सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
पर्यटन

विश्व अर्थतन्त्रमा ‘टुरिजम’को टेको

मङ्गलबार, १२ मङ्सिर २०८०, १० : ३९
मङ्गलबार, १२ मङ्सिर २०८०

विश्वव्यापी रूपमा घुमफिर अर्थात् टुरिजम् आम्दानीको बलियो स्रोत बनिरहेको छ । खास गरी कुनै पनि देशको आर्थिक वृद्धि र आर्थिक गतिविधिको बढवाका लागि, सरकारको राजस्व आम्दानी र पूर्वाधार विकासका लागि, मुलुकको प्रतिष्ठाको श्रीवृद्धिका लागि, विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनाका लागि पर्यटन उद्योग महत्त्वपूर्ण छ ।  

विकसित देशहरूले पर्यटनमार्फत आफ्नो देशको आय र आकर्षण बढाइरहेका छन् । जसबाट उनीहरूले बहुआयामिक लाभ लिइरहेका छन् । पर्यटन र मानवीय आवश्यकताका क्षेत्रहरूमा बृहत्तर सुधार र सुविधा थपिरहेका देशमा पछिल्ला दशक आप्रवासनको लहर चलिरहेको छ । पहिले पहिले कुनै देशको एउटा कुनाबाट अथवा गाउँबाट सहरतिर बसाइँ सर्ने लहर चल्थ्यो । अहिले भने सूचना र सञ्चारको भूमण्डलीकरण, भाषा र संस्कृतिको भूमण्डलीकरणले एक देशबाट अर्कोे देशमा आप्रवासनको लहर नै चलेको छ । जस्तो कि युरोपको एउटा आर्थिक हिसाबले पछि परेको रोमानियाका करिब ४० प्रतिशत मानिस अर्को देशमा बसाइँ सरेका छन् । नेपालबाट नै पछिल्ला दशक डीभी, पीआर पाएर ठुलो सङ्ख्यामा परिवारसहित विदेश बसाइँ सरिरहेका छन् । यो चिन्ताजनक हो । नेपाली जनतालाई नेपालमै बस्ने वातावरण बनाउनु र यहीँको पर्यटन क्षेत्र जस्तो सम्भावनाको उद्योगमा ठुलो पैमानामा रोजगारी सिर्जना गर्न सरकार लागिपर्नु पर्छ । 

विश्व पर्यटनको अवस्था 

कोभिड–१९ को महामारीले थला परेको संसारभरको पर्यटन उद्योग सन् २०२३ को अन्त्यसम्म आइपुग्दा लगभग कोभिडपूर्वकै अवस्था (९५ प्रतिशत) मा फर्किएको छ । सन् २०१९ मा विश्वमा १ अर्ब ५० करोड मानिस पर्यटक भएर संसारका देशहरूमा घुमफिर गरे ।  सन् २०२३ मा पनि उही सङ्ख्याको हाराहारी नै पर्यटकले विश्वका देशहरू घुमफिर गर्ने यूएनडब्लूटीओको तथ्याङ्कहरूले सङ्केत गरिसकेको छ । 

वर्ल्ड टुरिजम अर्गनाइजेसनका अनुसार सन् २०२३ को अक्टोबरसम्म सबैभन्दा बढी ११ करोड ७१ लाख मानिस फ्रान्समा मात्र विदेशी पर्यटक भएर पुगिसकेका छन् । त्यसै गरी उत्तर अमेरिकी देश मेक्सिकोमा सन् २०२३ मा ५ करोड ११ लाखभन्दा बढी पर्यटक घुम्नकै लागि पुगेका छन् । प्राकृतिक सौन्दर्यले विछ्टटै राम्रो त्यस देशले आफ्नो देशको सौन्दर्यको प्रचारप्रसार र पर्यटकीय वातावरण निर्माण गरेर पर्यटन आयबाटै पछिल्ला वर्षहरूमा अर्थतन्त्रलाई उकास्दै लगेको छ । त्यस देशमा एक करोड जनतालाई पर्यटन क्षेत्रले रोजगारी दिएको छ । त्यसै गरी सन् २०२३ मा अमेरिकामा ४ करोड ५० लाख, इटलीमा ३ करोड ८४ लाख, स्पेनमा ३ करोड ६४ लाख, हङ्गेरीमा ३ करोड १६ लाख, चाइनामा ३ करोड, क्रोएसियामा २ करोड १६ लाख, टर्कीमा १ करोड ५९ लाख, डेनमार्कमा १ करोड ५५ लाख पर्यटक घुमफिरका लागि गएको वाइजभोटर डटकमले जनाएको छ । सबैभन्दा बढी पर्यटकहरू भित्र्याउन सफल विश्वका यी देशहरूले खासगरी इतिहासको मिश्रण, संस्कृति, प्राकृतिक सौन्दर्य र त्यहाँ पुग्दा हुने अद्वितीय अनुभवलाई प्रस्फुटन गराएका हुन् । 

पर्यटन उद्योगको विश्वव्यापी आम्दानी

कोरोनापछि सन् २०२३ को सुरुवातीबाट विश्वव्यापी पर्यटन गतिविधि लयमा फर्किंदैछ । सन् २०१९ जतिबेला पर्यटन उद्योगको आम्दानी उचाइमा थियो । सो वर्ष विश्वमा पर्यटकहरूले १.९ ट्रिलियन डलर खर्च गरेका थिए अर्थात् पर्यटन उद्योगले विश्व अर्थतन्त्रमा करिब १० प्रतिशत (सन् २०१९ मा) भन्दा बढी योगदान दिएको वर्ल्ड ट्राभल एन्ड टुरिजम काउन्सिलको अभिलेख छ । सन् २०१९ मा पर्यटन क्षेत्रबाट जीडीपीमा सबैभन्दा बढी योगदान पुर्‍याएको ५ देशहरूमा मकाउको जीडीपीमा ७४.५७ प्रतिशत (सबैभन्दा धेरै), अरुबा (आइसल्यान्ड ) को जीडिपीमा ६२.११ प्रतिशत, एन्डोरामा ६०.५४ प्रतिशत, एन्टिुवाको जीडीपीमा ५९.२१ प्रतिशत, माल्दिभ्सको जीडीपीमा ५६.५३ प्रतिशत रहेको छ । सोही वर्ष नेपालको जीडीपीमा पर्यटन उद्योगले २.३४ प्रतिशत योगदान राखेको द ग्लोबल इकोनोमी डटकमको रिपोर्टमा उल्लेख छ । यद्यपि नेपालको प्राकृतिक सौन्दर्यलाई पर्यटन सम्बद्ध विश्वका प्रतिष्ठित सङ्घसंस्थाहरूले घुमफिरका लागि उपयुक्त गन्तव्यको रूपमा सुझाइरहेका छन् । धेरै त्यस्ता संस्थाले नेपाल पर्यटकीय रूपमा २० उपयुक्त गन्तव्य मुलुकभित्रै चित्रण गर्दै आइरहेका छन् । तर मुस्किलले १० लाख पर्यटक भित्र्याउने नेपालले न त सम्भावना अनुरूप पर्यटक भित्र्याउन सकेको छ न त यस क्षेत्रबाट आम्दानी नै बढाउन सकेको छ । तर पनि नेपालमा पर्यटन उद्योगले १५ लाखभन्दा बढीलाई रोजगारी दिइरहेको अवस्था देखिन्छ । 

t1

पर्यटन क्षेत्रमा लगानी र रोजगारी 

सन् २०२२ सम्ममा पर्यटन क्षेत्रमा विश्वव्यापी रूपमा ८५६ अर्ब डलर लगानी भएको ट्राभल वर्ल्ड डटकमको तथ्याङ्क छ । संसारका हरेक ५ जनामा एक जनालाई रोजगारी दिन सक्ने सम्भावना बोकेको पर्यटन उद्योगले ३० करोडभन्दा बढीलाई रोजगारी दिइरहेको अवस्था छ । सन् २०१९ सम्मको आँकडाअनुसार पर्यटन उद्योगमा अमेरिकाको मात्रै २०९ अर्ब डलर लगानी रहेको छ । त्यसै गरी चीनले पर्यटन उद्योगमा १७० अर्ब डलर, भारतको ५१.६ अर्ब डलर, फ्रान्सको ४० अर्ब डलर, जापानको ३९ अर्ब डलर, जर्मनीको ३४.७ अर्ब डलर, बेलायतको २७.६ अर्ब डलर, साउदी अरेबियाको २७.५ अर्ब डलर, स्पेनको २१.७ अर्ब डलर र ब्राजिलको १९.८ अर्ब डलर लगानी रहेको छ । विश्वका देशहरूले पर्यटनमा प्रचुर लगानी बढाएर पर्यटकीय आकर्षण र वातावरण बनाइरहेका छन् । सँगैसँगै लगानीकै बलमा उनीहरूले पर्यटन क्षेत्रबाट अकुत आम्दानी गरिरहेका छन् । पर्यटनमा सबैभन्दा बढी लगानी र आम्दानी पनि त्यस क्षेत्रबाट अमेरिकाले नै बढी पाइरहेको छ । त्यस कारण पर्यटन क्षेत्रको श्रीवृद्धिका लागि लगानी बहुतै महत्त्वपूर्ण पाटो हो । त्यसका लागि लगानीको वातावरण बनाउनु सबैभन्दा बढी आवश्यक छ ।  

