शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार विभागको सर्भर बारम्बार डाउन हुँदा सास्ती खेप्दै सेवाग्राही

बिहीबार, ०७ मङ्सिर २०८०, १६ : ५८
बिहीबार, ०७ मङ्सिर २०८०

काठमाडौँ । वैदेशिक रोजगार विभागको सर्भरका कारण सेवाग्राहीले सास्ती खेप्न बाध्य भएका छन् । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा बारम्बार समस्या आउँदा सेवाग्राही सास्ती खेप्न बाध्य भएका हुन् । फेमिसको सर्भर डाउन भएर राम्रोसँग काम नगरेपछि यतिबेला वैदेशिक रोजगारीमा जानेहरू वैदेशिक रोजगार कार्यालयमै पुग्न बाध्य भएका छन् ।

टिकट काटेर बसेकाहरू श्रम स्वीकृति नपाउँदा समस्यामा परेका छन् । उनीहरू ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमै पुगेर श्रम स्वीकृति लिन बाध्य भएका हुन् ।

करोडौँ खर्च गरेर बनाइएको सर्भरमा आएको समस्या यो पहिलो पटक होइन । यसअघि पनि पटक पटक सर्भर डाउन हुने समस्या देखिँदै आएको थियो । जसले गर्दा पूर्ण रूपमा अनलाइन भनिएको श्रम स्वीकृतिको कार्यका लागि सेवाग्राहीहरू कार्यालयमै पुग्नुपर्ने बाध्यता छ ।

बारम्बार समस्या देखिन थालेपछि सरकारलाई टाउको दुखाइको विषय बनेको छ । वैदेशिक रोजगार विभाग तथा श्रम मन्त्रालयले फेमिसमा देखिएको समस्या समाधानका लागि काम गर्दै आएको छ । तर पनि समाधान भने हुन सकेको छैन ।

बुधवार श्रम मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले प्राविधिकहरूसँग छलफल गरेका थिए । कसरी समस्या समाधान गर्न सकिने विषयमा वैदेशिक रोजगार विभागका आईटी इन्जिनियरहरूसँग सचिव भण्डारीले छलफल गरेका हुन् । अहिलेको सर्भर कम क्षमताका रहेको तर, सेवाग्राहीको चाप बढेकाले बारम्बार समस्या आउने गरेको विभागका महानिर्देशक मदन दहालले बताए । सर्भरको क्षमता बढाएर अघि बढ्ने विषयमा प्राविधिकहरूले काम गरिरहेको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप