शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

निबन्ध : श्रीमती अर्थात् श्रीमान‍्का मति सुधारक

बुधबार, १३ मङ्सिर २०८०, ११ : ४२
बुधबार, १३ मङ्सिर २०८०

श्रीमान् श्रीमती मिलेर परिवार बन्छ । परिवार परिवार मिलेर समाज बनेको हुन्छ । त्यसमा महिला र पुरुषको योगदान फरक फरक हुन्छ । तर त्यसलाई नजिकबाट नियाल्ने आँखाको कमी हुन्छ । 

हाम्रो समाजमा नारीले आफ्ना सबै कुरा छोडेर एक अनजान व्यक्तिको भरमा, एक अनजान व्यक्तिको घरमा आफ्नो जीवन सुम्पिन्छिन् । सङ्घर्ष गर्दै त्यस घरलाई उज्यालो बनाउँछिन् । घरको हरेक सदस्यको उचित सम्मान र इज्जत गर्छिन् । घरका सबै सेवा गर्छिन् । घरको शान्ति, सुख, आनन्दका लागि कहिलेकाहीँ तीर्थ व्रत पनि गर्छिन् र घरलाई मन्दिर बनाउन छिन् । हामी र हाम्रो परिवारका लागि यति सबै गर्ने नारीलाई श्रीमान्बाट केही अपेक्षा हुन्छ होला । मेरा श्रीमानले आफूले भनेको मानिदियोस्, अन्त नजर नलगाइदियोस्, आफ्ना कुरा सुनिदियोस् यत्तिको अपेक्षा हुनु जायज पनि हो ।

हामी सबै कुरा छोडेर आएकी श्रीमतीलाई कत्तिको सम्मान र इज्जत दिन्छौँ, त्यसले उनको जीवन फूल जस्तै सुवासयुक्त हुन्छ । हामीले जति धेरै इज्जत र सम्मान आफ्नो घरको श्रीमतीलाई दिन्छौँ । हामी त्यति धेरै खुसी र आनन्दित हुने अवसर पाउँछौँ । हामी जति धेरै श्रीमतीलाई समय दिन्छौँ त्यति नै धेरै सुख जीवनमा मिल्छ । श्रीमतीले आफ्ना पुराना केही स्वभावलाई श्रीमान्समक्ष अनेक किसिमले प्रस्तुत गर्छिन् । कहिले मिठो पाकवान पकाएर, मन पर्ने कुरा गरेर र कहिले आफूले भोगेका कथा सुनाएर, कहिलेकाहीँले सुन्न खोज्दा त कहिले सुन्नै नपरे हुन्थ्यो भनेको समयमा पनि सुनाएर । कहिले हाँसेर, कहिले रोएर, कहिले घुर्क्याएर । उदास श्रीमान्लाई निर्विकल्प गहिरो प्रेम गर्छिन् । श्रीमान्का ससाना कुरालाई आफ्नो मानी जतन गर्छिन् र सम्मान पनि गर्छिन् । आफ्ना हरेक ससाना कुरा पनि सुम्पिन्छिन् । त्यसैले हरेक श्रीमतीहरूले आफ्नो श्रीमानमाथि हक जँचाउँछिन् । त्यसैले हाम्रो नराम्रा बानी सुधार्छिन् । हुन त आजभोलि प्रेम र इन्टरनेटको कारण धेरै सुविधा भएको छ तर नेपाली समाजमा धेरै मागी विवाहको प्रचलन छ । केही समयको कुराकानीमा आफ्नो जीवन समर्पण गर्ने र आफ्नो श्रीमान् असल, संस्कारी होस् भन्ने सोच राख्नु सानो सम्भावनाको कुरा हो र ?

वास्तवमा श्रीमतीहरू श्रीमती नभएर सुधार मति हुन् । मैले धेरै सुनेको छु छोरा बिग्रियो अब विवाह गरिदिऔँ सुध्रिन्छ भनेको । वास्तवमा हो पनि सुध्रिन्छ । आफ्नो आमाबाबाले छोरालाई सुधार्न नसकेपछि विवाह गर्दिएको धेरै छन् । एक महिला (श्रीमती) मा यति धेरै साहस र शक्ति हुन्छ त्यसको सही मूल्याङ्कन भयो भने समाज बदलिन्छ । 

प्रचलनमा छ -

आमा शिक्षित भयो बच्चा शिक्षित हुन्छन् । 

आमा भए घर उज्यालो हुन्छ । 

श्रीमती असल भए श्रीमान् सुध्रिन्छ र सुधार्छिन्।

श्रीमती भए घरमा बचत धेरै हुन्छ । 

सबैको ससाना कुरामा परिवर्तन आउँछ ।

आराम कक्ष सफा, कपडा व्यवस्थित, आफ्नो घरको छुट्टै नियम, खाना खाने शैली, बोल्ने शैली, गर्ने व्यवहार, भोजन सबै कुराको परिवर्तन हुन्छ । सबै कुरामा सुधार हुन्छ । यो अपवाद होइन सबैको घरमा हुन्छ । कसैले धेरैलाई थाहा हुने गरी गर्छन्, कसैले आफ्नो आराम कोठामा आफ्ना छोराछोरीलाई पनि थाहा नहुने गरी गर्छन् ।

सुधार परिवर्तनको रूप पनि हो । एक असल श्रीमतीको आगमनले एक पुरुषको जीवनमा नवीन परिवर्तन हुन्छन्, जुन पहिल्यै जरुरी थियो । त्यसलाई आलेटाले गर्ने श्रीमानहरूको रूपमा फेरि परिवर्तन आउँछ । जब एक सन्तान दिन्छिन् अनि बच्चाको नाममा पनि सुधारको बाटो खोज्छिन् । सुधार खराब कुराको मात्र भन्न खोजेको होइन । श्रीमतीको आफ्नो चाहनाअनुसारको पनि हुन्छ । कहिलेकाहीँ सामाजिक सञ्जालमा देख्न पाइन्छ । विवाहित पतिको कुनै स्टाइल हुँदैन । उनीहरू आफ्ना श्रीमतीको स्टाइलमा जीवन जिउँछन् । यो धेरै प्रतिशत सत्य हो ।

कथा सडकको–

नाम जानुका । उमेर ४५ वर्ष । बास सडकको । सेवा पूर्वप्रहरी । आफ्नो श्रीमान् तथा सन्तान बेलायतमा छन् । घर बनाउने समयमा एक लेबरसँग प्रेम बस्छ । अनि सबै कुरा छोडेर सडकमा नै आउँछिन् । त्यही लेबर श्रीमानको साथमा रमाउँछिन् । एक दिन दुई दिन गर्दै १० औ वर्ष सडकमा बसेर रोगले ग्रस्त हुँदै त्यही जीवन त्याग गर्छिन् । श्रीमतीले चाहेको भए श्रीमान्को जीवनमा परिवर्तन आउन सक्थ्यो ।

म यस्तै हजारौँ उदाहरण दिन सक्छु । हालको दिन मानव सेवा आश्रमको शाखा कार्यालय कास्की पोखरा १७० जना आश्रित आमाबुवा हुनुहुन्छ । आमाहरू ६० जना बच्चा १० जना र बाबा १०० जना हुनुहुन्छ । आश्रममा आश्रित पुरुषको सङ्ख्या धेरै छन् । कहानी उस्तै छन्, कसैको विवाह नगरेको, विवाह गरेको भए पनि कोही श्रीमती बित्नु भएको कोही छोडेर गएपछि सडकको बास भएको । वास्तवमा पुरुषहरूको लागि नारी शृङ्गार हुन् । पुरुषबिना नारी सहज जीवनयापन गर्न सक्छिन् तर नारीबिना पुरुषले आफ्नो जीवनमा सरलताको महसुस गर्दैनन् । त्यही भएर श्रीमती बितेको एक वर्ष नबित्दै श्रीमानले अर्को विवाह गर्छन् । महिलाले पनि श्रीमान् बितेपछि दोस्रो विवाह नगरेका होइनन् । तुलनात्मक रूपमा यो दर महिलाको भन्दा पुरुषको धेरै छ ।

जसले श्रीमतीलाई घरको शोभा मानेका छन् । लक्ष्मी मानेका छन् । आधा अङ्ग मानेका छन् । रथका दुई पाङ्ग्रामध्ये एक मानेका छन् । सिक्काका दुई पाटामध्ये एक पाटा मानेका छन् । उनीहरूको जीवन सुन्दर बनेको छ । यस प्रकारका परिवारमा श्रीमतीका साथले श्रीमान् सफलता चुम्नेछन् । मन भेद र मत भेदभन्दा पर पत्नी सुख पाएका छन् । कुनै पनि पत्नीले आफ्नो श्रीमान् अरूका श्रीमान् भन्दा कमजोर, नराम्रो होस् भन्ने चाहँदैनन् । असफल होस् भन्ने चाहँदैनन् र यो हाम्रो पूर्वेली संस्कार र संस्कृतिले पनि दिँदैन । एउटा श्रीमतीले आफ्नो श्रीमानका हरेक कुरामा ख्याल र स्याहार गर्छिन् । आफूले जानेको बुझेको र गर्न सक्नेसम्मको प्रयासले आफ्नोपन दिने गर्छिन् र त्यही घर वास्तवमा स्वर्ग जस्तो हुन्छ जता श्रीमतीको सम्मान हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

होमनाथ तिमल्सेना
होमनाथ तिमल्सेना
लेखकबाट थप