नेपालमा पर्यटनको सम्भावना

नेपाल संसारकै एक सुन्दर प्राकृतिक देश हो । त्यो हामीले भनेका होइनौँ, अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित संस्थाहरूले नेपाल पर्यटकीय हिसाबले १० नम्बर भित्र पर्ने गन्तव्यको रूपमा सुझाउँदै आएका छन् । तर पनि हामीले पर्यटकलाई बोलाउन, आतिथ्य गराउन सकेका छैनौँ । संसारका २८ अग्ला हिमालमध्ये सर्वोच्च शिखर सगरमाथासहित १४ ठुला हिमशृङ्खला नेपालमै छ । आँखाले हेरेर नभ्याउने भीमकाय महाभारत पर्वत नेपालमै छन् । विश्वमै दुर्लभ मानिने ७५० भन्दा बढी प्रजातिका पन्छी नेपालमै पाइन्छन् । दुर्लभ बाघ, भालु, चितुवा, हरिण, मृग, गैँडा हेर्न नेपालमै आउनुपर्छ । वर्षैभरि अविच्छिन्न बगिरहने नदीहरूले जताततै जुलुस निकालिरहेका छन् । सयौँ भाषा, भेष र संस्कृति यहीँ छन् । फरक फरक जलवायु यहीँ छ अर्थात् नेपालमा अथाह पर्यटकीय सम्भावनाका स्रोत छन् ।

नेपालले अरू सब छोडेर पर्यटन क्षेत्रलाई मात्रै विश्वमाझ प्रवर्द्धन गर्ने हो भने, आवश्यक पर्यटकीय पूर्वाधार विकास गर्दै लग्ने हो भने समृद्धिको ढोका सहजै खुल्नेछ । विदेशी मुद्राको दुःख हरदम हुने छैन ।

पर्यटन क्षेत्रकै लागि विश्वमा करिब ९०० बिलियन डलर लगानी भइसकेको छ । त्यसमा आधा खर्च चीन र अमेरिकाले गरेका छन् । लगानी उच्च भएकै कारण चीनमा बर्सेनि ५ करोडभन्दा बढी मानिसले पर्यटक भएर भ्रमण गर्न थालिसकेका छन् । त्यस्तै भारतमा करोडभन्दा बढी मानिसले पर्यटन क्षेत्रमा रोजगारी पाइरहेको अवस्था छ । राजनीतिक स्थायित्वकै कारण भारतमा पर्यटक आगमन बढेको बताइन्छ । त्यस्तै फ्रान्स पर्यटकीय दृष्टिले पहिलो गन्तव्यस्थल नभए पनि सबैभन्दा बढी पर्यटक भित्र्याउने राष्ट्रमा पर्ने गर्छ । पर्यटनमैत्री वातावरण उसको प्राथमिकतामा पर्ने गर्छ । अमेरिका, इटाली, यूकेलगायत मुलुकहरू पर्यटक भित्र्याउनेमा दोस्रो, तेस्रो र चौथो मुलुकमा पर्दै आएका छन् । नेपालमा पनि पछिल्ला दशक पर्यटनमा सम्भावना देखेर होटल क्षेत्रमा लगानी बढिरहेको छ । मुख्यतः नेपालमा पर्यटन पूर्वाधार जस्तो सुरक्षित सडक, पर्यटकीय गन्तव्यहरूमा भरपर्दा अस्पतालहरू, गुणस्तरीय होटल तथा रेस्टुरेन्टहरू, सुरक्षित एवं शान्त वातावरण र जोखिम पर्दा शीघ्र उद्धारको प्रबन्ध अनिवार्य छ । साथै पर्यटक लक्षित मेला महोत्सव, पर्यटकलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसारमार्फत निम्ता र एनआरएनएमार्फत विदेशमा नेपालको पर्यटकीय गन्तव्यहरू प्रवर्द्धन आवश्यक छ ।

 सरकारले पर्यटन क्षेत्र लगानीको वातावरण बनाउने, विदशी लगानीका लागि पनि पहल गर्ने, पर्यटन वर्षहरू मनाउने, विदेशी पर्यटक लक्षित विविध सेवा सुविधा र सम्मानका कार्यक्रमहरू राख्ने हो भने नेपालमा पर्यटक आगमनलाई अवश्य बढाउन सकिन्छ । पर्यटन क्षेत्रबाट नेपालमा नसोचेको आर्थिक फाइदा हासिल हुन सक्छ । त्यसका लागि सरकारले दीर्घकालीन सोच राखेर पर्यटन क्षेत्रका श्रीवृद्धिमा लाग्नु आजको आवश्यकता हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रिसव गौतम
रिसव गौतम
लेखकबाट थप