आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

वर्तमान व्यवस्था खारेज गरेर अन्तरिम सरकार गठन गर्न आजपाको माग

विदेशी नागरिकता लिएकाहरुको सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउन अभियान चलाउने
मङ्गलबार, १२ मङ्सिर २०८०, १९ : ५४
मङ्गलबार, १२ मङ्सिर २०८०

काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले  देशको विद्यमान जटिल परिस्थिति एवम् संकटको निकासका लागि वर्तमान व्यवस्थाको खारेज गर्दै अन्तरिम सरकारको गठन गरिनुपर्ने निष्कर्ष निकालेको छ । त्यसका लागि पार्टीले निरन्तर अभियान सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । 

पार्टीको सोमबार र मंगलबार बसेको स्थायी समिति बैठकले वर्तमान संकटको निकासका लागि वर्तमान व्यवस्थाको खारेजी तथा अन्तरिम सरकार गठन हुनुपर्ने निष्कर्ष निकालिएको अध्यक्ष साहले जानकारी दिए । 

‘अहिले जनता शासितको अवस्थामा छन्, त्यसलाई बदलेर जनतालाई शासक बनाउने र अग्रगामी बाटो समात्ने अहिलेको प्रमुख आवश्यकता हो’, साहले भने, ‘ अहिले भन्नलाई लोकतन्त्र भनिएपनि वास्तविकता परिस्थिति त्यस्तो होइन । दलका नेता र त्यसका आसेपासेहरू शासक हुने र त्यसै दलका फरक विचार राख्नेहरू शासित हुन् । आम जनताले अझै पनि शासकको अनुभूति गर्न सकेका छैनन् । जबकि लोकतन्त्रमा शासक र शासितको दूरी मेटिनुपथ्र्यो । तर, दूरी थप बढेको देखिन्छ । त्यसलाई हटाउँदै अघि बढ्नु आजको प्रमुख कार्यभार हो ।’

साहले अहिले  सत्तामा छोटे राजाहरुले हालीमुहाली रहेको भन्दै जनताको शासन आजको आवश्यकता भएको बताउँदै आएका छन् । 

बैठकले अभियानका संघर्षका कार्यक्रम पनि अघि सारेको छ । जसअनुसार जनतालाई धोका दिने पार्टी र जनप्रतिनिधिहरुबाट मत फिर्ताको अभियान सञ्चालन गर्ने, विदेशी नागरिकता लिएकाहरुको सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने कामलाई अभियानका रुपमा सञ्चालन गर्ने, भ्रष्टाचारीलाई जनकारबाही गर्ने, गौर हत्याकाण्डलगायतका हत्याराहरुलाई समातेर बुझाउने निर्णय गरेको छ । 

संघर्षको कार्यक्रम अघि बढाउन जनसंगठनहरुलाई जिम्मेवारी पनि तोकिएको छ । जसअनुसार भन्सारको विषयमा आम सम्पर्क पञ्च, वैदेशिक रोजगार पीडतको विषयमा आईटी आर्मी, बैंकिङ लुट तथा कर्जाको विषयमा आम किसान मोर्चा, आवासको विषयमा आम दलित मोर्चा, मदर्सा शिक्षाको विषयमा आम मुस्लिम मोर्चा र यातायातको भाडा सहुलियतको विषयमा आम विद्यार्थी मोर्चालाई जिम्मेवारी दिइएको छ । 

बैठकले पुस १४ गते पार्टी स्थापना दिवस मनाउने तथा सोही मितिमा आईटी आर्मीको राष्ट्रिय भेला गर्ने निर्णय पनि गरेको छ । 

यस्तै बैठकले उपाध्यक्ष  बद्री प्रसाद न्यौपानेलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । न्यौपानेलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेकाले निर्दोष सावित नहुँदासम्मका लागि पार्टीको सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप