आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पञ्जाबको लुधियानामा माओवादीको तीन महिने रुपान्तरण अभियान

मङ्गलबार, १२ मङ्सिर २०८०, २१ : २३
मङ्गलबार, १२ मङ्सिर २०८०

भारत । नेकपा माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियान अन्तर्गत प्रवास भारतको भाइचारा संगठनले आफ्नै मौलिकतासहित अगाडि बढाएको छ । यसअन्तर्गत भारतमा साढे चार दशक लामो इतिहास बोकेको सामाजिक संस्था अखिल भारत नेपाली एकता मञ्च, संयुक्त राज्य  समितिले   पञ्जाबको औद्योगिक राजधानी लुधियानामा राखेको जनसभा सम्पन्न गरेको छ । 

उक्त जनसभालाई पार्टीका केन्द्रीय समिति सदस्य लक्ष्मण पन्तले प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका थिए । पन्तले आफ्नो सम्बोधनमा हालै केही व्यक्तिहरुले राजतन्त्र फर्काउने भन्दै मुलुकभित्र जुन उपद्रो गर्न खोजिरहेका छन् त्यसको कुनै अर्थ नरहेको बताउँदै त्यस्ता गतिविधिहरुमा जनताको कुनै समर्थन नरहेको दाबी गरे ।

राजतन्त्रको विरोध गरेबापत १३ वर्षको उमेरमै  आफू स्वयं दमनको सिकार भएको बताउँदै पन्तले भने,‘अहिले राजतन्त्रको वकालत गर्नेहरुलाई बोल्ने अधिकार प्रदान गर्ने सुन्दर गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्तैन ।’ 

नेपालको संविधान र यसले प्रदत्त गरेको गणतन्त्र संघीयता, समावेशिता र धर्मनिरपेक्षताबाट नै नेपाली समाज अगाडि बढ्न सक्ने बताउँदै नेता पन्तले केही सीमाहरुका बावजुद नेपालको संविधान अग्रगामी र प्रगतिशील रहेको बताए । 

एउटा अर्को सन्दर्भमा पन्तले भारतमा दशकौंदेखि महिलालाई ३३ प्रतिशत आरक्षण दिइनु पर्दछ भन्ने माग अहिलेसम्म पुरा नभएको उल्लेख गर्दै थपे, ‘तर हाम्रो संविधानले महिलालाई ३३ प्रतिशत आरक्षण दिएको छ । इतिहासमै एकै पटक राष्ट्रपति सभामुख र प्रधान न्यायाधीश नेपालमा महिला भएका छन् । यो गणतन्त्रको ठुलो उपलब्धि हो । त्यसै गरी राजतन्त्रले चरम विभेदमा पारेका दलित र मधेसी समुदायलाई संविधानले न्याय गरेको छ ।  यो सबैको नेतृत्व गर्ने शक्ति माओवादी नै हो ।’ ‘आमाको नाममा नागरिकता र तेस्रो लिंगीहरुबीचको विवाह र उनीहरुलाई नागरिकता प्रदान गर्ने अधिकार गणतन्त्रको अत्यन्त प्रगतिशील पक्ष भएको र यी सबै कुराहरु भारतमा र विश्वका अन्य कैयौँ लोकतान्त्रिक मुलुकका जनताका लागि आज पनि सपना सरह छन्’ पन्तको कथन थियो  ।   

मुलुकमा राजनीतिक परिवर्तित मुख्य रुपमा सम्पन्न भएको तर आर्थिक विकास र रोजगारीका अवसरहरुको सृजना हुन नसकेको भन्दै प्रमुख वक्ता पन्तले यदि सरकार, राज्य र दलहरुले मुलुकलाई यस्तै अविकास र पछौटेपनको अवस्थामा राखिराख्ने हो भने जनताले विद्रोह गर्न सक्ने पनि चेतावनी दिए । हालै मुलुकमा देखिएका अराजक गतिविधिहरुले त्यही संकेत गरेको उनले दाबी गरे । 

विगतमा एकता मञ्चले भारतको भूमिबाट माओवादी जनविद्रोहलाई सघाएर नेपालमा गणतन्त्रको आन्दोलनलाई सफल तुल्याउन जसरी महत्त्वपूर्ण भूमिका खेलेको थियो त्यसैगरी अबको आर्थिक क्रान्ति र विकास निर्माणको क्रान्तिको चरणलाई पनि सघाउनका लागि मुलुकमा प्रवासी नेपालीहरुले हासिल गरेको सिप, प्रविधि र पूंजीको स्वदेशमा लगानी गर्न र स्वदेश फर्कन पनि नेता पन्तले आव्हान गरे । 

२०५२ सालदेखि २०६२ सालको एक दशकमा एक सय जनाको हाराहारीमा एकता मञ्चका नेता कार्यकर्ताहरुले मुलुकको आन्दोलनमा सहादत प्राप्त गरेका छन् ।  

माओवादी नेता  पन्तले एकता मञ्च (विगतमा अखिल भारत नेपाली एकता समाज र नेपाली जनअधिकार सुरक्षा समिति) का सहीदहरुलाई स्मरण गर्दै सहभागीहरुलाई नेपाली जनताले त्याग र बलिदानबाट हासिल गरेका उपलब्धिहरुको रक्षा गर्नका लागि आ–आफ्नो ठाउँमा डट्न पनि सबैलाई आव्हान गरे ।  

एकता मञ्चका सचिवालय सदस्य राजु केसीको संचालनमा गणतन्त्रका सहिदहरुप्रति एक मिनेटको मौनधारण र राष्टगानसंगै आरम्भ भएको आमसभालाई एकता मन्चका केन्द्रीय अध्यक्ष राजेन्द्र शर्मा, वरिष्ठ उपाध्यक्ष जेबी रसालीलगायत संगठनका अन्य केन्द्रीय नेताहरु ठगेन्द्र पंगेनी, कमला शर्मा, नरेश धतानीले सम्बोधन गरेका थिए । 

सभाको अध्यक्षता एकता मन्चका पञ्जाब जम्मूकश्मीर अध्यक्ष नारायण बञ्जाडेले गरेका थिए । सचिवालय सदस्य प्रकाश स्याडाले स्वागत मन्तव्य राखेका थिए ।  कलाकार भाइबहिनीहरुले प्रस्तुत गरेका प्रगतिशील गीत र नृत्यले जनसभालाई उद्धेलित पारेको थियो । 

पञ्जाब राज्यका चन्डीगड, रोपड, मोहालीलगायत हरियाणाका विभिन्न क्षेत्र र राजस्थानका विभिन्न शहरहरुका साथै लुधियानाबाट २५० किलोमीटरको दूरीमा रहेको हिमाचल प्रदेशको सिमला र तीन सय किलोमीटर टाढा रहेको जम्मुबाट समेत बसहरु रीजर्भ गरेर ठुलो संख्यामा संगठनका नेता–कार्यकर्ताहरु जनसभामा सहभागी हुन पुगेका थिए । आमसभा पञ्जाबको प्रसिद्ध औद्योगिक शहर लुधियानामा सम्पन्न भएको थियो ।

२६ नोभेम्बरकै दिन पारेर यसै प्रकारका आमसभाहरु लुधियानासहित भारतका तीन अन्य शहरहरु दिल्ली, मुम्बई र बेंगलोरमा सम्पन्न भएका छन् । दिल्लीको आमसभामा मुख्यअतिथि माओवादी नेता तथा पूर्व मन्त्री मातृका यादव थिए भने मुम्बईको आमसभा पार्टी केन्द्रीय सदस्य तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप