शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

डिप्रेसनमा हुनुहुन्छ ? अपनाउनुहोस् यी पाँच उपाय

शनिबार, ०९ मङ्सिर २०८०, ०६ : ३०
शनिबार, ०९ मङ्सिर २०८०

काठमाडौँ । पछिल्लो समय विश्वभर डिप्रेसनको समस्या बढिरहेको छ । एङ्जाइटी अनि आत्महत्या जस्ता समस्यासँग जेलिँदा यो चिन्ताकारी बन्दै गइरहेको छ । यो एउटा मात्रै समस्या होइन, समस्याहरूको झुन्ड हो । यसको सम्भावित कारकहरू अनेकौँ हुन सक्छ । त्यसैले डिप्रेसनको उपचार चुनौतीपूर्ण छ । 

एन्टीडिप्रेसेन्ट केहीको लागि चमत्कारी हुन सक्छ । केहीमा यसले असरै नदेखाउन पनि सक्छ । यस्तोमा डिप्रेसनको उपचारमा नयाँ नयाँ तरिकाहरू खोजिने क्रम जारी छ । डिप्रेसनका बिरामीहरूले आफ्नो ख्याल राख्न निम्न उपायहरू अपनाउन सक्छन् ।

मद्दत खोज्ने

तपाई जति बेला पनि ‘लो’ फिल गरिरहनु हुन्छ । जीवनप्रतिको रुचि हराएको छ । निद्रा र भोक हराउँदै गएको छ । जति बेला पनि निराश वा उदास महसुस गरिरहनु हुन्छ । आफैँलाई हानी पुर्याउँ भन्ने सोच आइरहन्छ भने यी सबै डिप्रेसनको लक्षण हो । केही महिनायता तपाईँमा यस्ता लक्षणहरू देखिएको छ भने मनोचिकित्सकसँग सहायता लिनुस् । साइकोथेरापी वा औषधि  वा दुवैको प्रयोगले तपाईका समस्याहरू निवारण हुन सक्छन् ।

जीवनशैलीमा हस्तक्षेप

शरीरको लागि सही भएको कुरा मस्तिष्कका लागि पनि सही हुन्छ । आफ्नो शारीरिक स्वास्थ्यलाई ठिक राख्न के–के गर्नु हुन्थ्यो ती सबै चिज गर्ने कोसिस गर्नुस् । मुटुलाई स्वास्थ्य राख्न तपाईले के के गर्नु हुन्छ ? ती सब पनि गर्नुहोस् । यी सबैले पनि एन्टिडिप्रेसेन्टको काम गर्छ । शरीरको तौल स्वस्थ स्तरमा कायम गर्नुस् । स्वास्थ्यकर खानेकुरा खानुस् । पर्याप्त मात्रामा निदाउनुस् । शरीरलाई चाहिने जत्ति व्यायाम गर्नुस् अनि हरेक दिन केही समय घामको किरणमा बस्नुस् ।

मानिसहरूको साथमा रहने

तपाई डिप्रेसनमा हुनु हुन्छ भने निकटतम सम्बन्धहरू बनाउन निकै गाह्रो हुन्छ । तर यो डिप्रेसन भगाउने मामिलामा सबैभन्दा महत्त्वपूर्ण कुरा हो । अर्को व्यक्तिसँग आफ्नो अन्तरव्यैक्तिक सम्बन्ध सकेसम्म दरिलो पार्ने कोसिस गर्नुस् । अन्य मानिसहरूसँग तपाईको सम्बन्ध एक अर्काको ख्याल राख्ने, अप्ठ्यारोमा साथ वा टेवा दिने खालको छ भने डिप्रेसनबाट बच्ने यो सबैभन्दा राम्रो उत्तम उपाय हुन सक्छ । यसलाई तपाईलाई डिप्रेसनबाट बाहिर निस्कन पनि मद्दत गर्छ ।

हार मान्नु हुन्न

मद्दत वा सहायता खोज्ने काम सकेसम्म बन्द नगर्नुस् । नेपालमा मानसिक समस्यालाई बेवास्ता गर्ने गरिएको छ । धेरैले त डिप्रेसन पनि रोग हो भन्ने नै ठान्दैनन् । केहीले धक वा लाजका कारण आफ्नो समस्याबारे मनोचिकित्सकसँग सल्लाह लिनै खोज्दैनन् । केहीले औषधि खान मान्दैनन् । कसैको केसमा औषधि नै खाए पनि औषधिले कामै गर्दैन । तर जे भए पनि हार चाँहि मान्नु हुन्न । हरेकका लागि सुहाउँदो कुनै न कुनै उपाय हुन्छन् । आफूलाई केले काम गर्छ भनेर खोज्न चाँहि नछाड्नुस् ।

कृतज्ञताको भावना  

कृतज्ञताको भावना उत्पन्न गर्नुस् । यसले जीवनमा स–साना कुराहरूलाई महत्त्व दिने अनि सराहना गर्ने बानीको विकास गराउँछ । निराश भएको बेलामा यस्तो खालको भावना मनमा ल्याउन सहज हुन्न । तर तपाईले यसलाई बानी बनाउनु भयो भने यो डिप्रेसन रोक्न निकै उपयोगी र शक्तिशाली हुनेछ । यस्तो भावनाले खुसी, जीवनप्रतिको सन्तुष्टि र समग्रमा स्वास्थ्यको स्तर बढाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप