बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
स्वकल्पित कविलाई पत्र

‘तपाईंको यो पाण्डुलिपिमा कविताको तत्त्व तातोभुत्लो केही फेला पार्न सकिनँ’

शनिबार, ०९ मङ्सिर २०८०, १५ : ३५
शनिबार, ०९ मङ्सिर २०८०

एकथरी छाँटका मनुवामा छिटो नाम र सके दाम पनि कमाउने रहर दिन दुगुना रात चौगुना बढ्दोे छ । झटपट नाम–दाम कमाउने यिनको सजिलो माध्यम बनेको छ लहडी कविता । 

माल अड्डाको लेखनदासले झैँ ख्याँस्ख्याँस् लेख, लालाबालाका पेट काटेर आफ्नै पैसाले छाप, झोलामा बोकेर यत्रतत्र बाँड्दै हिँड र रुद्रघन्टी हल्लाउँदै धक्कु लगाऊ— ल हेर, अबलाई म पनि भएँ त कवि । अब म बेग्लो भएँ । अब म विशिष्ट भएँ । अब म विलक्षण भएँ । अब म उच्च भएँ । अब म पनि भएँ काव्य गजत्मा मान–सम्मान र पुरस्कार–पगरीको जब्बर दाबेदार एक हस्ती । तसर्थ अब मलाई ठट्टा नठान । एउटा सृष्टिकर्ता चतुर्मुखी ब्रह्माजी माथि बैकुण्ठमा छन्, अर्को सृष्टिकर्ता म जाज्वल्यमान् प्रतिभा तल धरतीमा छु । माथि मनुष्यको सृष्टि हुन्छ, तल कविताको । जगत्ले बुझोस्, यी दुवै सृष्टि र सृष्टिकर्ता ठट्टा होइनन् । 

यस खाले स्वकल्पित कविका दृष्टिमा तमसुक लेखन, भर्पाइ लेखन र कविता लेखन उस्तै–उस्तै हुन् । कलम, कागज र लहड भए पुग्छ, हठात् कविता फुरिहाल्छ । अनि लहडी मुद्रामा कोर्दाकोर्दै आजको भोलि नै पाण्डुलिपि तयार भइहाल्छ । न रस छ, न लालित्य छ, न जीवनको गाढा रङ छ, न प्रकाश छ, न स्पन्दन छ, न कुनै सूक्ष्म अन्तर्दष्टि छ, न लय छ, न ताल छ, न त तुक नै छ । तैपनि यो स्वकल्पित कवि भन्छ— हेर, यो मेरो कविता हो । सुन, यो मेरो कविता हो ।

रिसानी माफ होस् महोदय, यो केवल कविताको ढाँचामा लेखिएका छोटा गद्य वाक्य वा वाक्यांशहरूको गुजुल्टो हो । यस्ता गुजुल्टालाई कविता भन्ने हो भने साँच्चीका कवितालाई के भन्ने होला भनेर म त्यसैत्यसै रनभुल्न परेको छु ।

लेखून्, छापून्, धक्कू लाऊन् र म के के न भएँ भनेर मखलेल परून्— यसमा मलाई केही भन्नु छैन । तर यस लहडी महलका कविको एउटा जब्बर आग्रहबारे भने मलाई केही कुरा नभनी भा’छैन । लेख्छन् त्यसरी र त्यस्तो अनि भूमिका वा मन्तव्य वा शुभकामना वा ब्लर लेखिमाग्न आउँछन् । भन्नुस्त मान्यवर, यस्तोमा  गर्ने के ? ढोँगी लोकाचारले सोझै तेरो माल झूर छ भन्न छुट नदिने । टार्न खोज्यो, जब्बरानन्दलाई मरिगए टार्न नसकिने । लेखिनदिए फलानो ठूलो भयो, त्यल्ले मलाई हेप्यो भन्दै यतै, उतै र जताततै कुरा काट्दै हिँड्ने । तैपनि भैगो त केही लेखिदिउँ भन्न साह्रै गाह्रो लाग्ने । माल छ कबाडी, ठाँटेर यो हीरामोती हो भनिदिनुपर्ने । नभने मिस्टर स्वकल्पित कवि रिसाएर छुट्टी । लोकका भुक्तभोगीलाई ढिलोछिटो केही न केही जुक्ति त फुर्छ नै । नभन्दै मलाई पनि फुर्‍यो । मैले कविको वृथा अभिनय गर्ने जगत्का थुप्रो दीनदुःखीलाई पठाउन मिल्ने एउटा साझा पत्र रचेँ । पत्रले नभन्दै जादुगरी काम गर्‍यो । स्वकल्पित कवि रिसाओस्, त्यो उसको स्वनिर्मित दुःख हो । अब आफूले मुख दुखाउनु त परेन कि !

कवि बन्न कन्ने निकैजना अकविलाई पठाइसकेको पत्र हो यो । पठाइने व्यक्तिको पहिचान र पेसा–वृत्तिअनुसार पत्रमा म यसो केही हेरफेर गर्छु । तर पत्रको मूल व्यहोरा भने सबैका लागि उही सदर छ । मेरो दुःखमोचक पत्रको व्यहोरा यस प्रकार छ ः

प्रिय मित्र सृष्टिकर्ताजी !

तपाईंको पाण्डुलिपि हात पर्नासाथै मैले सात काम छाडेर हत्तपत्त पढेँ । तर यसबारे कुन शब्दमा कसरी प्रतिक्रिया गरुँ ? म अकिञ्चन परेँ बडो अन्योल र बेचैनीमा । त्यसैले प्रत्युत्तर दिन विलम्ब भयो । कविता भन्नाले तपाईं के बुझ्नुहुन्छ वा कविताको परिभाषा तपाईं कसरी गर्नुहुन्छ मलाई थाहा छैन । दृष्टि भुत्ते र चित्त असंवेदनशील हुनाले होला सायद, मैले भने तपाईंको यो पाण्डुलिपिमा कविताको तत्त्व तातोभुत्लो केही फेला पार्न सकिनँ । रिसानी माफ होस् महोदय, यो केवल कविताको ढाँचामा लेखिएका छोटा गद्य वाक्य वा वाक्यांशहरूको गुजुल्टो हो । यस्ता गुजुल्टालाई कविता भन्ने हो भने साँच्चीका कवितालाई के भन्ने होला भनेर म त्यसैत्यसै रनभुल्न परेको छु । कविता भनिन लायकको कविताको रचना गर्दा काव्यका विविध उपकरणहरूको प्रयोग गरिन्छ । सामान्यतया प्रतीक, विम्ब, रूपक, मिथक, स्मृति, सपना, स्वैरकल्पना, नारा तथा अभिव्यक्तिका अन्य अलङ्कारहरूको विशिष्ट प्रयोगद्वारा कविताको निर्माण हुन्छ । कवितामा एक शब्द, एक वाक्यांश, एक वाक्य वा एक अनुच्छेदले अनेक शब्द, अनेक वाक्यांश, अनेक वाक्य वा अनेक अनुच्छेद बराबरको अर्थ दिन्छ । तर गद्यमा एक शब्द, एक वाक्यांश वा एक वाक्यले प्रायः एउटै मात्र अर्थ दिन्छ । कविता सङ्केतमा भनिन्छ, सूत्रमा उनिन्छ, लक्षणामा बोल्छ । भन्नु मात्रै गद्य कविता हो, गद्य कविताको पनि आफ्नै प्रकारको लय र ताल हुन्छ । काव्य जगत्का ज्ञानीहरू भन्छन्— पाठकका चित्तमा गहिरो छाप पारेर स्मरणीय हुनु अस्सली कविताको चुम्बकीय शक्ति हो । सिर्जना गर्न कठिन हुनाले उत्तम कविता दुर्लभ हुनुमा नै त कविताको महत्ता छ । कविता खरायाले पाठा जन्माएझैँ छिटोछिटो हुतुहुतु जन्माउन सकिने वस्तु हुँदो हो त यसको महत्त्व नै के हुँदो हो र ?

यस खाले स्वकल्पित कविका दृष्टिमा तमसुक लेखन, भर्पाइ लेखन र कविता लेखन उस्तै–उस्तै हुन् । कलम, कागज र लहड भए पुग्छ, हठात् कविता फुरिहाल्छ । अनि लहडी मुद्रामा कोर्दाकोर्दै आजको भोलि नै पाण्डुलिपि तयार भइहाल्छ ।

स्वकल्पित कवि मित्र ! नामअगाडि ‘कवि’को पगरी गुथेर मात्र   एकबारको जुनीमा ख्याति र अमरत्व प्राप्त गर्न सकिन्छ भन्ठान्नु भ्रम हो । न्यूनाधिक उपयोग मूल्य तथा सौन्दर्य मूल्य भएको जुनसुकै कामबाट पनि जनमासनमा ख्याति आर्जन गर्न सकिन्छ । मरेपछि गुणग्राही जनहरूबाट सम्झिइनु अमरत्वको दसी हो भने त्यो पनि आर्जन सकिन्छ । स्मरण रहोस्, स्वकल्पित कविजी ! कुचिकार वा सुजिकार वा चर्मकार वा जेकार भएर पनि लोकोपयोगी काम गर्न सकिन्छ । कुचिकारले सडक बढार्छ । सफा सडक स्वस्थकर र सुन्दर हुन्छ । सुजिकारले लुगा सिउँछ । लुगाले लाज ढाक्छ, चर्मरक्षा गर्छ र देहको शोभा बढाउँछ । चर्मकारले हल्लुँड बनाउँछ, जुत्ता सिउँछ र मादल बनाउँछ । हल्लुँडले जमिन जोताइमा योगदान गर्छ, जुत्ताले खुट्टालाई धुलोमैलो, काँडाबाट जोगाउँछ र जाडो छल्छ, मादलले संगीतमा ताल दिन्छ । ख्याति र अमरत्व आर्जन गर्ने यस्ता काम जिन्दगीमा कति छन् कति ! यी यावत् काममा आँखा नलागेर कविता नबन्ने कवितामै हत्ते हाल्नु किन ?

स्वकल्पित कवि मित्र, प्वाक्क भन्दा तपाईंको चित्त दुख्ला । तर चित्त नदुखाउन तपाईंलाई म ढाँटूँ कसरी ? कविता भनेर तपाईंले सँगाल्नु भएका यी गद्य टुक्रा कविताका विशिष्टताद्वारा एकरत्ती सज्जित छैनन् । अखिल प्राक वा नेविसंघ प्राकको कुनै किशोरले यो गुजुल्टो लेखेको भए लक्षण राम्रो छ, साधना गर्दै गए सिद्धि प्राप्त गर्न कसो नसकिएला भनी कूटनीतिक काइदाले हौसला दिन सकिँदो हो । तपाईंं निश्चय नै आफूलाई प्रबोधित वयस्कका रूपमा प्रक्षेपण गर्न रुचाउनुहुन्छ होला । आफू संलग्न भएको मिसन, पेसा वा वृत्तिमा तपाईंको राम्रै स्थान होला । त्यहाँ तपाईं वक्ता, प्रवक्ता, शिक्षक, प्रशिक्षक, सचेतक, मार्गदर्शक यस्तो केही न केही अवश्यै हुनुहोला । त्यो पद वा स्थानबाट निर्मित तपाईंको परिचयले तपाईंका कविताबाट केही न केही सुन्दर चीजको स्वतः अपेक्षा गर्छ तर कविता भनिएका तपाईंका गद्य–टुक्राहरूको यो सङ्ग्रहले लोकको त्यो अपेक्षालाई सर्वथा निराश तुल्याउँछ । नैतिकतालाई सजाउने तपाईंको नाक राम्रै होला । ‘लिखितम धनीका नाम’ वा ‘भर्पाइ दादै’ टाइपको यो लेखोटले तपाईंको त्यो नाकमा आभा थप्दैन, बरु घटाउँछ । संक्षेपमा, मेरो सानो विचारमा कविता भनिएको यो जिनिस कविता भएन । यसलाई थपक्क कतै थन्क्याएर र यसलाई भुसुक्क बिर्सेर यसमा समावेश गरिएका विषयलाई गद्यमा डायरी वा संस्मरणको रूपमा लेख्नुभए बरु बेस होला । त्यसो गर्दा तै एक न एक तहको माल बनिहाल्ला कि ! आफैँलाई ढाँट्न नसक्दा यी धृष्ट वचनहरू लेख्न म विवश भएँ । स्वकल्पित कवि मित्र, जीवनको यो अप्रिय क्षणमा म औधि दुःखी छु ।

अभिवादन ।

के एस ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप