शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
सम्पादकहरुसँग प्रम

प्रचण्डको विश्लेषण : अर्थतन्त्रलाई एक धक्का दिएर लान सके विरोधका स्वरहरू आफैँ कम हुन्छन्

अर्थतन्त्रमा विचित्रको विरोधाभास : कागजमा ठिकठाक, व्यवहारमा हालत खराब !
सोमबार, १८ मङ्सिर २०८०, २३ : ४८
सोमबार, १८ मङ्सिर २०८०

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा सहभागी भएर स्वदेश फर्किएको भोलिपल्ट सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मूलधारका सञ्चारमाध्यमका सम्पादकहरूसँग खुलेर प्रस्तुत भए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले आफ्नो संयुक्त अरब इमिरेट्स (दुबई)को भ्रमण सफल भएको मात्रै बताएनन् प्रधानमन्त्री भएययता भएका भारत, इटाली, चीन र अमेरिकासम्मको भ्रमणले अन्तर्राष्ट्रिय राजनीतिमा नेपालको पहिचान बढाउने कुरा भएको दाबी गरे । ‘नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सहयोग जुटाउन पहल भएको छ । कूटनीतिक सन्तुलन कायम गर्ने विषयलाई केन्द्रमा राखेर भारत, चीन, अमेरिका, इटाली र कोपमार्फत पहल भएको छ ,’ प्रधानमन्त्रीको भनाइ थियो । तर, यी पहलकदमीलाई अब कर्मचारी संयन्त्रमार्फत निरन्तर फलोअप र कार्यान्वयनमा लैजाने गरी काम हुनुपर्नेमा उनको जोड दिए । 

साथसाथै प्रधानमन्त्री प्रचण्डले वर्तमान व्यवस्थाको विरोधमा भएको आन्दोलनका बारेमा पनि आफ्नो धारणा राखे । सो क्रममा सरकार र राजनीतिक दलहरूले जनताको पक्षमा काम गरेर प्रतिगामी शक्तिहरूलाई जवाफ दिन सक्नुपर्ने धारणा राखे । यस्तै टिकटक बन्द गर्ने निर्णयमा पुनर्विचार गर्न सकिनेसम्मको सकारात्मक जवाफ दिएका प्रचण्डले अर्थतन्त्र चलायमान बनाउन सरकार गम्भीर ढङ्गले लागिपरेको स्पष्ट पारे।  अर्थतन्त्र कागजमा ठिकठाक देखिए पनि व्यवहारमा हालत खराबको अवस्था रहेकाको उनको स्वीकारोक्ति थियो । 

प्रधानमन्त्री प्रचण्डले आर्थिक क्षेत्रमा दबाब रहेको र त्यसको सामना कसरी गर्ने भन्नेबारेमा धेरै बैठकहरू गरेको बताए । ‘सदनमा भएका सबै पार्टीहरू, बुद्धिजीवीहरू, विज्ञहरू, निजी क्षेत्रका प्रतिनिधिहरू सबैलाई राखेर पटक पटक छलफल गरिएकै हो’, प्रचण्डले भने, ‘कहिले पब्लिक रूपमा गरियो त कहिले यही सिंहदरबारमा गरियो । केही निष्कर्ष पनि निकालिएको छ । लघुवित्तसम्बन्धी ब्याजदरसम्बन्धी, सहकारीसम्बन्धी जति पनि समस्या हामीले फेस गरिरहेका छौँ त्यसको समाधान के हुनसक्छ भन्नेबारेमा केही निर्णय गरिएको छ ।’  र, त्यसको कार्यान्वयनका लागि व्यवसायी र पत्रकारहरूको समेत राय लिने गरी अब अर्को कार्यक्रम राख्ने तयारी भइरहेको उनको भनाइ थियो । 

d0265486-0e2c-4218-8672-7786302b07a1

सो क्रममा प्रधानमन्त्रीले बाहिरबाट हेर्दा अर्थतन्त्रको सबै सूचकहरू राम्रो देखिए पनि भित्रभित्र केही न केही समस्या देखिएको वास्तविकता प्रस्तुत गरे । ‘अर्थतन्त्रका फर्मल इन्डिकेसनहरु हेर्दा आर्थिक रूपमा सरकार संकटमा छैन भन्ने देखिन्छ । व्यवहारमा हेर्दा सटरहरु बन्दै हुँदै गएका छन् । मान्छेहरू हैरान छन् । आर्थिक गतिविधिहरू चलिराखेको छैन भन्ने देखिन्छ’, प्रधानमन्त्रीले भने, ‘यो बडो विचित्रको कन्ट्र्याडिन  (विरोधाभाष)जस्तो । कति विदेशी सञ्चिति छ भन्दा अहिलेसम्मकै राम्रो छ, कति रेमिटेन्स आउँछ भन्दा सबैभन्दा राम्रो, कति टुरिस्ट आउँछन् भन्दा इतिहासमै सबैभन्दा बढी आएका छन् । यो हेर्दा सबै राम्रो छ तर अर्थतन्त्र कति चलायमान छ भनेर हेर्दाचाहिँ हालत खराब छ ।’

 यो समस्या समाधानका लागि अर्को अन्तरक्रिया गरिसकेपछि फाइनल भर्सन बनाएर अगाडि जाने सोचेको जानकारी दिए । आयल निगम ऋणमुक्त हुनेदेखि विभिन्न खालका सुधारहरूले भने केही सकारात्मक सन्देश भने दिएको उनको दाबी थियो ।  

‘अर्थतन्त्रलाई सुधारमा लगेर एउटा धक्का दिन पाइयो भने व्यवसायी र आम जनताले पनि त्यो महसुस गर्ने वातावरण बन्यो भने चाहिँ चिजहरूले गति लिन्छ भन्ने छ’, प्रचण्डको भनाइ थियो, ‘मेरो कोसिस त लगातारै त्यहीँतिर छ ।’

संविधान वा सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध लागिपर्ने शक्तिसँग कसरी जुध्ने भनेर आफूले अपोजिसन पार्टीदेखि अन्य सबै पार्टीहरूलाई बोलाएर छलफल गरेको पनि प्रचण्डले बताए । ‘राजनीतिक रूपले अपोजिसनदेखि सबै पार्टीहरूलाई बोलाएर बैठकहरू गरेँ । त्यहाँबाट केही निष्कर्षहरू पनि निकालिएको छ’, प्रधानमन्त्रीले भने, ‘संविधानप्रति वा सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध एक थरी मानिसहरू जसरी आइराखेका छन् । त्यसको कसरी प्रतिवाद गर्न सकिन्छ भन्ने विषयमा एक खालको अन्डरस्ट्यान्डिङ बन्यो ।’

यहीबीचमा संविधान र गणतन्त्रप्रति नै प्रश्न उठाउने र ठुलै होहल्ला गर्ने कोसिस भएको प्रधानमन्त्रीको टिप्पणी थियो ।  ‘हामीले त्यसलाई ट्याकल गर्ने कुरा पनि सरकारका लागि एउटा च्यालेन् जस्तो थियो । दमनद्वारा त्यसलाई ट्याकल गर्न खोजियो भने पनि झन् असन्तुष्टि बढ्ने खतरा । केही नगर्दा तोडफोट धेरै हुने हो कि ? र, त्यो झन् फैलने हो कि भन्ने खतरा थियो’, प्रधानमन्त्रीले प्रसाईँको आन्दोलन कमजोर बनाउन सुझबुझका साथ काम गरेको सन्देश दिँदै भने, ‘हामीले गर्न सकिने जति सबै गरियो ।’ सोहीअनुसार दुर्गा प्रसाईँको आन्दोलनमा सरकारको तर्फबाट पहिला बल प्रयोग नगर्ने, गर्नुपरेमा डिफेन्सिफ बन्ने नीति लिइएको प्रचण्डको भनाइ थियो ।  

यस्तै प्रसाईंले नेतृत्व गरेको प्रतिगामी आन्दोलनमै पनि अन्तर्विरोध रहँदा अहिले आन्दोलन नै छिन्नभिन्नको अवस्थामा पुगेको प्रधानमन्त्रीको बुझाइ छ । उसो त  दुर्गा प्रसाईँजस्तो मान्छेको नेतृत्वमा आन्दोलन सफल हुनेमा राजावादीमा पनि विश्वास नरहेको उनको धारणा थियो । ‘विश्वास त उनीहरूलाई पनि थिएन नि’, प्रचण्डले भने, ‘अब बिस्तारै त्यो कमजोर हुनेतिर नै जान्छ जस्तो लाग्छ ।’

प्रचण्डले पूर्वराजा र उनका समर्थक सक्रिय हुन खोजेको जस्तो देखिए पनि त्यो सफल नहुने धारणा राखे । ‘त्यसलाई पनि ठीक ढङ्गले ट्याकल गर्नेतिर हामी छलफल गदैर्छौँ । डेमोक्रेसी र संविधानभन्दा बाहिर गएर बोल्न र चल्न नदिने गरी । तर संविधान र कानुनले दिएको अधिकारलाई पनि कुन्ठित नहुने गरी के चाहिँ गर्न सकिन्छ भन्ने कुराको खोजी भएको छ’, प्रचण्डले भने । अर्थतन्त्रलाई गति दिन सकिए जनताले को गलत र को सही भन्ने स्पष्ट बुझ्न सक्ने र त्यसो हुँदा राजावादीको आन्दोलन आफै मत्थर बन्ने प्रचण्डको विश्लेषण थियो

‘अर्थतन्त्रलाई एक धक्का दिएर लान सकियो भनेचाहिँ देशले एउटा गति पक्डिन्छ । त्यसपछि विरोधका स्वरहरू आफैँ कम हुँदै जान्छन्’, प्रचण्डले भने, ‘आफूले ठुलठुला कामहरू गर्दै गएपछि आफैँ त्यसै ठुलो हुँदै जान्छ । अर्को पक्ष त्यसै सानो हुँदै जान्छ । अरुलाई सानो बनाउन गाली गर्न पर्दैन भन्ने मान्यताबाट चल्न खोजिएको छ । त्यसो गर्दा जनताले पनि कोचाहिँ सही हो, कोचाहिँ गलत हो भनेर बुझ्ने त्यहाँ अवसर आउँछ भन्ने ठानिभएको छ ।’  

यसैगरी प्रचण्डले धर्म निरपेक्षताका सन्दर्भमा देशका प्रमुख शक्तिहरूबीच कुनै मतभेद नरहेको पनि बताए । बाहिरका शक्तिहरूले संविधानमा हिन्दु धर्म राख्नेबारे चासो राख्ने गरेको पनि उनको भनाइ थियो।  ‘डेढ अर्ब जनसंख्या र त्यसमध्ये ८० प्रतिशत हिन्दुहरू भएको देशले नै संविधानमा हिन्दु धर्म राखे भयो नि भन्ने सुझाव दिने गरेका छौं,’ भारततर्फ लक्षित गर्दै प्रधानमन्त्रीको भनाइ थियो । 

गठबन्धन एकजुट

यस्तै प्रचण्डले सत्ता गठबन्धन एकजुट रहेको पनि दाबी गरे । अहिलेको अवस्थामा गठबन्धनमा रहेका दलले यताउता गर्न सक्ने अवस्था नरहेको उनको जिकिर थियो । ‘कसैलाई पनि यताउता गर्न सजिलो छैन । प्रधानमन्त्री प्रचण्डले आफ्नो दलको ३२ सिट मात्र रहेको भए पनि राजनीतिको केन्द्रमा माओवादी नै रहेको बताए ।  तेस्रो दलको नेता भए पनि सरकार सङ्कटमा नरहेको र यही सत्ता गठबन्धन पूरै समय रहने उनको दाबी थियो । ‘मलाई के थाहा छ भने ससंद्मा हाम्रो ३२ सिट छ र संसदीय अंकणितमा म शक्तिशाली पनि छैन । तर पनि म लक्की छु, किनकि यो गठबन्धन तत्काल टुट्दैन र टुट्नेवाला पनि छैन’, प्रचण्डको भनाइ थियो । आफू सधैँ समन्वयकारी भूमिकामा रहेकाले पनि यो अवस्था आएको उनको भनाइ थियो । 

भूकम्प पीडितको समस्याबारे सरकार संवेदनशील

प्रधानमन्त्री प्रचण्डले भूकम्प पीडितको समस्याबारे सरकार संवेदनशील रहेको सम्पादकहरूसँगको छलफलमा बताए । जनताको सहजताकै लागि अस्थायी आवास निर्माणका लागि किस्ता किस्ता नभएर एकै पटक ५० हजार दिन लागिएको र क्रमशः एकपछि अर्को गर्दै जनताको आवश्यकताका आधारमा निर्णय गरिने धारणा राखे । 

‘भूकम्पपछि हामीले खोज, उद्धार र उपचारमा राम्रो गरेको हो । जाजरकोट पुगेर बिरामीलाई आइसार्नेदेखि म आफैँ चढेको हेलिकप्टरै पनि बिरामी बोक्न प्रयोग गरेकाले जनतामा राम्रै भएको हो’, उनले भने, ‘राहत वितरण भनेकोजस्तै एक्सलेन्ट त भन्न सकिँदैन । तर राहत वितरणमा आधारभूत रूपमा सफल भएको ठान्छु ।’

उनले अगाडि भने, ‘अस्थायी टहरा निर्माणमा ५० हजार एकैचोटी दिने भन्ने भएको छ । जसले बनाउन सक्दैनन् त्यसलाई पुलिस सेनाले सहजीकरण गरिदिने भन्ने भएको छ । अहिले पार्टीले कार्यकर्ता पठाएर चाहिँ सय/दुई सय बनाएर देखाउने कुराले ६०/६५ घर बनाउने कुरा पार लाग्ने देखिएन । त्यसो भएर एकपछि अर्को निर्णय गर्दै अघि बढ्दै छौँ ।’

उनले केही भूकम्प पीडतले जाडोका कारण ज्यान गुमाएको खबर आए पनि त्यसमा पूर्ण सत्यता नरहेको आफूले सूचना पाएको बताए ।  ‘जाडोले नमरेकालाई पनि जाडोमा हाल्न चाहिँ भएन । कोचाहिँ रियलमा जाडोबाट मरे, कोचाहिँ कागलतिले मरे । कालगतिले मरेकालाई जाडोमा हाल्न भएन । जाडोले नै मरेकाचाहिँ त्यसैमा हाल्नुपर्यो ।’ कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई उद्धृत गर्दै उनले मृतकमध्ये तीन÷चार जना भूकम्प पीडितको कालगतिबाटै मृत्यु भएको बताए । 

08c175ef-5502-47c2-a58a-07c6fe9752f4

टिकटक प्रतिबन्ध हटाउन सकारात्मक

प्रधानमन्त्री प्रचण्डले टिकटकका विषयमा आफूले प्रदेश प्रदेशमा गएर नागरिकका आवाज पनि सुनेको बताए ।  जनताले नै सरकारले यसलाई बन्द गरिदेओस् भन्ने चाहना राखेको दाबी गर्दै प्रधानमन्त्रीले यसबाट बहुसङ्ख्यक नागरिक खुसी नै रहेको जिकिर गर । ‘कतै कतै सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा उभियो भन्ने आवाज पनि मैले सुन्ने गरेको छु । त्यो बिलकुल गलत हो, हामी नागरिकका सबै प्रकारका अधिकार रक्षाको पक्षमा छौँ’, उनको भनाइ थियो । 

उसो त प्रचण्ड सामाजिक सञ्जाल टिकटक खुला गर्न सकारात्मक पनि देखिए । उनले प्रतिपक्षी दल र सत्ता पक्षकै दलहरूको चाहनाअनुसार सरकारले टिकटकमाथि तत्कालका लागि मात्रै प्रतिबन्ध लगाएको दाबी गरे । अब नियमन गर्न पनि सकिन्छ’, प्रधानमन्त्रीले भने, ‘बिल तयार हुँदै छ कहीँ कतै करेक्सन गर्न सकिन्छ भने गरिन्छ ।’

उनले अदालतले पनि सरकारकै पक्षमा प्रारम्भिक निर्णय गरेको आफ्नो बुझाइ रहेको बताए । उनले आफ्नो घरमै पनि टिकटकको लत रहेको उल्लेख गर्दै कतिपयले यो निर्णयप्रति सरकारलाई धन्यवाद पनि दिएको धारणा राखे । 

विपिन जोशीको रिहा गराउनेबारे प्रयास जारी

प्रधानमन्त्रीले प्यालेस्टाइनी विद्रोही समूह ‘हमास’को नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशी जीवित रहेको पनि बताए । प्रधानमन्त्री प्रचण्डले विपिन जोशीलाई रिहा गर्ने विश्वास दिलाइएको पनि जानकारी गराए । उनले भने, ‘सरकार आफैँ गएर ल्याउन सकिने अवस्था छैन तर सरकारले यसबारे पहल गरिरहेको छ ।’ यस्तै रुसी सेनामा भर्ना भएकामध्ये ६ जना नेपालीको मृत्यु भएको खबर आइरहेको बेला युक्रेनी सेनामा समेत नेपालीको भर्ती भएका जानकारी प्राप्त भएको प्रचण्डले बताए ।  यही विषयलाई लक्षित गरेर सरकारले सार्वजनिक रूपमा विज्ञप्ति जारी गरेर आह्वान गरिसकेको उनको भनाइ थियो । 

6e889605-62ef-4375-a369-b6a3aa362559

एनसेल बिक्रीबारे एक्सन

यस्तै एनसेल खरिद बिक्री प्रकरणमा पनि सरकारको चासो रहेको बताए । ‘१३० अर्बको सम्पत्ति करिब ६ अर्बमा बेचिएको सुनिएको छ । यत्रो सम्पत्तिमा बिक्रेता र क्रेताले मनलाग्दी गर्न पाउँदैन । यसलाई बेच्दैमा राज्यले मान्नुपर्छ भन्ने छैन’, प्रचण्डले भने । 

प्रधानमन्त्रीले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपाल नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिइसकेका छन् । सोको अध्ययन प्रतिवेदन नआउँदासम्म किनबेच अघि बढ्न नसक्ने प्रधानमन्त्रीको भनाइ थियो । 

उनले भिजिट भिसाका नाममा  भइरहेको असुरक्षित वैदेशिक रोजगारीलाई रोक्न सरकारले योजना बनाइरहेको, कोप सम्मेलन नेपालमय भएको र नेपालको पक्षमा माहौल सिर्जना भएको, सरकारले सुशासनको सवालमा काम गरेको जस्ता धारणा पनि सो अवसरमा राखेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप