शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनापछि गण्डकीका पर्यटकीय क्षेत्रहरु लयमा फर्किँदै

कात्तिकमा मुस्ताङमा पौने लाख पर्यटक भित्रिए
आइतबार, १० मङ्सिर २०८०, २० : १३
आइतबार, १० मङ्सिर २०८०

पोखरा । कोरोना महामारीपछि गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रहरु लयमा फर्किँदै छन् । यो वर्ष गण्डकीका प्रमुख पर्यटकीय गन्तब्यहरु भरिभराउ भएका छन् । खासगरी पोखरा, अन्नपूर्ण सर्किट, मुस्ताङ, घान्द्रुक, सिक्लेस लगायतका ठाउँहरुमा पर्यटकले होटेल भरिएका छन् । 

कात्तिक महिनामा मात्रै मुस्ताङ जिल्लामा पौने लाख पर्यटक भित्रिए । त्यहाँका आधिकारिक संस्थाहरुले निकालेको तथ्यांक अनुसार एक महिनामै ७९ हजार ३ सय ७३ पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । तीमध्ये आन्तरिक पर्यटक ७३ हजार ८ सय ७९ छन् भने बाह्य पर्यटक ५ हजार ५ सय ४ छन् । उनीहरु जिप, मोटरसाइकल, बस, हवाईजहाजबाट त्यहाँ पुगेका हुन् । केही पर्यटकहरु ट्रेकिङ गरेर पनि पुगेका छन् । एक महिनामै १३ हजार ९ सय १ सवारी साधन मुस्ताङ भित्रिएका प्रहरी कार्यालयसँग रेकर्ड छ । तीमध्ये मोटरसाइकल ६ हजार ४ सय ८ वटा, जिप र कार ६ हजार २ सय ८९ वटा र बस ७ सय ५० वटा मुस्ताङ पुगेका थिए । 

यसबाहेक दैनिक जोमसोम पोखरा ४ वटा बस र जोमसोम काठमाडौँ ३ वटा बस चल्छ । जिप पनि प्रत्येक दिन चल्छ । बुलेट र स्कारपियो चढेर मुस्ताङ जानेहरु सबैभन्दा बढी छन् । प्रहरीको घाँसा पोष्टले पर्यटकको इन्ट्री रेकर्ड राख्छ । ‘यसमा संख्या खासै तलमाथि छैन । लगभग सबै विवरण संकलन गरिएको छ,’ मुस्ताङ प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेले भने, ‘यो आधिकारिक डाटा हो । एक्याप लगायत संस्थाले पनि विवरण आफ्नै हिसावले राख्छ ।’ कात्तिकमा गएका पर्यटकको संख्या मुस्ताङमा निकै ठूलो भएको उनले सुनाए । 

पर्यटक मुस्ताङ छिर्दा एकै महिना सवा अर्बभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ ।  पोखराबाट मुस्ताङ पुगेका पर्यटकले सरदर १० हजारभन्दा बढी खर्च गर्छन् । ‘मुस्ताङ आउने पर्यटकसँग गोजी रित्तो हुँदैन । पहिले नै मानसिकता बनाएर आएका हुन्छन्,’ घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन भन्छन्, ‘सरदर एकजनाले १० हजारभन्दा बढी खर्च गर्छन् भन्ने अनुमान हाम्रो छ ।’ 

त्यसबाहेक स्थानीय उत्पादन खरिद गर्ने र जहाज मार्फत यात्रा गर्नेहरुको खर्च अझै बढी हुने उनले सुनाए । ‘स्थानीय उत्पादन किन्नेहरुको हिसाब छुट्टै छ । पर्यटकबाट गत महिना १ अर्ब २० करोडभन्दा बढी भित्रियो होला,’ उनले भने, ‘बैंकहरुमा भएको बचतले पनि मुस्ताङको कारोबार कात्तिक महिना निकै उत्कृष्ट छ ।’ मुस्ताङ गएर फर्किनेहरुले स्थानीय रुपमा उत्पादन भएका स्याउ, आलु, साग, खुर्पानी लगायत बस्तुहरु कोशेलीका रुपमा ल्याउने गरेका छन् । मुस्ताङको जोमसोम, मार्फा, टुकुचे, लोमन्थाङ, मुक्तिनाथ, कागवेनी लगायत क्षेत्रमा बढी पर्यटक पुग्छन् । यो महिना उत्तरी सिमाना कोरला नाका सञ्चालनमा आएको छ । 

केही पर्यटकहरु नाका खुलेका कारण पनि बढेको बताइएको छ । पर्यटक बढाउन घरपझोङ गाउँपालिकाले कृषि तथा पर्यटन महोत्सव आयोजना गरेको थियो । पछिल्ला समय मुस्ताङमा आन्तरिक पर्यटकको चाप बढ्दो छ । मुस्ताङीहरुले पर्यटनको चाप बढाउन माथिल्लो क्षेत्रमा सरकारले लगाएको बन्देज हटाउन माग गरेका छन् । लोमन्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकामा विदेशी छिर्न पाउँदैनन् । उनीहरु छिर्दा महँगो शुल्क तिर्नुपर्छ । निषेधित क्षेत्रबाट हटाइदिए पर्यटक थेगिनसक्नु हुने उनीहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप