आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

जनमत र राष्ट्रिय स्वतन्त्र पार्टीबिच होला त चुनावी तालमेल ?

बिहीबार, २१ मङ्सिर २०८०, १८ : ३२
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसमा इन्ट्री गरेपछि डा. सीके राउत नेतृत्वको जनमत पार्टीसँग गठबन्धन वा चुनावी तालमेल हुने चर्चा हुन थालेको छ ।

रास्वपाका अध्यक्ष रवि लामिछाने र अध्यक्ष राउतबिच राम्रो सम्बन्ध रहँदै आएको छ । दुवै दल अहिले ‘मिसन ०८४’ सञ्चालन गरिरहेका छन् । दुवै नयाँ शक्ति भएका कारण मधेसमा चुनावी गठबन्धन हुने आकलन सबैतिर भइरहेको छ ।

हुन त २०७९ को चुनावमा जनमत पार्टीका अध्यक्ष राउतले चुनावी गठबन्धन गर्न विभिन्न दलका शीर्ष नेताको दैलो चहारेका थिए । उपेन्द्र यादव नेतृत्वको जसपा, महन्थ ठाकुर नेतृत्वको लोसपालगायतका दलसँग भेटेर उनले वार्ता नै गरेका थिए तर उनको पार्टीसँग तालमेल गर्न कोही तयार नभएपछि एक्लै चुनाव लडेका थिए ।

मधेसमा स्वतन्त्र पार्टीले इन्ट्री गरेपछि सबैभन्दा बढी घाटा जनमत पार्टीलाई नै हुने देखिएको छ । जनमत पार्टी र स्वतन्त्र पार्टीको मतदाता जेनरेशन एउटै हो । मधेसी युवाको आकर्षण यी दुई पार्टीमै मात्र देखिन्छ । मधेसमा मधेसवादी दलमा जसपा र जनमत पार्टीबिच प्रतिस्पर्धा हुने देखिएको छ । स्वतन्त्र पार्टी मधेसमा सक्रिय भयो भने जनमत पार्टीलाई नै घाटा हुने टिप्पणी भइरहेका छन् । त्यही भएर जनमत पार्टीले स्वतन्त्र पार्टीसँग चुनावी तालेमल गर्न सक्ने धेरैको अनुमान छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता एवं प्रतिनिधि सभा सदस्य मनिष झाले मधेसमा आफूहरुको संगठन सुधारात्मक अवस्थामा अगाडि बढिरहेको दाबी गरे ।

उनले भने, ‘हामीले मधेसमा एक चरणका कार्यक्रम ग¥यौँ, पार्टीप्रति मधेसी जनताको आकर्षण बढेको छ ।’ एक डेढ महिनापछि ‘मधेस यात्रा’ मा जाने र त्यो यात्राको क्रममा जनताको घरघर, दैलोदैलो पुग्ने प्रयास गर्ने उनले सुनाए । त्यस क्रममा जनतामा आफ्नो मुद्दा र एजेण्डाको बारेमा जानकारी गराउने उनको भनाइ छ ।

यद्यपि यो बिचमा जनमत पार्टीसँग चुनावी तालमेल वा गठबन्धन बनाउने कुनै कुराकानी नभएको झाले बताए । ‘गठबन्धन बनाएर जाने कुनै सोच नै बनेको छैन,’ उनले भने, ‘जनमत पार्टीलाई नजिकबाट नियाल्दै छौँ । चुनाव आउन अहिले निकै समय बाँकी छ, त्यो बेलासम्म जनमत पार्टीको गतिविधिलाई हेर्छौं, त्यसपछि मात्र कुनै निर्णयमा पुग्छौँ ।’

जनमत पार्टी जुन सोच र जोशका साथ राजनीतिमा आएको थियो, त्यो नदेखिएको झा बताउँछन् । जनताको हितमा ठुलाठुला काम गर्ने विभिन्न प्रतिबद्धता जनाएर आएको भए पनि जनमत पार्टीले त्यो अनुसार काम गरेको नदेखिएको उनले बताए ।

सहप्रवक्ता झाले भने, ‘जनमत पार्टी पनि सरुवा, बढुवालगायत खेलमा लागि सकेको छ, जनमत पार्टी तीन तहकै सरकारमा सहभागी छ तर एउटा पनि नमुनायोग्य काम गरेको देखिएको छैन, त्यसैले हामी तीन वर्ष जनमतलाई हेर्छौं, अनिमात्र डिसिजन लिन्छौँ ।’

स्वतन्त्र पार्टीको पहाडमा जस्तो क्रेज छ, त्यस्तो क्रेज तराई मधेसमा देखिएको छैन । तराई मधेसमा पार्टी सञ्चालन गर्न स्वतन्त्र पार्टीमा त्यो अनुसारका नेता देखिएका छैनन् । मधेसमा नेतृत्व गर्न सक्ने नेताको अभावका कारण संगठन बनाउन रास्वपालाई गाह्रो हुने जानकारहरु बताउँछन् । त्यसले गर्दा मधेसमा टिक्नका लागि जनमतसँग चुनावी तालमेल गरेर नै जाँदा उपयुक्त हुने जानकारहरु बताउँछन् ।

तर जनमत पार्टीका उपाध्यक्ष दीपक साह भन्छन्, ‘हाम्रो पार्टी एक्लै चुनाव लड्ने तयारीमा जुटेको छ, रास्वपा वा कुनै दलसँग चुनावी तालमेल गर्ने वा गठबन्धन गर्ने कुनै सोच छैन ।’

पार्टीले ‘मिसन ८४’ अन्तर्गत विभिन्न कार्यक्रम गर्दै अगाडि बढेको र त्यो मिसन नै एक्लै चुनाव लड्ने भन्ने रहेको उनले प्रस्ट पारे । तर चुनाव आउन अझै तीन वर्ष बाँकी रहेकाले त्यो बिचमा के हुन्छ, कसैले भन्न सक्ने अवस्था नरहेको उनले बताए । यद्यपि अहिलेसम्म आफूहरु कुनै पनि दलसँग गठबन्धन नगर्ने पक्षमा रहेको उनले प्रस्ट पारे ।

जनमत पार्टीले पनि रास्वपाको गतिविधिलाई नियालिरहेको सो पार्टीका एक नेताले बताए । उनले भने, ‘पहिलो कुरा मधेसमा रास्वपाको कुनै संगठन नै छैन, जिरो अवस्थामा छ । त्यो अवस्थामा तालमेलको कुनै सम्भावना नै हुँदैन ।’

नागरिकता विधेयकका सम्बन्धमा रास्वपाका सभापति रवि लामिछानेले गरेको नकारात्मक टिप्पणीले पनि मधेसी जनताको चित्त दुखाएको ती नेताले बताए ।

‘रास्वपा संघीयताप्रति स्पष्ट छैन, कुन विचार र एजेण्डामा राजनीति गरिरहेको छ भन्ने पनि स्पष्ट छैन,’ ती नेताले भने, ‘स्वतन्त्र पार्टीमा राम्राराम्रा मान्छे छन् तर व्यवस्थित छैन, सबैको आआफ्नो धारणा र विचार छ । त्यसले गर्दा हाम्रो पार्टीसँग तालमेल हुने सम्भावना निकै कम छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप