिबार) पोखरामा भएको यातायात मजदुर सङ्घमा अध्यक्ष धर्म भण्डारी, वरिष्ठ उपाध्यक्ष कुमार केसी महासचिव नुरनाथ पन्तलाई चयन भए । ४७ सदस्य समितिमा सबै पदाधिकारी निर्विरोध चयन भएका थिए ।

यातायात मजदुर सङ्घको अधिवेशनलाई आफ्नो पक्षमा पार्नका लागि सिटौला र अर्का दुई नेता डा. शेखर कोइराला र प्रदीप पौडेल पोखरा पुगेका थिए । अधिवेशन सुरु हुनुभन्दा एक दिनअघि पोखरामा भेट भएका दुई शीर्ष नेताले देउवालाई पक्षलाई ‘कमजोर बनाउन’ निर्णायक भूमिका खेलेका थिए । दुई नेताको सक्रियताले यातायात मजदुर सङ्घमा पनि देउवा पक्षको अस्तित्व सङ्कटमा परेको बताइएको छ ।

सिटौला र कोइराला प्रमुख अतिथि र विशिष्ठ अतिथि भएको अधिवेशनबाट निर्वाचित पदाधिकारीमा देउवा पक्षका शून्यप्रायः रहेको बताइएको छ ।

तीन कार्यकाल यातायात मजदुर सङ्घमा रहेका निर्वतमान अध्यक्ष अमृत राईले पनि देउवा पक्षलाई पदाधिकारीमा भरमग्दुर प्रयास गरेका थिए । संस्थापन पक्षलाई कमजोर बनाउन दुई समूहको गठजोड बलियो हुँदै गएको छ ।

टिके र भागवण्डाको विगतको इतिहास  

भातृसंस्थाको अधिवेशन समयमा नहुने काँग्रेसको पुरानो रोग नै हो ।

टिकेप्रथाबाट नेतृत्व चयन गरिँदै आएको भन्दै नेतृत्वको आलोचना हुँदै आएको छ । एक दशक पछि भएको नेपाल विद्यार्थी सङ्घको अधिवेशनले बाँडफाँडका आधारमा पदाधिकारी टुङ्याइएको थियो ।

०६४ मा नेपाल विद्यार्थी सङ्घको ९औं महाधिवेशनबाट अध्यक्षमा  प्रदीप पौडेल चुनिएका थिए । पौडेलको कार्यकाल सकिएलगत्तै सङ्घको महाधिवेशन हुन सकेन ।

महाधिवेशन हुन नसकेपछि ‘टिके अध्यक्षका लागि’ रञ्जित कर्ण तोकिएका थिए । ११औं अधिवेशनबाट अध्यक्षमा नैनसिंह महर निर्वाचित भएका थिए । अधिवेशन गरिए पनि पदीय जिम्मेवारी भागवण्डाका आधारमा गरिएको थियो ।

अध्यक्षमा देउवा निकट महर ल्याइएको थियो । महामन्त्रीमा सिटौलापक्षका कुन्दनराज काफ्ले आएका थिए ।

निर्वाचन अघिका अधिवेशनमा देउवा र सिटौला पक्षको गठबन्धन भएको थियो । देउवा र सिटौला समूहको गठजोड महिला सङ्घको निर्वाचनमा पनि देखिएको थियो ।

देउवापक्षकी उमा सुवेदीलाई अध्यक्ष बनाएर सिटौलापक्षकी धना खतिवडालाई महासचिव बनाइएको थियो ।

तरुण दलको अधिवेशनमा पनि बाँडफाँड मार्फत टुङ्याइएको थियो । देउवापक्षका जितजङ्ग बस्नेत अध्यक्ष, उपाध्यक्षमा सिटौला पक्षबाट उत्तम चापागार्इं, पौडेल समूहबाट महासचिवमा भुपेन्द्रजङ्ग शाही  महासचिव भएका थिए भने कोषाध्यक्षमा खुमबहादुर खड्का निकटकालाई दिइएको थियो ।

सांस्कृतिक सङ्घमा पौडेल पक्षसँग देउवा समूहले भागवण्डा गरेको थियो ।  

देउवाइतर समूहको रणनीति

निर्वाचन अघिसम्म भागवण्डामा रमाएका दुई समूह पछिल्लो समय एक ठाउँ भएका छन् ।

अर्कोतर्फ निर्वाचन अघि भएका भातृसंस्थाको अधिवेशनबाट नेतृत्वमा आफू नजिकका व्यक्ति ल्याउन सफल देउवा समूहको भातृसंस्थामा पकड गुम्दै गएको छ ।

निर्वाचन पराजयको नैतिक जिम्मेवारी देउवाले लिनुपर्ने भन्दै आएका देउवाइतरका समूहले भातृसंस्थामा ‘कब्जा जमाएर देउवामाथि नैतिक दबाब’ दिने देखिएको छ ।

अग्रिम महाधिवेसनको माग उठाएका देउवाइतरको समूहले तल्लो तहदेखि नै देउवामाथि महाधिवेशनको दबाब दिने रणनीति बनाएका छन् ।

साथै १४औं महाधिवेशनमा पनि सभापतिको प्रत्यासी बन्न खोजेका देउवालाई ‘कमजोर बनाउन’ देउवाइतर समूह सक्रियताका साथ लागिरहेको छ ।

अग्रिम महाधिवेशन सुन्नै नचाहेका देउवालाई ‘गलाउन’ सिटौला र पौडेल पक्षका डा. शेखर कोइराला भातृसंस्थाको अधिवेशनमा केन्द्रित भएका छन् ।

देउवा निकट नेता डा. प्रकाशशरण महतले भातृ संस्थाको अधिवेशनमा अर्को समूह केन्द्रित भएको जनाए ।

देउवाइतर समूहले केही संस्थामा नेतृत्व हात पारे पनि सभापति कमजोर नभएको उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप