शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
पर्यटक आगमन उत्साहप्रद

भ्रमण वर्ष विशेष : २०२५ लाई कसरी मनाइँदैछ ?

बुधबार, १३ मङ्सिर २०८०, १६ : १०
बुधबार, १३ मङ्सिर २०८०

काठमाडौँ । सरकारले सन् २०२३–२०३३ लाई भ्रमण दशक घोषणा गरेको छ । १० वर्षमा ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर घोषणा गरिएको भ्रमण दशकको सुरुवाती वर्ष अर्थात् सन् २०२३ मै १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ ।

तर, यस वर्षको अक्टोबरसम्म (१० महिना)मा ८ लाख ९ हजार ६७८ विदेशी पर्यटक नेपाल भित्रिसकेका छन् । जुन पोष्ट–कोभिड (सन् २०१९) को तुलनामा ८८.७१ प्रतिशतको रिकभरी हो ।

सन् २०१९ मा कुल ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल भित्रिएका थिए । जसमध्ये ९ लाख १२ हजार ७०३ जना पर्यटक अक्टोबरभित्र नेपाल भित्रिएका थिए ।

१० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य भेट्न अब १ लाख ९० पर्यटकको आगमन आवश्यक छ । नोबेम्बर महिनामा करिब १ लाख पर्यटक भित्रिँदैगर्दा आउँदो डिसेम्बरमा पनि १ लाखकै हाराहारीमा विदेशी पर्यटक भित्रिनेमा पर्यटन बोर्ड ढुक्क छ । यसो हुँदा १० लाखको सरकारी लक्ष्य सजिलै पूरा हुने पर्यटन बोर्डका प्रवक्ता मनिराज लामिछाने बताउँछन् ।

‘सरकारी लक्ष्य भेट्नेमा अब चिन्ता छैन । पर्यटक आगमनको उत्साहप्रद तथ्याङ्कले १० लाख कट्ने हाम्रो अनुमान छ,’ लामिछानेले भने, ‘बरु अब सबै पर्यटन क्षेत्र, सरकार, निजी सबै मिलेर भ्रमण दशक सफल पार्न लाग्नुपर्ने आवश्यकता छ ।’

भ्रमण वर्षको सुरुवाती वर्षमै करिब १० लाख पर्यटक भित्रिँदा बाँकी ९ वर्षमा २५ लाख पर्यटक सजिलै भित्रिने सरकारी अनुमान छ ।

पर्यटक आगमनको रिकभरी

सन् २०१९ मा पर्यटकको उत्साहप्रद आगमन थियो । उक्त वर्ष झण्डै १२ लाख (११ लाख ९७ हजार १९१ जना) विदेशी पर्यटक आएकामा सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरेको थियो । तर, दुर्भाग्यवस भ्रमण वर्ष सुरु नहुँदै विश्वमा कोरोना भाइरसको महामारी फैलिन पुग्यो । सो वर्ष मुस्किलले २ लाख ३० हजारमात्र पर्यटक नेपाल भित्रिए । २० लाखको लक्ष्य राखिएको वर्ष मुस्किलले २ लाख मात्र पर्यटक भित्रिनुलाई सामान्य मान्न सकिन्न ।

कोभिड–१९ को प्रभाव यसैगरी पछिल्ला दुई वर्ष सन् २०२१ र २०२२ पनि पर्यटकको आगमन हुन सकेन । सन् २०२१ मा १ लाख ४९ हजारमात्र पर्यटक भित्रिएकोमा सन् २०२२ मा केही आगमन बढेर ६ लाख १४ हजार पुग्यो । क्रमशः कोभिडको प्रभाव कम हुँदै गएसँगै सन् २०२३ मा पर्यटक आगमनको संख्या १० लाख कट्ने पछिल्ला तथ्याङ्कहरुले देखाएका छन् ।

r

प्र–कोभिड (सन् २०१९) र पोष्ट–कोभिड (सन् २०२३) को पर्यटक आगमनको तुलनात्मक स्थिति

p

सन् २०२५ लाई विशेष भ्रमण वर्षको रुपमा मनाइँदै

सन् २०२३–२०३३ भ्रमण दशकको रुपमा मनाउने घोषणा गरेको सरकारले सन् २०२५ लाई भ्रमण वर्ष विशेष वर्षको रुपमा मनाउने तयारी गरिरहेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै २०८० को दशकलाई भ्रमण दशकको रुपमा मनाइने घोषणा गरेको सरकारले सन् २०२५ लाई विशेष भ्रमण वर्षको रुपमा मनाउने उद्घोष गरेको हो ।

भ्रमण दशकभित्रका प्रत्येक वर्ष कम्तीमा एउटा प्रदेशमा प्रदेश भ्रमण वर्ष मनाउने सरकारी योजना छ । सोही योजना मुताविक सन् २०२४ लाई बागमती प्रदेशले प्रदेश विशेष भ्रमण वर्ष मनाउने घोषणा गरिसकेको छ ।

बागमती प्रदेश अन्तर्गतकै भरतपुर महानगरपालिकाले समेत नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको साझेदारीमा सन् २०२४ लाई ‘भिजिट भरतपुर’ मनाउने भएको छ । यी भ्रमण वर्षहरुका लागि नेपाल पर्यटन बोर्डले संरक्षक र प्रवर्द्धनात्मक संस्थाको हैसियतले विशेष सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

भ्रमण वर्षलाई चीनले विशेष सहयोग गर्ने

नेपाल भ्रमण वर्ष २०२५ लाई चीनले समेत विशेष सहयोग गर्ने भएको छ । गत असोजमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा दुई देशबिच भएको दर्जन हाराहारी सम्झौतामा चीनको तर्फबाट नेपालको पर्यटन उद्योगमा सहयोग पु¥याउने समेत सहमति भएको थियो ।

उक्त सहमतिमा चीनले नेपालको भ्रमण वर्ष २०२५ मा सकेको पर्यटक पठाउने प्रतिबद्धता जनाउँदै चीनमा समेत नेपाल भ्रमण वर्ष २०२५ मनाउने उद्घोष गरेको छ ।

सो अवसरमा चीनले चीनमा आयोजना गरिने सांस्कृतिक र पर्यटन आदानप्रदान गतिविधिमा सहभागी हुन र चीनमा पर्यटन प्रवर्द्धन कार्यक्रमहरू आयोजना गर्न चिनियाँ पक्षले विभिन्न तहमा नेपालको सांस्कृतिक तथा पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाहरूलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

थप चिनियाँ पर्यटकहरूलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्न चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न हवाई गन्तव्यहरुमा सिधै हवाई उडानको सेवा सुरुवात गर्ने समेत प्रतिबद्धता जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप