बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
चाडपर्व

छठपर्व : पूजा विधि र यसको इतिहास

शनिबार, ०२ मङ्सिर २०८०, ०८ : ३५
शनिबार, ०२ मङ्सिर २०८०

छठ पर्व हरेक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म मनाइन्छ ।  यस वर्ष (२०८०) यो पर्व मङ्सिर २ र ३ गते परेको छ । षष्ठीका दिन अस्ताउँदो सूर्यलाई सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिनुपर्ने परम्परा हो तर तिथिको घटबढले गर्दा ३ गते बिहान ७ः५२ मा नै षष्ठी सकिएर सप्तमी लाग्छ । त्यो सप्तमी पनि ५ः ३९ बजे नै सकिन्छ । पवित्र मनले सूर्यलाई अर्घ दिँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । 

यो पर्व नेपालको तराई र भारतको उत्तरी क्षेत्रका हिन्दुहरूले मनाउने पवित्र र महत्त्वपूर्ण सांस्कृति पर्व हो । यो पर्वलाई भाषागत रूपले हेर्दा भोजपुरी र मैथली संस्कृतिमा मौलाएको पाइन्छ । पहिला पहिला नेपालको तराई क्षेत्रमा मात्र छठ मनाएको देखिन्थ्यो । तर हाल नेपालको पहाडी भूभाग र विश्वको विभिन्न भागमा जहाँ जहाँ हिन्दु धर्मावलम्बीहरू बसेका छन् त्यहाँ त्यहाँ यो पर्व श्रद्धा एवं भक्तिपूर्वक मनाउन थालेको पाइन्छ । यसमा सूर्यको उपासना र षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । 

कार्तिक शुक्ल चतुर्थीका दिन व्रतारम्भ वा पूवाङ्ग गरिन्छ । पहिलो दिन विधिवत् रूपमा सुरु भएको दिनलाई खर्ना भनिन्छ । पहिलो दिन व्रतालुहरूले निष्ठापूर्वक पवित्र नदी वा जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सक्खरको खीर पकाई एक छाक मात्र प्रसादका रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ । 

छठको दोेस्रो वा पञ्चमीका दिनमा व्रतालुहरू पानीसमेत नपिई निराहार बस्छन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर स्नान गर्दछन् ।

तेस्रो वा षष्ठीका दिन व्रतालुहरूले त्रिवेणी वा ठूला नदी दोभान वा नदी सागर पोखरीको किनारमा सूर्यलाई र छठीमैयालाई चढाउने सामग्रीहरू नदी वा पोखरीको किनारमा लगेर सजाइन्छ । यस पर्वमा धेरै किसिमका फलफूल नैवद्य तयार गरिन्छ । यसका साथै चामलको पिठोको खीर तयार गरिन्छ । व्रतालुहरू पानीभित्र पसेर बअस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गर्दछन् । सूर्यार्घमा निम्न चिजहरू राखिन्छ ।

पानी, दूध, कुश, दही, तिल, अक्षता, दूबो र सस्र्युं गरी आठवटा वस्तु राखिन्छ । एउटा सिङ्गो फल पनि राखिन्छ । यी चिज राख्दै गर्दा निम्न मन्त्र उच्चारण गरिन्छ । अर्घसँगै शङ्खअर्घ पनि तयार गरिन्छ । शङ्खअर्घ भनेको पूजा गर्ने सानु शङ्ख उत्तानो पारी राख्ने र माथिका सबै वस्तु यसमा पनि राख्नु हो ।

आपः क्षीर कुशाग्राण्री दध्याश्च तिलतण्डुलान् । 
दूर्वा सिद्धार्थकं चै व अष्टाङ्ग अर्घउच्चते 
                
अर्घको पूजा गर्ने मन्त्र : ब्राह्मणो दर तीर्थानी करैः पृष्ठाति ते रवे । 
तेन सत्वेन देवेश तीर्थदेहि दिवाकरम् ।  
शङ्ख अर्घ : शङ्खादौ चन्द्र दैवत्यं कुशावारुण देवताम् । 
पृष्टे प्रजापतिश्चैव तस्मात शङ्ख प्रपुजयते ।।

अर्घलाई चन्दन अक्षताले ४ पटक पूजा गरिन्छ : 
ॐ गङ्गादि सर्वतीर्थेभ्यो नम ः
ॐ धर्मपद दशकलात्मने बन्हिमण्डलाय नमः
ॐ अर्थपद द्वादशकलात्मने सूर्यमण्डलाय नमः 
ॐ कर्मपद षोडसकलात्मने चन्द्रमण्डलाय नमः ।   
धेनुमुद्रा, अंकुश मुद्रा र मत्स्य मुद्रा देखाइन्छ ।

सूर्यार्घस्तुति । सूर्यलाई अर्घः 
अर्घ दिँदै गर्दा अर्घको आधा चिज मात्र सूर्यलाई चढाएर आधा जति बाँकी त्यही राखिन्छ । बाँकी भोलिपल्ट सूर्योदय हुँदा दिने अर्ध यसैले दिइन्छ । सूर्यार्घ दिँदा भन्ने मन्त्र ।  
सुन्दर वर्णाय सुमङ्गलाय, सुवर्ण वर्णा भरणाय तुभ्यम् ।
पद्माभ नेत्राय सुपङ्कजाय, ब्रह्मेन्द्र नारायण कारणाय ।।
सु–रत्त पूर्ण स–सुवर्ण तोयं, सु–कुङ्कुमाद्य सु–कुशं सु–पुष्पम् ।
प्रदत्त मादाय सहेम पात्रं, प्रशस्त अघ्र्यं भगवान नमस्ते ।।
नमः शिवाय शान्ताय सगणय दि हे तवे । 
रुद्राय विष्णवे तुभ्यं ब्राह्मणे सूर्यमूर्तये ।।
एहि सूर्य सहस्रांशो तेजोरासी जगत्पते । 
अनुकम्प मयां भक्त्या गृहाणार्थ दिवाकरम् ।।

रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट वा सप्तमीका दिन बिहान उदाउँदो सूर्यको पुनः पूजाआजा गर्दै व्रतालुहरूले हिजो अर्घ दिँदा बाँकी रहेको अर्घ र शङ्खअर्घ दिन्छन् । साथै पुुनः अञ्जुलीमा जल भरेर सूर्यार्घ चढाइन्छ । पालैपालो पक्वान्न, ऋतुफल र सुक्खाफल  पठकुवा, भुसुवा, फलफूल र मिठाई जस्ता प्रसाद अर्पण गरिन्छ । प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद चढाइन्छ । 

उदाउँदो सूर्यलाई अर्घ दिँदा निम्न श्लोक पाठ गरिन्छ । 

तापत्रय हर दिव्यं परमा नन्दलक्षणाम् । 
तापत्रय विनासाय तावार्घ मर्पयामह्यम् ।। 
अर्घ गृहाण ब्रह्मज्ञ गन्धपुष्पाक्ष तैर्युक्तम् । 
करुणाकर विप्रेषेण प्रशन्नो भव सर्वदा ।।

सूर्यार्घको काम सकेपछि षष्ठीदेवीको पूजा आराधना गरिन्छ । षष्ठीदेवीको मुर्ती सिँगारेर झकिझकाउ बनाइन्छ । षष्ठीका देवीलाई पूजा गर्दा भने निम्न श्लोक पाठ गरिन्छ ।
जगन्मातार्जगदात्री जगदा नन्दकारिणी । 
प्रशिद मम कल्याणी नमस्तु षष्ठी देवते ।।

यसरी उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठी माताको पूजाआजा गरिन्छ । भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ 

छठीमैयाको पूजा सकेपछि त्यो वर्षको छठ पर्व विसर्जन भएको मानिन्छ । व्रत विसर्जन गरेपछि सूर्य र छठीमैयालाई चढाएका प्रसाद आफन्त तथा छिमेकीलाई वितरण गरिन्छ । नदी तथा तलाउमा सिँगारिएका वस्तुहरूलाई पनि विसर्जन गरिन्छ । पाउना आएका आफन्तहरूलाई पनि यथोचित भोजन गराई बिदाइ गरिन्छ । 

छठ पर्वको इतिहास
सृष्टिको सुरुदेखि नै मानिसले सूर्यको उपासना गरिँदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठीदेवीको व्रतको प्रसङ्ग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला द्रौपदीसहित पाण्डवले पनि यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई शारदीय वा ठूलो छठ भनिन्छ । चैत्र शुक्ल षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व वसन्तीय षष्ठी मनाइन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यकुमार पण्डित
सूर्यकुमार पण्डित
लेखकबाट थप