शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा पर्यटक भरिभराउ, अन्नपूर्ण क्षेत्रमा एक महिनामै २४ हजार बढीले गरे भ्रमण

सोमबार, ०४ मङ्सिर २०८०, २१ : २३
सोमबार, ०४ मङ्सिर २०८०

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा कात्तिक महिनामा २४ हजार ४ सयभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार यो  विदेशी पर्यटकको मात्रै संख्या हो । 

गत वैशाखदेखि कात्तिकसम्म १ लाख २५ हजार पर्यटकले यहाँको भ्रमण गरेको आयोजनाले जनाएको छ । 

यस्तै तनहुँको बन्दीपुर र मानुङकोटमा पनि पर्यटकहरुको चहलपहल उस्तै छ ।  बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार बन्दीपुरमा पछिल्लो महिनामा २६ भन्दा बढी देशका पर्यटकले भ्रमण गरेका छन् । 

यहाँ खासगरी चिनियाँ पर्यटकको संख्या बढी रहेको उनले बताए । उनका अनुसार जापान, इटाली, स्पेन, अमेरिकालगायत देशका पर्यटकहरु पनि यहाँ पुगेका छन् । 

केही सातादेखि पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेसमा पर्यटकलाई खुवाउन र सुताउन हम्मेहम्मे परेको स्थानीयले बताएका छन् ।  

गाउँमा बनेका होटलले नधान्ने भएपछि वडाध्यक्षले प्रि–बुकिङ गरेर मात्रै घुम्न आउन सूचना जारी गरे ।  ‘भएका होटलहरु प्याक छन् । केही पर्यटकहरु विना जानकारी आउँदा सुत्न नपाउने समस्या भयो,’ सिक्लेसका वडाध्यक्ष देवीजंग गुरुङले भने, ‘प्रि–बुकिङ गरेर मात्रै आउँदा सजिलो हुन्छ ।’ यी ठाउँहरुमा विदेशीभन्दा आन्तरिक पर्यटक बढी आउने गरेको उनले बताए ।  

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले चाडबाडको समयमा यो वर्ष अप्रत्याशित पर्यटक घान्द्रुक पुगेका बताए । 

‘चाडबाडको बिदा मनाउँदा घुम्ने कल्चर सुरु भयो । कोही ट्रेकिङ गर्न आउँछन्, कोही शान्त वातावरण खोज्न,’ उनले भने, ‘पर्यटक खचाखच हुनुहुन्छ ।’ उनले पनि पर्यटकहरुले होटल नपाएर फर्किनुपर्ने अवस्था आएको सुनाए । उनका अनुसार शुक्रबार र शनिबार पर्यटकीय क्षेत्रमा बढी चहलपहल हुने गरेको छ । 

यस्तै पोखराको लेकसाइडमा पनि होटल पाउन मुस्किल छ । प्रायः होटलहरु प्याक रहेका होटल संघ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

 ‘प्रायः होटलमा अकुपेन्सी छ । तिहारको टिकापछि गुल्जार भयो । तिहारसम्म त सुनसान थियो,’ उनले भने, ‘यो उत्साहले पर्यटन क्षेत्र रिभाइभ हुन्छ कि भन्ने आस छ ।’ 

दसैँ तिहारको बिदामा पर्यटक छुट्टी मनाउन आएको होटल व्यवसायी बताउँछन् । ‘गाउँतिरका होटल र होमस्टे पूरै भरिएका छन् । पोखरा र आसपास प्याक हुन ४० हजार पर्यटक चाहिन्छ । अहिले २५ हजार जति पर्यटक छन्,’ सुवेदीले थपे, ‘यो भनेको ठूलो संख्या हो ।’ 

केही दिनपछि लायन्सको कन्भेन्स पोखरामा हुँदैछ । अन्तर्राष्ट्रिय क्रस कन्ट्री रेस पनि आयोजना गरिएको छ । विभिन्न अन्य इभेण्ट पनि भएकोले केही साताका लागि पोखरा भरिभराउ अवस्थामा रहेको व्यवसायीहरुले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप