शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
पर्यटन

१० लाख पर्यटक भित्र्याउने लक्ष्यनजिक सरकार, नोभेम्बरमा पनि १ लाख भित्रिए

शुक्रबार, १५ मङ्सिर २०८०, १२ : ४३
शुक्रबार, १५ मङ्सिर २०८०

काठमाडौँ । सन् २०२३ को पछिल्लो महिना नोभेम्बरमा पनि १ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्क अनुसार नोभेम्बर महिनामा १ लाख ८ हजार ६३० जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । 

अघिल्लो महिना अक्टोबरमा १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएर हालसम्मकै उच्च रेकर्ड राखेको थियो । योसँगै २०२३ को ११ महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या ९ लाख १८ हजार ३०८ पुगेको छ । यद्यपि, यो हवाई मार्ग हुँदै आउने पर्यटकको सङ्ख्या मात्र हो । ‘बाई बस’ स्थल मार्ग हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरूको सङ्ख्या यसको तीन गुणा बढी रहेको पर्यटन बोर्डको अनुमान छ ।

नेपाल सरकारले सन् २०२३ मा १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ । १० लाखको सरकारी लक्ष्य भेट्न अब बाँकी एक महिनामा करिब ८० हजार पर्यटकको मात्र खाँचो छ ।  तर, यो डिसेम्बर महिनामा पनि १ लाख हाराहारी पर्यटक भित्रिनेमा आफूहरू ढुक्क रहेको पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछाने बताउँछन् । 

‘अब सरकारी लक्ष्य पुरा हुनेमा कुनै दुई मत छैन, थप पर्यटक भित्र्याउने हाम्रो कसरत हुनेछ’ लामिछानेले भने, ‘भ्रमण दशकसँगै घोषित पर्यटन वर्ष विशेष २०२५ लाई सफल पार्न सबै पक्षबाट लाग्न आवश्यक छ ।’ सन् २०२३–२०३३ लाई सरकारले भ्रमण दशकको रूपमा मनाउने घोषणा गरिसकेको छ । १० वर्षमा ३५ लाख बढी पर्यटक भित्र्याउने लक्ष्य राखेर घोषणा गरिएको भ्रमण दशकको सन् २०२५ लाई विशेष भ्रमण वर्षको रूपमा मनाउने सरकारी तयारी छ । 

बागमती प्रदेशले सन् २०२५ लाई प्रदेश विशेष भ्रमण वर्षको रूपमा मनाउँदै छ । यसै गरी चितवन, भरतपुर महानगरपालिकाले समेत यस वर्षलाई भरतपुर भ्रमण वर्ष बनाउँदै छ । 

नोभेम्बरमा कुन देशबाट कति पर्यटक आए ?

नेपाल पर्यटन बोर्डका अनुसार पछिल्लो नोभेम्बर महिनामा कूल पर्यटक आगमन मध्ये २० प्रतिशत पर्यटक छिमेकी मुलुक भारतबाट आएका छन् । समीक्षा अवधिमा भारतबाट २४ हजार ४४३ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् । 

यसै गरी दोस्रोमा संयुक्त राज्य अमेरिकाबाट ११ हजार ४६१ जना नेपाल आउँदै गर्दा अर्को छिमेकी मुलुक चीनबाट ७ हजार ६०१ जना नेपाल आएका छन् ।  यसैगरी बेलायतबाट ६ हजार १३८, अस्ट्रेलियाबाट ५ हजार ६०, थाइल्यान्डबाट ३ हजार ७६१, जर्मनीबाट ३ हजार ५१२, श्रीलङ्काबाट ३ हजार २२८ र फ्रान्सबाट ३ हजार २०५ जना पर्यटक भित्रिएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप