सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

भुइँचालोले श्रीमती र दुवै खुट्टा लगेपछि...

‘चिसोले छातीको दुखाइ बढिरहेको छ, सहारा सबै लगेपछि किन बाँचे छु जस्तो लाग्छ’
बुधबार, २० मङ्सिर २०८०, १३ : ११
बुधबार, २० मङ्सिर २०८०

जाजरकोट (रिम्ना) । चिसो बढ्दै गएकाले टीकाराम राना (६४) र उनकी श्रीमती सेतु राना (६३) बेलुकी अलिकति आगो तापे, अनि भोलि के काम गर्ने भन्ने सबैको घरसल्लाह गरे । घरमा आठ जनाको परिवार, तीन छोरा, नातिनातिना । सबै सुतिसकेका थिए, टीकारामका बुढाबुढी अलि ढिलो गरी सुते ।

‘जब निद्रा पर्न सुरु भयो घर डगमगायो,’ टीकाराम भन्छन्, ‘बुढी भुइँमै सुतेकी थिई, म खाटमा थिएँ । उठेर ए बुढी उठ् भुइँचालो आयो भन्नै लागिरहेको थिएँ, घर भत्किएर मेरो शरीरमा पुरिहाल्यो, बुढी पूरै च्यापिइसकिछ ।’ 

बाँकी परिवार भने बल्लतल्ल बाँच्न सफल भए । टीकारामलाई उद्धार गर्ने बेलासम्म टीकारामका दुवै खुट्टा ढुङ्गा र काठ लागेर भाँचिइसकेका थिए भने छातीमा गहिरो चोट लाग्यो । घाइते अवस्थामा उनको उद्धार भयो । तर श्रीमती सेतुको भने मृत्यु भइसकेको रहेछ । २०५८ सालमै बनाएको दुई तलाको घर, जिन्दगीभर साथ दिएकी श्रीमती र दुईवटा खुट्टा भुइँचालाले लगेपछि हिजोआज टीकारामलाई लाग्छ– आफू किन बाँचेँ ? 

नलगाड नगरपालिका–१, रिम्ना डाँडागाउँका टीकारामलाई कात्तिक १८ गते बिहान मात्रै चौरजहारी हुँदै हेलिकप्टोरबाट नेपालगञ्ज लगियो । उनी बाँच्न सफल भए । उनले जिन्दगीमा निकै सङ्घर्षसाथ दुःखसुखमा साथ दिएकी अर्धाङ्गिनीको दाहसंस्कारसमेत गर्न पाएनन् । 

उनलाई निकै पश्चाताप छ । ‘अरू त त्यस्तै हो, उसको दाहसंस्कार गर्न पाइनँ,’ निराश हुँदै उनले भने, ‘खुट्टा गुमे, श्रीमती गुमिन्, छातीको समस्या, अर्कैको सहरामा बाँच्नुभन्दा त बरु मरेको भए हुन्थ्यो जस्तो सोच आउँदो रहेछ ।’  

कात्तिक १८ गते नेपालगञ्ज पुगेका उनी उपचारपछि मङ्सिर २ गते मात्रै घर फर्किएका हुन् । भन्छन्, ‘यो भुइँचालाले त हाम्रो सबै डामाडोल नै बनायो, अहिले खुट्टामा रड हालेको छ, हिँड्न सकिन्न । छातीमा गहिरो चोट लागेको छ, बोल्न पनि गाह्रो छ ।’ टीकारामलाई आफूभन्दा पनि सहारा दिने श्रीमती गुमेकोमा बढी चिन्ता छ । 

उनी अहिले कुनै एक संस्थाले दिएको टेन्टमा बसिरहेका छन् । टेन्टको बाहिर ढोकातर्फ सहाराका रूपमा रहेको उनको ह्विलचियर छ । बिहान सूर्य उदाउनेबित्तिकै ओछ्यानबाट सर्दै ह्विलचियरमा पुग्छन् । दिनभर त्यसैमा बसेर तलतिर भत्किएको आफ्नो घर र श्रीमतीलाई सम्झेर बस्छन् । 

‘कहिलेकाहीँ त रुन मन लाग्छ, के गर्ने ?,’ उनी भन्छन्, ‘अहिले सबै परिवार घरबारविहीन भए । आर्थिक अवस्था सामान्य हो । उत्पादन भएको अन्नले वर्षभरि खान पुग्दैन थियो । कालापहाड गरेर घरखर्च चल्थ्यो ।’ 

घर पूर्ण रूपमा ध्वस्त भएपछि उनका भाँडावर्तनदेखि घरभित्र भएका सबै सामग्रीहरूमा क्षति पुग्यो । उनी बस्ने टेन्टमा ८ जना बस्छन् । डाँडागाउँका १३० घरमध्ये ९९ प्रतिशत घर पूर्ण रूपमा ध्वस्त छन् । खाली डाँडामा ७ वटा त्रिपालमुनि सिङ्गो बस्ती मिलेर बसिरहेको छ ।

कुनै त्रिपालमा महिला मात्र बसिरहेका छन् भने कतै युवाहरू छन् । टीकाराम बसेको त्रिपालमा उमेर ढल्केकाहरू बसिरहेका छन् । रिम्नामा सेतुसहित ८ जनाको भूकम्पमा परी मृत्यु भएको थियो । त्रिपालमा विशेष गरी ज्येष्ठ नागरिक र बिरामीहरूलाई चिसोले समस्या दिएको उनीहरूको भनाइ छ । 

त्रिपाल र प्राप्त कम्बलले चिसो छल्ने अवस्था नरहेको टीकाराम बताउँछन् । टेन्ट भए पनि दुईतिरबाट आउने चिसोको सिरेटोले उनको छातीमा थप समस्या बढेको छ । अझ अग्लो डाँडो भएकाले बेलुकातर्फ चिसो हावा चल्छ । 

उनलाई अहिले खुट्टाको भन्दा छातीमा दुखाइ बढी छ । ‘खुट्टा त बिस्तारै सन्चो होला तर यो छातीको चोटले निकै सताउन लाग्यो, ढुङ्गा परेको हो कि क्या हो,’ उनले भने, ‘सास फेर्न पनि निकै गाह्रो हुन लाग्यो ।’

औषधी खाइरहेका उनको औषधी पनि सकिन थाल्यो । औषधी कसरी कहाँबाट ल्याउने भन्ने चिन्ताले उनलाई पिरोलिरहेको छ । उनको भत्किएको घर स्वयंसेवकहरूले पन्छाइदिएका छन् भने अस्थायी आवास निर्माणको काम भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप