सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस निकट प्राध्यापकको विश्लेषण : युवा नेतालाई तत्काल पत्याइहाल्ने स्थिति छैन

बिहीबार, २२ चैत २०७४, ११ : ०६
बिहीबार, २२ चैत २०७४

नेपाली काँग्रेस निकट रहेका प्राध्यापक डा. कृष्णप्रसाद गौतम १६ महिनाअघि त्रिभुवन विश्वविद्यालय शिक्षा सङ्कायको डीनमा नियुक्त भएका थिए । काँग्रसी कोटाबाट नियुक्ति पाएका गौतम भागवण्डाको राजनीतिले मुलुक बिग्रेको बताउँछन् । नेपाली काँग्रेसको पुनर्ताजगीका लागि उसको हार स्वभाविक रहेको बताउने गौतमले वाम सरकार पाँच वर्ष टिक्दै नटिक्ने दाबी गर्छन् । रातोपाटीका लागि गौतमसँग लिलु डुम्रेले गरेको वार्तामा आधारित लेख । 

काँग्रेस नेतृत्वले बुद्धि नपु¥याए मूर्खहरूका नमुना हुन्छन् 

काँग्रेस जन्मदै दुई पार्टी भएर जन्मेको हो । बीपीको काँग्रेस र सुवर्ण शमशेरको काँग्रेस एक भएको थियो । आवश्यकताले मिलेका हुन् । इतिहासको कालखण्डमा कहिले बीपी र मातृकाको पनि झगडा भएको थियो । बीपीकालपछि गिरिजा र गणेशमानको झगडा अनवरत नै थियो ।  

नेपाली जनताले महत्वका साथ पटक पटक आन्दोलन गरे र ठूलो अपेक्षाका साथ राजालाई पदबाट हटाए । जनताले चुनेका प्रतिनिधि कार्यकारी प्रमुख भएपछि देशको हितमा हुन्छ भन्ने थियो । ०४८ को आमनिर्वाचन नेपाली काँग्रसले बहुमत ल्याएको थियो । नेपाली काँग्रेसमा सरकारको निरन्तरता दिन सकेको भए देशले काँचुली फेर्ने थियो । काँग्रेसभित्रको गुटबन्दीले एकले अर्कालाई देख्न नचाहने प्रवृत्ति छ । मै खाऊँ, मै लाऊँ भन्ने प्रवृत्तिले ०५१ मा दुर्घटना भयो । अहिलेसम्म जति सुधारका काम भएका देखिएका छन् त्यो ०५१ को सरकारले ल्याएका नीतिका कारण हो । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा त्यतिबेलाको सरकारले गम्भीर चासो देखाएको थियो । 

तर, ०५१ मा काँग्रेसका कारण जनतामा एक प्रकारको प्रश्न निस्कियो । जनतामा के पर्यो भने काँग्रेसलाई बहुमतसहित निर्वाचित गरे पनि नेतामा मुलुक बनाउने दृष्टिकोण रहेनछ भन्ने प्रश्न उठाए । विश्वास गरेर पठाएकोे शक्तिले नै भत्काउने काम गर्यो । त्यसपछि द्वन्द्व सुरु भयो । सँगै अराजकता मौलाउँदै गयो । नेपाली जनताले काँग्रेसलाई पूर्ण बहुमतसहित तीन पटक निर्वाचित गरकै हुन् । तर काँग्रेस आफ्नै कारणले वा आन्तरिक टकरावले सत्ता सञ्चालन गर्न सकेन । 

०६२/०६४ को जनआन्दोलनपछि शान्ति प्रक्रियाले जनतामा उत्साह प्रवाह भयो । विकृति जति माओवादीले हटाउँछ कि भन्ने जनताको आशा थियो । सत्तामा आइसकेपछि माओवादीले पनि कमाउ र खाउ बाहेक अरू केही गर्न सकेन । काँग्रेस, एमाले, माओवादी तीनवटै शक्तिलाई जनताले परीक्षण गरे । नयाँ शक्ति रूपमा गत निर्वाचनमा वाम गठबन्धन देखियो । फलस्वरूप जनतामा पछिल्लो निर्वाचनमा वाम गठवन्धनलाई परीक्षण गर्ने इच्छा जाग्यो । वाम दलले बहुमतको सरकारको अवसर दिनुस् भनी जनतामा जान पाए । तर काँग्रेसले वहुमत दिनुस भन्न नसक्ने अवस्थामा थियो । किनकि आफ्नै कारणले काँग्रेसले पटक पटक सत्ता ढलाएको थियो । 

एमाले पनि बहुमतसहित सरकार चलाउन नपाएको साथै माओवादी ठूलो दल भएर पनि एकमना सरकार सञ्चालन गर्न पाएको थिएन । गत निर्वाचनमा वामदलको स्थिर र बहुमतको सरकारको नारालाई जनताले रिसिभ गरे । एजेन्डा बिक्री गर्न वामदल सफल भए । व्यवहारमा सबै दल धन कमाउ नै हुन् तर पनि जनताले वाम दलका पक्षमा मतदान गरे । किनकि पटक पटकको अवसरलाई काँग्रेसले क्याच गर्न सकेन । खेती नै सरकार ढाल्ने र बनाउने बनिरहेको थियो । स्थिरताको आशाले जनताले मत दिए । काँग्रेसको एजेन्डाप्रति होइन कि नेतृत्वप्रतिको वितृष्णाले काँग्रेस हारेको हो । व्यक्ति हारेको हो, तर काँग्रेस हारेको थिएन । आफूले जित्न प¥यो भने समानुपातिकमा एकै जिल्लाका आठ जनालाई टिकट दिइयो, जब कि कुनै जिल्लामा एकले पनि अवसर पाएनन् । यसले नेताको बेइमानीपन देखाउँछ । 

पुरानो तहका नेतालाई फालेर पनि तत्काल कुनै सम्भवना पनि छैन ।  गाई, गोरु, बाख्रा एक पटक खाडलमा परेपछि त्यहाँ पुनः जान तर्सिन्छ । पशुले बुझ्न सक्छन् भने नेताले बुझ्न पर्दैन ? पुरानो पुस्ताले अब अभिभावकत्व ग्रहण गर्नुपर्छ । मनमा उदारता आउनुपर्छ । 

वामदललाई जनताले बहुमत दिनुका केही कारण छन् । स्थायी सरकार, विकास समृद्धि नारा बिक्री गर्न सफल भए । सत्तासिन  काँग्रेसले सत्तामा हुँदा सही  निर्णय लिन नसकेको लाभ वामले लिन सफल भए । काँग्रेसले गर्नै नहुने विषयमा चासो लिएको थियो । अदालत, आइजीपी, राजदूतलगायतका क्षेत्रमा गलत तरिका अवलम्बन गरेको थियो । काँग्रेसले तत्कालिक लाभ मात्रै खोजिरहेको देखियो । काँग्रेसको अर्कमण्यता कारण निर्वाचनमा दोस्रो र तेस्रो शक्ति एक ठाउँ भए । 

काँग्रेसका मुख्य नेतृत्वका कारण परिणाम उल्टो आएको हो । पहिलो पुस्ताका नेताहरू असल नेतृत्व दिने पङ्क्तिमा पर्दैनन् । शेरबहादुरलाई मात्रै दोष दिने पक्षमा म छैन । टिकट बाँड्ने बेलामा चित्त नबुझेको भए त्यतिबेलै लड्नुपर्ने थियो । रामचन्द्र पौडेल पनि हारको जिम्मेवारी लिनुपर्छ । काँग्रेसको पुरानो पुस्ताको लेयर असफल लेयर हो । तर पुरानो तहका नेतालाई फालेर पनि तत्काल कुनै सम्भवना पनि छैन । 
गाई, गोरु, बाख्रा एक पटक खाडलमा परेपछि त्यहाँ पुनः जान तर्सिन्छ । पशुले बुझ्न सक्छन् भने नेताले बुझ्न पर्दैन ? पुरानो पुस्ताले अब अभिभावकत्व ग्रहण गर्नुपर्छ । मनमा उदारता आउनुपर्छ । 

नेपाली काँग्रेसलाई अहिले सर्वनाश भएको महसुस भएको छ । तर यो नयाँ ऊर्जाको समय हो । झुप्रो घरलाई विस्थापन गरी नयाँ बनाउने अवस्था काँग्रेससामु आएको छ । मक्किएका काठ, टिन सबै काँग्रेसले हटाउनुपर्छ । नयाँ घर निर्माण आरम्भ गर्नुपर्छ । जनताले चाहेको र जनताले थेग्न सक्ने घर निर्माण गर्नुपर्छ । वेहोसमा गरिएका क्रियाकलाप होसमा आएपछि सुधारिन्छ । अब काँग्रेसको नेतृत्व होसमा आउने कि नआउने भन्ने मुख्य प्रश्न हो । मनपर्दी गरेका कारण नेताले दललाई डुबाएर यो अवस्थामा ल्याएका छन् । पुरानो पुस्ताको मानसिकता नै परिवर्तन गरिदिनुपर्छ । अब पनि पुरानो पुस्ताले पदको लालचा गरे भने काँग्रेसको साथै उनीहरूलाई पनि दुर्भाग्य हुन्छ । पुरानो पुस्ता काँग्रेसलाई चाहिएको छैन तर नभई पनि भएको छैन । विकल्प पुरानो पुस्ताको मानसिकता परिवर्तन नै हो । लगाइरहेको कपडा मैला भए अर्को लगाउने हो तर अर्को कपडा नै छैन भने भएकालाई धुनुको विकल्प छैन । युवाहरू काँग्रेसमा छन् तर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पत्याएको तत्कालको विकल्प छैन । भएकै नेताको बुद्धि फिर्नपर्छ । 

महाधिवेशनमा यो नेतृत्वलाई किनारा लगाइदिनुपर्छ । काँग्रेसको नेतृत्वका व्यक्ति असल वा मूर्ख के हुन्, अब पहिचान हुने बेला आएको छ । म नभए पार्टी चल्दैन भन्ने मानसिकता राखे भने मूर्खहरूका नमुना हुन्छन् । हारको अपजस सबै नेताले लिनुपर्छ । चुनावी एजेन्डा तय गर्न नसक्ने नेताहरू दोषी हुन् । पुराना पुस्ताले काम गर्न सक्छ भन्नेमा मलाई विश्वास नै छैन । तर, पुरानो पुस्ता नेतृत्वका लागि तयार

नभइसकेको अवस्थामा यिनै नेतालाई  कही न कही एड्जस्ट गर्नुपर्ने छ । महाधिवेशनबाट पनि यिनै नेता भए भने काँग्रेसको भविष्य छैन । काँग्रेसमा माथिल्लो तहका नेतालाई चिन्ता छैन, चिन्ता छ भने तल्लो स्तरका कार्यकर्तालाई काँग्रेसप्रति चिन्ता छ । भएको घर नेपाली काँग्रेस हो, त्यो नै भत्केपछि कार्यकर्तामा निराशा छ । 

काँग्रेस पार्टी निर्माणमा लाग्नुपर्छ । वाम एकता टुटाउन काँग्रेस लाग्नै पर्दैन । वाम दल आफ्नै कारणले फुट्छन् । काँग्रेस वामदललाई फुटाउन लाग्यो भने उनीहरू झन् मिल्छन् । काँग्रेसले दुई दललाई देखको नदेख्यै  गरी अघि बढ्नुपर्छ । सत्ताका लागि काँग्रेस लाग्नै हुँदैन । सरकारका गलत क्रियाकलापको प्रतिवाद गर्नसक्नुपर्छ । 

काँग्रेस अहिलेसम्म बाँचेकै ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न सकेको भएर हो । काँग्रेसमा उक्त सिद्धान्त दस वर्षअघिसम्म मात्रै थियो । जनतामा पनि काँग्रेसप्रति  त्यो भावना थियो । वर्तमानमा काँग्रेसले त्यस विपरितको सिद्धान्त अँगालेको छ । 

शासन सत्तामा नलागि सङ्गठनमा जोड दिएको अवस्थामा काँग्रेसले पाँच वर्षपछि बहुमत ल्याउँछ नै । आगामी चुनाव काँग्रेसका लागि पुनर्निर्माण पछिको उदय हुन्छ । उपयुक्त समयमा काँग्रेस पराजित भएको छ । काँग्रेस निर्माणका लागि उपयुक्त समयमा वाम गठबन्धन बनिरहेको छ । परिमार्जित वा सुध्रिने अवसर हो ।  अहिले काँग्रेस नहारेको भए प्रजापरिषद् जस्तो हुने थियो । बूढा पातहरू झर्नैपर्ने थियो, झरे । अब नयाँ पालुवा निस्कन्छन् । काँग्रेसमा धेरै विकृति आइसकेको थियो । पाँच वर्षभित्र नयाँ पालुवा हराभरा भएर आउँछन् । काँग्रेससँग कस्तूरीको जस्तै बिना छ तर बिना भेट्टाउन काँग्रेसले सकिरहेको छैन । काँग्रेसले बुद्धि पु¥याएको अवस्थामा जनतासँग विच्छेद भएको सम्बन्ध जोडिने अवसर छ । जनताको निर्णय काँग्रेसलाई सुर्धानका लागि हो । वाम दलले राम्रो गरे भने पनि त्योभन्दा राम्रो गर्नसक्छु भनी जनताकहाँ गएर बुझाउन सक्नुपर्छ । 

काँग्रेस अहिलेसम्म बाँचेकै ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न सकेको भएर हो । काँग्रेसमा उक्त सिद्धान्त दस वर्षअघिसम्म मात्रै थियो । जनतामा पनि काँग्रेसप्रति  त्यो भावना थियो । वर्तमानमा काँग्रेसले त्यस विपरितको सिद्धान्त अँगालेको छ । 

वाम सरकार पाँच वर्षसम्म टिक्दै टिक्दैन

एउटा एमालेको एक तप्काले आफ्नै दलका अर्का नेताले गरेको काम मनैदेखि समर्थन गरेको देखिँदैन । एमालेभित्रै एकअर्कामा विश्वास नै छैन । भागवण्डाको राजनीति पनि छ । एउटै भएर जान्छन् भन्ने मलाई लाग्दैन । मलाई के लाग्छ  भने आफ्नै पार्टीभित्रको र विदेशी शक्तिका कारण वाम दलको स्थायी सरकार वन्छ भन्ने रत्तिभर विश्वास छैन  । राष्ट्रिय भावनाले ओतप्रोत कुनै पनि नेता छैनन् । व्यक्तिगत लाभको भावना नेताहरूमा छ । आफूले भनेको ठीक र अरूले भनेको गलत भन्ने प्रवृत्ति छ । कम्प्रमाइज अभावले वाम दलको सरकारले पाँच वर्ष निरन्तरता पाउँछ भन्नेमा शङ्का छ । वाम दलको एकता दिगो नहुनुमा ७० प्रतिशत आन्तरिक कारण हुन्छ भने ३० प्रतिशत बाह्य कारण हुन्छन् । खासगरी भारतले नेपालमा स्थायी सरकार देख्नै चाहँदैन । कमजोर भएको समयमा खेल्ने भारतको रणनीति हुन्छ । आफ्ना स्वार्थहरूमा वामदलको साथ नहुने हुँदा भारतले वाम एकता तोड्न चाहन्छ । 

सरकार बनेको यतिका समय भइसक्यो, ओलीले उखान टुक्का र भाषणबाहेक केही गरेकै छैनन् । सरकारमा आइसकेपछि एउटा काम त देखाउन प¥यो नि ।  कदाचित वाम सरकारले पाँच वर्ष सत्ता टिकायो भने काँग्रेसले सुध्रिने अवसर प्राप्त गर्छ । 

भोलिका दिनमा महाधिवेसन होला । एक पक्षले जित्ने र अर्को पक्षले हारे भने तिक्तता त्यसैवाट सुरु हुन्छ । वाम सरकार पाँच वर्ष जान्छ भन्ने कल्प नै गर्न सक्दिनँ । एउटै पार्टीभित्रका नेताको त बोलचाल बन्द छ भने फरक सिद्धान्त बोकेका दलको एकत्व कसरी सम्भव हुन्छ ? सिद्धान्तमा मतभेद छ । काँग्रेसभन्दा पनि लोकतान्त्रिक हुँ भन्ने एउटा कम्युनिस्ट र चीनको जस्तो राज्य व्यवस्था ल्याउनुपर्छ भन्ने अर्को

कम्युनिस्टको एकता दिगोे हुनै सक्दैन । फुटको बाहाना केही न केही बन्छ । सङ्ख्या, सिद्धान्त, दलको स्थापना जस्ता अनेक कारणले सँगै जानै सक्दैनन् । प्रचण्डको अस्थिर मानसिकताको केपी ओलीलाई डर छ । भारतले प्रचण्डलाई उक्साउन सक्छ भन्ने सोच पनि उनीमा छ । बराबरीको सिद्धान्त लागू हुनै नसक्ने अवस्था छ । स्वार्थ हावी हुन्छ । ओली एकताको पक्षमा लागे पनि परिस्थिति अनुकूल देखिँदैन । 

ओली सरकार दूधले नुहाएको सरकार त होइन । ट्याङ्की भरी पैसा राखेको आरोप लागेका यही सरकारमा छन् । ओली सरकार पनि अहिले शून्यमा छ । सरकार बनेको यतिका समय भइसक्यो, ओलीले उखान टुक्का र भाषणबाहेक केही गरेकै छैनन् । सरकारमा आइसकेपछि एउटा काम त देखाउन प¥यो नि ।  कदाचित वाम सरकारले पाँच वर्ष सत्ता टिकायो भने काँग्रेसले सुध्रिने अवसर प्राप्त गर्छ । 

त्रिविमा राजनीति दलको स्तरहीन हस्तक्षेप छ 

 डीन पदलाई जागिरका रूपमा लिने प्रचलन रहेछ । जागिर पचाउनका कार्यरतहरूका कारण लागि त्रिविमा स्मुथ्ली पढाइ हुन सकेन । हाल, सेमेस्टर लागू भएपछि लेक्चररहरूले पढाउनै पर्ने बाध्यता भएको छ । भर्ना हुने तर विद्यार्थी उपस्थित कक्षामा नहुने हुनाले प्राध्यापकहरूलाई पनि पढाउन परेको थिएन । विद्यार्थी र प्राध्यापकले एक अर्कालाई नचिनेर नै वर्ष सकिने परिस्थिति थियो । 

त्रिविको क्यालेन्डर अनुसारका कार्यक्रम गर्न गाह्रो पनि हुँदै आएको छ । योभन्दा अघि क्यालेन्डर बनेको थिएन । यस पटकदेखि शैक्षिक क्यालेन्डर अनुसार नै कार्यतालिका सुरु भएको छ । कार्यतालिका अनुसार गरेको हुनाले धेरै विद्यार्थी यस पटक छुटेका छन् । छुट्नुको कारण वर्षको अन्तिममा भर्ना भए पनि हुन्छ भन्ने मानसिकता विद्यार्थीमा थियो । शैक्षिक क्यालेन्डर लागू गर्ने प्रयत्न गरेका छौं । 

राजनीतिको बुइ चढेर भागवण्डाको संस्कृतिलाई प्रश्रय दिनु सर्वथा गलत प्रक्रिया हो । हुन त म पनि भागवण्डामै परेको हो । भागवण्डाले कुनै मापदण्ड नै राख्ने रहेनछ । कतिसम्म हुन थाल्यो कुनै विषयको प्रोफेसर नेपाल भरी नै छैन । त्यसमा अर्कोलाई प्रवेश गराइएको छ ।

म मोफसलको व्यक्ति हुँ । केही समय काठमाडौं बुझ्न नै समय लाग्यो । अहिलेसम्म शिक्षा सङ्कायमा ११  डीनमध्ये सबै काठमाडौंका थिए । ती डीनहरू काठमाडौं चिनेका तर नेपाल नचिनेका थिए । कार्यालयमा काठमाडौं भन्दा बाहिरका कर्मचारी नै छैनन् । 

देश विग्रकै भागवण्डाले हो । योग्यता नभएकाले त्रिविमा  कुर्सी पाउने परम्परा छ । बुद्धि नभएकाले बुद्धि भएकालाई राज गरिरहेका छन् । नयाँ सरकारले कुनै पनि नियुक्ति भागवण्डाको आधारमा गर्दिनँ भन्न सक्नुपर्छ । उचित स्थानमा उचित व्यक्ति छनोट हुनुपर्छ । शिक्षामा प्रणाली नभएकाले बेहाल छ । राजनीतिक नियुक्तिको परम्परा नभएको भए त्रिविमा यस प्रकारको बेथिति हुने थिएन । कस्तो छ भने मातहत आएको सहायक डीनले डीनको जिम्बेवारीप्रति भन्दा राजनीतिक दलप्रति बफादार हुन्छ । उपकुलपति एक दलको हुने तर उनी मातहतका अन्य दलको भएपछि उपकुलपतिप्रति जवाफदेही नभएर दलप्रति हुन्छन् । त्यसको कारणले उपकुलपतिलाई निर्णय प्रक्रियमा समस्या पर्छ । काममा लगाउनै नसक्ने अवस्था छ । 

अधिकांश विषयमा राजनीतिक हस्तक्षेप छ । निर्णय प्रक्रियामा उपकुलपति र डीनहरूको कहिलेकाहीँ मतभेद चरम रूपमा देखिन्छ । राजनीतिक हस्तक्षेप पनि स्तरहीन छ । त्रिविमा यस्तै संस्कृति रहिरह्यो भने थप विकृति निम्तिन्छ । राजनीतिक दलका नेताहरूको अकर्मण्यताले गर्दा त्रिवि ओरालो लागिरहेको छ । दलका भिजिलान्तेहरूको कुरा सुन्दा नै त्रिवि बिग्रेको हो । त्रिविको खराब अवस्थाको वातावरण सिर्जना गरकै राजनीति पार्टीहरूले हो । 

म मोफसलको व्यक्ति हुँ । केही समय काठमाडौं बुझ्न नै समय लाग्यो । अहिलेसम्म शिक्षा सङ्कायमा ११  डीनमध्ये सबै काठमाडौंका थिए । ती डीनहरू काठमाडौं चिनेका तर नेपाल नचिनेका थिए । कार्यालयमा काठमाडौं भन्दा बाहिरका कर्मचारी नै छैनन् । 

शिक्षा सङ्कायका अन्तर्गतका देशभर सात सय क्याम्पस पर्छन् । देशभर एक हजार ८५ क्याम्पस र ६० आङ्गिक क्याम्पस रहेका छन् । शिक्षा सङ्काय दैनिक रूपमा चलिरहेको थियो तर नयाँ कार्यक्रमहरू केही लागू भएका थिएनन् । अहिलेसम्म शिक्षा सङ्कायबाट जुन विषयबाट एमफिल वा पिएचडी गरेका हुन् । त्यसै विषयको प्रमाणपत्र उपलब्ध हुने थिएन । नेपाली विषयमा पिएचडी गरेको हो भने नेपाली विषयको प्रमाण पत्र दिनुपर्नेमा शिक्षा विषयबाट पिएचडी गरेको प्रमाणपत्र दिने प्रचलन थियो । अब विद्यार्थीले जुन विषयको टपिक्समा पिएचडी गरेको हो, त्यसै अनुसार भन्न  सक्ने भयो । 

शिक्षा सङ्कायमा पोस्ट ग्राजुयट गर्ने अवस्था थिएन । हेल्थ एजुकेसनमा पोस्ट ग्राजुयटको अध्ययन सुरु भएको छ । आवश्यक भएकाले शिक्षा सङ्कायको सम्बन्धन पाउनुपर्ने मनसायले विज्ञापन भएको छ । विगतमा कुनैले पाउने र कुनैले नपाउने भन्दै गुनासो उठेको थियो । निष्पक्ष गर्ने मेरो मनसाय छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप